पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी बाढी प्रभावितका लागि नयाँ शहर बनाउने योजना रहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाअन्तर्गत विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले सोही स्थानमा पुनः बस्ती बसाल्न असम्भव रहेको बताउँदै अब नयाँ शहर बनाउने बताए।
उनले भने,‘अब हामी नयाँ शहर बनाउने अवधारणामा जानेछौं। अहिले भूकम्पभन्दा फरक तरिकाले जानुपर्ने छ, जुन स्थानमा क्षति भएको हो, त्यही स्थानमा फर्काउने योजना छैन।’
जसमा उद्योग, अस्पताल, विद्यालयसहितका सुविधा समेटिने र त्यसका लागि आवश्यक जग्गा खरीद गरेर जाने योजना रहेको उनले बताए।
यस्तै, उनले बाढीपछिको पुनर्निर्माणका लागि नयाँ प्राधिकरण नबनाउने बताए। उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई शक्तिशाली बनाइने बताए।
प्रकाशित: ५ आश्विन २०८३ १२:५३ सोमबार





