८ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

साहित्यमार्फत वातावरणप्रेमको सशक्त अभिव्यक्ति

वर्तमान कविता समूह, शब्दाङ्कुर मासिक र कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा कोटेश्वर बहुमुखी क्याम्पसमा ‘हरित काव्य गोष्ठी-२०८२’ भएको छ।

गोष्ठीमा साहित्य मार्फत वातावरणप्रेमको सशक्त अभिव्यक्ति प्रस्तुत गरिएकाे थियाे।कार्यक्रममा वातावरणीय चेतना र साहित्यिक सिर्जनाको समन्वय देखिएको थियो। 

क्याम्पस प्रमुख प्रकाश पोखरेल, वरिष्ठ कविहरू - उषा शेरचन, विष्णुविभु घिमिरे र अविनाश श्रेष्ठले ‘भुइँमान्छे कविता विशेष’ विशेषाङ्कको लोकार्पण गरेका थिए।

विशेषाङ्कमा अघिल्लो महिना माघमा नालाको ब्रह्मा पार्कमा वाचित २४ कविका नेपाली अङ्ग्रेजी कविता समावेश छन्।

कवि विश्व सिग्देलले स्वागत मन्तव्य दिंदै कार्यक्रमको उद्देश्य, संरचना र महत्त्वबारे प्रकाश पारेका थिए। उनले ‘जङ्गल गइरहेको मान्छेलाई” कविता पनि वाचन गरेका थिए।

गोष्ठीमा सहभागी कविहरूले वातावरण, जलवायु परिवर्तन, जैविक विविधता, जंगल, नदी, वन्यजन्तु संरक्षण, प्रदूषण, हिमाल र मानिसबीचको सम्बन्ध जस्ता विषय कलात्मक ढंगले प्रस्तुत गरेका थिए।

कवि चन्द्रबहादुर लामाले सञ्चालन गरेकाे कार्यक्रममा कविता वाचन मार्फत प्लास्टिक प्रदूषणदेखि चेतनाको विद्रोहसम्मका विविध पक्ष उजागर गरिएका थिए। विश्व वातावरण दिवसको अवसरमा आयाेजित कार्यक्रममा विश्व सिग्देल (जङ्गल गइरहेको मान्छेलाई), अविनाश श्रेष्ठ (भोलिको गीत), अभय श्रेष्ठ, दिनेश खरेल (अर्को भूगोल खोजौँ), उषा शेरचन (वातावरण), कृष्ण बाउसे (प्लाष्टिकको अनुरोध), विष्णुविभु घिमिरे (धेरैलाई थाहा छैन), समा श्री (सुनकोशी र पहिरो), विमल भौकाजी (इन्द्रकमल), आर. एम. डङ्गोल (एक्लो पृथ्वी), हिमलाल श्रेष्ठ (आकाशबेली), शकुन्तला जोशी (म एउटा वरको रुख), प्रज्ज्वल अधिकारी (हामी र पृथ्वी), दामोदर रेग्मी (दूषित वातावरणको मानवसङ्ग संवाद), छविरमण सिलवाल (समयको घट्ट), केशव सिग्देल (नदी) वाचन गरेका थिए।

त्यस्तै कार्यक्रममा विजय हितान (मलाई आर्यघाट लगेर नजलाउनू), लक्ष्मी रुम्बा (जङ्गल एक सपना), ध्रुव मधिकर्मी (चेतनाको सङ्घारमा), छायादत्त न्यौपाने (सिमल), भवानी खतिवडा (हिमाल), राधिका कल्पित (कलियुगको गान्धारी), सुरज पराजुली (राम भात खान्छ), राधेश्याम लेकाली (पर्यावरण सन्तुलनको लागि चेतना), राजु झल्लुप्रसाद (वनकविज्यूलाई रूखको रिटायरमेन्टको पत्र), मिमला शर्मा (हरियो धर्तीको काखमा), सेदुनाथ ढकाल (हाम्रो सिम्पानी पँधेरो), प्रेमिला राई (सुनसान छ गाँउ), रमी प्रिया (पिपल), सञ्जय सुमन (चिता), यादेवी ढकाल (गाँउ जाँदा), बैजयन्ती पोखरेल (बिरुवा र मानिस), बाबुकृष्ण कार्की (तिमी र वातावरण दिवस र प्रकृति दिवस), चन्द्रबहादुर लामा (हराउँदै गएको हरियाली) र धीरकुमार श्रेष्ठ (एक हुल जुलूस) कविता वाचन गरेका थिए।

कार्यक्रममा लोकगायक कमलीकान्त भेटवालले सारङ्गीको धुनमा प्रस्तुत पर्या गीत मार्फत वातावरणीय सन्देशलाई लोक संस्कृतिसँग जोड्ने प्रयास गरेका थिए। जसले श्रोताहरूलाई भावनात्मक रूपमा जोड्न सकेको देखिएको थियो।

क्याम्पस प्रमुख प्रकाश पोखरेलले यस्ता सिर्जनात्मक कार्यक्रम आफ्नै क्याम्पसमा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै साहित्य र वातावरणको सहकार्यले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा शब्दाङ्कुर मासिकका सम्पादक तथा वर्तमान कविता समूहका सदस्य धीरकुमार श्रेष्ठले आयोजक, सहभागी र दर्शकप्रति आभार व्यक्त गर्दै वातावरणीय चेतनाको यात्रामा साहित्यले सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका थिए।

हरित काव्य गोष्ठी-२०८२ ले साहित्यिक सिर्जना मार्फत वातावरणीय सन्देशलाई जनचेतनामा रूपान्तरण गर्ने प्रयास गर्दै वातावरण संरक्षणको अभियानमा सशक्त हस्ताक्षर थपेको देखिएको छ।

प्रकाशित: २४ जेष्ठ २०८२ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App