२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

एकै दिनमा चाैध घण्टा हिंडेर टेलिफाेन

नियात्रा

धादिङ बेसी र त्यसका आसपासका डाँडाकाँडाकाे उचाइ टेकेर अग्लाे ठाउँमा पुगिएछ भनिन्छ हाेला। धादिङ बेसीबाट ठाडाे घाँटी लगाएर पूर्वतिर हेर्दा देखिने जुरेथुम हाेला किंवा उत्तरतिर हेर्दा देखिने साङ्काेसकाे थली पनि हिंडेर पुग्ने चलन छैन। एकाध घण्टा हिंडिहाले पनि फ्याँफ्याँ गरिहाल्ने कर्कला जस्ता पुस्ताहरू पाे तयार भएका न् त अहिले त!

‘धादिङकाे यात्रा धादिङ बेसीकाे याे नगरपालिकाबाट पाइलाहरू उचाल्दै जाने हाे भने साधनमा पूरा एकदिन गुडेर पनि अरू ५/७ दिन चाैंरीगाेठ, भेडीगाेठ, निङ्गालाे घारी वा नदी किनारमा बास बस्नै पर्छ जहाँ टेलिफाेनकाे आस गर्नै परेन। न विद्युतका झिलिमिली बल्वहरू बल्छन् न टुकी वा पानसहरू देख्न पाइन्छ। सल्ला वा धुपीका आँख्लाहरू जलाएर रात भगाउनुपर्छ किञ्चित लगिएका खाद्यवस्तु निख्रियाे भने अर्काे समस्या। त्यसैले भन्न मन लागि पहाडहरू, हिमालहरू हेर्दा जति सुन्दर छन्, भाेग्न उति नै कहरपूर्ण भैरहेका छन्।

हामी बेंसीकाे फाँट कुल्चिंदै एकपछि अर्का चुचुराहरू नाघ्दै थियाैं। धेरै भञ्ज्याङ र चाैतारीमा थरक मार्दै घुम्ती र माेड छिचाेल्दै गणेश हिमालकाे फेदतिर तानिंदै थियाै।

ओर्लेर पनि त पुगिन्छ उचाइकाे गन्तव्यमा! उक्लनु मात्र यात्रा हाेइन है विष्णु सर। ओर्लन सिकेपछि मात्र यात्राकाे सुखानुभूति अनुभूत हुन सक्छ। मैले गाडीभित्र एक फाँकी आवाज फ्याँकें।

ओर्लने बेला याे दर्शन कहाँबाट फुर्याे? विष्णु सरकाे जवाफ थियाे याे। गाडीभित्रका केही साथी हाँस्नुभयाे। ओर्लने चाह नभएकाहरू बसिरहन सक्नुहुन्छ रातभरि भन्दै म पनि हाँसिदिएँ र अगाडि अगाडि पाइला चालें। झण्डै ४ डिग्रीबाट ओर्लंदै गरेकाे तापक्रममा स्युस्यु गर्दै साथीहरू पाेका पुन्तुरा गाडीबाट खसाल्न लाग्नुभयाे।

यतिबेला हामी रुवीभ्यालीकाे पुरु गाउँमा थियाैं र साँझ थपक्क धर्तीमा ओर्लिएर छपक्क अँध्याराेले जमिन छाेप्दै थियाे। म सानाे पुड्के झाेला मिलाउँदै ओर्लिएर लमकलमक गर्दै पहिलाे पाइलाे प्रकाश घलेकाे घरतिर उचाल्दै के थिएँ बाघ जत्राे कुकुर ढसमस्स तगारामै देखें। उसले ह्वाङ्ह्वाङ गर्दा त मेराे साताे डगमगायाे।

मलाई अगाडि नै जानु किन पनि थियाे भने संसार समयमा ओर्लनेहरूले नै जित्छन् भन्ने देखाउनु थियाे।

लाग्याे - जित्नु भनेकाे पहिलाे पुग्नु मात्र पनि त हाेइन। म पहिलाे हुन हच्किएँ।
कुकुरकाे डरले पहिलाे हुने चाहनामा तुषारात भयाे। डरपाेकहरूलाई कहाँ प्रथम हुने छुट छ र?

