ब्लेड जेजेरो स्टेसनबाट हिँड्यो ट्रेन। ट्रेनको झ्यालबाट बाहिर चिहाउँछु। माथि आकाशमा दौडिरहेका छन् बादलका टुक्रा। लेक ब्लेडमाथिको डाँडामा दौडिरहेको छ ट्रेन। सराङगकोटबाट देखिने पोखराको फेवातालजस्तै स्लोभेनियाको प्रसिद्ध ताल ‘लेक ब्लेड’ निकै तल देख्छु। आकाशको निलो रङ सापटी लिएजस्तो अथवा निलो रङ पोखिएजस्तो लेक ब्लेडको पानी निलो न निलो देखिन्छ। निलो पानी शान्त छ। मेरो मनमा चाहिँ छचल्किरहेको छ आनन्दको छाल। कुदिरहेको छ कौतूहल। बुर्कुसी मारेर दौडिरहेका छन् खुसीका लहरहरू।
लेक ब्लेड पछाडि छुट्यो। देखा पर्न थाले पहाडहरू। हिउँदको चिसो र हिउँको चोट सहेका रुखहरूमा भर्खरै पलाएका छन् वासन्ती पालुवा। धुपी सल्लाका अग्ला बोटहरूले वरपरको वातावरणमा हरियाली थपेका छन्। निकै पर शिरमा हिउँ बोकेका अपरिचित पहाडहरू देखापर्छन्। हरियालीका वस्त्र र हिउँका गहना लगाएका ती पहाडहरू बैंसालु युवतीझैं एकदम सुन्दर देखिन्छन्। पहाडलाई अँगालोमा बाँधूँजस्तो पहाडको शिरमा चुमूँजस्तो लाग्छ। आनन्द मानेर हेर्छन् तिनलाई मेरा आँखाले। परदेशमा हिमाल देख्दा पनि आफ्नै जस्तो लाग्छ। त्यसै दङ्ङ पर्छु हिमाल देखेर।
बाहिरबाट झट्ट हेर्दा पुरानोजस्तो देखेको थिएँ ट्रेन। पुरानो भए पनि डिब्बाभित्र आरामदायी सिट रहेछ। सिटमा आनन्दसाथ बसेको छु। यात्रामा म एक्लै छैन। विभिन्न देशका चालिस जना लेखक साहित्यकारहरूसँग छु। एउटा महत्त्वपूर्ण साहित्यिक कार्यक्रममा सहभागी हुन स्लोभेनिया र इटालीको बोर्डर पर्ने नोभा गोरिचा सहरमा हामी जाँदैछौं। यात्रादलका केही सदस्यहरू पूर्व परिचित छन्।
मेरो छेउको सिटमा जर्मनीका उपन्यासकार जोवाकिम हेल्फर बसेका छन्। छोटो कुराकानी गरेपश्चात् ध्यानमा बसेजस्तो उनले आँखा चिम्लेका छन्। न उनी कुराकानी गर्छन्, न बाहिरको दृश्यमा आँखा लगाउँछन्। न त मोबाइल फोन हेर्छन्। चञ्चले र अधैर्य त मै मात्र रहेछु। घरी मोबाइल फोनमा, घरी झ्यालबाहिर त घरी आँखा चिम्लन्छु म।
घरी पहाडको खोँच, घरी पहाडको काख त घरी पहाडमुनिको सुरुङ र नदीकिनारा हुँदै दौडिरहेको छ ट्रेन। नागबेली सडकका थुप्रै घुम्ती देखापर्छन्। देखिरहेको छु भेडा र गाईहरू चरिरहेका हरिया फाँट। बेलाबेलामा देखापर्छन् ससाना घर। ती घरका आँगनमा दौडिरहेका छन् कुखुरा। ती दृश्यले हठात् मलाई परदेशको भूमिमा नेपालको सम्झना गराउँछन्। मलाई यस्तो भ्रम हुन्छ कि, मानौं नेपालको पहाडमा चलिरहेको कुनै ट्रेनमा यात्रारत छु। कहिले यात्रा गर्न पाइएला नेपालका पहाडमा चल्ने ट्रेनमा? मनमा एउटा सुदूर इच्छा दौडन्छ बेसरी।

