७ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

ओ शून्यता, हाम्रो मायाको आकाश एउटै छ!

‘धेरै सम्झे धेरै हुन्छ

थोरै सम्झे थोरै हुन्छ

नसम्झेमा केही पनि छैन

तिम्लाई दिएको मेरो माया’

गम्भीर र रोमाञ्चक भावका गीत लेख्ने, गाउने, संगीत भर्ने र निरन्तर साहित्य सिर्जनामा लागिरहने गणेश रसिक नेपाली काव्य आकाशका अनुपम स्रष्ट हुन्। पछिल्लो समय स्वास्थ्य समस्या देखिएपछि उपचारको सिलसिलामा अस्पताल र घर गरिरहेका थिए। प्रोस्टेट क्यान्सरबाट पीडित रसिकको उपचारका क्रममा आइतबार हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार साढे ११ बजेतिर निधन भएको खबरसँगै मुलुकको स्रष्टाजगत् शोकमा डुबेको छ। हाल लन्डनमा रहेकी उनकी छोरी निर्जा राई आज सोमबार नेपाल आइपुगेपछि उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

पूर्वी नेपालको दुर्गम पहाडी जिल्ला भोजपुरको छिनामखुमा ७८ वर्षअघि जन्मिएका गणेशकुमार राईले आफूलाई रसिकका रूपमा चिनाए। पिताले ल्याएका दार्जिलिङे चर्चित साहित्यकार अच्छा राई ‘रसिक’का कृति पढेपछि उनले आफूलाई पनि ‘रसिक’ भनेर चिनाएका थिए। पछिल्ला दिनमा त रसिक भन्नासाथ उनै गणेशकुमार राई हुन् भनेर चिन्न थालियो।

काठमाडौंमा आएर रसिकले जुन तहको उपलब्धि हासिल गरे, त्यसप्रति उनी सन्तुष्ट थिए। रोगले थलिएका बेला गत वर्ष जेठमा उनले नागरिकसँग कुरा गर्दै भनेका थिए, ‘एउटा सानो झोला बोकेर हिँडेको मान्छे, यो ठाउँमा आइयो।’

त्यहीबेला उनी ओछ्यान परिसकेका थिए। भक्तपुर बालकोटस्थित आफ्नै निवासमा बिरामीले थलिइरहेका बेला उनले भनेका थिए, ‘केही अघिसम्म यो काम गर्न सकिएन, गर्नुपर्थ्याे भन्ने लाग्थ्यो। बिरामी हुँदै गएपछि ‘त्यो केही होइन’ भन्ने लाग्न थाल्यो।’

विगतमा उनले रत्न रेकर्डिङ संस्थानका अध्यक्ष एवं महाप्रबन्धक, सांस्कृतिक संस्थानका महाप्रबन्धक, साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक र नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव भएर योगदान गरेका छन्। लोकगीतका क्षेत्रमा उनले कालजयी गीत दिएका छन्। ‘रातो भाले क्वायाँ क्वायाँ सुत्केरीलाई ख्वायाँ’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै हुन्छ’, ‘मसँग एउटा तारा छ मायाको’, ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, र ‘नखेल्नू जुवा र तास’ जस्ता गीत चर्चित छन्।

उनका ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दसगजामा उभिएर’ (संस्मरण), ‘क्षितिजलाई छुन खोज्दा (कथा संग्रह), ‘रसिकका गीतहरू’ (गीत संग्रह), ‘जब सिस्नुहरू टेक्दै हिँडे’ र पाँच पुस्तकको ‘पेरुंगो’ (संस्मरण) लगायत कृति प्रकाशित छन्।

भोजपुरमा दार्जिलिङको प्रभाव बढी रहेको अवस्थामा उनका बुबा नरोत्तम राईले गाउँमा पुस्तकालय बनाएका थिए। फलस्वरूप बाल्यकालदेखि पुस्तक र नाटकप्रति उनको रुचि बढ्दै गयो।

बुवाले ल्याएको बेन्जुबाजा बजाउन सांगीतिक यात्राको सुरुआत गरेका रसिकले २०१६ सालमा आयोजित पूर्वाञ्चल युवा सम्मेलनमा समेत भाग लिएका थिए। उनले खोटाङ, भोजपुर र धनकुटाबाट निस्कने हस्तलिखित पत्रिकाका काम गरे। ब्रिटिस सेनाका कप्तान हजुरबुवा हर्कराज राईको दबाबमा हङकङ पुलिसमा भर्ती हुन उनले धरानमा गएर परीक्षासमेत दिए। तर लिखित परीक्षा उत्तीर्ण भएनन्। पछि भारतीय सेनामा भर्ती हुन राजविराज जाने क्रममा उनी बिमारी परेपछि त्यो सपना टुंगियो।

