२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

रुबी भ्यालीतिर उक्लिँदा

यात्रासंस्मरण

उकालामा दुईवटा होन्डाको साइन बाइकलाई पछि पार्दै होन्डाकै एक्स।आर। भतिज जयराम अर्याल र मलाई बोकेर धुलो उडाउँदै थियो। एकाएक बाइकको स्पिड कम भयो जयरामले भने - अङ्कल चेनमा समस्या आएजस्तो छ। म बाइकबाट ओर्लिएँ। बाइकको चेन चेनघरमा थिएन। घर छोडेर बरालिन हामीलाई जस्तो उसलाई छुट छैन मैले ठानें। मैले उसलाई सम्झाइबुझाइ उसकै घरमा फर्काइदिएँ। बदलामा मैले आफैँलाई कालो बनाएँ। साइन बाइकहरू एक्स।आर। लाई गिज्याउँदै अगाडि बढे। स्याउलीमा भेटौँला है भन्दै।

स्याउलीमा तीनवटै बाइकहरू भेट भए। दाजु गोविन्द नेपाल र भाइ डि।एन। एउटा बाइकमा थिए। सरोज भाइ एउटा बाइकमा थियो। सरोजको बाइकमा लत्ता कपडा सहितको एउटा बोरा थियो। उसलाई बोराको सट्टा एउटी राम्री युवती बोकाइदिन पाएको भए बाटो काट्न सजिलो हुने थियो जस्तो मेरो मनमा लाग्यो। हुन त ऊ विवाहित हो। उसले त्यस्तो कल्पना गरेन होला। मेरो मन बदमास भएकामा म आफैँ मुस्कुराइरहेँ। ऊ र दाजु गोविन्द मेरा माइली फुपूका छोराहरू हुन्। सरोज कान्छो हो उसका दुईवटा सानासाना छोराछोरी छन्।

टोड्के पुग्नुभन्दा अगाडि दुईपटक मैले हात कालो पारें। सरोज भाइले सेतो बोरामा माटो लगायो। होन्डा साइनले चेपेको खुट्टा निकाल्न दुईवटै बाइकका मान्छेहरू खटिनुपर्यो। घटना सामान्यमा टर्यो् । यदि कुनै युवती बोकाएको भए त्यहाँ धेरै नखरा सहनु पथ्र्यो, हल्लाले पहाड थर्कन्थ्यो। बोरा बोकाएकामा ठिकै गरेका रहेछौं भन्ने लाग्यो।

सरोजले बोराको धुलो नझारी आफ्नो पाइन्टको धुलो झारेर बाइक टोड्के भन्ज्याङ पुर्याठयो । नेत्रावती डम्जोङ ५ टोड्के बजारमा हामीले केहीबेर बाइक रोक्यौँ । एक्स।आर। को उपचारका लागि ठाउँ खोज्यौँ – त्यहाँ अस्पताल त के स्वास्थ्यचौकी समेत फेला परेन । थलिएको एक्स।आर। चढेरै हाम्रो यात्रा अगाडि बढिरह्यो।

हामी लपाङ फेदी पुग्यौं। लपाङ फेदीमा रहेको लपाङ वर्कसपमा सबै बाइकको चेकजाँच गर्‍याैं र नजिकै रहेको रामकृष्ण श्रेष्ठको खाजा पसलमा छिर्‍याैं। उनले यस ठाउँमा व्यापार गरेको १७ वर्ष भएछ। उनको पुरानो घर त्रिशुली हो। उनले टोड्के भञ्ज्याङमा २५ वर्ष व्यवसाय चलाएका रहेछन्। अहिले उनको पसलमा फ्राई चाउमिन, तरकारी, चना, अण्डा र खानाको व्यवस्था रहेछ। नजिकै रहेका आँखु खोला हाइड्रोपावर र बसहरूको आवतजावतका कारण व्यवसायले सास फेरेको छ - रामकृष्णले बताए।

हामीले खाजा खाएको पैसा नघटाइ तिर्यौँ  र लापाङफेदी छाड्यौँ। लापाङ फेदी पुलमा हलोजुवा बोक्दै घरतर्फ जाँदै गरेका किसानसँग भेट भयो। उनी खेतमा गहुँ छरेर इमाचोकस्थित आफ्नो घर जाँदै थिए। उनले आफ्नो नाम हरिबहादुर बडुवाल बताए। हलो, जुवा, नारा, अनो, ठेडी, फाली, जोतारो, सोइला, हरिस, गोरूलाई लगाउने मोला र बलियो पाखुरा गरेको हली अनि एक हल गोरु भएपछि बल्ल खेतबारी जोतिन्छ। म पनि एकताका चर्चित हली थिएँ। मलाई हली हुन खुब मनपर्छ। अरूको मेला जाँदा मिठो खाजा खान पाइन्थ्यो। गोरूको पुच्छर निमोठेर ठूलो गरामा साउन खुब मजा आउँछ। साउनु, लिँड्को अनि दाँधे लगाउनु फरकफरक कुरा हो। मलाई तीनवटै काम गर्न आउँछ। हुन त म अझैसम्म साहु हुन पाएको छैन जीवनमा। आज हलो, जुवा त छुटेका छन् तर पनि अरूलाई मालिक बनाइरहने उद्योगमै छु म।

बाटो धुलो उँडे पनि तेर्सो छ। किन्ताङ खोलाको पुल भर्खर भर्खर बनेको रहेछ। तत्कालीन प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माबाट संयुक्त रूपमा २०८१ साल वैशाख १६ गते समुद्घाटन भएको हो। यसकै आसपास दुई झोलुङ्गे पुल पनि छन्। आँखु खोलामा भएको एउटा झोलुङ्गे पुल तरेर गङ्गा जमुना गाउँपालिकाको गुम्दी जान सकिन्छ भने पुल तरेपछि खनियाबास गाउँपालिकाको खनियाबास जाने बाटो आउँछ। हामी खनियाबासतर्फ लागेनौँ। नेत्रावतीलाई छाडेर हामी खनियाबास गाउँपालिकाचाहिँ प्रवेश गर्‍याैं। किन्ताङ खोलालाई छाड्दै आँखु खोला देब्रे पारेर हामी अगाडि बढ्दै गयौँ। हाम्रो यात्रा रूबी भ्यालीसम्मको हो।

आज २०८१ साल कार्तिक २० गते मङ्गलवार हो। नेपाल गेस्टहाउस अघिल्तिर लामबद्ध भएका तीन बाइक र पाँच यात्रीका तस्वीर छोरी सजिनाले खिचिदिई सजिना गोविन्द दाजुकी छोरी हुन्।

उनले भनेकी थिइन् – भिडियो र फोटाहरू फेसबुकमा पोस्ट गर्दै जानु है! नेपाल गेस्टहाउस उनै गोविन्दको हो। पहाडी बाटो हरिया डाँडाकाँडा र खोलानालाले मनमा ताजगी ल्याइरहेको थियो। एउटा बाइकमा डि एन  र म थियौँ। भाइ सरोजको बाइकमा बोरा यथावत नै थियो। गोविन्द दाइ र जयराम आफ्नै रफ्तारमा थिए। हामी दामन पाख्रिन तामाङ मार्गमा एकोतार कुदिरह्यौँ।

किन्ताङ फेदी सोमथाङ सडक ७७ किलोमिटर छ। निकै माथि गएपछि आँखु खोलामा बाटो झरेको रहेछ। निकै ठूलो पहिराका कारण खोलाबाट नै यातायातका साधनहरू वारपार गर्नुपर्ने बाध्यता रहेछ। सरोज भाइले दुवै जुत्ता चिस्याए पनि बोरा सकुशल पारि तार्यो त र डी एन ले बाइकको चक्का पानीमा चोपल्यो अनि किनारा लगायो। मैले पनि भिडियो बनाउने तालमा दाहिने जुत्ता र मोजा पानीमा चोपलेँ। पैदल यात्रीका लागि साइजसाइजका ढुङ्गाहरू टेक्नका लागि थिए। सरोज भाइभन्दा म आधा बेखुसी भएँ किनकि मेरो एउटा खुट्टा मात्र पानीमा पूरै डुबेको थियो।

पारि भित्ताबाट गुम्दीको पोखराले हामीलाई नियालिरहेको थियो। हामीसँग उसलाई भेट्ने फुर्सद थिएन। हामी रुबी भ्याली भेट्न हतारिएका थियौं। बाटातल र बाटामाथि लहलह झुलेका धानका बालाबाट सुगन्ध उडेर आइरहेका थिए। यति बिघ्न बासना छाड्ने धानका चामललाई चाम्रे बनाएर मैले मनमनै खाएँ। आहा, पहेँला बास्नादार सुनहरू। किसानका हातहरूलाई सलाम ठोकेर हामी कुलेलाम दौडिरह्यौँ । हिमालको टुप्पामा बाहेक कतै घाम थिएन। बास बस्ने ठाउँको कुनै अत्तोपत्तो थिएन। हामी खनियाबास गाउँपालिका धार्न टोलमा थियौँ। मोहनसिंह तामाङ धारामा मासुका लागि काटिएका कुखुरा सफा गर्दै थिए। उनले रूबी भ्याली आउन दुई घण्टा लाग्छ भने। गोविन्द दाजु बासका लागि छटपट गरिरहेका थिए।

बाटाका छेउछाउका घरहरूमा बत्ती बलिसकेका थिए। मन भने रुबी भ्यालीमा गएर बास बसिसकेको थियो। गोविन्द दाजुले झार्लाङको लामो घरमा बासका लागि चाँजोपाँजो मिलाए। हामीले घरकै आडमा बाइकलाई टाँस्यौँ। हावा चिसो थियो। साँझ छिपिएर रात हुँदै थियो। दाजुभाइहरू आफ्नो चिसो भगाउन होटेल मालिक कलबहादुर तामाङसँग मसिनो गरी नाता गाँस्दै थिए। केहीबेरमा एउटा सिङ्गै कुखुरा होटल छिर्‍याे। कुखुराले पूरा मसला खाइसके पछि पाँच बियर सहित टेबलमा आधाआधि कुखुराको परिकार आयो। जयराम र मेरो अगाडि बियरभन्दा कडा कलर भएको रेडबुलका दुई गिलास थियो। मेरो भागमा साइज नमिलेका भए पनि स्वादिला आलुका चौटाहरू आए। मैले केहीबेर भाइहरूलाई साथ दिएँ। ज्यान तात्ने जिनिस पेटभित्र नपरेकाले म चिसिँदै थिएँ। ताताको खोजीमा म किचनमा छिरेँ। अँगेनामा पानीको किट्ली थियो। छेउमा एउटा ठूलो भाँडोमा भैंसीको घिउ पग्लँदै थियो। कलबहादुरकी श्रीमती होसियारीसाथ बट्टामा घिउ भर्दै थिइन्। मैले उनीसँग कुराकानी गरेँ। कलबहादुर मकैका घोगालाई छोडाउँदै थिए। उनीहरूसँग यताउति गरिरहेकी एउटी छोरीसहित उनका दुई छोरी र दुई रहेछन्। छोराछोरी सबै धादिङबेसीमा पढ्दै छन्। जेठी छोरी मरियम सामाजिक कार्यकर्ता हुन्। भोलि बिहान कान्छी छोरी धादिङ जाँदै छिन्। यो घ्यू भोलि बिहानै कान्छीसँगै धदिङबेसी झर्छ।