ट्रेनभित्र लेखक, फिल्म–टेलिफिल्मकी कलाकार, नाटक निर्देशक तथा प्रोफेसर नेदा रुसान ब्रिकले स्लोभेनियाको नाटक र कलाबारे संक्षिप्त जानकारी दिइन्। उनले आजको हाम्रो गन्तव्य दुई देशमा विभाजित सहर नोभा गोरिचाबारे रोचक कुरा बताइन्।
उक्त सहरमा पुग्नुअगावै पाएको थोरै जानकारीले थप कौतूहल थपेको छ मनमा। त्यस सहरमा पाइला टेकिहाल्ने आतुरता बढेको छ। पूर्वयुगोस्लाभियाबाट स्वतन्त्र बनेको सानो देश स्लोभेनियाको भूगोललाई दुई दिनको बसाइमा मेरा आँखाले प्रत्यक्ष रूपमा हेरिसकेका थिए। अक्षरमार्फत स्लोभेनियालाई थोरै पढिसकेको थिएँ। अरू दुई दिनको बसाइमा थप कुरा थाहा पाउनेछु।
हिमाल, पहाड, समथर भूमि, समुद्र र ताल भएको स्लोभेनिया साँच्चैकै सुन्दर छ। स्लोभनियाको बलियो वातावरणीय नीति र दिगो पर्यटनको प्रयास आदिका कारण संसारका सवैभन्दा सफा देशहरू मध्ये एकको रूपमा ख्याती कमाएको छ।
स्वच्छ हावा, पानीको उच्च गुणस्तर र जैविक विविधताको संरक्षणको प्रयासका लागि राज्यले गरेको कार्य प्रशंसा योग्य छ। युरोपको हरित सहरको नामले ख्याति कमाएको स्लोभेनियामा वातावरणप्रति सरकार र जनता दुवै पक्ष सचेत रहेको थाहा पाउँदा खुसी मान्छु। ठाउँ ठाउँमा यात्रुहरू ओर्लन्छन् र चढ्छन्। बाहिरका दृश्य, आफैंसँगको संवाद र मोबाइल फोनको साथले गर्दा यात्रा रमाइलो लागिरहेको छ।
चलिरहेको ट्रेनमा अचानक कविता सुनाउने कार्यक्रम सुरु भयो। मौका पाएपछि नेपाली कविहरूले जहाँ पनि कविता सुनाउँछन् भन्ने भनाइलाई गतल साबित गरे यात्रामा रहेका विभिन्न देशका कविहरूले। उक्त दृश्यले आखिरमा कवि भन्ने जात संसारभरका उस्तै हुदाँरहेछन् भन्ने लाग्यो।
कविहरू ट्रेनभित्र उभिएर कविता सुनाइरहेका छन्। पुरानो ट्रेनले निकालेको हल्लाले कविताका अधिकांश शब्द र पंक्तिहरू हल्लामै हराइरहेका छन्। तर, कविहरू भने जोसिँदै कविता सुनाइरहेका छन्। कविता सुनेको प्रमाण म ताली बजाएर दिन्छु। कविहरूलाई उत्साहित पार्न ‘सो नाइस पोएम’ भनेर फुक्र्याउँछु।
म जस्ता अरू श्रोताका ताली र उत्साहित पार्ने प्रतिक्रिया पाएपछि कविहरू दङ्ङ पर्छन्। तिनका मुहारमा चढेका खुसीको ग्राफ पढ्छु। आखिर कविहरू यस्तै ताली, वाह वाह, खादा, माला, दोसल्ला, सम्मान आदिमा रमाउने सन्तोषी जात त हुन् नि। कविता लेख्नु भनेको ‘संतोषम् परम् सुखम्’ हो। कहिलेकाहिँ कविता लेखेर म पनि यस्तै सुखमा रमाउने गर्छु।
संसारभर कहीं पनि कविता मात्र लेखेर दैनिक खर्च चलाउने पैसा कमाउन सकिँदैन। तर पनि लेखिन्छन् कविता। पाठकहरूले पढ्छन् र त छापिन्छन् कविताहरू। कविता लेख्नु भनेको क्षमता भएका बौद्धिक वर्गले पूरा गर्नुपर्ने एउटा सामाजिक दायित्व पनि हो। कविता आवाज विहीनहरूको आवाज हो। आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने झोक्का हो। कविता औषधी हो। दुःख, सुख र एक्लोपनको साथी हो।