संसार जित्नु छ भने पहिला आफैंलाई जित्नुपर्छ। मनकाे डर त्याग्नुपर्छ। जितकाे पहिलाे तयारी नै आफूभित्रकाे त्रासमाथिकाे विजय हाे। यही शिक्षा अरूलाई कति पटक दिइयाे हाेला तर आफूलाई पर्दा कहाँ काम लाग्दाेरहेछ र? त्यसैले त भनिन्छ, मान्छेकाे ज्ञान आफूलाई पर्दा काम लाग्दैन। अर्कालाई उपदेश दिन मात्र। चुपचाप लुरुक्क लाग्नुकाे अर्काे उपाय पनि त थिएन।

एउटा प्रसङ्ग जसरी आयाे त्यसरी नै त्यही सकियाे। हाम्रा मन्त्रालयहरूमा माैसमी र मनसुनी मन्त्रीका भाइभारदारले निकालेका मनमाैजी  याेजना सिद्धान्त जस्तै।
सहरबजार र सुगममा मायाप्रेम र आतिथ्यका कुरा धेरै हुन्छन्, सत्कार र संस्कृतिका प्रसङ्ग धेरै उठ्छन्। सिध्दान्तका फलाकाे पनि कति हाे कति सुनिन्छन्। मात्रै सुन्नका लागि। जसले मायाका कुरा धेरै जान्दछ उसले नै घृणा पनि सिकिरहेकाे हुँदाेरहेछ, जसले सत्कारकाे पाठ धेरै सिकेकाे छ उसले तिरस्कार पनि सिक्दाेरहेछ। जहाँ अतिथि देवाे भव: का सप्रसङ्ग व्याख्याहरू हुन्छन् त्यहाँ अतिथि लुट संस्कृति पनि त माैलाउँदाेरहेछ। व्यवहारतः त्यसकाे प्रयाेग भने सिद्धान्त नसुनेका, नबुझेका र नजानेकाे घरदैलाेमा पुग्नुपर्दाे रहेछ।

हाे, हामीले त्यही त पायाैं पुरुकाे प्रकाश घलेजीकाे घरमा पुगेपछि। घर पुग्नुअघि नै रस्याैटाेमा हाम्रा लागि धुनी बालेर प्यारकाे न्यानाे घरभरि फिँजाइएकाे रहेछ। भर्खर भुटेकाे तात्ताताे लेकाली मकै र भटमास थालभरि बनाएर राखिएका थिए। हामी पुग्नासाथ लेकाली आलु भुङ्ग्रामा हालेर पाकेपछि आफैं झिकेर खान सुझाव पायाैं। कस्ताे आत्मीय? कति विचित्र सत्कार! जाडाेले सबै कठ्याङ्ग्रिएकाले मनग्ये ताताेपानी र इच्छाअनुसार चिया पिउन पनि थर्मस, किट्लीहरू तयार थिए।
 न उनीहरूलाई पराेपकार पुण्याय पापाय परपीडनम् थाहा छ। न अतिथि देवाे भव: र यसकाे दार्शनिक मूल्य ज्ञान छ।

उनीहरूलाई यति थाहा छ कि घरमा पाइला टेक्नेहरूकाे भाेक, प्यास शान्त गरिदिनुपर्छ, दुःखदर्द सम्हालिदिनुपर्छ। प्रेम, श्रध्दा र आत्मीयले छुर्लुप्प बनाइदिनुपर्छ। उनका दर्दहरू आफ्नै हुन्, तृष्णा, क्षुधा र अशक्ततामा हामी आफ्नै जस्तै दुख्नुपर्छ। वेदनामा सँगै रुने र खुशीमा सँगै हाँस्ने मन त्यहाँका नागरिकहरूमा छ। धन्न पैसाका लागि आफू, आफ्ना र आफन्तहरुमा छुरा चलाउने वर्तमानमा त्यहाँ पुगसकेकाे रहेनछ। त्यति पायाैं त्यहाँ। हाम्रा लागि त्याेभन्दा दिव्य व्यवहार अर्काे थिएन। अपेक्षा पनि थिएन।