झार्लाङमा धर्म परिवर्तनको ठूलो लहर रहेछ। आफ्ना पुर्खाहरूले मान्दै आएका बौद्ध धर्मलाई परित्याग गरी प्राय सबै क्रिश्चियन धर्ममा लागेका रहेछन्। उनले पनि धर्मपरिवर्तन गरेका रहेछन्। कलबहादुरका अनुसार यो भेगमा क्रिश्चियन नहुनेहरूलाई बरू असजिलो छ। एक्लो भएर गाउँमा बस्न असहज हुन्छ। धामीझाँक्रीहरूले बोका, कुखुरा र बाख्राहरू बलि दिन लगाउँछन्। यो धर्ममा लागेपछि प्रार्थना गरे भयो। एकजना बिरामी हुँदा पाँचछ वटासम्म बलि दिनुपरेको नमिठो घटना गाउँलेहरूसँग छ। धर्म परिवर्तन गर्नुमा आर्थिक प्रलोभन मात्र नभई शिक्षा स्वास्थ्यमा सहयोग पाएका कारण पनि हो।

टेबल रङ्गीन थियो। यो यात्रा हो यात्रामा केही हदसम्म मन खोलेर साथीभाइ हाँसोठट्टा र रमाइलो गर्नु नै जीवन जिउनुको सार्थकता हो। हामीले रमाइलो गर्‍याै। टेबल खाली भएर खानाका प्लेटहरूआए। खाना खाएकै ठाउँ वरिपरि लस्करै राखिएका खाटहरुमा रूबीभ्यालीको मिठो सपना बोकेर हामी सुत्यौं।

बिहान ६. ४५ बजे हामीले झार्लाङ छाड्यौँ। री गाउँ वरपरका हरिया पहाडका चुचुराहरूमा घाम थियो। बाटो अप्ठ्यारो नहुने कुनै कारण थिएन। ठाउँको नाम नै झार्लाङ पहिरो थियो। हामीले झार्लाङको पुल तरिसकेका थियौँ। लामाको ड्रेसमा बाटो छेउमा उभिरहेका लामालाई सोध्यौँ – यो ठाउँको नाम के हो रु झार्लाङ तेर्सो – उनले भने। उनको नाम कविराम हो। उनीसँग केही कुराकानी गरेर हामी पूर्व उत्तर हानिइरह्यौं। बाटो अप्ठ्यारो भएका कारण बाइकबाट ओर्लनु र उक्लनु भइरह्यो। बाटोसँग पंखी जोडी खेल्दै हामी रूबी भ्याली गाउँपालिका चार बोराङमा पुग्यौँ। हामीले हाम्रो सपनाको भ्याली टेकिसकेका थियौँ। मेरो मनमा रुबी भ्याली भनेको उचाइमा रहेको एउटा सुन्दर बस्ती हो तर त्यस्तो रहेनछ।

रुबी भ्याली टेकिसकेपछि बल्ल थाहा भयो। रुबी भ्याली भनेको त एउटा सिङ्गो गाउँपालिका रहेछ। यसभित्र साविकको लापा, तिप्लिङ र सेर्तुङका सबै भूभाग पर्दा रहेछन्। हामीले जान खोजेको ठाउँ रुबी भ्याली भ्यू पोइन्ट पाङसाङ रहेछ।

हामी धादिङ मण्डली यातायात प्रालिद्वारा सञ्चालित टिकट काउन्टरमा पुग्यौं। यहाँदेखि धादिङ बेसी, मलेखु, गल्छी भएर काठमाडौँ जान सुपर तथा डिलक्स बसहरूको टिकट पाइँदो रहेछ। हामीले त्यहाँ सामान्य पसल राखेर बसेका त्यहीँका बासिन्दा सेन्जा लामा भेट्यौं। उनले रूबी पाइने हिमालतर्फ देखाउँदै भने रुबी पाइने हिमाल त्यही हो। हेर्नुहोस् त रातै देखिएको छ त्यो हिमाल। रातो ढुङ्गाको खानी भएको चुचुरोमा हिउँ परेको थियो। उनले तिप्लिङ पुग्न करिब एक घण्टा लाग्ने र पाङसाङ पुग्नचाहिँ ठ्याक्कै कति लाग्छ भन्न नसकिने बताए। यो वरपरका हिमालहरू सेतै देखिन्छ। यहाँसम्म हिउँ पर्छ। उनले गणेश हिमाल अलि तलबाट देखाए। सानो ढिस्काले छेकिएको रहेछ।

यहाँबाट गणेश हिमाल पुग्न पाँच छ दिन लाग्छ। म पुगेको छैन उनले भने र त्यहीँबाट शिवडाँडा देखाए। उनले भने अनुसार त्यहाँ नजिकैको ढिस्कोले छेकिएको छ बोराङ गाउँ। त्यहाँ ३५० घरधुरी छन् उनले भनेको सुनेर हामी दङ्ग पर्‍याैं। यति ठूलो बस्ती भएको बोराङलाई छुन हामी हतारियौं।

हामी रुबी भ्याली होटलमा थियौं। हाम्रो छेवैमा प्रशान्त तामाङ थिए। उनी रुबी भ्याली गाउँपालिका चार बोराङका वडाध्यक्ष हुन्। उनको घर यहीँ बोराङमा हो। हामी बसिरहेको घर उनको दिदीको हो। टेबलमा तातो चियाको गिलास आइसकेको थियो। गणेश हिमालले हामीलाई नियालिरहेको थियो। टाउका माथि हात राखेर थुमथुमाइरहेको भान भयो मलाई। गाढा सेतो टलक्क टल्किएको गणेश हिमालले हाम्रो चिया गफ सुनिरहेको थियो।

प्रशान्तले पारी भित्तामा तीनचार गाउँ भएको कुरा सुनाए। उनले भनेका कुरामा विश्वास नगर्नु मूर्खता हुन्छ भनेर विश्वास मान्दै बस्यौँ। पारि भित्तामा कुनै घरहरू देखिएका थिएनन् तर उनी भन्दै थिए – त्यही भित्तामा तीन चारवटा गाउँहरू छन्। अलि माथि शिवडाँडा पुगेपछि लापा गाउँको ठूलो बस्ती र कपुर गाउँ लगायतका बस्तीहरू देख्न पाउनु हुनेछ – उनले भने त्यस भेगमा बाटो भए पनि गाडी भने गएको छैन। यो गाउँ बुद्धिमान तामाङको गाउँ हो। बोराङ बस्तीभन्दा माथि शिवको २२ फिट अग्लो मूर्ति छ। सो मूर्ति करिब ७०० टन तौल भएको ढुङ्गाबाट निर्माण गरिएको हो। शिवको मूर्ति सिद्धयोगी बाबा श्री १०८ परमहंस कालिदासजी महाराजजीले प्रतिस्थापन गर्नुभएको हो। यस भेगमा पछिल्ला दिनहरूमा धर्म परिवर्तनको लहर चलिरहेका बेला शिवको मूर्ति स्थापना हुनुले धार्मिक पर्यटकहरू बढ्न सक्ने कुरा प्रशान्तले बताए। सो मूर्ति पशुपति विकास कोषले नै दिएको हो। अन्य खर्च यहीँबाट उठाएको हो। मूर्ति ल्याउने खर्च भने उनका दाजु फिलिङ तामाङ र उनी स्वयं प्रशान्त तामाङले नै बेहोरेका हुन्। उनका दाजु फिलिङ तामाङ धार्मिक अभियन्ता हुन् तीन टिपरमा तीन पिस गरेर ल्याइएको हो सो शिवको मूर्ति। त्यसबेला बुद्धिमान तामाङ र माननीय डम्बरजीले पनि मूर्ति स्थापनाका बेला सहयोग गरेका हुन् – उनले भने। लगातार दुई दिन दुई तीन दिन पानी परिरह्यो भने यहाँ पनि हिउँ पर्छ। यहाँ जग्गा जमिनको खासै किनबेच छैन। यस भेगमा तीन चार वटा हाइड्रोपावरहरू छन्।

गणेश हिमालको शिरबाट बगेको आँखु खोलाको पानी निकै चिसो छ। गणेश हिमालको आँसु भन्ने गरिन्थ्यो रे पहिला। आँसुआँसु भन्दा भन्दै आँखु भएको हो भन्ने भनाइ रहेछ। गणेश हिमाल आरोहणमा सरकारले नै रोक लगाएको छ। यो हिमालको आरोहण निकै खतरनाक भएकाले नेपाल सरकारले नै रोक लगाएको हो। त्यस भेगमा गणेश कुण्ड कालो दह र सेतो दह पनि छ। हेर्दा त्यहीँ त हो जस्तो लाग्छ तर त्यहाँ पुग्न तीन चार दिन लाग्छ।

यहाँ आलु, कोदो, फापर, गहुँ लगायतका बालीहरू प्रशस्त हुन्छन्। यहाँको माटो निकै उर्वर छ। माटामा बिउ खसेपछि फल्छ भन्छन् यहाँका किसानहरू हामी सानो छँदा झार्लाङ, सेर्तुङ र लापातिरबाट आलु, डोका, मान्द्रा र भकारीहरू बोकेर नलाङ, मैदी, खरी र ढोलातिर तामाङहरू पुग्थे। त्यति टाढा कसरी गए होलान् यतातिरका तामाङहरू – मैले प्रशान्तलाई हतार नगरी जिज्ञासा राखें।