ठीक दुई घन्टापछि स्लोभेनियाको पश्चिममा पर्ने नोभा गोरिचा स्टेसनमा रोकियो ट्रेन। हामी सबैजना ट्रेनबाट उत्रिन्छौं।
आज ९ अप्रिल, २०२५ का दिन नोवा गोरिचाको आकाशमा बादल र घामको लुकामारी चलिरहेको छ। हल्का चिसो मायालु हावाले स्वागत गर्दै कानमा गुनगुनाउँछ मधुरो सङ्गीत।
स्लोभेनियाकी उपन्यासकार तथा पुस्तक प्रकाशक तान्या तुमाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका छौं। उनी यस कार्यक्रमकी संयोजक हुन्। उनको पछि लागेर हाम्रो समूह हिँडिरहेको छ।
‘हामी इटालीमा पाइला टेक्दैछौं। तपाईंहरूले पासपोर्ट त बोक्नुभएको होला नि,’ तान्याले भनिन्।
उनले त्यसो भन्नेबित्तिकै मैले गोजीमा भएको पासपोर्ट छामेँ। पासपार्ट साथमै रहेकाले ढुक्क हुन्छु। तान्याको कुरा सुन्नेबित्तिकै केहीले त हातमै पासपोर्ट बोके। ‘होइन होइन, मैले ठट्टा गरेको,’ एकछिनपछि तान्याले हाँस्दै भनिन्। नोभा गोरिचा ट्रेन स्टेसनअगाडि एकदम फराकिलो चोकको मध्यभागमा पुगेर रोकिन्छौं। हाम्रा सामुन्ने एक हुल पर्यटक छन्।
‘स्लोभेनियन भाषामा ‘ट्रास्सलपिना स्क्वायर’ भनिने चोकलाई अंग्रेजीमा ‘युरोप स्क्वायर’ भनिन्छ,’ तान्याले भनिन्।
इटाली र स्लोभेनिया दुई देशको सिमाना ट्रेन स्टेसनको ठिक अगाडिको यही युरोप स्क्वायरको मध्यभाग हुँदै गएको रहेछ। निकै परसम्म मेरा आँखाले यात्रा गरे। सामुन्ने देखिएका भवन, वरिपरिको वातावरण र भुइँमा ढुङ्गा छापिएको चोक एकदम सुन्दर छ। तान्याले युरोप स्क्वायरमा हाम्रो प्रतीक्षा गरिरहेकी इतिहासकार डा. काजा सिरोकसँग परिचय गराइन्। उनले नोभा गोरिचाको इतिहासबारे बताउने कार्यक्रम पहिले नै तय भएको थियो। आधिकारिक व्यक्तिबाट इतिहासका कुरा सुन्न पाउने अवसर मिल्दा प्रफुल्ल हुन्छ मन।
‘दोस्रो विश्वयुद्धअघि नोभा गोरिचा सहर जन्मेकै थिएन। गोरिचा सहर मात्र थियो। दोस्रो विश्वयुद्धपछि सन् १९४७ मा पेरिस सन्धिले युरोपका देशमा नयाँ सिमाना स्थापना गर्यो। गोरिचा नामको एउटा सहरलाई दुई देशमा विभाजन गर्यो। गोरिचा इटालीको र सहरको कम विकसित भाग युगोस्लाभियाको समाजवादी संघीय गणतन्त्रभित्रको स्लोभेनियाको हिस्सा हुनुपर्छ भनेर निर्धारण गर्यो। विभाजन हुँदा सहरको चालिस प्रतिशत भूभाग युगोस्लाभियामा पर्यो। सहरलाई स्थायी रूपमा विभाजन गर्न पर्खाल लगाएर सिमाना खडा गरियो। खाली ठाउँमा नयाँ बस्ती बसाइयो। नयाँ सहरलाई नोभा गोरिचा अर्थात् नयाँ गोरिचा भनियो। मुख्य सहर गोरिचा इटाली भूभागमा रह्यो। त्यस बेलादेखिको दुई देशमा विभाजित दुई सहरहरू अस्तित्वमा छन्,’ डा. काजाले सहर विभाजनको इतिहास बताइन्।
