१) मुक्तक
कहीं नदीनाला, थुम्काथुम्की र सम्म देख्छु
कहीं गगनचुम्बी हिमाल अचम्म! देख्छु
तिमी बसेको ठाउँमा भने कुन्नि किन हो
जहिले हेर्याे कालो बादल नै टम्म देख्छु।
२) मुक्तक
तकदिर कहिल्यै तोला र मासामा जोखिंदैन
अभिलषित वस्तुको प्राप्ति आशा हो रोकिंदैन
पदार्थ त जीवन निर्वाहको साधन हो मित्र,
परिश्रमको पोल्टो भने जन्मजन्म पोखिंदैन।
३) मुक्तक
आफ्नो आचरणले कसैको मन नकुँडियोस्
पहिलेको सम्बन्ध नटुक्रियोस, नखुँडियोस्
कथम् कतै चुँडियो भने जोड्दा गाँठो पर्छ साथी
मित्रवत् विश्वास नफुस्कियोस, नचुँडियोस्।
४) मुक्तक
आफूलाई पुगिन्जेल लाइन्छ, खाइन्छ
खेलिन्छ, नाचिन्छ, कहिले गीत गाइन्छ
नेत्रहीनलाई मात्र होइन हजुर,
आँखा देख्नेलाई पनि भरोसा चाहिन्छ।
५) मुक्तक
यो संसार बुझेर पापी मन फुँदैन
यहाँका कुनै मन्त्रणाले छुँदै चँदैन
आफू बुढो भएको धेरै वर्ष बित्यो
तर तृष्णा भने कहिल्यै बुढो हुँदैन।
६) मुक्तक
अनाचारी प्रवृत्तिको दूरदर्शी मित्र हुँदैन
कर्मठ राजनेताको दोधारे चरित्र हुँदैन
पारदर्शीता नै व्यवहार कौशल हो नेताजी,
जिम्मेवार राजनीति कालो पर्दाभित्र हुँदैन।
७) मुक्तक
यो नियमित प्रक्रिया हो तर अनन्त होइन
एउटा प्राकृतिक कारण हो वसन्त होइन
सिक्रो हुँदैमा बोट सुकेको नहुन सक्छ मित्र
वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन।
८) मुक्तक
यहाँ जनआवाज नयाँ चलन चले नि आउँछ
सहयात्रीलाई बिच बाटोमा छले नि आउँछ
नाम तथा बदनाम धुवाँ बराबर रहेछ मित्र,
धुवाँ त यज्ञ गरे नि आउँछ, टायर जलेन नि आउँछ।
९) मुक्तक
गतिशील छ, न रोकिन्छ, न पर्खिन्छ
न कुनै छुटेको वस्तु लिन फर्किन्छ
जति शक्तिशाली भए पनि समय
महत्त्व नबुझ्नेसँग भने तर्किन्छ।
१०) मुक्तक
कसैलाई चारैतिर सत्रै सत्र छ
कसैसँग जन्मजात अधिपत्र छ
छ, सबै कुरा छ, के छैन तर यहाँ
सामाजिक उपक्रम अलपत्र छ।
(स्रष्टा तीर्थराज अधिकारी ‘मुक्तकमणि’ को ‘यो कसको हात हो ’ मा सङ्गृहीत।)
प्रकाशित: २५ वैशाख २०८२ ०९:२८ बिहीबार