अमेरिकाको शृंखलाबद्ध यात्रामा रहेको नेपथ्यले लस एन्जलसमा अर्को सफल प्रस्तुति दिएको छ।
नेपथ्यले अमेरिकाको यात्रा गर्दा वैभवशाली राज्य क्यालिफोर्निया प्रायः छुट्ने गरेको छैन। गत वर्ष मात्र पनि डेढ महिना लामो प्रस्तुतिका क्रममा सानफ्रान्सिस्कोमा ब्यान्ड प्रस्तुत भएको थियो। तर विश्वकै अग्रणी सिने उद्योग हलिउड अटाएको र जनसंख्याका हिसाबले क्यालिफोर्नियाकै ठूलो सहर लस एन्जलसमा भने नेपथ्यको यो दोस्रो प्रस्तुति हो। यसअघि सन् २०१६ मा ब्यान्ड यहाँ प्रस्तुत भएको थियो।
सदाझैँ लस एन्जलसमा पनि गायक अमृत गुरुङले गीतहरू मात्र नगाई ती गीतहरूको उद्गम विन्दु पहिल्याउँदाको प्रसङ्ग सुनाए अनि त्यस्ता स्थानको सुन्दरताको बयान गर्दै स्वदेश घुम्न दर्शकलाई प्रेरित गरे ।
कन्सर्टको सुरुवात ‘कोशीको पानी’बाट भएको थियो भने नेपथ्यका सर्वकालिक लोकरकसँगै अन्तिममा नेपाली झण्डाको स्तुतिमा आधारित ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो। कार्यक्रममा भर्खरै सार्वजनिक गरिएको नेपथ्यको गीत ‘कर्नालीका छाइला’ पनि गाएर सुनाइएको थियो।
मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
यसपाला नेपथ्यको महिना दिन लामो अमेरिका यात्राका लागि तय सात सहरको प्रस्तुतिमध्ये यो तेस्रो शो हो। ब्यान्डले टेक्सासको अस्टिन र वासिङ्टनको सियाटलमा कन्सर्ट गरिसकेको छ।
ब्यान्ड अब पेन्सिलभेनिया राज्यतर्फ प्रस्थान गर्नेछ। त्यहाँको पिट्सबर्ग सहरलाई यसपटक नेपथ्यले चयन गरेको छ। गत वर्ष ब्यान्डले यसै राज्यको ह्यारिसबर्गमा आफूलाई उभ्याएको थियो। ब्यान्ड मे ३१ मा पिट्सबर्गस्थित ‘रक्सियन थिएटर’मा प्रस्तुत हुनेछ।
त्यसपछि ब्यान्ड पाँचौँ प्रस्तुतिका लागि फेरि उत्तरतर्फ उक्लेर सिकागो सहर पुग्नेछ। जनसंख्याका हिसाबले अमेरिकाकै तेस्रो ठूलो यस सहरस्थित ‘दी भिक थिएटर’मा जुन ७ मा नेपथ्य कन्सर्ट तोकिएको छ।
त्यसपछि जुन ११ मा नेपथ्य बोस्टन सहरको ‘रोयल बोस्टन’ हलमा उभिनेछ। यस वर्षको कार्य तालिकाअनुसार यात्राको अन्तिम प्रस्तुति भने नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहरमा तोकिएको छ। त्यहाँको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ आफूलाई उभ्याएपछि यस वर्षका निम्ति ब्यान्डले अमेरिकाबाट बिदा लिनेछ।
प्रकाशित: १५ जेष्ठ २०८२ ११:०७ बिहीबार