नियतिलाई रसिकबाट अरू नै कुराको अपेक्षा थियो। राजविराजबाट निस्कने सगरमाथाका अञ्चल पत्रिकाको सहसम्पादक भएर काम गरे। सो दौरान हाकिमसँग मनमुटाव भएपछि राजीनामा दिएर विराटनगर, धरान, तेह्रथुम हुँदै इलाम पुगे। २०२३ सालमा जेटिए तालिमका लागि राजधानी आएका थिए। तालिम सकेर तीन वर्ष जेटिएका रूपमा लेले र बुङमतीमा खटिए।

२०२४ सालमा राष्ट्रिय नाचघरमा काम गर्न थालेका थिए। राष्ट्रिय नाचघरमा निर्देशकका रूपमा काम गरेका रसिक, रामेश, रायन, मञ्जुलहरू मिलेर स्थापना गरेको ‘राल्फा’मा केही समय संलग्न भए। पछि रसिकले राल्फा छाडेर हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठसँग ‘लेकाली’ समूह खोले। त्यसपछि बिस्तारै लेकाली समूहमा निर्मला श्रेष्ठ, तीर्थ शेरचन, शशी भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ र नवीन किशोर राईहरू पनि सामेल भएका थिए। लेकालीका ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’, ‘ए है है’, ‘काफल पाक्यो’ जस्ता गीतहरूले चर्चा कमाएका थिए।

नेपालका पूर्वी पहाडका लोक शैलीलाई आधार बनाएर तयार पारेका गीतहरूलाई लोकगीतसरह ‘लेकाली’ले स्थापित गरेको थियो। २०४० सालमा रसिक सांस्कृतिक संस्थानको महाप्रबन्धक भएका थिए। २०५१ को मध्यावधि चुनावमा इलामको क्षेत्र नम्बर १ मा उनले एमालेका झलनाथ खनाल र कांग्रेसका बेनुपराज प्रसाईंसँग चुनाावी प्रतिस्पर्धा गरेका थिए। कांग्रेसका प्रसाईंले चुनाव जितेका थिए। चुनावका कारण ऋण लागेपछि उनले सक्रिय राजनीति छाडे र लामो समय रेडियो फिक्कल एफएममा आबद्ध भएर काम गरे।

रसिकले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२–२०७५) जस्ता प्राज्ञिक संस्थानहरूको जिम्मेवारी लिएर काम गरेका थिए।

२०६३ सालमा उनको ‘दसगजामा उभिएर’ संस्मरणले पद्मश्री पुरस्कार प्राप्त गरेको थियो। २०६४ सालमा उनी श्रीमती नीरा शेरचनलाई स्तन क्यान्सर देखियो। उनको उपचारकै क्रममा २०६७ सालमा उनका छोरा निमेशको निधन भएको थियो। स्तन क्यान्सर निको हुँदै गर्दा २०७८ मा कोरोनाबाट पत्नीको निधन भयो। त्यसपछि रसिकले एक्लो महसुस गर्दै आएका थिए।

तैपनि उनका तिनै धपेडी जीवन चलिरहेको थियो। उनी निरन्तर सार्वजनिक कार्यक्रममा देखिन्थे। एकाएक उनी अस्वस्थ भएर ओछ्यान परे। हिजो गर्नैपर्ने भनेर थालेका कैयन् काम अधुरा रहे। बिरामी अवस्थामा पुगेपछि जीवनका ती सबै कामभन्दा जीवन नै प्यारो हुने उनलाई महसुस भएको थियो। उनलाई आफ्नो जीवनको हिफाजत गरिनँ कि भन्ने तर्कना पनि त्यो बेला नआएका होइनन्। आफू बिरामी भएका बेला पनि आफ्ना भतिज सन्तोषलाई स्मृति टिपाइरहेका थिए। त्यतिबेला बोल्दा पनि आफ्नो शक्ति कम भएको महसुस उनलाई हुन्थ्यो।

‘मर्न मन लाग्छ मलाई काल आउँदैन

सपनीको लौरो टेकी हिँड्न सकिएन

चिताएको धेरै कर्म गर्न सकिएन...’

उनले आफू सक्रिय भएकै बेला लेखेको गीत ‘हुस्सुले ढाकेको यो सहरमा कति दिन बाँच्नु’ भित्रका निराशालाई त्यो बेला परिस्थितिकै पूर्वाभासका रूपमा लिएको हो कि जस्तो पनि उनलाई लाग्थ्यो। शारीरिक पीडा, निरन्तरको उपचार र सक्रिय जीवन एकाएक कुँजिएको उनलाई नमिठो अनुभव भएको थियो। उनी बिरामी भएपछि कैयन पुरस्कार र सम्मान आइरहे। तर उनी तिनलाई लिन भौतिक रूपमा समेत जान नसक्ने अवस्थामा रहे। अन्ततः एउटा निरन्तर ऊर्जावान, हँसमुख र सबैका प्रिय स्रष्टाले आफ्नो सांसारिक काया छाडेका छन्। तर उनले छाडेर गएका अनेकन् कृतिले हामीबिच उनका सम्झनालाई बचाइरहनेछन्।

प्रकाशित: १९ जेष्ठ २०८२ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App