सगरमाथा नेक्स्टले आयोजना गरेको बृहत् कला प्रदर्शनी ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वल्र्ड’ विश्व वातावरण दिवसको अवसर पारेर भोलि (बिहीबार) साँझ ४ बजेदेखि काठमाडौंको तारागाउँ नेक्स्टमा सुरु हुँदैछ।
१२ प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारका सिर्जनामार्फत यस प्रदर्शनीले विश्व औसतभन्दा झण्डै दोब्बर छिटो तापक्रम वृद्धिको मार खेपिरहेको हिमालय क्षेत्रको वातावरणीय सङ्कट र पृथ्वीसँगको मानव सम्बन्धमाथि गहन संवाद गर्ने जमर्को गरेको छ।
सर्राफ फाउन्डेसनसँगको सहकार्यमा आयोजित प्रदर्शनीलाई ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन्। प्रदर्शनीको उद्घाटनपश्चात कलाकार सलिल सुवेदीको ‘अर्थ इमर्जेन्स’ नामक विशेष जीवन्त प्रस्तुति रहनेछ।
प्रदर्शनीमा जलवायु परिवर्तन, सांस्कृतिक चेतना, रैथाने ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाका विविध माध्यममार्फत पृथ्वीप्रतिको सम्बन्धलाई पुनः परिभाषित गर्ने प्रयास गरिनेछ।
कलाकारहरूले आ–आफ्ना विशिष्ट सिर्जनामार्फत वातावरणीय सङ्कटमाथि बहुआयामिक दृष्टिकोण प्रस्तुत गर्नेछन्।
नेपाली कलाकारहरूमध्ये सलिल सुवेदीले ‘अर्थ इमर्जेन्स’ नामक रीतिपरक जीवन्त प्रस्तुतिमार्फत पृथ्वीको मौलिक आवाजलाई माटो, शरीर र ध्वनिबाट आह्वान गर्नेछन्।
सौर्गङ्गा दर्शनधारीले नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलालाई खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोडेर प्रस्तुत गर्नेछन् भने अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भू–परिवर्तनलाई तीन फोटोग्राफिक शृंखलामार्फत चित्रण गर्नेछन्।
प्रकाशित: २१ जेष्ठ २०८२ २१:०९ बुधबार




