‘स्त्री २’ को सफलतापछि बलिउडमा श्रद्धा कपूरको माग बढेको छ। अहिले उनी सावधानीपूर्वक फिल्म छानिरहेकी छन्। यसबिच उनले एकता कपूरको फिल्म प्रस्ताव अस्वीकार गरेको खबर बाहिर आएको छ। तर निर्देशक राही अनिल बर्वेले यसलाई अफवाह भन्दै बचाउ गरेका छन्।
भारतीय सञ्चारमाध्यममा श्रद्धाले एकता कपूरको फिल्मका लागि १७ करोड भारती रुपैयाँ मागेकी थिइन्। एकतालाई यो रकम धेरै लाग्यो। महिला लिडका लागि यति ठूलो रकम दिँदा फिल्मको बजेट प्रभावित हुने चिन्ता एकतालाई भयो।
श्रद्धालाई यो कुरा मन परेन, अनि उनले फिल्म छोडिन्। निर्माण टोलीले मुख्य भूमिकाका लागि नयाँ अभिनेत्री खोज्न थालेको चर्चा समेत भइरहेको छ। धेरै शीर्ष अभिनेत्रीहरूसँग कुराकानी भइरहेको बताइएको छ।
‘स्त्री २’ को सफलतापछि श्रद्धाले आफ्नो पारिश्रमिक बढाएकी छन्। त्यसैले उनी एकताको ठूलो बजेटको थ्रिलर फिल्मबाट बाहिरिएकी छन्। यो फिल्म तुम्बाडका निर्देशक राही अनिल बर्वेले निर्देशन गर्दैछन्।
निर्देशकले श्रद्धाले फिल्म छोडेको खबर अफवाह भएको बताए। बम्बे टाइम्ससँग उनले भने, ‘म हाल रक्त ब्रह्माण्ड वेब सिरिजमा काम गरिरहेको छु। त्यसपछि एकता कपूरको फिल्म गर्नेछु।’ श्रद्धा दिनेश विजन, बोनी कपूर र भूषण कुमारसँग विभिन्न परियोजनामा कुराकानी गरिरहेकी छन्। उनको अर्को फिल्मको घोषणा आगामी दुई महिनामा हुने आंकलन गरिएको छ। एजेन्सी
प्रकाशित: ६ जेष्ठ २०८२ १२:५४ मंगलबार