मान्छेका जीवन रेखा कुनै सरल त कुनै घुम्ती नै घुम्ती हुँदा रहेछन्। तीमध्ये कोही असफल होलान् तर कतिपय सफलै हुन्छन्। सामान्यबाट उठेर घुम्ती र मोड पार गर्दै सफल रूपमा उभिन सक्छ, सामान्यतः उसको जीवन सम्झनलायक हुन्छ। सामान्यतः डुंगाबाट भन्दा पौडिएर नदी पार गर्ने मानिस बढी नै सफल, खुसी र आनन्दित हुन्छ। उद्धव सापकोटाको ‘संस्मरणमा जीवनयात्रा’ पढेपछि यस्तैयस्तै सन्देश मिल्छ।
यस पुस्तकको पहिलो पाठ हो– आमा। बालबालिकाको सबैभन्दा प्यारो र सुन्दर संसार आमा नै हो, जहाँ उनीहरूले खुसी, आनन्द र माया प्राप्त गर्ने, फैलिने, फुल्ने, फक्रने र खुल्ने अवसर पाउँछन्, तर आमाको अभावमा यी सबै कुरा गुमाउनुपर्छ भन्ने ‘आमा’ पाठमा देखाइएको छ। आमाको वात्सल्य यति ऊर्जावान्, प्रेमिल, आनन्ददायक र पोसिलो हुन्छ, जसले बालकको सिंगो जीवनले पूर्णता पाउँछ। आमामै केन्द्रित भएर लेखिएको यो पाठ पाठकको मन छुने खालको छ।
बीस वर्षसम्म आमासँग बिताएका आनन्ददायक पललाई रमाइलो पाराले प्रस्तुत गरेका छन्। कृषि कर्ममा व्यस्त रहे पनि सन्ततिलाई वात्सल्य प्रेम र भरणपोषणमा भने आमाले कहिल्यै कमी नगरेको लेखकको अनुभव छ। उनले आमा मेला गएका बेला मेलामै पुग्ने, मामाघर गए आमासँगै जाने र आमा घर आउनुभए घरमै बस्ने खेल्ने गरेको उल्लेख गरेका छन्। थैलीमा कमेरो माटो राख्ने र बेलाबेलामा खाने, अम्मल तान्ने आमाको बानी पनि रोमाञ्चक लाग्ने गरेको लेखकले उल्लेख गरेका छन्।
‘धुलीमाटीमा बितेका ती दिनहरू’ मूलतः ग्रामीण परिवेशमा हुर्किएको जीवन छ। यसमा हजुरबाले जुटाइदिएको निगाले भन्ज्याङस्थित पुख्र्यौली घर, ग्रामीण जनजीवन, त्यसवरिपरिको वातावरण, जडिबुटी, वन्यजन्तु र तिनको डर, गाईगोठ, पाखाबारी, खेत, हजुरबाका शाखासन्तान, बाआमाका तेह्रजना छोराछोरी, आफ्नो बालस्वभाव, बनेपा, भक्तपुर, ललितपुरको लुभुसम्मको पैदलयात्रा, साथीभाइसँग बिताएका क्षण आदि विषयलाई रमाइलो पारामा प्रस्तुत गरिएको छ।
प्राथमिकदेखि माध्यमिकसम्मको पढाइ, कुशादेवी माविका शिक्षकहरूको पढाउने तरिका, विद्यालय जाँदा र आउँदाबारे ‘शिक्षाको ज्योति, कुशादेवी विद्यालय’मा देखाइएको छ। यसमा कुशादेवी मावि र विद्यार्थीको शैक्षिक अवस्थाबारे उल्लेख गरिएको छ। यस पाठले त्यतिबेलाको सिंगो मुलुककै शैक्षिक अवस्था छर्लंग देखाउँछ। गाउँगाउँमा विद्यालय स्थापना गरी पढाउन थालेको र आफ्ना बालबालिकालाई पढाउनुपर्छ भन्ने अभिभावकमा विस्तारै चेतनाको विकास हुँदै आएको पनि यस पाठबाट स्पष्ट थाहा पाउन सकिन्छ।
‘शान्ति मिसन लेबनान’मा विश्वमा शान्ति स्थापनार्थ नेपाली सेना लेबनान गएको, त्यहाँ रहँदा निर्वाह गरेको भूमिका, इजरायलको भ्रमण, जहाज यात्रा, समुद्री किनार र नेपाल फर्किएपछिका अनुभवलाई समेटिएको छ। इजरायल र लेबनानको बसाइ कतिपय पक्षमा राम्रो र कतिपय पक्षमा जीवनमरणको दोसाँधमा रहेको अनुभव यसमा उल्लेख गरिएको छ।
इजरायलको सम्पन्न आर्थिक अवस्था र लेबनानको गरिबी पनि देखाइएको छ। यी दुई देशबिचको बिचमा उभिएर शान्ति सेनाका रूपमा काम गर्न पाउनु नेपाली सेनाका लागि अवसर र चुनौती दुवै रहेको लेखकले उल्लेख गरेका छन्। समग्रमा नेपाली सेनाले विश्वमा शान्ति स्थापनामा खेलेको भूमिका केकस्तो छ भन्नेबारेमा यस पाठबाट थाहा पाउन सकिन्छ।
‘जीवनको महत्त्वपूर्ण घुम्ती’ मा जीवनका रहरहरूलाई उल्लेख गरिएको छ। हाम्रो समाजमा सिपाहीलाई लाहुरेका रूपमा हेर्ने पुरानो चलन छ। सेनालाई लाहुरेका रूपमा हेर्ने सामाजिक दृष्टिकोण, सेनाका सिपाही रामहरि काकाको रवाफ र जवाफले आफूलाई पनि सेनामा जागिर खाने रहर लागेको, पटकपटकको प्रयासपछि सेनाको जागिर मिलेको, ठाउँठाउँमा तालिम लिएको, काजमा खटिएको, पढेको, घरमा आउजाउ गरेको, परिवारबाट टाढा हुनुपरेको आदि विषयमा प्रस्तुत गरिएको छ।