उनले रहस्य खोले – हाम्रो मुख्य आयआर्जन भनेकै आलु, कोदो, मकै, जौ र फापरहरू हुन्। बालीनाली प्रशस्त भए पनि यस भेगमा धान नफल्ने भएकाले यहाँबाट डोका, डाला, आलु बोकेर तलतिर जाने र धान ल्याउने गर्थे। विशेषगरी दसैं तिहारमा मिठो खानाका लागि त्यसो गरिन्थ्यो। आजकल घर घरमा चामलका बोराहरू आउँछन्। पहिला पुल थिएन लिस्ने खोलामा। झार्लाङको एसियाकै ठूलो पहिरो त्यहाँ पनि पुल थिएन। डुन्डुरे खोलाहरूमा कतै पनि पुल थिएन। दसैंतिहार ताका भर्खरभर्खर वर्षा सकिने बेला भएकाले खोलाहरू ठूलो हुन्थ्यो। मेरा बुबाहरूको टिममा २०र२२ जना हुन्थे रे। बन्चरो खुकुरी लगायतका सामग्री बोकेर ठाउँ ठाउँमा पुल बनाउँदै बाटो बनाउँदै जानुपथ्र्यो अरे। ५० केजी धान बोक्नका लागि २० र२५ दिन लाग्थ्यो अरे। त्यतिबेला कम्तीमा पनि चार पाँच ठाउँमा पुल हाल्नुपथ्र्यो भनेर बुबाले भन्नुहुन्थ्यो। उनले पुराना दुस्खका कुराहरू सुनाए।

म मेरो जन्म घर साविक मैदीको अमराईँबाट पढ्नका लागि शमी भञ्ज्याङ जाँदा लिस्नेको डाँडाबाट झरेका तामाङहरूका लस्कर सम्झन्छु। दारेगौंडाको शमीको रुख नजिक तामाङहरूले कालो कराईमा ढिँडो ओडालिरहेका हुन्थे। हामीलाई ढिडो खाने रहर हुन्थ्यो। उनीहरू कति भाग्यमानी ढिँडो खान पाउँछन् जस्तो लाग्थ्यो। त्यतिबेला तामाङहरूसँग सित्तैमा आलु खान पाइन्छ भनेर मित लगाउनेहरू हुन्थे। साह्रै सोझा तामाङहरू आलु दिएर पोगल्टा धान लिएर गएको घटना पनि छ मसँग। आज प्रशान्तको कुरा सुनेर चाडबाडमा दुईचार दिन चामलको भात खानका लागि ज्यानको बाजी थापेर २०/२५ दिन भारी बोक्नुपर्ने बाध्यताले आङ जिरिङ्ग भयो।

यहाँ प्लसटुसम्म पढाइ हुन्छ। प्रशान्तसँग आजको रात यहीँ बसेर गाउँसँग लडीबुडी गर्ने मेरो चाहना पूरा हुनेवाला थिएन। हामी पाङसाङ पुग्नु थियो। हामीले उनीसँग छुट्टियौं। उनले गाउँ भिजिट गर्न अनुरोध गरेका थिए तर त्यो सम्भव भएन।

बाइक लडाउँदै उठाउँदै घुम्तीहरू पार गरेर हामी शिवडाँडा पुग्यौँ। २२ फिट अग्लो शिवको प्रतिमाको काखमा रहेको ठूलो शङ्ख बजाउँदै गरेका तामाङ ठिटीहरू भेट्यौँ। उनीहरू केहीबेर यताउति गरेर निस्किए। शिवको मूर्ति नजिकै बुद्धको स्तुपा थियो। हामीले यसलाई धार्मिक मेलमिलापको बलियो नमुना ठान्यौँ। हामीले त्यहाँबाट गणेश हिमाललाई मनमनै छोयौँ।

चलायौँ र भन्यौँ – तिमी यहाँ रहेछौ, हामीले कहाँ कहाँ खोज्यौं। आँखा रसिलो पारेर मैले गणेश हिमाललाई हृदयमा सजाएँ। बोराङको सुन्दर सफा बस्तीलाई कल्पनाका औंलाहरूले चलाएँ। आँखामा सजाएँ। मैले लक्ष्मण अर्याल जो नाताले अङ्कल हुनुहुन्छ उहाँलाई सम्झिएँ। कमल अब तिमी र म रुबी भ्याली जाऊँ है! – उहाँले भन्नुभएको थियो।  मैले हुन्छ पनि भनेको थिएँ। यसपाला अपरझट योजना बन्यो। हामीले उहाँलाई समेत समेट्न सकेनौं। यात्राभर मैले उहाँलाई सम्झिएँ। हामीले धित मारेर शङ्ख बजायौँ। र बराङलाई सुनायौँ। त्यहाँबाट पारी भित्तामा लुकेका लापाका सुन्दर बस्तीलाई नियाल्यौँ। कपुर गाउँ लगायत सुन्दर निला आकाशजस्ता बस्तीलाई हामीले धित मरुन्जेल हेर्‍याैं। मैले फेरि लापादेखि आलु बोकेर जाने पटपटी फुटेका राताराता गाला गरेकी तामाङ्नीलाई सम्झिएँ लिस्नेका उकाला वरिपरि।

हामीले यात्रालाई अओइ पुर्‍यायौं। त्यहाँ भेटिएका सोझा मान्छेका कञ्चन र चोखो हार्दिकतालाई मुटुभरि समेट्यौँ। काठको सानो गाडी जसले हाम्रो बचपनलाई याद दिलायो। भाइ डि एन ले बचपना फर्काउन कोसिस गर्‍याे। हामीले त्यहाँ एकएक वटा रेडबुल र केही पिस बिस्कुट खायौं र बाटो लाग्यौं।

जति अगाडि यात्रा बढ्दै गयो त्यति गणेश हिमालसँग सामीप्य बढ्दै गइरहेको थियो। हामीले अओइको उपल्लो भूभागबाट फेरि हिमाल नियाल्यौँ। बाटो अप्ठ्यारो थियो। बाइकबाट ओर्लँदै उक्लदै थियौं। सेर्तुंगको बस्ती भित्तामा लपक्क टाँसिएको थियो। परैबाट नियाल्यौं। बाटोछेको हेली प्याडमा म कुदेर पुगें फोटो खिचें भिडियो बनाएँ र केहीबेर उत्ताउलिएँ। ओरालो लागेपछि भने बाटो निकै अप्ठ्यारो थियो। निकै तल पुगेपछि खोलामा पानी ठूलो थियो। जसोतसो गरेर जयराम र डिएनले बाइकलाई खोला तारे तर कान्छो भाइ सरोजलाई मैले सघाउनुपर्‍याे। मैले जुत्ता मोजा र टाउजर खोलें र बाइकलाई पार लगाएँ। दाजुले भिडियो बनाउनु भएछ। पछि भिडियो हेर्दा आफैँलाई अप्ठ्यारो लाग्यो। पेन्टी मात्र लगाएर बाइक तार्नुपरेको घटनाले हामी सबैलाई हँसायो। पछि भिडियो हेरेर पनि खुब हाँस्यौँ। अब बल्ल सुरु भयो अप्ठ्यारो बाटो। अत्यन्तै ठूलाठूला पहिरो बाटोमा रहेका यामानका धारिला ढुङ्गाहरूमा बाइक अगाडि बढ्न मानिरहेको थिएन। पटकपटक ओर्लदै चढ्दै गरें मैले बाइकबाट। कयौं ठाउँमा बाइक धकाल्नुपर्‍याे। ज्यानको बाजी राखेर हामीले उकालो उक्लने तयारी गर्दै थियौं। बाइकको पछाडिको चक्कामा चोट लाग्यो र बाइकको लिक्विड झर्‍याे। काम सकियो भन्दै डिएनले मलिन अनुहार बनायो। अब जिनतिन घिस्रिरहेको यात्राले थला मार्‍याे।

पाङसाङको सपना हावाले उडायो। यो बिरानो ठाउँमा कसरी बाइक मर्मत गर्ने कुनै उपाय थिएन। सबैलाई नमिठो झड्का लाग्यो। हामीले बाइकलाई धकेल्दै डोर्‍याउँदै रुबीभ्याली गाउँपालिका वडा नम्बर २ तिप्लिङमा रहेको एडमिन तामाङको होमस्टेमा पुर्‍याइयौं। अब ठुलै समस्या थियो। हाम्रो पाङसाङ अर्थात् रुबी भ्याली भ्यु पोइन्ट पुग्ने सपना चकनाचुर भएको थियो। अब भने मेरो मन डराउन थाल्यो। जुन ठाउँलाई छुने र बिहानको झुल्के घाममा रुबी भ्याली लगायतका स्वर्गीय हिमशृङ्खला नियाल्ने इच्छाले व्याकुल मन एकाएक थचक्क बस्यो। कसैले बिहानदेखि केही खाएका थिएनौँ। भोक प्यास सबैको हरायो।

 जयरामले भन्यो – काका अब फर्किऊँ। गोविन्द दाजुले जयरामको कुरामा सहमति जनाउनुभयो। कान्छो बोलेन म यो बाटो बाइक लिएर फर्कन सक्दिन मात्रै भन्यो। डिएनलाई जसरी पनि पाङ्साङ् पुग्नु थियो। उसको विचारमा आफू जान नसके पनि मलाई पाङसाङ पुर्‍याउने उसको इच्छा थियो। उसको इच्छाले साकार रूप लियो। जयराम र म पाङसाङका लागि तयार भयौं। दाजु र दुई भाइ हिँड्दै आउने सहमतिमा हामी अगाडि बढ्यौं। जति माथि गयो उति बाटो अप्ठ्यारो हुँदै आयो। पाङसाङबाट ओरालो झर्दै आएका एक हुल युवा हामी उक्लदै गरेको देखेर छक्क परे। उनीहरूले नजानका लागि बिन्तीभाउ गरे। धेरै ढिलो भइसकेकाले नजानु भनिरहेका उनीहरूलाई हाम्रा तीन साथी पैदल आउँदैछन् भन्ने कुराले तीनछक बनायो। उनीहरूले हामीलाई रोक्न हरप्रयत्न गरे र तिप्लिङतर्फ ओरालो झरे। हामीले दाजुभाइलाई फोन गरेर नआउन आग्रह गर्‍याैं। हामी भने जे त पर्ला भनेर अगाडि बढ्यौं। करिब दिनको ३.३० भएको थियो। हामीले आँट गर्‍याैं। जङ्गल पसेदेखि नै एकदमै एकान्त र सुनसान ठाउँ। बाटो कतै चिप्लो कतै तिखा ढुंगाहरू छापेर बनाएको अप्ठ्यारो बाटो पार गर्दै हामी अगाडि बढिरह्यौं।

