२८ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रकै एकता आवश्यक परेको बेला कम्युनिष्ट एकता स्वतः पर्‍यो: भीम रावल

नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले मुलुकमा राष्ट्रिय एकताको खाँचो रहेको वर्तमान परिस्थितिमा कम्युनिष्ट शक्तिहरूबीचको एकता स्वतः आवश्यक रहेको बताएका छन्।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि वामपन्थी शक्तिहरू एक हुनुको विकल्प नभएको उल्लेख गरे।

मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्न ठूला राजनीतिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अहिले राष्ट्रकै एकता आवश्यक परेको बेला कम्युनिष्ट एकता त स्वतः पर्ने कुरा हो, यो आफैंमा बुझिने विषय हो।’

नेता रावलले राष्ट्रिय हितका मुद्दामा सबै कम्युनिष्ट घटकहरू एकै ठाउँमा उभिनुपर्ने धारणा राखे।

हालै चार जना पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिएको विषयलाई उनले सामान्य रूपमा टिप्पणी गरे। जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेताहरू भेला हुनुलाई सकारात्मक मान्दै उनले यसलाई एकताको एउटा सानो संकेतका रूपमा बुझ्नुपर्ने बताए।

यद्यपि, एउटै मञ्चमा आउँदैमा सबै समस्या समाधान भइहाल्ने अवस्था नरहेको उनको तर्क थियो ।

नेता रावलले पछिल्लो समय आफू राजनीतिक परिदृश्यबाट गुमनाम भएको चर्चाको समेत खण्डन गरे। ‘म गुमनाम छैन, राष्ट्रका ज्वलन्त मुद्दाहरूमा मेरो सक्रियता र खबरदारी निरन्तर जारी छ,’ उनले स्पष्ट पारे। आफू सधैँ देश र जनताको पक्षमा उभिएको र आगामी दिनमा पनि सोही भूमिकामा रहने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १५ असार २०८३ १७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App