‘शान्ति मिसन सुडान’मा संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वमा शान्ति स्थापना गर्न खटिएको एकजना नेपाली सेनाले सुडानमा पुगेर खेलेको भूमिकालाई प्रस्तुत गरिएको छ। नेपालबाट सुडान जाँदा, त्यहाँ बस्दा र सुडानबाट नेपाल आउँदाका अनुभूति यस पाठमा पढ्न पाइन्छ। एकजना सैनिकको जीवन कस्तो हुन्छ भन्ने यस पाठबाट बुझ्न सकिन्छ।
सुडानको आर्थिक, सामाजिक र व्यक्तिगत पक्षका बारेमा पनि यसमा देखाइएको छ। सुडान मुसलमानहरूको बाहुल्य रहेको मुलुक हो। त्यहाँको समाज हाम्रोजस्तो उदार छैन। समाज सङ्कुचित भयो भने विकासले गति लिन सक्दैन भन्ने सन्देश ‘शान्ति मिसन सुडान’मा पाइन्छ। सुडान र नेपालको तुलना गर्दै लेखकले आफू बसेको घरपरिवार र हाम्रो समाज स्वर्गसमान महसुस गर्छन्।
‘शिक्षक पदिकको अनुभव’मा लेखकले जीवनमा समस्या र चुनौती आउँछन्, त्यसले सँगसँगै अवसर पनि ल्याएको हुन्छ भन्ने सन्देश दिन खोजेका छन्। लेखकलाई निराशाले जागिर छाड्ने मनस्थितिमा पुर्याएको थियो भने धैर्य गर्दा अवसर पाई सुखद क्षण पनि आएको थियो। मानसिक रूपमा सन्तुष्टि पनि मिलेकै थियो। यसमा लेखकले रिस र खुसीका आधारमा नभई मानवताका आधारमा सबैलाई न्याय दिनुपर्छ भन्ने कर्तव्यबोध गरेका छन्, जुन सेनाको शिक्षक भएपछि आएको ज्ञान हो।
‘जीवनका महत्वपूर्ण घुम्ती’ मा सिपाहीदेखि बढुवा हुँदै सुबेदारसम्मको सैनिक जीवनलाई यसमा समेटिएको छ। क्याम्पसको पढाइ वैवाहिक जीवन, घरपरिवारबाट टाढा हुनुपर्दा चिन्ता, नजिक हुँदा खुसी र आनन्द; तालिम वा काजका क्रममा कहिले लेक त कहिले बेंसी, कहिले गाउँ सहर, सडक निर्माण, गार्ड, छाउनी ब्यारेक, माङचेत, भुरिखर्क, त्रिशूली, सोमदाङ, नेपालगन्ज र विदेशमा लेबनान, इजरायल, सुडान आदि मुलुकमा शान्ति सेनाका रूपमा खटिएको हेर्दा संघर्षशील सैनिकको जीवन अनेक मोडले भरिएको हुन्छ भन्ने थाहा पाउन सकिन्छ। ‘जीवन एक भोगाइ अनेक’ जीवनका उत्तरार्धतिरका कर्मले ओतप्रोत छ। यसमा जागिरबाट अवकाश, समाजसेवा, अध्यात्मतिरको आकर्षण, भावी पिढीलाई असल संस्कारको आवश्यक रहेको बोध आदि विषय समेटिएका छन्।
संस्मरणमा नितान्त व्यक्तिका अनुभूति छन्, जसले पाठकलाई तान्ने क्षमता राख्छ। जस्तो– आमा, धुलिमाटीमा बितेका ती दिनहरू, काठमाडौं सहर, कलेज पढ्ने रहर, जीवनका महत्वपूर्ण घुम्तीले पाठकको मन आकर्षित गर्छ। परका विषयवस्तु समेटिएका पाठ सान्दर्भिक नलागेजस्तो देखिन्छ। जस्तो– ‘त्यो कालो अवधि’, ‘राजवंश विनाश भएको रात’ ले पाठकहरूले सबैको मन आकर्षित गर्छ जस्तो मलाई लाग्दैन।
यस पुस्तकमा त्रुटि पनि छन्। हामी शब्द आफैं बहुवचन हो, यसमा ‘हरू’ जोडिएको छ, जुन आवश्यक थिएन। यस्ता अनावश्यक शब्दहरू आंशिक रूपमा छन्। भइनँ हुनुपर्नेमा भइँन; आएँ हुनुपर्नेमा आए; थिएँ हुनुपर्नेमा थिए र गएँ हुनुपर्नेमा गए भएका छन्। यस्ता शब्द पाठकले बुझेर पढ्लान्, तर वाक्य गठनका हिसाबले अशुद्ध नै मानिन्छ।
यात्रा संस्मरण प्रकाशन गरेर आफ्ना अनुभूतिलाई लिपिबद्ध गर्ने जमर्को लेखकले गरेका छन्, त्यो कदरयोग्य छ। समग्रमा अनुभूतिलाई लेखाइमार्फत जीवन्तता प्रदान गर्न सक्नु अझ लेखकीय सफलता हो। पुस्तक लेखनबाट जति सफलता मिल्छ, पाठकको मन जित्न सक्दा सबैभन्दा धेरै सफलता मिल्छ, जुन लेखकको क्षमता हो। यस पुस्तकको पूर्ण मूल्यांकन त आमपाठकबाटै हुने छ।
प्रकाशित: २७ वैशाख २०८२ ०९:३८ शनिबार