युद्धले देश र सहरको विभाजन मात्र गर्दैन, परिवार, नातागोता र इष्टमित्रको पनि विभाजन गर्छ। त्यसले व्यापक रूपमा मानवीय क्षति गराउँछ। भवन, अस्पताल, सडक मात्र होइन, कला, संस्कृति र मानिसको आस्थामा समेत ठुलो नोक्सानी पुर्याउँछ। युद्धमा सत्य होइन, शक्तिको आधारमा निर्णय हुन्छ, जसले गर्दा मानवताको हार हुन्छ। बेलायती दार्शनिक, गणितज्ञ तथा तर्कशास्त्री बट्र्रान्ड रसेलले भनेको कुरा सम्झन्छु, ‘युद्धले को सही हो भन्ने होइन केवल को बाँकी रहन्छ भन्ने निर्धारण गर्छ।’
वास्तवमा मानव जातिको कलंक हो युद्ध। म युद्धलाई घृणा गर्छु।
‘जब दुई देशबिच सिमाना कोरियो, त्यस सहरका नागरिकलाई दुई महिनाको समय दिइएको थियो इटालीमा बस्ने कि युगोस्लाभियाअन्तर्गतको स्लोभेनियामा बस्ने भनेर। गोरिचा सहरका नागरिकहरूले आआफ्नो इच्छाअनुसार देश छाने। युगोस्लाभियाका कम्युनिस्ट नेता मार्सल टिटोको योजनाअनुसार नोभा गोरिचामा नयाँ भवन, अस्पताल, स्कुल, कलेज, सडक, ढल आदि बनाइयो।
सुन्दर टाउन प्लानिङबाट बनाइएको नोभा गोरिचा आधुनिक र कान्छो सहर हो। स्लोभेनियामा बस्नेहरू नयाँ सहरका नयाँ बासिन्दा भए। इटाली र स्लोभेनिया दुई तिरै उनीहरूका परिवार छन्,’ काजाले बताइन्।
देशभक्त नागरिकका लागि राष्ट्रियताभन्दा ठुलो केही हुँदैन। कुन देशमा बस्ने, कुन देशको नागरिक हुने भनेर निर्णय गर्ने कार्य तिनका लागि अवश्य पनि सजिलो थिएन। पछि बेकारमा त्यो देश छानिएछ भनेर पछुताउ पो हुने हो कि भन्ने तिनका मनमा अनेकन् तर्क आए होलान्। कुन देश छान्ने भन्ने निर्णय गर्न नसकेर उनीहरू ठुलो तनावमा थिए होलान् भनेर अनुमान गर्छु।
पेरिस शान्ति सम्मेलनमा नयाँ सीमा कोर्दा गोरिचा सहरको नक्सामा पेन्सिलले सिधा रेखा कोरिएको थियो। पेन्सिलले कोरिएको नक्सा बोकेर सैनिकहरू गोरिचा पुगे। उनीहरूले नक्सामा कोरिएबमोजिम भुइँमा रङ लगाए। कागजमा कोरिएको रेखाअनुसार सिमाना कोर्दा खेतहरू काटिए। कतिका घर काटिएर आधा इटाली र आधा स्लोभेनियामा परे। कतिका घर एक देशमा र ट्वाइलेट अर्को देशमा परे। चिहान, आँगन, बगैंचा र बाटाहरू समेत दुई देशमा स्थायी रूपमा विभाजित भए। काजाले उक्त कुरा बताउँदा उदेक मान्छु।
क्रूर हुन्छ युद्ध। अन्यायपूर्ण हुन्छ युद्ध रोक्न गरिने सम्झौता। युद्धमा विजयी पक्षले धेरै पाएर दङ्ग पर्छन्। हार्नेले धन, जन र देशको जमिनसमेत गुमाउँछन्। युद्धको पीडा र असर दुवै पक्षका जनताले पछिसम्म भोग्नुपर्छ। युद्धको परिणाम यही हो। संसारभरबाट कहिले बन्द हुन्छ होला मानवता धुरु धुरु रुने युद्ध ? आफ्नै मनसँग सोध्छु।