साँझ ७:३० बजेकाे हुँदाे हाे हामी त्यहाँ पुग्दा। आगाेले मनग्गे सेकिएर कहिले पाेलेकाे आलु र कहिले भुटेकाे मकै मुर्क्याउनुकाे मजा त्यहाँ बेग्लै थियाे। सम्झदा पनि आनन्दले दिल रसाउँछ।

बेलुका २८ जनाका लागि एकै घरमा पूर्ण बन्दाेवस्तीका साथ सुत्ने प्रबन्ध भयाे। लगलग कँपाउने जाडाेमा सबैलाई बलिया सिरक डसना र कम्बलले सुस्वागत गर्नु सजिलाे थिएन उहाँले गर्नुभयाे। हामी कृतार्थ भयाैं।

बिहान उज्यालाेले पुरुकाे माटाेलाई स्पर्श गर्नासाथ यात्रादल बिउँझियाे। मानवीय नित्यकर्मसँगै चियाकाे चुस्की लिएर लिङ्जाेतर्फ उकालियाैं। हिंड्ने बेला प्रकाशजीले गाेजीमा भुटेकाे मकै र भटमासले भरिदिनुभएकाे थियाे। चपाउँदै उकालाे चढ्नुकाे आनन्द छुट्टै हुँदाे रहेछ।

समय र कुहिराेकाे बिछट्टकाे लुकामारी त्यहाँ देखिन्थ्याे। किन उषाकाे साैन्दर्य खाेस्न खाेज्छ हँ याे चुलबुले कुहिराे? छपक्कै ढाकेर यहाँका बाेटबिरुवा र कालिन सूर्यरश्मिसँग केकाे पाैंठेजाेरी खेल्न खाेज्दैछ याे हुस्सु?

मलाई एक प्रकारकाे झाेक चल्छ तर हुस्सुले बाेकेर ल्याएकाे मुटु कमाउने सिरेटाेबाट वचन लुगा माथि लुगा खाप्नु वा सिरकभित्रै आफूलाई दम्पच बनाउनुबाहेक अर्काे कुनै विकल्प थिएन। हामीलाई ती विकल्पकाे कुनै काम थिएनन्। तेस्राे विकल्प हाम्राे लागि तयार थियाे - उत्तिष्ठत जाग्रत।

हामी उठिसकेका थियाैं र जागिसकेका थियाैं। हाम्राे लागि जाडाे धपाउने एकै विकल्प थियाे - चरैवेति -चरैवेति।

हामी हिड्याैं। प्रकाशजीकाे परिवारकाे माया स्पन्दनकाे ढुकढुकीमा लुकाएर उकालाे बाटाे उक्लिरह्याे। तैपनि कुहिराे त्यहाँ किन अटेर बसिरहन चाहन्छ हँ? मलाई साेध्न मन थियाे तर कसलाई साेध्ने? कलिलाे प्रभातकाे आभालाई ९ बजेसम्म स्युस्युमा रूपान्तरण गरेर कुहिराेले ज्यादती गरेकाे थियाे त्याे दिन।

२३ कार्तिककाे बिहान उकालिनु नै थियाे। पुरुबाट ३ घण्टा करिब हिंडेपछि लिङ्जाे पुगिन्थ्याे र त्यहाँ पनि अर्का सज्जनले बिहानकाे खाना समर्पण गरेका थिए। संयाेगले उनकाे नाम पनि पुरुका प्रकाश घलेकाे सँग नामथर समेत मिल्ने - प्रकाश घले।  उनी रहेछन् जडिबुटीका पनि मर्मज्ञ र सामुदायिक वनका अध्यक्ष पनि। उनले पनि मांसाहार समेत मिलाएर आतिथ्य सत्कार गरे। आफूलाई त्यसकाे आदत नभए पनि हुनेहरूका लागि सम्झना भयाे। प्रकाशजीले पनि भाेजनका नि: शुल्क व्यवस्था गर्नुभयाे। उहाँ हामीसँगै गणेश हिमाल वेसक्याम्प तथा गणेशकुण्डसम्म जान पनि तयार हुनुभयाे। बाटाेमा अनेक जडीवुटी र बाेटवनस्पतिकाे जानकारी पाइने सुखद आनन्दले म फुलेल भएँ।

