कलाकार एउटा तपस्वी हो। सुन्दर कला सिर्जनाका लागि तपस्या अनिवार्य चाहिन्छ। जब एउटा कलाकार तपस्यारत रहन्छ, ऊ शास्वतताको निकट पुग्छ। आत्माद्वारा गरिने अनुष्ठानबाट नै सत्यको उज्यालोलाई छुन सकिन्छ। इमानदार कलाकारले त्यही उज्यालोलाई अनुभूत गर्छ र कलाका रूपमा अभिव्यक्त गर्छ। कलाका स्वरूपहरू अनेक छन्, चित्रकला तीमध्येकै एक विशिष्ट कला हो।
तीक्ष्णदृष्टि भएका कलाकारका लागि संसारै कलामय लाग्छ। त्यसमा प्रकृति स्वयं सर्वश्रेष्ठ कलाशाला हो, कलाको पाठशाला हो। नयाँ नयाँ चिन्तन र कल्पनाशीलताका लागि रहस्यहरूको अनन्त भण्डार हो। कलाकारका लागि प्रकृति सिर्जनाको प्रेरणा स्रोत हो।
वरिष्ठ कलाकार कृष्ण मानन्धर स्किव–७१ समूहका चार खम्बामध्येका एक खम्बा हुन्।
उनी आफ्नो कलायात्राको प्रारम्भमा अमूर्त कलासिर्जनमा बढी सक्रिय थिए भने प्रौढावस्थाको निकट आइपुग्दा उनलाई प्रकृतिले लोभ्यायो। प्रकृति उनका लागि कला सिर्जनको सुन्दरतम प्रेरणादायी उद्यान रहेको र प्रकृतिलाई नै अर्थ र जीवन दिँदै सिर्जनारत रहेको मानन्धर बताउँछन्, ‘सुरुमा मैले अमूर्त कला नै रोजेँ। धेरै समय अमूर्त कला रचना गर्दै आएको म पछि आएर हिमाल, रुख, खोलानाला, चट्टान, पहाडजस्ता प्राकृतिक दृश्यलाई अर्थ र जीवन दिँदै कलारचना गरिरहेको छु। म गतिशीलतामा विश्वास गर्छु। आफ्नो कलामा परिवर्तन ल्याउँदै समयलाई पछ्याउँदै हिँड्ने मेरो अन्तरचाहना पनि हो।’
जीवनको प्रौढोत्तर कालमा आइपुग्दा प्रकृतिसँग बढी सन्निकट भएर कलासिर्जनामा लागेका मानन्धरको जन्म २००४ सालमा काठमाडौंको भोटाहिटीमा भएको हो। उनलाई जन्मस्थानले नै सानैदेखि कलासिर्जनाका लागि उत्प्रेरणा जगायो। यसको कारण उनको आँगनमै जुद्धकला पाठशाला भएकाले कलामा रुचि भएका बालक कृष्णलाई कला सिक्न टाढा जानै परेन।
पिताजीले पनि उनको अभिरुचि बुझेर त्यहीं नै भर्ना गरिदिनुभयो। विद्यार्थी कलाकारहरूका लागि प्रारम्भिक साधनास्थलका रूपमा थियो जुद्धकला पाठशाला। जुद्धकला पाठशाला कृष्ण मानन्धरलाई कलाको आधारभूत सैद्धान्तिक तथा व्यावहारिक ज्ञानको प्रवेशद्वारा बन्यो। त्यसपछि उनले त्रिचन्द्र कलेजमा व्यवस्थापन विषय लिएर अध्ययन गरे। तर कलाप्रतिको विशेष अभिरुचिका कारण उनी औपचारिक उच्च शिक्षाका लागि २०२३ सालमा भारतको बम्बई प्रस्थान गरे। उनले बम्बईको जेजे स्कुल अफ आर्टसमा उच्च शिक्षा अध्ययन गर्नका लागि छात्रवृत्ति पाए। त्यहाँ ६ वर्ष अध्ययन गर्ने क्रममा ललितकलाअन्तर्गत चित्रकला विधाका उच्च सैद्धान्तिक, व्यावहारिक ज्ञान त प्राप्त गरे नै, संस्थाको कलामय वातावरण, प्राध्यापकहरूको निरन्तरताको प्रशिक्षण, निर्देशन आदिबाट उनले आफ्नो प्रतिभालाई तिखार्ने राम्रो अवसर पनि प्राप्त गरे।