युरोप स्क्वायरको मध्यभागमा रहेको भुइँमा नाङ्लो जत्रै फलामको गोलाकार आकृतिको ठिक अगाडि हामी उभिएका छौं। त्यस गोलाकार आकृतिलाई नियाल्छु। त्यसको एकातर्फको भागमा इटाली र अर्कातर्फ स्लोभेनिया लेखिएको छ। त्यसमुनि सन् १९४७ र त्यसको ठिक मुनि सन् २००४ लेखिएको छ। यही रहेछ दुई देशको सिमाना छुट्याउने स्थान। त्यस गोलाकार आकृतिअगाडि उभिएर मानिसले कोरेका काल्पनिक सीमारेखालाई ठम्याउने प्रयास गर्छु। त्यसवरपर दुई देशको सिमाना छुट्याउने न कुनै रेखा कोरिएको छ, न कुनै भौतिक सीमाना, न त कुनै साइनबोर्ड नै छन्। म स्लोभेनियाको आधुनिक सहर नोभा गोरिचा र इटालीको मध्ययुगीन सहर गोरिचाबिच उभिएको छु। यदि मैले एक कदम मात्र चालेँ भने पासपोर्ट नदेखाईकन अदृश्य सीमा पार गरेर इटालीमा पुग्छु।
दुई देशको सिमाना छुट्याउने त्यस गोलाकार आकृति नजिकै दुई देशमा दुई खुट्टा राखेर उभिएको फोटो खिच्न मानिस पालो पर्खेका छन्। मेरो पालो आएपछि दुई हात फिँजाएर दुई गोडाले टेकेर त्यस आकृतिनजिकै उभिन्छु। यसरी उभिँदा मेरा एक हात र एक खुट्टा इटालीमा र अर्को हात र खुट्टा स्लोभेनियामा पर्छन्। जीवनमा कैयौं देशको सिमाना टेकियो र पार गरियो। तर, यस पटक भने अनौठो र अद्भुत अनुभव हुन्छ मलाई।
एक कदम चालेर अदृश्य सिमाना नाघ्दै स्लोभेनियाबाट इटालीमा पाइला टेक्छु। त्यहाँ पुग्दा कसैले सोधपुछ गरेनन्। कसैलाई पासपोर्ट देखाउनुपरेन। त्यसो भए किन एउटै सहर दुई देशमा विभाजन गरेको त? मनमा प्रश्न उठ्छ तर सोध्ने कसलाई?
देशको सिमाना युद्धका कारण फेरबदल भइरहन्छ। युद्धमा पराजित देशको जमिन, स्रोत, साधनहरूमा विजेता देशले कब्जा जमाउँछन्। विजेताले यहाँसम्म मेरो भूभाग हो भनेर सिमाना कोर्छन्। वास्तवमा देशको सिमाना मानिसले धरतीमा कोरेको अहंकार र शक्तिका रेखा मात्र हुन्। मानव जातिलाई विभाजन गर्ने अग्नि रेखा हुन्।
अचानक मेरो मोबाइल फोनमा ‘रोमिङ नोटिफिकेसन’ आउँछ। मेरो बेलायतको फोनको नेटवर्क इटालीको मोबाइल फोन कम्पनीको नेटवर्कसँग जोडिएकाले फोन गर्न र इन्टरनेट चलाउन सक्ने जानकारी पाउँछु। त्यही नोटिफिकेसनले मलाई इटालीमा पुगेको प्रमाण दियो। यदि मोबाइल फोन नहुँदो हो त म इटालीमा टेकेँ भनेर दङ्ङ पर्नुबाहेक अरू केही प्रमाण हुने थिएन।
उही धरती र उही घाम। दुवैतिर उस्तै बतास चलेको छ। उस्तै रङ र उही जातिका मानिसहरू दुवैतिर बसोबास गर्छन्। तर, मानिसले कोरेका सिमानारूपी रेखाले देश र सहरलाई विभाजन गरेको छ। यस ब्रह्माण्डमा हिमाल, पहाड, तराई, मरुभूमि, समुद्र भनेर प्रकृतिले पहिले नै सिमाना छुट्याएर विभाजन गरिसकेको छ। फेरि कसले दियो मानिसलाई सिमाना छुट्याउने अधिकार? यस्तै कुरा मनमा उकुसमुकुस भएर आउँदा अचानक आफ्नै कविताको एक अंश सम्झिन्छु–