निकै माथि पुगेपछि तलबाट डी एन को फोन आयो। हामी पनि आउँदै छौं। म उसको कुराले छाँगाबाट खसेझैँ भएँ। हामी बाइकमा कुदिरहेका मान्छेलाई त अत्यास लागिरहेको छ। हिँडेर ६ घण्टा लाग्छ भनेको बाटो कसरी आउँछन् भन्ने चिन्ता लाग्यो। पछि अर्को फोनमा थाहा भयो उनीहरूसँग त्यहीँका एक स्थानीय आउँदै छन् भन्ने कुरा। त्यो थाहा पाएपछि भने केही हदसम्म ढुक्क भएँ। चक्का अड्ने ठाउँ समेत खोजेर वाइक गुडाउनुपर्ने निकै असजिलो भिर र पहराको बाटो जयरामले निकै होसियारीका साथ बाइक चलाए। निकै माथि पुगेपछि बाइक पनि कुद्न छाड्यो।

भतिज जयरामले भने – बाइकलाई लेक लागेजस्तो छ काका। बाइकले रेस लिन छाड्यो। बिस्तारै ओर्लदै धकल्दै हामीले बाइकलाई घिसारिरह्यौँ। धेरैबेरपछि जङ्गलमा याका बथान देखिए। बाइकको आवाजले तितरबितर भएका याकहरू देखेपछि अब त गाउँ आउला भनेको अझै आएन। हामीले हार मानेनौं पैदलमा आउने दाजुभाइलाई सम्झँदै कुदिरह्यौं। कुद्नुसम्म कुदेपछि बल्ल पाङसाङ आयो। झमक्क साँझ परिसकेको थियो। होमस्टेमा एउटी युवती मात्र थिइन्। गोविन्द दाजुले उनका दाजुसँग सम्पर्क गरेर खाना र बासका लागि भनेका थिए। हामीले पाङसाङ टेकेको केहीबेरमा उनका मातापिता दाउराका भारी बोकेर जंगलबाट आए। हामी जुत्तालाई ढोका बाहिर छाडेर भित्र छिर्‍याैं। निकै चिसो बतास चलेकाले शरीर पूरै काँपिरहेको थियो। हामी अगेना वरिपरि रिङ्गै राखिएका बेन्चीमा बसेनौँ। अगेनामा आगो हुर्हुर्ती बलिरहेको थियो। अगेनामाथिको टिन पनि राम्रैसँग तातेकाले कोठाको वातावरण न्यानो थियो।

जयरामले तुम्बाको चाहा राख्यो। त्यो नानीको नाम एन्जिला रहेछ। उसले एन्जिलालाई कान्छी सम्बोधन गर्यो् र भन्यो – कान्छी तुम्बा नभए जे छ त्यही लेऊ जिउ त तताउनुपर्‍याे नि। आज उसले अचानक रहर गर्‍याे। मेरो मन दाजुभाइमा थियो। मैले बाहिर गएर एकपटक फोन गरें। उताबाट आवाज आयो – हामी त हिँड्न नसक्ने भयौं। जसरी पनि खाने कुरा लिएर आउनुपर्‍याे। हामी भोकले मर्ने भयौँ। बिहान पनि खाना नखाएका कारण भोकले आत्तिनु स्वभाविकै हो। मैले भाइहरू आत्तिएको कुरा गरेपछि एन्जिलाका बुबा बिस्कुट, चाउचाउ, रेडबुल र तातोपानी बोकेर जाने भए। हामी ढुक्क भयौँ र होटल मालिक खाजा लिएर आउँदै छन् नआत्तिनु भनेर खबर गर्‍याैं । उनीहरू खुसी भए। त्यसको करिब एक घण्टापछि एन्जिलाका बुबा खाजा सामल फिर्ता लिएर होटलको कोठाभित्र छिरे। म छाँगाबाट खसेझैँ भएँ। भाइहरू र दाजुलाई सम्झिएँ भोक र प्यासमा छटपटिएका दाजुभाइहरू कुन कुनामा पर्खिरहेका होलान् भन्ने लाग्यो। एन्जिलाका बुबा बिरामी रहेछन् तर पनि पाहुनाहरूलाई परेको अप्ठ्यारोमा सहायता गर्न खोजेका हुन् तर सम्भव भएन।

जयराम घिउ झानेर लोकल पिउने धुनमा थियो। म कसो गरौँ कसो भइरहेको थिएँ। एन्जिलाले छेवैमा आएर भनिन् जाउँ दाइ तपाईं र म। मेरो मन झसङ्ग भयो। हाम्रोतिर रात बिरात छोरा मान्छे र छोरी मान्छेलाई सँगै हिँड्न छुट छैन। काल समय ठिक छैन यसरी केटी मान्छेसँग जंगलको बाटो राति हिंड्न हुन्न भन्ने सोचमा म थिएँ। म केही नभनी यताउति गरिरहें। मेरो मन उनीसँग जान मानिरहेको थिएन। उनी झोला बोकेर अगाडि लागिन्। केहीबेर टङ्चिएर  केही नभनी एन्जिलाको पछि लागेँ। करिब रातको ८ बजिसकेको थियो। निकै चिसो हावा चलिरहेको थियो। पाङसाङको गेटबाट एन्जिला उत्तरतर्फको ओरालो लागिन्। तल तलका बस्तीमा बत्ती पिलपिलाइरहेको थियो। म उनको उनले देखाएका मोबाइलको उज्यालामा पाइतालाहरू चाल्दै गएँ।

तातोपानीको ठूलो थर्मस मेरो हातमा थियो। मलाई दिउँसैदेखि लेक लागिरहेको थियो। विकल्प नभएपछि मैले एन्जिलाका पैताला जता जान्छ त्यतै आफ्ना पाइताला सार्दै गएँ। यो बाटो अघि हामी बाइक लिएर आएको बाटो थिएन। सटकट बाटो थियो। बाटाभर उनी केही बोलिनन्। मैले उनलाई हृदयदेखि नै सम्मान गरेँ। अप्ठ्यारो परेपछि साथ दिने तामाङहरूको यो अत्यन्तै सहृदयी भावनाबाट म प्रभावित भएँ। बिस्तारै आउनुहोस् दाइ तपाईलाई लेक लागे जस्तो छ। केही तल पुगेपछि तपाई यहीँ बस्नुहोस् म तलसम्म गएर आउँछु – उनले भनिन्। म हिंड्न सक्ने अवस्थामा थिइन। उनीलाई कसरी एक्लै जाऊ भनौँ। कहाँसम्म जानुपर्ने हो टुङ्गो थिएन। हामी केहीबेर त्यहीँ उभियौं। मैले ठूलो आवाजमा केही पटक कराएँ। धेरै तलबाट आवाज आयो। हामी आउँदै छौँ त्यहीँ बस्नुहोस्। हामी दाजुभाइहरूलाई कुरेर त्यही बस्यौँ। केहीबेरमै उनीहरू मि घलेलाई साथ लिएर आए। त्यही केही खाजा र तातोपानी खुवाएर हामी पाङसाङका लागि हिँड्यौं। मेरा पाइतालाले एक खुड्किला पनि उक्लन मानिरहेको थिएन। श्वासप्रश्वासमा समस्या आइरहेको थियो। धेरैबेरको कोसिसपछि हामी पाङसाङ उक्लियौँ। रात छिप्पिसकेको थियो। जयराममा देखिएको बदलावले दाजुभाइहरूले अड्कल काटिसकेका थिए। केहीबेर जिउ तातिसकेपछि खाना खाएर हामी सुत्यौं तर म रातभरि नै सुत्न सकिन निकै असजिलो भइरह्यो।

बिहान आँखा खुल्दा चारैतर्फका हिमालका चुचुराहरूमा घामका उज्याला किरणहरू छरिएका थिए। हामी तातोपानी मात्र पिएर डाँडामा रहेको पाङसाङको भ्यु पोइन्ट रहेको ठाउँमा गयौँ। मी घले हिमालका चुचुराका बारेमा जानकार रहेछन्। उनले हिमालका नामहरू फटाफट भने। यहाँबाट लाङटाङ, अन्नपूर्णा, मनास्लु, गणेश हिमाल लगायतका कयौं हिमाल देख्न सकिंदो रहेछ। हामीले रूबिभ्यालीका प्रायस् सबै बस्ती नियाल्यौँ। बिहानको झुल्के घाममा टलक्क टल्किएका हिमाल र हरियाली डाँडाकाँडाले मनमा एक प्रकारको स्वर्गीय आनन्द दिइरहेको थियो। हामीले सयौं हन्डर खेपेर पाङसाङ पाएका थियौँ। यो मनोरम दृश्यलाई हृदयमा मात्र राख्न सक्यौं । हामीसँग भएका पाँचवटै मोबाइल स्विच अफ भएका थिए। होटलमा सोलारले काम नगरेर टुकी बलिरहेको  थियो। मोबाइलमा तस्बिर कैद गर्न मैले एन्जिलाको मोबाइल लगेको थिएँ। त्यसैबाट केही तस्वीर र भिडियो खिच्यौँ र हामी तलतिर झर्‍याैं। एन्जिलाले भनेकी थिई – यहाँ फोर जी चल्दैन, फोटो भिडियो पठाउन यहाँबाट मिल्दैन। म तल गाउँ तिप्लिङ गएका बेला पठाइदिन्छु। उनले भने अनुसार उनी १५/२० दिन यहीँ पाङसाङ बस्छिन्। लगनपछिको पोते के काम मनले भन्यो।

