प्रविधिप्रधान युग। धानप्रधान जमानाका सन्तति चेत यो। पौराणिकताले तिलाञ्जली अर्पण गर्ने छाँटकाँट ढल्काउँदै गरेको समय–काल–परिस्थिति। रुनु न हाँस्नुजन्य माखेसाँघुरो समय, हाहाहा!
बाल्यकाललाई फर्केर हेर्दा क्या मजाको जमाना! कतै यान्त्रिक तन्त्रका थिएन कुनै कहर–कस्त। प्राकृत जमाना! मोहरपाथि चामल! सहकाल। मह एक चम्चा, अदुवाको रस दुईचार थोपा। क्या स्वादिलो खोकीको उपचार! कहाँको कफ सिरप, कता कताको गफ। सुकेनाक खोल्नुपरे हाछ्यूँ। घाँसका गेडी छ्यापछ्याप्ती। प्राकृत उपचार! मात्र प्रकृतिप्रदत्त उपहार। चेष्टा जाग्नुपर्दाे रहेछ। पुर्खाले आर्जेका साधना साधन वरिपरि छेउछाउमै हाम्रा बाल–युवावस्थामा देखे भोगेका उपहार छ्यापछ्याप्ती। छन् दुर्लभ यो अस्ताचलमुखी बैंस मुहारमा। सत्यम् ब्रुयात् प्रियम ब्रुयात् नबु्रयात् सत्यम प्रियम्!
थिएन उसबेलाका जमानामा रानुमौरी प्रजनन प्रविधि। थाहै थिएन मेरो पाखुरे अवस्थामा। रानु पछ्याउँदै–डोर्याउँदै हुलका हुल माहुरी झुन्ड आउँथे। बास बस्थे। चाका लगाउँथे। धन्य! मह पारिसकेपछि माहुरीले बच्चा जन्माउने प्रक्रिया थाल्छन्।
बेलैमा मह काढ्न, झिक्न नसके उनीहरूले वर्षाद र हिउँदमा उपभोग गर्छन्। माहुरीपालक यी मौसमी प्राकृत–प्रक्रिया बुझ्छन्। मह निचोर्न माहुरी चाकाबाट पन्छाउनुपर्छ नै। उपाय छन् त्यसका। धुवाँ माहुरीको परम शत्रु। अलिकति धुवाँले माहुरी चाका छाड्छन्। पछि फर्कन्छन् रानु नभई माहुरी चाकामा हुल्दैनन्। यसलाई जतनसाथ सम्हाल्नु धर्म–कर्म बन्छ ।
असरल्ल परिवेश रुचाउन्नन् माहुरी। चुस्तदुरुस्त परिवेश हुन्छ माहुरीको चाहना। धुलोधुवाँ मन पराउन्नन् यिनीहरू। तोरीबारी ढकमक्क फुलेका खेतबारी यिनको भित्रैदेखिको चाहना। जिउनुको उत्कट चाहना। जिएर–बाँचेर अनुपम योगदान गर्नु जीवनको मधुमय उत्कर्ष। संस्कृत वाङ्मयमा मधु बराबर मह, माहुरी बराबर मधुकरी, मह पार्ने माहुरी। मधुपर्क–अमृत–पञ्चामृत। पञ्चामृत पञ्च तत्त्व। पञ्चतत्त्व दुध, दही, घ्यु, सखर, मह बराबर पञ्चामृत। पञ्चामृत पञ्चतत्त्व समाहित अमृत भोजन। दीर्घ जीवन दिने निर्विकार प्राकृत पदार्थ।
वर्तमान तयारी भोजन भजाउने भोग्य जमाना। फुर्सदविहीन हतार–पतार आधुनिक प्रविधिका कमारा। हस्याङफस्याङ मस्याङगेडी तरङ्ग तराना। आकाश पातालको फासला। दुरी मेटाउने यन्त्र–साधना। युगीनचेत धारना।
एआईबाटै मौरीको रानु जन्माइको प्रजनन प्रक्रिया। मौरी भक्षक अरिङ्गाल कुलनाशक घराना। ब्याडमिन्टनका र्याकेट बाँसको टुप्पोमा गाँसी अरिङ्गाललाई छेदन गरेको झल्झली आँखामा। लयबद्ध गरी मुक्तकण्ठ फुकूँझैं लाग्छ। अनुभूतिका चाइँचाइँ मनका सारङ्गी यो! आदरणीय प्रकाशक–पाठक बन्धुबान्धव वृन्दमा विनम्र भाव विभोरी विसर्जन!
प्रकाशित: ३ जेष्ठ २०८२ १२:३८ शनिबार