स्मृतिको सिंहासनमा बसेर
घरदेश र परदेश दुरी नाप्छु
खोतल्छु तिनका सम्बन्धका इतिहास
देशको सिमाना भन्नु
शक्तिशाली राष्ट्रहरूले कोरेका
विभाजनका काल्पनिक रेखाहरू मात्र रहेछन्
जहाँ बसे पनि
अभाव, पीडा र संघर्षको अक्करे भिरमा झुण्डिएर
आफ्नै परिश्रमले बाँच्नुपर्छ मानिसले।
गोरिचाको यो विभाजन पहिलो होइन। दुई देशमा विभाजित सहरको इतिहास लामो र दुःखदायी छ। इतिहासको पाना पल्टाउँदा हाब्सवर्ग, नेपोलियन, अस्ट्रो–हङ्गेरियन, सब्र्स, क्रोएट्स, स्लोभेन्स र इटालियन्सहरूको अधीनमा परेको पाउँछु गोरिचा सहर। अहिले इटालीको अधिनमा गोरिचा र स्लोभेनियाको अधिनमा नोभा गोरिचा छ।
भविष्यमा कुनै सन्की तानाशाहको मनमा विश्वको सम्राट बन्ने महत्त्वाकांक्षा पलायो भने गोरिचा जस्ता सहरहरू अर्कै देशको अधिनमा नपर्लान् भन्न सकिन्न। मेरो हजुरबुबा अस्ट्रिया–हङ्गेरीमा जन्मनुभयो। मेरो आमा युगोस्लोभियामा जन्मनुभयो। मेरी श्रीमती इटालीमा जन्मिन् र म स्लोभेनियामा जन्मिएँ। मेरा छोराछोरी स्लोभेनियामा जन्मेका छन्। यस्ता खालका कथाहरू कैयौंका छन्। पर्यटकको एक हुलसँग आएका मेरो छेउका टुरिस्ट गाइडले बोलेको सुन्छु। उनको कुराले चकित बनायो मलाई।
सन् २००४ मा स्लोभेनिया युरोपियन युनियनको सदस्य भएपछि अरू युरोपली देशमा जस्तै यी दुई देशबिचमा भौतिक सिमाना रहेन। भत्किए सहर विभाजन गर्ने पर्खालरूपी सिमाना। आफ्नो सिप, योग्यता र क्षमताअनुसार दुवै देशका स्थानीयहरूले अहिले सीमा वारिपारि गएर काम गर्ने अवसर प्राप्त गरेका छन्। यसले उनीहरूबिच निकटता ल्याएको छ।
अहिले दुई सहरका नागरिकबिच सांस्कृतिक आदानप्रदान सुरु भएको छ। युरोपियन युनियनले अन्तर्राष्ट्रिय युरोपेली संस्कृतिको राजधानीका रूपमा दुई सहरका जनतालाई जोड्ने कार्य गरेको छ। साहित्य, कला र संस्कृतिमार्फत दुई देशका सहरबिच भावनात्मक एकीकरणको प्रयास भइरहेको छ।
साहित्य, कला र संस्कृतिको शक्ति र उपयोगिता थाहा पाउँदा मनमा साहित्य लेखक हुनुको गर्वले ढक्क फुल्छ छाती। अलिक टाढा रहे पनि नोभा गोरिचा सहरमा पर्यटकको चहलपहललाई देखे मेरा आँखाले। यहाँ वर्षैभरि साहित्य, गीत, संगीत, नृत्य र कला प्रदर्शनीसहितका कार्यक्रम हुँदा रहेछन्। विभिन्न रुचि भएका मानिसका लागि एउटा राम्रो गन्तव्यका रूपमा स्थापित भएको पाउँछु।
‘भिपाभा उपत्यकामा पर्ने यो सहर पर्यटकको आकर्षण केन्द्र हो। अंगुर खेतीका लागि प्रसिद्ध भिपाभा उपत्यका वरपर साइक्लिङ गर्ने र हाइकिङ जान चाहने पर्यटकका लागि लोकप्रिय गन्तव्य हो। एकदम धेरै फोटा खिचिने सुन्दर नोभा गोरिचा सहरमा ढुङ्गा छापिएका बाटा, कफी र रेस्टुरेन्टहरूले पर्यटकहरूलाई केही दिन यतै अलमल्याउँछ।
