१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
खेल

विश्वकप क्वार्टरफाइनलमा रेफ्रीसँग भनाभन हुँदा मेस्सीले भने : मसँग राम्रोसँग बोल्नुहोस्

२०२६ को फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र स्विट्जरल्याण्डबिचको क्वार्टरफाइनल खेलमा रोमाञ्चक प्रतिस्पर्धा मात्र भएन, अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी र रेफ्री जोआओ पेड्रो पिनहेइरोबिचको भनाभनले पनि चर्चा पायो। 

खेलको पहिलो हाफमा रेफ्रीले आफूलाई सम्बोधन गरेको शैलीप्रति असन्तुष्टि जनाउँदै मेस्सीले आफ्नो अडान राखेका थिए। स्विट्जरल्याण्डको पक्षमा फ्रिकिक हुनुभन्दा अघि मेस्सी अर्जेन्टिनाको ‘डिफेन्सिभ वाल’ मा उभिएका थिए। 

सोही क्रममा रेफ्री पिनहेइरोले उनलाई पछाडि हट्न निर्देशन दिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेफ्रीको स्वर र हाउभाउ आफूलाई अनादरपूर्ण लागेपछि मेस्सीले तुरुन्तै प्रतिवाद गर्दै भने, ‘मसँग राम्रोसँग बोल्नुहोस्। मलाई अनादर नगर्नुहोस्। मसँग सम्मानपूर्वक बोल्नुहोस्, मैले तपाईंसँग सम्मानपूर्वक बोलेको थिएँ।’

क्यामेरामा कैद भएको उक्त दृश्यमा मेस्सीले आफ्ना हातहरू पछाडि राखेर निकै शान्त तर दृढताका साथ रेफ्रीलाई सम्झाएको देखिन्छ। खेलको बिचमा मेस्सीले संयम गुमाउने घटना कमै देखिन्छ। तर यसपटक उनी रेफ्रीको व्यवहारबाट निकै आक्रोशित देखिए। खेलमा कुनै अनुशासनात्मक कारबाही नभए पनि यो क्षण विश्वकपको चर्चित दृश्य बन्यो।

खेलका बारेमा कुरा गर्दा, निर्धारित ९० मिनेटसम्म १-१ को बराबरीमा रहेको खेल अतिरिक्त समयमा अर्जेन्टिनाले ३-१ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। 

अर्जेन्टिनाले अब इगंल्यान्डसँग आगामी बिहीबार सेमिफाइनल खेल्नेछ। यस प्रतियोगितामा पहिलो पटक गोल गर्न असफल रहे पनि मेस्सीले मैदानमा एक सिर्जनात्मक खेलाडीका रूपमा आफ्नो उपस्थिति कायम राखेका थिए।

विवादको केन्द्रमा रहेका रेफ्री पिनहेइरो पोर्चुगलका ३८ वर्षीय अनुभवी अधिकारी हुन्। उनले सन् २०१५ मा पोर्चुगिज शीर्ष लिगबाट करिअर सुरु गरेका थिए। च्याम्पियन्स लिग र सन् २०२५ को सुपर कपजस्ता ठूला प्रतियोगितामा अम्पायरिङ गरिसकेका उनी युरोपका आशालाग्दा रेफ्री मानिन्छन्।

स्विट्जरल्याण्डविरुद्धको खेलको दोस्रो हाफमा उनले भिएआरको सहयोगमा स्विट्जरल्याण्डका खेलाडी ब्रेल एम्बोलोलाई ‘डाइभिङ’ गरेको भन्दै मैदानबाहिर पठाएपछि उनी थप चर्चामा आएका थिए।

प्रकाशित: २८ असार २०८३ १५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App