जुन पाङसाङका लागि धेरै प्रकारका हन्डर दुख दर्द खेपेर हामी आएका थियौँ। त्यसैले सबै दुस्ख दर्द भुलाइदियो। हामीलाई भोक तिर्खा मेटाइदिने पाङसाङलाई हृदयमा थपक्क टाँसेर हामी फर्कने सुरुमा थियौँ। दुई बाइक तिप्लिङमा थियो। एउटा पाङसाङमा छ। पाङसाङमा भएका एक्स आर जयरामले चलाएका कारण उनीसँग एकजना मात्र जान सकिने भएकाले हामीले दाजु गोविन्दलाई पठायौं। मेरा खुट्टाहरू दुखिरहेका थिए। लेक लागिरहेकाले असहज फिल भइरहेको थियो। भाइहरुले मलाई जान आग्रह गरे। दाजुको बाइकमा जाने इच्छालाई मैले सहर्ष स्वीकारीदिएँ। त्यसमा मेरो पनि केही स्वार्थ थियो। हिँडेर जाँदा बाटामा धेरै कुरा र ठाउँ ठोकिन्छन्। दुखको लौरो टेकेर सुखको यात्रा खोज्नु थियो मलाई। त्यसैले म, डिएन र सरोज पैदल यात्री भयौँ। हामीले पाङसाङलाई छाड्यौँ । बाइक र झोला तिप्लिङमा थियो । बाइक र झोला हिमालतिरै छाडेर रसुवा, नुवाकोट हुँदै गल्छी निस्केर घर फर्कने हामीले निर्णय गर्‍याैं।

पाङसाङ देखिको यात्रा सामान्य थिएन। मेरा दुवै खुट्टा पैदलका लागि तयार थिएनन्। एउटा लौरोचाहिँ बोकेको थिएँ । निकै धेरै तेर्सोमा पाइताला नापेपछि केही  पैदलयात्री भेटिए। भेटिएकाहरूसँग हाईहेलो गर्दै हामी सोमदाङतर्फ झर्‍याैं। बाटामा भेटिएका सलोन र उनका साथी भल्गर रहेछन्। ऊनीहरू बाइकमा थिए। अर्को खनायबासको कुनै सरकारी अफिसमा जागीर खाने नवराज श्रेष्ठको ७/८ जनाको ग्रुप थियो। उनीहरूले कालो दह र सेतो दह घुम्ने इच्छा समेत हामीलाई बताए।

बाटामा हिजो पाङ्साङ् उक्लने क्रममा आफूहरुले भोगेका अविस्मरणीय क्षण डि एन ले यसरी सुनाए – तपाईंहरू हामीसँग छुट्टिएर पाङ्साङका लागि गएपछि हामी तीनजना दाजु गोविन्द, भाइ सरोज र म अन्योलग्रस्त अवस्थामा रुमलिंदै थियौं। स्थानीयको भनाइअनुसार माथिसम्म हिँडेर जान हामीलाई करिब ४ घण्टा लाग्ने देखियो। समयले ३. ३० बाट पनि उकालो चढिसकेको थियो। जे त पर्ला जाम भन्ने तीनजनाको निष्कर्ष निस्किएपछि मोटरसाइकल त्यहीँको एडमिन होमस्टेमा थन्क्याएर हामी केही माथिसम्म पुग्यौँ। बाटाको छेवैमा स्थानीय  मी घले र उनकी श्रीमती बारीमा काम गर्दै रहेछन्। उनीहरूले हामीलाई सचेत गराए  तपाईहरू अहिले नजानुहोस्। बीचमा कुनै घर छैन, जंगलै जंगल छ, बाटो चिन्नु हुन्न, रात पर्छ, माथि पुगेपछि लेक लाग्छ। यतै बस्नुस् भोलि जानुस् भन्दै थिए। हामी भने हाम्रो अन्तिम गन्तव्य नपुगी कसरी सम्हालिन सक्थ्यौँ र त्यहीमाथि हाम्रा दुईजना सहयात्री माथि गइसकेका थिए। मैले मी घलेलाई अनुनय विनय गरेँ। दाजु हजुरले हामीलाई सहयोग गर्नुहोस्। हजुरले हामीलाई माथि पुर्याथइदिनुहोस्। उनी बोलेनन्। उनकी श्रीमतीले विरोध गरिन् हुन्न भोलि बारी जोत्नु छ, मिल्दैन भनिन् तर दयालु मी घलेले श्रीमतीको कुरा सुनेनन्। हाम्रो अनुरोध स्वीकार गरे र हामीलाई यात्रामा साथ दिने निर्णयमा पुगे। हामीलाई भगवान् भेटेजस्तो भयो। सबैको अनुहारमा नयाँ चमक देखियो बाइक पन्चर भएपछि हामीले खाना खान समेत बिर्सिएका थियौँ। भोक लागिरहेको थियो। केही चिज किनेर लानुपर्छ बाटो लामो छ भन्ने कुरा मी घलेसँग राख्यौँ  तर त्यहाँ त कुनै पसल छैन निकै तल जानुपर्छ भन्ने कुरा थाहा पाएपछि जे त पर्ला माथितिरै जाम तीन चार घण्टा नखाएर के होला त भन्दै यात्रा सुरू गरियो। मी घले स्थानीय भएकाले सटकट बाटो जाने भन्दै हामीलाई गन्तव्यतर्फ डोर्‍याए। केहीबेरमा झमक्क साँझ पर्‍याे। भोक निकै लागिरहेको थियो। बाटामा डुम्रीका दाना जस्ता रातो हरियो दानाहरू देखेँ। मैले घलेलाई यो के हो दाजु खान मिल्छ भनेर सोधेँ। उनले हुन्छ खानुस् भने। केही दाना टिपेर खाँदै हिँडियो। भुइँ काफल जस्तो फल पनि बाटाको छेउछाउमा भेटियो। त्यो पनि खाँदै अनवरत उकालो चड्दै गयौं। निस्पट्ट अध्यारो भयो। ती कन्दमूलले मुख जिस्क्याए जस्तो मात्रै भइरहेको थियो। बाटामा ठाउँठाउँमा पानी बगिरहेको थियो। पानी पिउँदै लम्किरह्यौँ। उकालो पनि र हाइट पनि भएकाले  सास निकै फुलिरहेको थियो। केही मिटर उक्लिदै बस्दै हाम्रो यात्रा अगाडि बढिरहेको थियो

 पाथीभराको यात्राले सिकाएको थियो हामीलाई – निकै हाइट र उकालो चढेको बेलामा लठ्ठी भए सहज हुन्छ भन्ने कुरा। त्यसैले हामीले एक एकवटा लठ्ठीको सहारा लिइरहेका थियौँ। कतैकतै सडकको बाटो त कतै कतै घनघोर जंगलको बाटो हिँड्दै थियौँ। एक्कासि अगाडि एक हुल चौँरी र याकहरू आइरहेको मोबाइलको मधुरो प्रकाशमा देखियो। एउटा याक हामीलाई आक्रमण गर्न सिधै आयो। हामी आत्तियौं तर मि घलेले ढुङ्गा टिपेर याकलाई हान्दै नडराई अगाडि गए। याक बाटो छोडेर भाग्यो। म्ल् ले आफूले जिन्दगीमा कहिल्यै नभोगेका अनौंठा घटनाहरू भोगेको कुरा बताए। यात्रामा जस्तोसुकै हन्डर पनि सहनुपर्छ भन्ने चेत उनमा भएको मैले पाएँ।

ऊनी भन्दै गए – भोकले आलसतालस पारेकाले हामी अघि बढ्न नसक्ने अवस्थामा पुगेका थियौं।  त्यतिबेलै तपाईंको फोनले हामीमा साहस बढ्यो, हिम्मत आयो। खाजा आउने मिठो कल्पनामा हामी हिडिरह्यौँ। होटलका मालिक खाजा लिएर आउँदै छन् भन्ने कुराले फुर्किएका हामी केहीबेरमा लुर्कियौँ। बाटाको नाम निशाना केही देखिएको थिएन। यत्तिकैमा तपाईंको फोन आयो ल खाजा लिएर जानुभएको बुबा त तिमीहरूलाई नभेटेर फर्कनुभयो। के भएछ भने तामाङ भाषामा कुरा गर्दा पनि उहाँहरू बीच मिसअन्डरस्ट्यान्डिङ भएछ। होटल मालिक जहाँसम्म आएर फर्किएछन् हामी त त्यहाँ पुगेकै रहेनछौँ।

खाजा फर्किएको कुरा थाहा पाएपछि हाम्रो खुट्टा चल्न छोड्यो। श्वास झन् झन् फुल्न थाल्यो। चिसाले हातखुट्टा कठ्याङ्ग्रिन थाल्यो। हामी थचक्कै भुइँमा बस्यौँ। हामीसँग एउटा ब्याग थियो। केहीबेर पालैपालो बोक्दै थियौं। नसक्ने भएपछि ब्याग मि घलेलाई नै जिम्मा लगाएका थियौंँ। हामी अलपत्र परेको देखेपछि मी घलेले अलिक माथि एउटा गोठ छ त्यहाँसम्म जाउँ केही न केही त भेटिन्छ होला भनेर हामीलाई बल गरेर गोठसम्म लगे।

ढुङ्गाको बाक्लो गाह्रो र गोब्रे सल्लाको फलेकले छानो बनाइएको करिब ६–७ फिट अग्लो गोठ रहेछ। ढोकामा ताल्चा झुन्डिएको थियो। चाबी खोजियो भेटिएन। घलेले ढोका खोल्न निकै प्रयास गरे सकेनन्। छानामा चढेर फलेक निकाल्न खोजे त्यो पनि सफल भएन। पुन ढोकामा आएर ढुङ्गाले हान्दै जाँदा केही खुकुलो भयो र ढोका फट्याएर भित्र छिर्न सफल भयौँ। हामीलाई लाग्यो एउटा मुद्दा जित्यौं। उनले लाइटर बोकेका रहेछन्। लाइटर फिटिक्कै बलेन आस मर्नै लाग्दा फ्याट्ट लाइटर बल्यो। टुकी बत्ती देखियो हामीले टुकी बाल्यौँ।

त्यहीँ नजिकै रहेको दाउरा बाल्यौं निकै खुसी लाग्यो। आगो ताप्न पाउँदा। खानेकुरा भेटिने आशाले हामीले सबैतिर छापा मार्‍याैं। छापा मार्दै जाँदा एउटा बोरा डोरीमा झुन्डिएको अवस्थामा भेटियो। जसोतसो बोरा खोलेर हेर्दा चामल रहेछ। बिचरा मी घले  पनि बिहानैदेखि भोकै रहेछन्। सरोज भाइले त दुई फाँको काँचो चामल खाइ पनि हाल्यो। गोविन्द दाजुले र मैले पनि एकएक फाँको खायौं। घलेले पनि त्यसै गरे।

