२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

स्रष्टा सीता पाण्डेको ‘एकल कविता वाचन’

महिला साहित्यकार समूहले ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ को पूर्व पुरस्कार समितिकी संयोजक साहित्यकार सीता पाण्डेको एकल कविता वाचनकाे आयाेजना गरेकाे छ।

कवि पाण्डेले एक्काइस वर्षदेखि अमेरिका कर्मथलो बनाउँदै आएकी छन्। अनामनगर, काठमाडौंस्थित डालो रेस्टुरेन्टमा भएको कार्यक्रममा उनका एक दर्जन कविता वाचन गरिएकाे थियो।  कार्यक्रममा उनले आठ कविता वाचन गरेकी थिइन्।

कविहरू शैलेन्द्र साकार, डा. सिर्जना शर्मा, सुशीला शर्मा र यशोदा अधिकारीले पनि पाण्डेका कविताहरू वाचन गरेका थिए।

कार्यक्रममा वरिष्ठ समालोचक प्राडा गोविन्दराज भट्टराईले प्रमुख वक्ताको हैसियतमा कवि पाण्डेको साहित्यिक योगदानको चर्चा गर्दै काव्यिक विशेषताबारे बोलेका थिए।

प्राडा भट्टराईले कवि पाण्डेका कृतिहरू सरल तर गहन हुने गरेको बताउँदै विम्बहरूको प्रयोग भएका कथा, संस्मरण र कविताहरूमा यौन विषयवस्तु उल्लेख भए पनि ती उच्छृङ्खल नभई शालीन हुने गरेको बताए। उनले सीताको कृति अंग्रेजी भाषा भाषामा समेत अनुवाद भएको बताए।

यसैगरी साहित्यकार प्राडा कुमार कोइरालाले कवि पाण्डेको परिचय प्रस्तुत गरेका थिए। उनले पाण्डे सर्जक मात्र नभई साहित्यिक पत्रकार, पत्रकार र खेलकुद परिषद्का कर्मचारी समेत रहेको उल्लेख गरे।

प्राडा कोइरालाले पाण्डेका कृतिहरू ‘असजिला खुसीहरू’,  र ‘यौन र अनुभूति’  बारे संक्षिप्त टिप्पणी समेत गरेका थिए। विद्रोही एक महिला साहित्यकारको उपमा दिंदै उनले पाण्डेको ‘अन्तरद्वन्द्व’ कृतिको आफूले समालोचना समेत गरेको बताए।

महिला साहित्यकार समूहकी संयोजक कवि रीता खत्रीले सहजीकरण गरेकाे सो कार्यक्रममा साहित्यकार सीता पाण्डेले आफ्नो विगत सम्झिदै आफ्नो साहित्य सिर्जनाबारे बोलेका थिए।

कार्यक्रममा साहित्यकार सीता पाण्डेलाई दोसल्ला र माला लगाएर सम्मान गरिएको थियो।

प्रकाशित: २६ वैशाख २०८२ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App