३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

बंगलादेशी अभिनेत्री नुसरत विमानस्थलबाट पक्राउ

‘मुजिब: द मेकिङ अफ अ नेशन’मा शेख हसिनाको भूमिका निभाएकी बंगलादेशी अभिनेत्री नुसरत फारियालाई आइतबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ। उनलाई विद्यार्थी हत्याको प्रयासको मुद्दामा पक्राउ गरिएको हो।  

ढाका ट्रिब्यूनका अनुसार नुसरत थाइल्याण्ड जाँदै गर्दा विमानस्थलको अध्यागमन जाँचमा रोकिएकी थिइन्। त्यसपछि प्रहरीलाई खबर गरेर उनलाई पक्राउ गरिएकाे हाे। उनलाई वातारा प्रहरी चौकीमा लगिएको थियो, त्यहाँबाट ढाका महानगरीय प्रहरीको जासूस शाखामा हस्तान्तरण गरियो। नुसरतविरुद्ध पहिलेदेखि नै पक्राउ पुर्जी जारी थियो।  

यो पक्राउ गत वर्ष (जुलाई २०२४) मा बंगलादेशमा सरकारविरुद्ध भएका प्रदर्शनसँग जोडिएको छ। वातारा क्षेत्रमा एक विद्यार्थीमाथि हत्याको प्रयास भएको घटनामा नुसरतसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। 

यी प्रदर्शनहरू शेख हसिनाविरुद्धको ठूलो आन्दोलनको हिस्सा थिए, जसले हिंसा चर्किएपछि उनलाई राजीनामा दिएर देश छोड्न बाध्य बनायो। हसिनाले देश छोडेपछि प्रदर्शनकारीहरू उनको घरमा पसेर लुटपाट गरेका थिए।  

नुसरतको फिल्मी करियरको कुरा गर्दा उनले २०२३ मा रिलिज भएको ‘मुजिब: द मेकिङ अफ अ नेशन’मा शेख हसिनाको भूमिका निभाएकी थिइन्। श्याम बेनेगलकाे निर्देशनमा भारत र बंगलादेशको संयुक्त निर्माण गरेका थिए। 

यसबाहेक उनले ‘आशिकी’, ‘हिरो ४२०’, ‘बादशा–द डन’, ‘प्रेमी ओ प्रेमी’, ‘बस २: ब्याक टु रूल’ र ‘अपरेशन सुन्दरवन’ जस्ता बंगलादेशी र भारतीय बंगाली फिल्ममा अभिनय गरिसकेकी छिन्। आगामी वर्षहरूमा उनका ६ वटा फिल्म रिलिज हुने तयारीमा छन्।  नुसरतको पक्राउले उनको करियर र बंगलादेशको राजनीतिक अवस्थामाथि थप प्रश्न उठाएको छ। एजेन्सी

प्रकाशित: ५ जेष्ठ २०८२ १४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App