मैले भनेँ – दाजु, यसलाई भुटेर खान पाए हुन्थ्यो। भुट्ने भाँडो खोजियो केही भेटिएन। उतापट्टि कुनामा एउटा सिल्भरको थाल देखियो। त्यही थालमा घलेले दुई मुठी चामल हालेर खट्टे तयार पारे। छापा मार्दा भेटिएको नुन छरेर खट्टे खाँदा सबैको मुहारमा चमक देखियो। सखाप भएको क्यालोरी एकाएक थपियो। ज्यान पनि तात्यो अनि बाँकी यात्रा पूरा गर्न करिब ३० मिनेटपछि हामी गोठबाट बाहिर निस्कियौँ। केहीबेर पछि माथि थुम्कामा बत्ति बलेको र तपाईंहरूको आवाज सुनेपछि हामीले लामो सास फेरेका हौँ। उनले भावुक हुँदै आफूहरूले साँच्चिकै अविस्मरणीय र रोचक यात्रा गरेको सुनाए।

करिब बिहान ८ बजे पाङसाङबाट सुरु गरेको यात्रा अनवरत रूपमा चल्दै थियो। ओरालो बाटो बिहानभर झरेपछि अधमरो ज्यान बनाएर करिब बिहानको ११ बजे सोमदाङको घले कान्छाको होटलमा पुग्यौँ। सोमदाङदेखि तिप्लिंगसम्मको यात्रा २७ किलोमिटर रहेछ। सो जिनियर मार्ग २०७३ सालमा सुरू भई २०७६ सालमा सम्पन्न भएको हो। बाटो सम्पन्न भएको भनिए पनि बाटो खासैमा सम्पन्न भइसकेको छैन। कम्तीमा बाइक मात्रै सहज रूपमा चल्ने भए पनि निकै सजिलो हुने थियो। घले कान्छाको नाममा होमस्टे भए पनि उनकी श्रीमती कम माया घले मात्र होमस्टेमा थिइन्। उनले ३०/३१ वर्षदेखि यहाँ होटल सञ्चालन गरेकी हुन्। उनको होमस्टेमा ५०/६० जनाले एकै साथ खाना खान र बास बस्न सक्छन्। यहाँ तीनचारवटा मात्रै होमस्टे छ। मैलुङ खोलाको किनारमा रहेको यो सानो बस्ती हो। आजकल सिजन हो तर पर्याप्त ग्राहक छैनन्।

पाङसाङदेखि सोमदाङसम्मको यति लामो बाटोमा पर्ने ठाउँहरूको नाम उल्लेख गर्नुभएन भन्नुभएको होला। भेडी गोठ र गोठालाहरूको कुरा गर्नुभएन भन्नुभएको होला। चिया दोकान र रक्सी पसलको कुरा गर्नुभएन भन्नुभएको होला। ठान्नुभयो होला - बाटाभरि कोदो, फापर गहुँ र आलुका फाँटहरू थिए होलान्। भएका भए मैले एक रत्ती पनि लुकाउन्न थिएँ। स्थानीय मान्छे भेटिने कुरा पनि भएन। त्यहाँ कुनै बस्ती थिएन। कसलाई यो भन्ज्याङको नाम के हो भनेर सोध्ने। कसलाई यो खोल्सीको नाम के हो भन्ने। कसलाई यो भिरको नाम के हो भन्ने। बिचरा कुइरेहरू म को हुँ भन्लान् जस्ता लखतरान देखिन्थे। भेटिएका एकदुई नेपाली पनि कुन ठाउँदेखि  बाउआमा र घरपरिवारबाट फुत्केर आएका हुन्। उनीहरूलाई सायद आफ्नै गाउँको राम्ररी नाम आउँदैन होला। बाटाभरि भेटिएका टलक्क टल्कने सेता र तिखा दर्शन ढुंगा अनि बाटो तलमाथि हाड भाँचिएका गोब्रे सल्ला बाहेक खासै यो आँखाले केही देखेन भन्दा पनि हुन्छ। हुन त यो जंगलमा लाखौं लाख जडिबुटी छन् होला। तिनलाई चिन्न सक्ने आँखा मसँग छैन।

कुरा पाङ्साङदेखि सोमदाङसम्मको मात्र होइन अब कुरा सोमदाङदेखि पार्वतीकुण्डसम्मको पनि छ। कुनै पनि यातायातका साधनका नामोनिशान छैन। भएका कुइरेका दुई सेता गाडी र चारपाँच अग्ला बाइकका कुरै भएन। गाडीहरू उनीहरूका झोला र सुड्केस लगायतका सामग्रीले टम्म थिए। उनीहरुका करिब उड्ने बाइकमा हामीलाई राख्ने कुरा पनि भएन। तैपनि नजिकै भएका चन्द्रबहादुरलाई हामीले कुरा पनि राख्यौँ। उनको भनाइलाई मान्ने हो भने उनीहरूसँग भन्नु बेकार छ। यिनीहरूसँग दया हुन्न। हामीले बचन खेर फालेनौँ। फटाफट हिँड्ने हो भने पार्वतीकुण्ड पुग्न छसात घण्टा लाग्छ रे। कम माया घलेको कुरा मानेर जाने हो भने पार्वतीकुण्ड नजिकै रहेको ठूलो कान्छाको रुबी भ्याली होमस्टेमा बस्नुपर्छ आजको रात। अब कुरा गरौं मेरो अवस्थाको। मेरो तिघ्राको दुबै कापमा कैंडा लागेको छ। यो कैंडा फर्सीका जस्ता हरिया र बाहिरैबाट देखिने खालका छैनन्। जिउ तातेर जरो आएजस्तो भएको छ। एउटा सिटामोल खाएर केहीबेर सुतेपछि जिउ केही हल्का भएजस्तो भयो। चारपाँच गाँस जति खाना खाएँ।

गत्लाङ फेदीबाट बल्ल बस पाइन सक्छ भन्छन् चन्द्रबहादुर। पाँचछ घण्टा लगाएर पार्वती कुण्ड पुग्नुपर्ने अनि पार्वती कुण्डबाट करिब एक घण्टा हिँडेर गतलाङ पुग्न सकिन्छ अरे। बिहान एउटा मात्र बस चल्दो रहेछ। त्यो पनि बिहानको ७स्३० बजे। जसरी पनि आज पार्वती कुण्ड पुग्न सकियो भने भोलि बिहानको बस समात्न सकिने भयो। भाइहरूले मेरो मुखमा हेरे। भाइहरू जिनतिन हिँड्न सक्ने थिए तर मेरो भने चालढाल हेरेर उनीहरूले पत्याएकै थिएनन्। मेरो मन पनि मानिरहेको थिएन म सातआठ घण्टा हिँड्छु भन्ने तर मैले त्यसै भनिदिए – जाउँ बिस्तारैबिस्तारै। उनीहरू खुसी भए र तम्सिए। हामीले कममायासँग एउटा फोटो खिच्यौं र बिदा माग्यौँ। फोटो खिच्नका लागि हामीले चन्द्रबहादुरलाई लगाएका थियौं।

चन्द्रबहादुरको घर सिन्धुली हो। उनी गणेश हिमाल जस्ता सिसा परियोजना अर्थात् नेपाल मेटल कम्पनी लिमिटेडमा जागिर खान्छन्। उनको अफिस मैलुङ खोलाको किनारमा छ। उनले त्यहाँ जागिर खाएको करिब ४४ वर्ष भयो। यो मेटल कम्पनी आजकल चलेको छैन। नचले पनि यहाँ काम गर्ने स्टाफ आठ जना छन्। आठ जनाको जागिर ६/६ महिना मात्र हुन्छ। ६ महिना जागिर खाने र ६ महिना घर बस्ने गर्दा रहेछन्। तलब कति छ भनेर मैले सोधिन चन्द्रबहादुरलाई। उनले हामीलाई बताएअनुसार सो खानीका लागि २२०० मिटर सुरुङ खनिएको छ। त्यसमा १५ सय मिटर जति सिधा छ अरु सुरूङ हाँगा फाटिएको छ। उनले हिमालको कापतिर औँलाले देखाउँदै भने – त्यो खानी निकै माथि छ। अस्तिताका चाइनिजहरू हेलिकप्टर लिएर आए अनि हेरेर गए। आशा छ फेरि यो जस्ता खानी चल्छ।

उनले हामीलाई मेटल खानीबाट निस्किएको कच्चा सामग्रीको एउटा पत्थर जस्तो गरौं वस्तु देखाएर भने – यस पत्थरमा जस्ता, सिसा, चाँदी, फलाम, सुन लगायत सबै कुरा छन् अरे। नेपालको सम्पत्ति भनेकै यही हो। उनले आफूले मोबाइलमा खिचेका सुरुङ आसपासका भिडियो र फोटाहरू हामीलाई देखाए। गणेश हिमालमा जस्ता खानी छ अरे भनेको सुनेका हामीले त्यसको आधार शिविरमा पुगेर विषयवस्तुसँग खेल्न पाउनुलाई सौभाग्य ठान्यौँ। ३२६० मिटर उचाइमा रहेको यो जस्ता खानीको जीर्ण अफिस देखाउँदै उनले भने – मैलुङ खोलाले यो आधार शिविरको भवनको आधा ढाड खाएको छ। उनले मन अमिलो बनाएर हामीलाई देखाए। मैलुङ खोलाको चिसो पानीलाई हामीले छोएनौँ। ऊ आफ्नै तालमा कलकल गरिरहेको थियो। कममायाले मलाई निस्कने बेलामा एक पिस डाइजिनको चक्की दिएकी थिइन्। उनीसँग हामीले केही चाउचाउ र बिस्कुट पनि लिएका थियौं। चन्द्रबहादुर उनै कममायाकोमा खाना खाँदा रहेछन्। चन्द्रबहादुरले हामीलाई गणेश हिमालको खानीबाट निस्किएको कच्चा सामग्रीको एउटा गरौं वस्तु उपहार स्वरूप दिए र  हामीलाई पुर्‍याउन निकै वरसम्म आए। मोबाइल हिजो बेलुकीदेखि अफ भएको थियो। कममायाको दोकानले  केही प्रतिशत चार्जका रेखाहरू बढाएका थिए। घरपरिवार र साथीभाइसँग सम्पर्क भइरहेको थिएन। मोबाइलमा चार्ज भए पनि सोमदाङ आसपास फोन सम्पर्क नहुने रहेछ। हामीले बिस्तारै बिस्तारै बाटो नापिरह्यौँ । बाटो एकदम राम्रो थियो। बाटामा कुनै सवारी साधन गुड्ने सुरसार थिएन। गुडे पनि हाम्रा लागि गुन्ने छैनन् हामी ढुक्क थियौं।