जेजे स्कुल अफ आर्टसबाट स्नातकोपाधि प्राप्त गरी उनी २०२८ सालमा नेपाल फर्के र शशी शाह, वत्सगोपाल, इन्द्र प्रधानसँग परामर्श गरी स्किव–७१ समूहको निर्माणमा सक्रिय भए। चारैजना कलाकार मिलेर सामूहिक कला प्रदर्शनीको आयोजना गर्दै गए।
आधुनिक नेपाली चित्रकलालाई लोकप्रिय बनाउन स्किव–७१ समूह सफल रह्यो। समूहका एकजना समर्पित स्रष्टाका हैसियतमा कृष्ण मानन्धरको योगदान निरन्तर रहँदै आएको छ। कलामा जीवनको खोजी गर्ने मानन्धर भौतक सम्पत्ति आर्जन गर्न नसकिए पनि कलाक्षेत्रमा लागेर सन्तुष्टि प्राप्त गरेको बताउँछन्, ‘चित्रकलामा लागेर पैसा त कमाइएन तर सन्तुष्टि भने प्राप्त गरेँ। मैले ठिकै बाटो रोजेछु जस्तो लागेको छ। आफूले चाहेको कुरा व्यक्त गर्ने भाषा मैले सानैदेखि नै सिकेको रहेछु। आफूले सिकेको कुरा अरूलाई पनि सिकाइरहेको छु। कलाले मलाई सन्तुष्टि दिएको छ। अब म यो छोड्नै सक्दिनँ। मेरो जीवनको अभिन्न पाटो बनिसकेको छ चित्रकला। म यसमा धेरै हिँडिसकेको छु, यात्रा जारी छ।’
मानन्धरको कलायात्रा नयाँ चिन्तन र भाव गाम्भीर्यसाथ अघि बढिरहेको पाइन्छ। प्रत्येक सिर्जनाको अर्थ, मूल्य, घनत्व अर्थात् भावपरिधि फरकफरक हुन्छ। चित्रकारले भाव सम्प्रेषणको माध्यम रङलाई बनाएको हुन्छ।
रङ कलाकृतिको व्यक्तित्व निर्माण गर्ने प्रमुख साधन हो। रङ नभए कलाको कल्पना पनि गर्न सकिन्न। रङले कलाको अर्थ बोक्छ। कला र रङबिच अविभाज्य सम्बन्ध रहेको भनाइ मानन्धरको छ, ‘विभिन्न रङहरूले विभिन्न अर्थ दिन्छन्। अलगअलग रङको प्रतीकात्मक अर्थ अलग अलग नै हुन्छ। कला भनेकै रङ हो। रङबाट धेरै कुरा अभिव्यक्त गर्न सकिन्छ। जस्तो, घरमा सेतो वा रातो लुगा लगाउने परिस्थिति फरक हुन्छ। सांस्कृतिक उत्सवहरूमा झिलिमिली वा रंगीन लुगा लगाउँछौं। विभिन्न उत्सवमा घर सिँगार्छौं। हाम्रा सामाजिक सांस्कृतिक पद्धतिमा रङका अर्थ जोडिएका छन्। चित्र र रङलाई अलग्याएर हेर्न र अनुभव गर्न सकिन्न। एउटै सिक्काका दुई पाटा जस्तो हो चित्र र रङको सम्बन्ध।’
मनुजबाबु मिश्रले कृष्ण मानन्धरका कलाकृति शान्त, सरल रहेका छन्, तिनमा उच्छृङ्खलता र उद्दण्डता नरहेको बताएका छन्, ‘उनका कल्पना तरङ्गहरू कहिले संगीतको धुन सुनेर, कहिले पहाडी शृङ्खला बनेर, कहिले प्रकृतिको नाटकीय रूपाकृति बनेर, सीमामुक्त रङमा तरङ्गिइरहेका हुन्छन्। उनले आफ्नो कलायात्राभरि यही रूपलाई दर्शाउँदै आएका छन्।
