भित्तामा किला ठोकिएर
समय बोल्ने भित्तेपात्रोमा अढेसिएर उभिएको छु
अरू रातभन्दा ज्यादै नै खेदिएर तिमीबाट
सपना छोट्याएर बिउँझिएको छु आज सबेरै
झिसमिसे पन्छाउँदै चिहानघारीमा
अगरबत्ती फूलपाती चढाएर
निकैबेर आँसुले चिहान पुछिरहेँ
जंगली झारपातले छोपिएका पुराना स्मृतिहरू
समयलाई चिप्लो लेउमा खुर्किंदा
आज अरू दिनभन्दा सारै दुःखेको छु
तिमी छैनौ
त्यसैले तिम्रो समाधिमा केही बोझ हलुका हुन्छ।
यदि तिमीलाई छुन सक्ने भए
अँगालोमा बाँध्न सक्ने भए
यति ठुलो छल गरेर भागेकोमा
अँगालोमै कसेर मारिदिन्थेँ होला
मेरो तिर्सनामा रमाउने तिमी
मेरो दुःखमा भाग्ने तिमी
सपनामा आएर अङ्खोराको पानी पिउन सजिलो छ
त्यसैले हररात तिर्सनाको नाइल नदी बगेको छु।
यो रात छोटो भयो मलाई
बाक्लो भएन ऐँठन पार्न मलाई
यो केही उम्रिन नसक्ने बन्जर आँखामा
सपनाहरू कतै ऐजेरु फुले भने
रित्तो सिउँदो हिँडेर तिमीमा अँगालिन आइपुगेछु भने
माफ दिनू
छल गरेको अलिकति पछुतो केही पखालिनेछ।
कस्तो मौन, शान्त रहन सकेको तिमी
सुकेको माला पहिरिएको तस्बिरमुनि उभिएर
यतिका समयदेखि विद्रोह बर्बराइरहेछु
ओहो ! तिमीले मलाई फेरि पनि छल गेरर
उही पुरानो गल्लीमा लगेर ब्युँताएछौ
तिमी नहुनुलाई हुन खोज्दा
धेरैचोटि ऐनामा आफ्नो अनुहार चर्काएको छु
तिम्रो तस्बिरले
शिरको टोपीले
छातीको तक्माले
तिमीले सल्काएर गएको तिर्सना कहिल्यै निभाउन सकेन।
यो अनिँदो रात नै सही
छिपछिपे सपना नै सही
छलकपट धोका नै सही
हररात अङ्खोरामा पानी भरेको छु
हरेक अधुरा सपना पिएर जानू
भित्तेपात्रो हल्लिरहेछ
समयको धुलो अलिकति तिम्रो तस्बिरमा टाँसिएको रहेछ
पुछिदिएको छु, मैले आँसुले !
प्रकाशित: २७ वैशाख २०८२ १०:५३ शनिबार