यहाँका क्यासिनो र अन्य मनोरञ्जनपूर्ण कार्यक्रमहरू भइरहने हुनाले इटालीका मानिसका लागि रात्रि जीवन बिताउने आकर्षक स्थानका रूपमा नोभा गोरिचाले ख्याति कमाएको छ,’ काजाले भनेको सम्झन्छु। ‘म्युजियम अन द बोर्डर’ भवनको सामुन्ने उभिएको छु। म्युजियमभित्र दोस्रो विश्वयुद्ध र विभाजित दुई सहरको सिङ्गो इतिहास छ।
समय अभावका कारण त्यस म्युजियमलाई अवलोकन गर्न पाइनँ। नोवा गोरिचा आउने मौका फेरि के मिल्ला र? म्युजियममा खुब रुचि राख्ने मलाई केही हेर्न छुटेजस्तो भइरह्यो।
विभाजित दुवै सहरका बासिन्दाले स्लोभेनियन र इटालियन भाषा बोल्छन्। आआफ्नै मौलिक इतिहास र सांस्कृतिक विविधता भएको सहरको बासिन्दाबिच एकताको भावना छ। दुई सहर, दुई भाषा, दुई संस्कृति र दुई राष्ट्रियता सामञ्जस्यपूर्ण सहअस्तित्वसाथ मिलेर बसेका छन्। मानिसका मन जोडिएका छन्।
दुई राष्ट्रहरूबिचको सीमाविहीनता कसरी व्यवहारमा सहज रूपमा लागु गर्न सकिन्छ भनेर हेर्नका लागि यी दुई सहर राम्रा उदाहरण हुन्। दुई देशमा विभाजित विश्वका केही सहरबिच रहेको तीक्तता, घृणा र रक्तपातका घटना पत्रिकामा पढेको छु। टिभीमा हेरेको छु। त्यस्ता घटना कसरी न्यून गर्न सकिन्छ भनेर यी दुई गोरिचा सहरबाट सिक्न सकिन्छ। यी दुई सहरले मेरो मनमा गहिरो प्रभाव पारेका छन्।
नोभा गोरिचमा पुस्तकालय, म्युजियम र आर्ट ग्यालरीहरू छन्। नोभा गोरिचा विश्वविद्यालय पनि यहीं छ। यहाँ तीनवटा नेसनल थिएटर छन्। त्यसमध्येको एक थिएटर हलमा हुने साहित्यिक कार्यक्रममा सहभागी हुनका लागि हामी बस चढ्छौं।
पाँच मिनेटपछि थिएटर अगाडि रोकियो बस।
बसबाट उत्रेर थिएटरभित्र प्रवेश गर्छौं। निर्धारित समयमा कार्यक्रम सुरु भयो। कार्यक्रममा नोभा गोरिचा नगरपालिकाका मेयर सामो टुरेलले स्वागत गरे। जलवायु परिवर्तन, आप्रवासी, युद्ध र शान्तिबारे विभिन्न वक्ताहरूले बोले। ती विषयमा हामीजस्ता लेखक र साहित्यकारहरूले खेल्नुपर्ने भूमिबारे चर्चा गरियो। प्रमुख वक्ताका रूपमा संयुक्त राष्ट्रसंघको सहायक महासचिव रहिसकेका स्लोभेनियाका पूर्व राष्ट्रपति डा. डानिलो टुर्कले जलवायु परिवर्तनले पारेको असर र त्यसलाई न्यूनीकरण गर्न विश्वभरि भइरहेका प्रयासबारे जानकारी दिएँ। पिउने पानीको पहुँच सबै नागरिकको मौलिक अधिकार भएको र यसलाई व्यापारीकरण हुनबाट रोक्नका लागि स्लोभेनियाको संविधानमा लेखिएको छ भनेर एक वक्ताले बोलेको सुन्दा आश्चर्य चकित हुन्छु।
