४ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्, जयजयकार भन्दै तिनलाई फूल छर्नुस्!

मुक्तक

१) मुक्तक

बनौंला त्यो आकाश त्यो  बादल बनौंला

तिम्रो आँखाको सधैं म काजल बनौंला

सकिन भने म तिम्रो  जीवन साथी बन्न,

तिमीले ओढेर हिंड्ने म आँचल बनौंला।

२) मुक्तक

विरासत लेख्ने सुन्दर निब बन्न मन छ

देवकोटाझैं मलाई गरिब बन्न मन छ

फरक काम गरी नामलाई अमर राखी,

यो धर्तीमा मलाई नि अजीव बन्न मन छ।

३) मुक्तक

झोले र चम्चाहरूको पाटी र ताली चल्छ

मातेर मस्त हुन्छन् निर्धामा गाली चल्छ

यो देश सक्नलाई नियम बनाउने ती,

भ्रष्ट दलालहरूको हालीमुहाली चल्छ।

४) मुक्तक

कोइली ठानेको नै यहाँ काग निस्कियो

सफा सोचेकोमै कालो दाग निस्कियो

गैंडा रक्षक अभियान्ता भन्दै हिंड्ने गर्थ्यो,

उसकै घरमा छापा मार्दा खाग निस्कियो।

५) मुक्तक

भ्रष्ट अनि लुटेराकै जहिल्यै गुलाम गर्नुस्

जयजयकार भन्दै तिनलाई फूल छर्नुस्

यो देश बेची खाने दलाल तस्करहरूकै,

झोले बनी सधैंभरि तिनकै शरण पर्नुस्।

६) मुक्तक

मिलीजुली बजेट जति खाई सधैं भ्रष्टहरू

हनुमान र झोले अघि लाई सधैं भ्रष्टहरू

जनताका दुखपीडा पीरमाथि कुल्चिएर,

देशको ढुकुटीमा गर्छन् दाइँ सधैं भ्रष्टहरू।

७) मुक्तक

कहिले नवशिला कहिले शिलाजित बनी आएँ

गाउँकै सुखदुःखहरूको शब्द गीत बनी आएँ

सिर्जनाका माध्यमबाट मनको बह पोख्नलाई,

सारथी म हजुरहरूकै मनको मित बनी आएँ।

८) मुक्तक

खेतबारी हलो जुवा मुस्ली ओखल बन्न मन छ

समस्यामा परेकाको दुःखको हल बन्न मन छ

धनको थुप्रो सुखसयल छैन केही मोह मलाई,

सबले लगाउन पाउने जुत्ताचप्पल बन्न मन छ।

९) मुक्तक

सामन्तलाई ढलाउने शक्ति बन्न मन छ मलाई

रूढिवादी जलाउने  शक्ति बन्न मन छ मलाई

हिमाल  पहाड तराईका फाँट कुनाकन्दरामा,

अन्नबाली फलाउने  शक्ति बन्न मन छ मलाई।

१०) मुक्तक

जित्न मात्र होइन कहिलेकाहीं हार्न सक्नुपर्छ,

खराबबाट दूर बसेर त्यो नकार्न सक्नुपर्छ

सकारात्मक बनी सधैं  दृढ अठोट संकल्पले,

यो धर्तीमा जन्मिएको सार्थक पार्न सक्नुपर्छ।             

प्रकाशित: ८ जेष्ठ २०८२ १३:०४ बिहीबार

# Muktak # Laghukatha # Poem # Nagarik # Essay