हामी लगातार हिँडिरह्यौँ। बाटामा चरोमुसो देखिएन, देखिएन भन्दा एउटा घुम्तीमाथिको पहाडमा केही सेता ढेडुहरू देखिए। मान्छे भेट हुन त परै जाओस् घरपालुवा जनावर पनि देखिएन निकैबेर हिँडेपछि दाजु गोविन्दसँग कुरा भयो उहाँहरू गल्छी आसपास पुग्नुभएको रहेछ। हिमालमा भएका मोटरसाइकल र लुगाका झोलाहरू जतिसक्दो छिटो झार्न कुरा गर्न भन्यौँ। घरमा सम्पर्क भयो। त्यसैबेलातिर रामबाबु सरको फोन आयो।  उहाँले मलाई गजलमञ्चको उपाध्यक्ष भएकामा बधाई दिन फोन गर्नुभएको रहेछ। हो म गजलमञ्च चितवनको उपाध्यक्ष भएको थिएँ। पूर्व अध्यक्षहरुले भने अनुसार अध्यक्ष हुनका लागि उपाध्यक्ष पदमा दुई वर्ष बस्न अनिवार्य छ। रामबाबु सरसँग अथाह ज्ञान छ मेरा विचारमा। जेहोस् सम्झिएर फोन गरेर बधाई दिनुभएकामा उहाँलाई हृदयदेखि नै धन्यवाद दिएँ। सोमबार गजलमञ्चको चुनाव भएको थियो। हामी मङ्गलबार हिँड्यौँ। शुभकामनाका कैयौंँ म्यासेज मोबाइलमा आइरहेका रहेछन्।

म के गरौँ । कहाँ पुग्यो होला भन्ने कौतुहलता तपाईमा छ। ममा यहाँ पुगें भन्ने हिम्मत छैन। निकैबेरको प्रयासबाट हामीले उकालो काटेर भन्ज्याङमा आफूलाई पुर्‍यायौं। तपाईंलाई सजिलै भञ्ज्याङ पुगेछन् जस्तो लाग्यो होला। असङ्ख्य भित्तामा लौराले प्वाल पार्दै, असङ्ख्य खुड्किलामा ट्वाङ्ङ ट्वाङ्ङ हान्दै, असङ्ख्य पटक फोक्सो फुलाउँदै सुकाउँदै हामी भञ्ज्याङ पुगेका हौँ। तपाईंले सोचे जस्तो सजिलो छैन भञ्ज्याङ पुग्न।

भञ्ज्याङको तेर्सोमा मोटरसाइकल चढी आइका कुइरेहरूले धुलो उडाएर गए। डि एन ले मोटरसाइकलमा लिफ्टका लागि असफल प्रयास गर्योम किनकि सरोज भाइको आग्रहमा। तिनीहरू रोकिएनन्। करिब साँढे तीन घण्टाको अनवरत प्रयासपछि हामीले खुर्पु भन्ज्याङ टेक्यौँ। खुर्पु भञ्ज्याङकटेपछि हामीले कममाया घलेको दोकानका बिस्कुट र चाउचाउ खायौँ। वरपरका हिमालहरू हामीलाई हेरेर मुस्कुराइरहेका थिए। गोसाइँकुण्डको हिमालले चाँडै मेरो काखमा आउन भनिरहेको थियो। गणेश हिमाललाई बिस्तारै छाड्नुपरेकामा हामी चिन्तित थियौं। चिसो मात्रै होइन हावा चीसो थियो। यो भञ्ज्याङमा के अनौठो देखियो भने आँखाले देखेजति सबै गोब्रे सल्लाका रुखहरू थिए । ती रूखहरू प्रायस् ढलेका थिए। नढलेका रुखहरू पनि काम नलाग्ने गरी डडेलाले खाएको थियो। हामीले त्यो विरक्त र विरसिलो जङ्गलमा केहीबेर फेसबुक लाइभ गर्यौंम र सबैलाई देखायौँ। हामी त्यस्तै खाले बिरसिलो जङ्गल करिब ३ घण्टा झर्‍याैं।

जङ्गलको बीच भागतिरबाटै हामीले मोबाइलका लाइटहरू जलायौँ। रूबी भ्याली होमस्टेका ठूलो कान्छालाई हामीले भञ्ज्याङबाटै फोन गरेका थियौँ कति समय लाग्छ भनेर। उनले करिब एक घण्टा लाग्छ भने। हामी हिँड्दा हिँड्दा करिब ३ घण्टा हिँडेपछि बल्ल ठूलो कान्छाको होमस्टे पुग्यौं। मेरो शरीरमा काँडा उम्रिरहेको थियो। जाडाको चालढाल हेर्दा ज्वरो आएझैँ थियो। खानेकुरा सम्झन मन थिएन। भाइहरू किचनमा थिए। एउटा सिटामोल खाएँ र रूममा गएर सुतें। भाइहरूले केके गरे मैले चाल पाइन। केहीबेरपछि खानाका लागि समाचार आयो। किचनमा झरें तर मैले खाना खान सकिन। तपाईहरूलाई लाग्यो होला किन हामीलाई नरमाइला कुराहरू सुनाउनुपर्‍याे।

हामीलाई पढ्दा मजा आएन भन्नुहोला । मलाई फुँदा गाँस्न आउँदैन। खासगरी मसँग शैली छैन । तपाईंले शैली नभएको विरसिलो लेख किन पढ्ने भन्न पनि पाउनुहुन्छ। तपाईले नपढेर मेरो घरखेत जाँदैन। मेरो बास उठ्दैन। म त भन्ने हो – अझै भनौं रु फुट्ला जस्तै गरी टाउको दुखिरहेको छ। ठूलो थालमा विभिन्न परिकारहरू मेरा अगाडि थिए। मिठो मानेर खाला भनेर ठूलो कान्छाले ल्याएका होलान्। मैले केही घुड्को दाल पिएँ र एकदुई गाँस खाना खाएँ। मलाई खासमा खाना खानु भनेको शरीरलाई सजाय दिनु हो जस्तो लाग्दै थियो। तातो पानीको गिलास लिएर म रुममा छिरेँ।

चिन्ता यति थियो – भोलि बिहान ७स्३० बजे कसरी गत्लाङको बसपार्क पुग्ने। ठूलो कान्छाले गत्लाङको टिकट काउन्टरमा काम गर्ने एउटी तामाङनीलाई फोन गरेर सोधेका थिए। टिकट त कुनै हालतमा छैन, टिकटका लागि अझै चार पाँच दिन लाग्छ अरे भनेर हामीलाई सुनाएका थिए। उभिएर भए पनि जाने सोचमा हामी थियौँ। हामीलाई जसरी पनि ७.३० बजे गत्लाङ पुग्नु थियो। हामी सुत्यौं।

बिहान ५ बजे नै आँखा खुल्यो। करिब ६ बजेतिर ठूलो कान्छालाई लिएर हामी बाटो लाग्यौँ। उनले हामीलाई पार्वती कुण्ड पुर्‍याए। त्यस बीचमा उनीसँग केही कुराकानी गर्‍याैं। हामी राति आएर मात्र बास बसेका थियौँ। यो ठाउँको नाम मात्र पार्वती कुण्ड भन्ने थाहा भयो। अरू केही थाहा भएन। यो ठाउँ र पार्वती कुण्डबारे ठूलो कान्छाले विस्तृत रूपमा बताए। पार्वती कुण्ड रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका – ३ गत्लाङमा पर्छ। स्थानीय तामाङ भाषामा आमाको अर्थ पार्वती र छोदिङमोको अर्थ जमेको पानी हो। यही भाषाको आधारमा आमाछोदिङमोको नेपाली नामकरण पार्वती कुण्ड भएको हो। यो कुण्ड गोसाइँकुण्ड पछिको दोस्रो कुण्ड मानिन्छ। पौराणिक कथन अनुसार भगवान् शिवले कालकुट विष सेवन गरेर पानीको खोजीमा हिडेका बेला पार्वती पनि महादेवसँगै आएकी थिइन् रे बाटामा महिनाबारी भएपछि महादेवलाई हेर्न र छुन नहुने भएकाले पार्वती र महादेव छुट्टिएर बस्नु परेको हो। महादेव  गोसाइकुण्ड र पार्वती यसै पार्वती कुण्डमा कुण्ड स्थापना गरि बसेको भन्ने किम्बदन्ति छ। पार्वती बसेको ठाउँबाट महादेवलाई देखिदैन। गोसाइँकुण्ड पुगेपछि एकपटक पार्वती कुण्ड नआई गोसाइकुण्ड पुगेको फल प्राप्ति नहुने विश्वास रहेको छ भन्दै उनले कुण्डमा रहेको १०८ धारा देखाए। पोखरीको किनारमा रहेको बोजो प्रजातीको झारले पोखरीमा समस्या ल्याएको कुरा उनले बताए। यो पोखरी निकै गहिरो छ  यहाँ जनै पुर्णिामाका दिन विशेष मेला लाग्छ – उनले भने।

ठुलो कान्छाको दुईवटा छोराहरू छन्। कान्छो काठमाडौ बसेर ११ कक्षा  पढ्दै छ। जेठा इ पि एस  मा नाम निकालेर कोरिया गएको छ। ऊ कोरिया गएको जम्मा १५ महिना भयो। उनकी श्रीमती कान्छो छोरासँगै चेकजाँचका लागि काठमाडौं गएकी छिन्। हामीले ठुलो कान्छाको लहरो तान्यौं। गत्लाङबाट बस पाउने नपाउने तनावले मनमा डर पैदा गरिरहेको थियो। ठूलो कान्छालाई सँगै राखेर पार्वती कुण्ड समेत आउने गरेर एउटा सेल्फी खिच्यौँ र हामी गत्लाङको टिकट काउन्टरतर्फ ओर्लियौं।

