७ असार २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘पुन्टे र बयर’का आधुनिक पात्र

प्रतिबिम्ब

सानोमा धेरैले पढेको होला कथा होला ‘पुन्टे र बयरको कथा’। कथा रमाइलो थियो।

भोकले अत्तालिएको पुन्टेले बटुकोमा भएको बयर निकाल्न खोज्दा उसको हात अड्किएको थियो। बटुकोको मुख सानो भएर होइन, उसले एकैचोटि सबै बयर निकाल्न खोज्ने आशक्ति ठुलो भएर उसको हात निस्कन नसकेको कथाको भाव हो। पुन्टे हात अड्केपछि रुँदै थियो तर बयर छाडेको थिएन। उसलाई थाहा थिएन, बयरको मात्रा कम गरेर मुट्ठी केही खोले हात निस्कन्छ भन्ने। आमा नआउन्जेल उसको हात निस्किएन। मुट्ठीमा कसेको बयरमध्ये केही छोड्न पुन्टेकी आमाले गरेको आग्रहपछि मात्र लोटाबाट पुन्टेको हात निस्केको थियो। एकै छिन अगाडि रुँदै गरेको पुन्टे बयरसँगै फेरि रमायो।

पुन्टेकै जस्तो उमेरमा पढेकाले होला, त्यो बेला यसको भावार्थ राम्ररी बुझ्न सकिएको थिएन। कथा पढ्ने क्रममा सुरुमा त किन हात अड्केको हो भन्ने पनि थाहा थिएन। कथाकारले आमामार्फत कुरा बुझाएपछि मात्र हात अड्केको थाहा भएको थियो। अरूको भाग नराखीकन बयर निकालेकाले भगवान्ले उसको हात पक्रेकोजस्तो लाग्थ्यो। बयर मलाई पनि मन पर्ने भएर होला, कथा नै भए पनि त्यसमा मेरो लगाव थियो। त्यसैले म पुन्टेको हात अड्किँदा खुसी थिए ।

अहिले उमेर बढ्दै आएपछि जीवनमा यो कथाले दिएको महत्त्वपूर्ण पाठबारे याद आउन थालेको छ। बाल्यकालमा पढेको यो कथा यति बेलाको जीवनमा उत्तिकै महत्त्वपूर्ण बन्न थाल्दा मलाई पुन्टेको पुनः सम्झना आयो। केही दिनअघि मात्र उक्त कथा फेरि खोजेर पढेँ। कथा निकै घत पर्‍यो। कथा यसकारण पनि रमाइलो बन्यो कि कथाको ‘पुन्टे’ अब मेरो प्रतिद्वन्द्वी थिएन। मलाई पुन्टेको खोजी गर्न मन लाग्यो। कहाँ गयो होला त्यो सानो पुन्टे, जसले मलाई यति ठुलो शिक्षा दिएको थियो। म पुन्टेको खोजीमा निस्किएँ।

‘पोखरा विमानस्थल निर्माणमा अर्बौं घोटाला’ शीर्षकको समाचार पढेपछि त मलाई कथाको पुन्टे फेरि भेटिएको महसुस भएको छ। पुन्टेको रूप फेरिएको छ। बयरप्रतिको पुन्टेको नचाहिँदो आशक्ति झनै बढेको देखिन्छ। विमानस्थलको लोटामा रहेको अथाह बयर एकै पटक निकाल्न खोज्दा थुप्रै पुन्टेहरू निलम्बनमा परको खबर छ।

यो त पछिल्लो उदाहरण मात्र हो। लोकतन्त्र प्राप्तपछि त पञ्चायतकाललाई नै बिर्साउने गरी भएका भ्रष्टाचारका विभिन्न घटनाले पुन्टेहरूको आशक्ति मौलाएको देखाएको छ। पुन्टेहरू फरक पार्टी, फरक समुदाय, फरक भूगोलमा छरिएका छन्। बयर निकाल्ने बेला उनीहरूको सधैं मेल हुन्छ। एकै मुठी हुन्छ। पुन्टेहरू चलाख भएका छन्। कतिपय अवस्थामा त उनीहरूको हात अड्कँदैन। किनकि धेरै ठाउँमा उनीहरूले बटुको नै फोर्ने गरेका छन्।

भ्रष्टाचार यत्रतत्र छ। कानुनी, राजनीतिक, आर्थिक र संरचनागत दृष्टिकोणमा आधारित भ्रष्टाचारले मुलुक चुर्लुम्म डुबेको छ। पुन्टेहरू फरक अवतारमा देखिएका छन्।

पुन्टेहरूको चरम लोभले मुलुक नै संकटमा पर्ने अवस्था आएको छ। सडकदेखि सदनसम्म सबैतिर पुन्टेहरूको हालीमुहाली छ। उनीहरूको आशक्तिले उनीहरूलाई मात्र होइन, सिङ्गो समाजलाई अप्ठ्यारोमा पारेको छ। लालसाको बटुकोमा पुन्टेले हात हाल्दा समाजको बयर लुटिएको छ। विकास र समृद्धिका अवसरहरू अड्किएका छन्।

पुन्टेको लालसा बढ्दै जाँदा नागरिकमा वितृष्णा बढेको छ। कतिपय त पुरानो मोडलको पुन्टे भित्र्याउन लागिपरेका छन्। पुन्टेको प्रवृत्ति सुधार्नेभन्दा बटुको नै फुटाउने अभियानमा छन् कतिपय।

पछिल्लो समयका समाचार फेरि गहिरिएर नियालेँ। दिमागमा पुन्टेको पहिल्यै बास थियो। त्यसैले मैले पुन्टेलाई दिमागबाट निकाल्न सकिनँ। समाचार विश्लेषण गर्न खोज्दा बारम्बार पुन्टेको सम्झना आउन थाल्यो।

विमानस्थलको भ्रष्टाचार मात्र होइन, फास्टट्र्याकको ढिलासुस्ती, दाउन्नेको दलदल सबैमा पुन्टेहरूको अनुहार देखिन थाल्यो।

त्यस्तै वयोवृद्ध उमेरसम्म पनि मुलुक र पार्टीमा राज गर्न खोज्ने वयोवृद्ध, पदको दुरूपयोग गरेर मुलुक लुट्न खोज्ने जवान, बढुवाका लागि चाकडी गर्ने कर्मचारी सबैमा पुन्टेको अनुहार आउन थाल्यो। पुन्टेहरू छरिएका छन्। सबै पुन्टे खाने बेलामा एक हुन्छन्।

त्यस्तै मधेस आन्दोलनको उपलब्धिको रक्षा गर्नुभन्दा पनि सत्ताको मोहमा एकआपसमै भएको कटुताले टुक्रिएका मधेसी दल हुन् या नयाँ धारणा लिएर आउने दलका पुराना सोच, सबैमा पुन्टे प्रवृत्ति हाबी भएको अवस्था छ। पुन्टे कहाँ छैन, सबैतिर छाएको छ।

पुन्टेहरूको हात धेरै ठाउँमा अड्किरहेको छ। अझै नयाँ हातहरू त विकासका बयर लुट्न तयार भएका छन्। उनीहरूको हातसँगै मुलुकको विकास र समृद्धि अड्केको छ। आफ्नी आमाको सल्लाह मानेर कथाको पुन्टेले त आफ्नो लालची हात बटुकोबाट निकालिसक्यो। तर हामीभित्र हुर्कंदै गरेको पुन्टेलाई हात खुकुलो बनाएर बयर छाड्न कुन आमाले सम्झाउने होलिन्?  

प्रकाशित: ३ जेष्ठ २०८२ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App