अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव–२०२५ संसारभरका १५ देशका ३१ वटा फिल्म प्रदर्शन हुने तय भएको छ। महोत्सवको आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले यस वर्षको संस्करणका लागि फिल्महरूको सूची सार्वजनिक भएको जानकारी गराए।
गत वर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धा रहेको मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’, भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको दीपक रौनियार निर्देशित फिल्म ‘पूजा सर (राजागंज)’ र अमेरिकाको नेपाली डायस्पोरामा बनेको विनोद पौडेल निर्देशित फिल्म ‘भुठानः द वर्ल्ड ह्यापिएस्ट म्यान’ लगायत फिल्म महोत्सवमा प्रदर्शन हुँदै छ।
आगामी जुन २६ तारिखदेखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान र मेक्सिकोलगायत १५ देशका फिचर फिल्म, डकुमेन्ट्री, सर्ट फिल्म र एनिमेसन गरी ३१ फिल्म प्रदर्शन हुनेछन्। चार दिनसम्म चल्ने महोत्सव अन्तर्गत एएफआई सिल्भर थिएटर र ग्रिनबेल्ट सिनेमा थिएटरमा फिल्महरू प्रदर्शन हुनेछ। महोत्सवमा प्रदर्शनका लागि आवेदन परेकामध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरूको छनोट समितिले फिल्महरू छनोट गरेको हो।
महोत्सवको उद्घाटनमा ‘शाम्बाला’ फिल्म प्रदर्शन हुनेछ भने समापनमा ‘पूजा सर (राजागंज)’ प्रदर्शन गरिने आयोजक बराइलीले जानकारी दिए। महोत्सवमा ‘भुठानः द वल्र्ड ह्यापिएस्ट म्यान’ फिल्मको विशेष प्रदर्शन हुनेछ। त्यस्तै सुविना श्रेष्ठ निर्देशित ‘देवी’ र फराह कस्सेम निर्देशित ‘वि आर इनसाइड’ डकुमेन्ट्रीसमेत महोत्सवमा प्रदर्शन हुनेछन्।
ग्लोबल पिस फिल्म फेस्टिभल, फ्लोरिडासँगको सहकार्यमा यस वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ: द रेस फोर क्रिटिकल मिनिरल’ र निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरी दुई फिल्म प्रदर्शन हुनेछन्।
महोत्सवमा प्रदर्शन भएकामध्येबाट उत्कृष्ट फिल्महरूलाई विभिन्न अवार्ड प्रदान गर्ने आयोजकले जनाएको छ। महोत्सव अवधिमा फिल्म र संस्कृतिबारे छलफल र मास्टर क्लाससमेत सञ्चालन हुनेछन्।
प्रकाशित: १४ जेष्ठ २०८२ ०९:३१ बुधबार