वास्तवमा प्रकृतिले सित्तैमा दिएको पानीलाई व्यापारीकरण गर्न प्रतिबन्ध लगाउनुपर्छ। स्वच्छ पिउने पानी हरेक नागरिकलाई उपलब्ध गराउनु राज्यको कर्तव्य हुनुपर्छ। हरेक देशको संविधानमा यो कुरा प्रत्याभूत गरिनुपर्छ। राजनीतिक पार्टीहरूले पानीलाई प्रमुख मुद्दा बनाउनुपर्छ। यो काम नेपालका कुन राजनीतिक पार्टीले पो गर्लान् र ? नेपालको राजनीतिक पार्टीका नाम सम्झँदा निराश हुन्छु म।
पाँच घन्टासम्म चलेको प्यानल डिस्कसनसहितको एकदम उपलब्धीमूलक कार्यक्रममा विशिष्ट वक्ताहरूका महत्त्वपूर्ण विचार सुन्ने र धेरै कुरा सिक्ने अवसर मिल्यो। जलवायु परिवर्तन, आप्रवासी, युद्ध र शान्ति आदि विषयमा लेखक र साहित्यकारहरूले खेल्नुपर्ने भूमिका र जिम्मेवारीबारे कुरा उठे। अक्षरको शक्ति र त्यसले पार्ने प्रभावबारे म परिचित छु। लेखनमार्फत मानव जातिको हितमा गर्न सकिने असल कर्मका लागि आफूलाई अझ सशक्त रूपमा प्रस्तुत हुने प्रण गरेको छु।
कार्यक्रम समाप्त भएपछि छुट्टिनुअघि स्लोभेनियाका पूर्वराष्ट्रपति डा. डानिलो टुर्कसँग फोटो खिच्ने र छोटो कुराकानी गर्ने अवसर मिल्यो। म नेपाली भएको जानकारी दिँदा उनी खुसी हुँदै माउन्ट एभेरेस्टको कुरा निकालेँ। उनले नेपाल र माउन्ट एभरेस्टलाई सम्झँदा मेरो मन प्रफुल्ल हुन्छ।
स्लोभेनियाको जवान र सानो सहर नोभा गोरिचामा अलिकति पैदल र अलिकति बसबाट यात्रा गरिसकेका थियौं। नोभा गोरिचा सहरको शान्ति, इतिहास र स्थानीयहरूको आत्मीयताले गर्दा यो यात्रा मेरो स्मृतिमा गहिरोसँग बसेको छ। दिनभर बादलभित्र लुकामारी खेलिरहेको घाम कति बेला अस्तायो, पत्तै भएन। बैंसालु साँझ छिप्पिसकेको थियो। साँझको खाना खाएपछि हाम्रो बासस्थान लेक ब्लेड जानका लागि ट्रेन चढ्छौं।
मेरो छेउको सिटमा बसेका छन्, स्लोभेनियाका पूर्व संस्कृति मन्त्री तथा टर्जिन नगरपालिकाको १६ वर्ष अर्थात् चार कार्यकाल मेयर भएका ६ वटा उपन्यासका लेखक, पत्रकार तथा थिएटर डाइरेक्टर टोन पर्साक। उनी यस साहित्यिक यात्रामा हामीसँगै आएका छन्। यिनी मोडरेटर भएको कार्यक्रममा भोलि मलाई कविता वाचन र नेपालको साहित्य तथा संस्कृतिबारे केही जानकारी दिन निम्ता दिएका छन्।
यिनको सरलता र विनम्रताले पगालेको छ मलाई। दुई घण्टा लामो ट्रेन यात्रामा यिनीबाट पूर्व युगोस्लोभिया र त्यसबाट स्वतन्त्र भएको स्लोभेनियाको इतिहास, संस्कृति, कला र साहित्यको कुरा सुन्नु छ। मेरो मनमा जिज्ञाशाका अनेकन् चाङ छन्।
रातको आठ बजे हाम्रो गन्तव्य लेक ब्लेडका लागि दौडियो ट्रेन। मेरा जिज्ञाशा र टोन पर्साकको उत्तरले क्रमशः गति लिन थाल्यो। हाम्रो संवादको गति दौडिरहेको ट्रेनको गतिभन्दा कम छैन।
प्रकाशित: २७ वैशाख २०८२ ०८:५० शनिबार