उनका चित्रमा यदाकदा वस्तु आकृतिको आभास पनि पाइएला। ‘अमूर्तता’ उनको कला व्यक्तित्वको अग्ररूप हो। कला व्यक्तित्वको प्रकाश हो भन्ने कुरा कृष्णका कृतिमा पनि स्पष्ट देखिन्छ।’
यसैगरी कृष्ण मानन्धरको कलाकार व्यक्तित्वको निर्माणचरण (पूर्वाद्ध) तिरका कलाकृतिमा अमूर्तताको अनुभव गर्न सकिने कुरा कलासमीक्षक नारायणबहादुर सिंहले बताएका छन्, ‘कृष्ण मानन्धरका चित्रमा हरियो रङको बाहुल्य छ। हरियो शीतल रङ हो। त्यसैले स्वभावतः नैतिक सुख र मनमोहकताको अनुभव हुन्छ। शैलीका दृष्टिले अरूपात्मक प्रवृत्ति छ, अमूर्तनको आग्रह स्पष्ट छ।’
कलाकार आफ्ना भावलाई रङमार्फत जसरी प्रस्तुत गर्छ, उसका कलाको मूर्तता वा अमूर्तता, भावगत सूक्ष्मता, सहज बोधगम्यताबारे सोही रङ संयोजनका आधारमा मनन, मूल्याङ्कन गर्न सकिन्छ। कलाकार कृष्ण मानन्धरले आफ्ना चित्रमा गर्दै आएको रङ संयोजन माधुर्यपूर्ण रहेको समीक्षक/लेखक ज्ञानेन्द्र विवश बनाउँछन्, ‘वस्तुतः कलाकार कृष्ण मानन्धर ‘कलरिस्ट’ हुनुहुन्छ। सुलयपूर्ण रङसंगति र सशक्त तुलिकाधात उहाँका शैलीगत विशेषता हुन्। उहाँ आफ्ना चित्र रचनामा ‘स्पेस’ र ‘कम्पोजिसन’लाई निकै महत्त्व दिएर काम गर्नुहुन्छ।’
अधिक कलाकारको कलाशिल्पीको प्रथम आधारशीला प्राकृतिक प्राङ्गण नै देखिँदै आएको छ। साधनाबाट खारिँदै आएको कलाचेतले विस्तृत परिवेशमा विचरण गर्न थालेपछि कलाकार स्वतः आफ्ना सिर्जनामा सूक्ष्मतम भावविन्दुहरू पहिल्याउन अग्रसर रहन्छ। अनि उसको कलामा सौन्दर्य र शिल्पीको संयोजन झन् प्रभावकारी ढंगमा अभिव्यक्त हुन थाल्छ।
मानन्धरका सिर्जनामा नेपाली माटोको सुगन्ध र संगीत मगमगाएको एवं झङ्कृत भएको अनुभूत गर्न सकिने विचार लेखक तथा कलाकार लय मैनालीले व्यक्त गरेका छन्, ‘मिठासपूर्ण कल्पना, सुगन्धित मधुर स्वच्छ हावा, चिसो पानी, हरिया पहाड, झर्ना, संगीत आदिले कृष्ण मोहित हुन्छन्। उनी दृश्यचित्र विधातिर पनि त्यत्तिकै आकर्षित हुन्छन्। राम्रा राम्रा अमूर्त र अर्धअमूर्त दृश्यचित्र विधामा पनि काम गर्छन् उनी। कृष्णको कलाकृति रङ र आकृतिको मिठासपूर्ण र परिपक्व समिश्रणले सौन्दर्यमय हुँदै पूर्णतामा पुगेको आभास हुन्छ।’
कृष्ण मानन्धरले स्वदेश तथा विदेशमा पटक पटक एकल तथा संयुक्त कला प्रदर्शनी गरेका छन् भने अनेकौं पुरस्कार एवं सम्मानसमेत प्राप्त गरेका छन्। राष्ट्रिय पुरस्कार, गंकी वसुन्धरा पुरस्कार, शिक्षा पुरस्कार, राष्ट्रिय प्रतिभा दीर्घसेवा पदक, अरनिको कला सम्मान तथा पुरस्कार आदि पुरस्कार–सम्मानबाट पुरस्कृत सम्मानित भएका छन्।
प्रकाशित: ३ जेष्ठ २०८२ १३:०१ शनिबार





