११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

नेपथ्यको 'कर्नालीका छाइला' हेर्न पैसा तिर्नु पर्ने

लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ । गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् 'कर्नालीका छाइला' सार्वजनिक गरिएको हो ।  

प्रकृतिसँग मिलेर सुदूर जनजीवनले विकास गरेका भाकाहरूलाई आफ्नो आवाज बनाउने ब्यान्डको अभ्यासबाटै जन्मेको यो पछिल्लो गीतमा श्रव्यदृश्य सर्जक भूषण दाहालले तयार पारेको म्युजिक भिडियो छ ।

ब्यान्डको गीत खोजी प्रयासमा उभिएको वृत्तचित्र 'भेँडाको ऊनजस्तो' मा गायक अमृत र त्यस गीतका सङ्कलक नारायण वाग्लेले यसलाई उतिबेलै गुनगुनाएका थिए ।

विशेष गरी सल्यान र आसपासका जिल्लामा प्रचलित लोकधुन 'टप्पा' मा उभिएको यस गीतलाई अमृतले त्यसै भेगमा पुगेर तयार पारेका  हुन् । पुरानो नेपाली चलचित्र 'माइतीघर' मा अटाएको लोकप्रिय गीत 'काला कुर्तैले छ मैने जागिरै खायाँ' यसै 'टप्पा' धुनमा आधारित छ ।

'कर्नालीका छाइला' तयार पार्दा भने अमृतले लोकभाकाको मूललाई समातेर आफ्नै मौलिक शैलीमा विकास गरेका छन् ।

अमृतका अनुसार 'भेँडाको ऊनजस्तो' एल्बममा अटाएको 'सा कर्णाली' गीत भेटिएकै बेला यस गीतको मुखडा पनि फेला परेको थियो । 'सन् २००१ मा डोल्पातिरबाट आएका अङ्गद हमाल र यसका सङ्कलक लक्ष्मीकान्त उपाध्यायको मुखबाट यो गीत पहिलोपटक सुन्ने मौका पाएको थिएँ,' अमृतले भने, 'यसबीच सन् २००८ मा एकपटक यस गीतलाई रेकर्ड गरिसके पनि चित्त बुझेन र बाकसमा थन्क्याइदिएँ ।'

त्यसपछि पनि यसलाई दिमागमा बोकेरै धेरैपटक कर्णाली भेगको यात्रा गरेको र पोहोर सल्यानका केही ग्रामीण साङ्गीतिक बैठकमा सरिक भएपछि यो रूप दिन मानसिक हिसाबले आफू तयार भएको उनले प्रस्ट पारे ।

अमृतका अनुसार यो गीत सङ्कलन गर्दा स्थानीय जनजिब्रोका लाइनहरू पर्याप्त भेटिएका थिए । टप्पाका सीमितताले गर्दा तिनै लाइनलाई बलियो आधारसहित धुनमा समेट्न सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो ।

गीत तयार भएपछि सुहाउँदो म्युजिक भिडियोसहित सार्वजनिक गर्ने निधोमा आफू पुगेको व्यवस्थापन संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले बताए । 'कर्णालीमै आधारित नेपथ्यको सिर्जना 'सा कर्णाली' दुई दशकअघि भूषण दाहालकै शिल्पले सजाएको थियो,' उनले भने, 'यसलाई पनि उनले नै न्याय गर्न सक्ने हाम्रो विश्वास थियो । हालै त्यस भेगको यात्रा गरेर म्युजिक भिडियो तयार पारिएको छ ।'

नेपथ्यसँग काम गर्दा आफूले सदैव मित्रवत् चुनौती महसुस गर्ने गरेको दाहाल बताउँछन् । यसपटक भने नयाँ प्रविधि र तन्नेरी पुस्ताका सहकर्मीको साथ पाएर त्यस चुनौतीलाई सहजै सामना गरेको उनले उल्लेख गरे ।

म्युजिक भिडियो केही दिनलाई शुल्क तिरेर मात्र दर्शकले हेर्न पाउने व्यवस्था मिलाइएको छ ।  

'नेपथ्यका कुनै पनि सिर्जनामा यो ब्यान्ड मन पराउने र यसलाई भरथेग गरौँ भन्ने भावना राख्नेको पक्कै पनि पहिलो हक लाग्छ,' नेपालयका श्रेष्ठ भन्छन्, 'त्यसै अनुरूप यो भिडियो तत्काल हेर्न नेपालभित्र कम्तीमा १० रुपैयाँ र विदेशमा कम्तीमा एक डलर तिर्नुपर्ने बन्दोबस्त मिलाएका छौँ ।' स्वेच्छापूर्वक बढी तिर्न खोज्नेलाई पनि आफूहरूले स्वागत गर्ने हिसाबले प्रबन्ध गरिएको उनले जानकारी दिए ।

पैसा नतिरेरै हेर्न चाहनेका हकमा भने यो म्युजिक भिडियो साता दिनपछि मात्र सार्वजनिक थलोमा उपलब्ध गराइनेछ । 'हामी दुई दिनमै नेपथ्य साङ्गीतिक यात्राका लागि अमेरिका प्रस्थान गर्दैछौँ,' श्रेष्ठले भने, 'अमेरिका यात्राकै दौरान उपयुक्त समय हेरेर यो म्युजिक भिडियो युट्युबमा रिलिज गर्नेछौँ ।'

प्रकाशित: २८ वैशाख २०८२ १५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App