नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरू नै समाजको रुपान्तरणकारी चेतनाका संवाहक रहेको बताएका छन्। आइतबार झापा पुगेका उनले दमक २ स्थित हिमालय माविमा भएको कार्यक्रममा विगतका राजनीतिक एवं जनाधिकारका आन्दोलनहरूमा पनि शिक्षकहरूको महत्वपूर्ण योगदान रहेको स्मरण गराए।
उनले नेपालको शिक्षा क्षेत्र र शिक्षकहरूका समस्या समाधानका लागि सरकारमा हुँदा र नहुँदा पनि एमालेले सशक्त भूमिका निर्वाह गरेको उल्लेख गरे। आफू पनि २०२६ सालको शिक्षक रहेको स्मरण गर्दै अध्यक्ष ओलीले शिक्षण कार्य एउटा जागिर मात्र नभइ समाज रुपान्तरणको अभिभारा समेत रहेको बताए।
शिक्षाको स्तर कम भएका तथा दुर्गम क्षेत्रहरूमा समेत पुगेर शिक्षकहरूले चेतना, शिक्षा र समाज रुपान्तरणको जागरण फैल्याएको भन्दै उनले समयानुकूल वेतन अभावमा पनि शिक्षकहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरे।
समय समयमा हुने शिक्षक आन्दोलनका क्रममा सही ढंगले योजना बनाउने र विषय उठान गर्ने कार्यको अभावमा पूरा हुन नसकेको उल्लेख गर्दै उनले शिक्षकहरूका समग्र माग संवोधनका लागि एमालेले शिक्षकहरूसँगै रहेको बताए।
प्रकाशित: ३ फाल्गुन २०८२ १६:१६ आइतबार





