वकिल पन्नु भित्र प्रवेश गर्दै भन्यो, ‘सर नमस्ते!’
‘नमस्ते वकिल साहेब स्वागत छ।’ मन्त्री भद्रकालीले स्वागत गर्दै बस्न इसारा गर्याे।
‘सर, हजुरले बोलाउन पठाउनुभएको रहेछ। म कतै गएको थिएँ। सुन्नेबित्तिकै तुरून्तै हाजिर भएँ।’ वकिल पन्नुले सफाइमा मुस्कुराउँदै भन्यो।
‘हो हजुरसँग एउटा कुराकाे सल्लाह गर्नुपर्ने भयाे। त्यसैले फोन गर्नुभन्दा मेरो चालकबाट उतैबाट आउने भएकाले हजुरलाई बसालेरै ल्याए भनेको थिएँ। हजुर कतै जानुभएको रहिछ।’ मन्त्री भद्रकाली पनि खिसिक्क हाँस्दै भन्यो।
‘सर, कस्तो काम आइपर्याे सरलाई आज्ञा बक्सियोस्।’ वकिलले मन्त्रीतिर हेर्दै टाउको झुकायो।
‘खास होइन, हजुरलाई त थाहा छ अचेलका केटाकेटीहरूको रमाउने, हाँस्ने, खेल्ने र ठट्टा गर्ने दिन हुन्छ। हाम्रो छोरा पनि हँसिलो छ। केही गल्ती गरे होला प्रहरीले छोपेछ। फोन गर्दा पनि छाडेन। चलान काटेपछि बल्ल मलाई जानकारी भयो।’ मन्त्री भद्रकालीले भन्यो।
वकिलले सोध्यो, ‘अब बाबु उतै हुनुहुन्छ?’

‘हो हाम्रो बाबु उतै छ। एउटी केटी जाइलागेकी छ।’ मन्त्री भद्रकालीको अनुहारमा अचानक कालो बादल छायो।
‘चिन्ता नलिनुस् सर म छु नि।’ वकिलले सान्त्वाना दिंदै भन्यो।
‘त्यसैले त हजुरलाई बोलाएको। बरू यी धाराहरूमा के कस्ता सजाय हुन सक्छन्?’ उसले कानूनका छोरालाई लागेका धाराहरू देखाउँदै भन्यो।
‘सर, हजुरका लागि केही पनि छैनन्। सबै धारा उलटपलट हुन सक्छन्।’ वकिलले मन्त्रीतिर हेर्दै मुख मिठायो।
‘मन्त्री भद्रकालीले एउटा गड्डी पाँच सयको निकालेर वकिललाई थमायो।
प्रकाशित: २७ वैशाख २०८२ १३:३३ शनिबार