बाटामा हामीले चौँरीका बथान देख्यौं। लस्करै बाँधिएका चौँरीहरूबाट दूध निकाल्दै गरेका किसानलाई केही कुराहरू सोध्यौँ। उनीसँग २२ चाैंरी रहेछन्। ती चौँरीका दुध नजिकै रहेको चिज कम्पनीमा लाने र दुध धेरैमा ५० लिटर र थोरैमा ३० लिटर हुने कुरा बताए। ७ बजिसकेकाले हामीले उनीसँगै चौरीका थुन चलाएर बाल्टीभरि दूध दुहुन पाएनौँ। भर्खर जन्मिएका सानासाना चौंरी र याकहरूसँग जिस्कन पाएनौं। फटाफट हिंड्नुपर्ने हालतमा हामी थियौं। ७।१५ मा हामी कालोगाउँ अर्थात् गत्लाङको टिकट काउन्टरमा पुग्यौँ। यहाँ काठमाडौँ जाने डिलक्स बस र एसी बसको टिकट पाइन्छ भनेर लेखिएको थियो। हामी उभिएर भए पनि बस पाइने ठाउँसम्म पुग्न पाए हुन्थ्यो भन्ने सोचमा थियौँ। हामीले निकैबेरको घम्साघम्सीपछि लास्ट सिटको तीनवटा टिकट हात पार्‍याैं। अब भने हामीमा सास आयो।  हामी त्यही बसमा गल्छीसम्म जान पाउने भयौँ। अलि परबाट गत्लाङको सुन्दर बस्ती देख्न सकिँदो रहेछ। कालो गाउँ भनेर चिनिने गत्लाङका घरहरूका छानामा गोब्रे सल्लाका फलेकहरू टम्म मिलाएर राखिएको रहेछ।

भूकम्पभन्दा पहिला सबै घरका छाना कालो देखिन्थ्यो रे। भूकम्पपछि बनेका प्राय घरका छाना टिनले छाइएका छन्। स्थानीय निकायसँग समन्वय गरेर त्यसलाई सुधार्नुपर्छ भन्छन् त्यहाँका केही स्थानीयहरू हामीलाई पनि यो बस्तीको इतिहास हराउने गरी पुनर्निर्माण भएका घरहरू देख्दा खल्लो लाग्यो। स्थानीय पेम्बा छिरिङका पनि १०/१२ चौरी छन्। उनले पनि चिज फ्याक्ट्रीमा दुध लान्छन्। त्यहाँ भेडाबाख्रा, गाईचौरी पाल्ने गर्दछन्। यहाँ विभिन्न प्रकारका तरकारी खेती हुँदो रहेछ।

ग १ ख ९४८९ नम्बरको ठूलाठूला अक्षरमा तामाङ लेखिएको बस हर्न बजाउँदै आयो। त्यसभित्र धमाधम तामाङहरू छिरे। स्थानीय तरकारी बन्दा, काउली, आलु, सिबी लगायतका तरकारीका बोराहरू डिकी र छतमा टम्म मिलेर बसे। हामी बसमा चढ्यौँ। बसभित्र प्राय १७/१८ देखि २०/२५ वर्षका केटाकेटीहरू थिए। हामीले केहीलाई सोध्यौँ। प्राय सबै पढ्नका लागि काठमाडौँ हिँडेका रहेछन्। हामीले हाम्रो सिट समात्यौँ। बसले आफ्नो प्यासेन्जर हाल्यो र हर्न बजाउँदै गत्लाङ छाड्यो।

हामीले मनमनै ब्ल्याक भिलेजलाई बाइ गरेर हात हल्लायौं। हामीले केहीबेरमा गोल्जुङको सुन्दर बस्तीलाई छाड्यौं र आमाछोदिङमो गापा ५ थाम्बुचेतमा अवस्थित चिलिमे हाइड्रोपावर परिसर नजिकै बस केहीबेर रोकियो। हामीले त्यहाँ फोटो र भिडियो बनायौँ। चिलिमे खोलाको कञ्चन र फुर्तिलो पानीबाट सञ्चालित यो हाइड्रोपावर निकै चल्तीको हाइड्रोपावर हो। सेयर बजारमा चर्चित नाम हो – सि एच सि एल  सि एच सि एलमा आफ्नो पनि थोरै थोरै लगानी  परेकाले आफ्नो पन आउनु स्वभाविकै हो। डि एन र मैले फोटो खिच्यौं र भिडियो बनायौँ। बसले हर्न बजायो। आँखाभरि चिलिमेको सेरोफेरोलाई बोकेर हामीले केहीबेरमा चिलिमे खोला तर्‍याैं। चिलिमे खोलामा अलि बेग्लै खाले पुल थियो। हामीले त्यो प्वालै प्वाल भएको पक्की पुल तरेपछि भने बाटो निकै अप्ठ्यारो पायौं। बाटाका देव्रेतर्फका पहाडका ढिस्काहरू बगिरहेका थिए। माटो र ढुङ्गा झर्ने क्रम निरन्तर थियो। त्यो पखेरो प्राय सबै चलायमान थियो।

चिलिमे खोलाको दक्षिणतर्फ पत्थरै पत्थरको भीमकाय पहिरो थियो। दुई बाटो रहेछ। एउटा बाटो तातोपानीतर्फ जाने रहेछ। यो भेगमा पनि तातो पानी रहेछ। हामीले रूँगाको क्रसरलाई देख्यौं। त्यहाँ दुई सुरुङमार्ग रहेछ। त्यो किन बनाएको हो त्योचाहिँ थाहा भएन। त्यसलाई बसका यात्रीले हाइड्रोपावर पनि भने जे होस् हाम्रो गाडी स्याफ्रुबेसी पुग्यो।  स्याफ्रुबेसीमा सयौं डिब्बा गाडी थिए। हामीले बसमा भएका केही जानकारलाई सोध्यौं। यही स्याप्रु बेसी भएर रसुवागढी हुँदै केरूङ नाका भेट्न सकिँदो रहेछ। चाइनाको केरुङ नाका यो स्याफ्रुबेसीबाट करिब गाडीमा एक घण्टा मात्र लाग्छ – एकजनाले भने। जेहोस् हामी केरुङ नाकासम्म जाने सोचमा थिएनौँ।

गाडीले रफ्तार लियो र निकै धेरैबेरमा धुन्चे पुर्यानयो। तामाङ बसका झ्यालहरूबाट हामीले  धुन्चेलाई नियाल्यौं। धुन्चे पारी भित्तामा थियो। केहीबेरमा गाडीले धुन्चे बजार टेक्यो। हामीले केहीबेर गाडी रोक्नका लागि भन्यौँ र चिज छुर्पी लगायतका स्थानीय सामग्रीहरू कोसेलीका रूपमा किन्यौँ। यही धुन्चे भएर गोसाइँकुण्ड जाने भएकाले पनि यो ठाउँ महत्त्वपूर्ण भएको हो मैले  ठानेँ। केही सामान किने पनि हामीले भोक मार्ने जिनिस किनेनौं। बिहानको ११. ३० भइसकेको भए पनि खानाका लागि गाडी रोकिएन। बसले हर्न बजाउँदै धुन्चे छाड्यो।

पहाडी बाटो करिब करिब उस्तै खालका थिए। उकालो ओरालोभन्दा पनि हामीले धेरै घुम्तीहरू पार गर्‍याैं। लाङटाङ नेसनल पार्कको चेकपोष्टमा केहीबेर गाडी रोकियो र एकैचोटि कालिकास्थान २ मा रहेको पार्वती होटल एण्ड लजमा गएर गाडी रोकियो। हामीले करिब १ बजेतिर  खाना खायौँ।

नुवाकोटका विभिन्न  विभिन्न भूभागहरू बेत्रावती, बेलटार, क्युरिनी बजार हुँदै महेश खोला पुल तरेर गल्छी टेक्दा करिब चार बजिसकेको थियो। भाइ सरोजलाई धादिङबेसी बजार पुग्ने बसमा आउनका लागि छाड्दै हामी टाँडीसम्म पुग्ने गाडी चढेर घर फर्कियौँ।

धादिङका उत्तरी भेगका दुर्गम गाउँबस्तीहरूको विकासमा कादुरी एग्रिकल्चरल एड एशोसिएसन भन्ने बेलायती संस्थाको भूमिका रहेको छ। झोलुङ्गे पुल, खच्चड हिंड्ने बाटो, लघुजलविद्युत, सोलर प्यानल आदि क्षेत्रमा सराहनीय काम गरेको कादूरीले लापाका त्याङ्चेत, चपाङ्चेत, तिन्चेत, छोम्रोङ आदि गाउँहरूमा छाना छाउने सिमेन्टको टायल बनाइ वितरण गरेको रहेछ।

यस ठाउँमा पाइने रुवी विश्वमा नै नम्बर एकमा पर्ने भएकाले नै यस पालिकाको नाम रुवी भ्याली गाउँपालिका नामकरण गरिएको हो। पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गाजमुनासँग जोडिएको यस पालिका पाविल हिमाल, गणेश हिमालको काखमा रहेको अत्यन्तै मनोरम हिमदृश्यले पूर्ण छ यो पालिका। गणेश हिमालबाट उत्पति भई यस गाउँपालिकाको बीच भाग र जिल्लाको पनि करिबकरिब बीच भागमा अविरल बग्ने आँखुको सौन्दर्य अवर्णनीय छ। प्राकृतिक सम्पदाको रूपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसाङ भ्यु, गणेश कुण्ड, शिवडाँडा लगायतका प्राकृतिक गहनाले झरिझुत्तै भएको यो गाउँपालिका पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको छ।

हामी आयौँ तर हाम्रो तिप्तिङमा थन्किएको दुई बाइक आएन। हाम्रा बिरामी बाइकहरू धेरै दिनसम्म त्यतै बसिरहे। पछि गोविन्द दाइ र राम नेपालले निकै पहल गरे हाम्रा बिरामी बाइक तल झार्न।

हामीलाई लापा आसपासका बस्तीका आँगन टेक्न रहर थियो, सेर्तुङका पिँढीहरूमा बसेर गुन्द्रुकका अचार र भुटेका मकै चपाउने रहर थियो। हामीलाई तिप्लिङका आलुबारीमा स्थानीय शेर्पेनीहरूसँग प्रेमिल बात मार्दै भुङ्ग्रामा पोलिएका आलु खाने रहर थियो। हामीलाई हर्चिपासको हिउँ खेल्नु थियो, गणेश हिमालको पोल्टामा रहेका कालो दह र सेतो दह नियाल्दै नजिकैका खर्क र भेडीगोठमा चौँरी, याक, भेडीहरूसँग लुकामारी खेल्नु थियो, घले दरबार पुगेर टुँडाल खोज्नु थियो, तातोपानीमा पाङ्साङको चिसो पखाल्नु थियो। यी र यस्तै कैयौँ तिर्खा हृदयका कुनातिर थन्क्याएर हामीले यसपालाको यात्रालाई बीट मार्‍याैं।  

प्रकाशित: ५ जेष्ठ २०८२ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App