कुहिराेले जतिसुकै ढिट गरे पनि र अटेरी भए पनि सूर्यकाे प्रकाशसँग उसकाे केही लाग्दाे रहेनछ। ९ बजेतिर हामी लिङ्जाे अर्थात् तिप्लिङकाे मात्र नभएर धादिङकाे सुदूर उत्तरी वस्तीमा पुगेका थियाैं। ७०/८० घर रहेकाे लिङ्जाे रमाइलाे वस्ती रहेछ। वनकाे पुछारमा रहेकाे याे लेकाली गाउँकाे मूल पेशा भेडाबाख्रापालन, चाैरी पालन, जडिबुटी सङ्कलन, काठका फर्निचरहरू निर्माण रहेछ। २/४ वर्ष यता लिङ्जाेमा स्याउ, ओखर तथा हाडे बदामका बिरुवाहरू पनि हुर्किरहेका छन्। कस्ताे श्रमशील पाखुरी लिएर जन्मिएका बासिन्दाहरू कति विचित्र उर्वरशील माटाे।

फलेर, फलाएर नथाक्ने, उम्रिएर उमारेर नसकिने माटाे र परिश्रमी नागरिकहरूकाे बस्ती रहेछ लिङ्जाे। जहाँ बाह्रै महिना हरियाे भरिलाे र खाेतीपातीले ढाकेकाे जमिन मात्रै देख्न पाइन्छ। कतै अहिले जाै र गहुँका टुसाले भरिएकाे बारी छ। मकै र आलु उतारेर कतै भ्याइनभ्याइ लेकाली सिमी उठाउन बितिसकेकाे पनि आँखाले देख्न पाइन्छ। कतै काेदाे र त्यसकाे भित्री बालीसँगै जुनेलाेले ढाकेका कान्लाहरू पनि रङ्गमय लाग्छन्।

यस्ताे लाग्छ - लिङ्जाेकाे माटाेमा जादु छ, जहाँ जे चितायाे त्यही फल्न सक्छ। जुनेलाे, मकै,सिमी, काेदाे, आलु, जाै, लसुन, प्याज, जडिबुटीहरू निर्मसीहरू पनि खेती गरिएका रहेछन्। फापर भने कम उत्पादन हुने भएकाले छाेड्दै गएकाे देखियाे। कहीं कतै सानाे टुक्रा जग्गा पनि खाली छैनन्। उखान जस्ता `मान्छे हँसिला,ज्यान कसिला जग्गा रसिला।

हामीलाई लाेभ्याउनु लाेभ्यायाे लिङ्जाेकाे गाउँले। लिङ्जाे पनि अनाैठाे प्रकृतिकाे अर्थयुक्त रहेछ। प्रारम्भमा आउने पुर्खाहरू लिङ्जाेकाे तल्लाे गाउँमा बसेका रहेछन्। केही सेपिलाे र घाम ताप्न कतै ठाउँ नभएपछि अहिले विद्यालय भएकाे ठाउँमा ठूलाे ढुङ्गा रहेछ। अग्लाे र फराकिलाे। त्यही ढुङ्गामा लिस्नाे
(भ-याङ) हालेर चढ्ने घाम ताप्ने चलन रहेछ। (लिङ्+जाे) त्यसैबाट लिङ्जाे शब्दाेद्भव भएकाे रहेछ।

अहिले भने त्याे घाम ताप्ने ठूलाे ढुङ्गा विद्यालय बनाउन हाम्राे यात्रा र यात्रीहरूकाे चरैवेति चिन्तन देखेर हाे कि किन हाे पाविलकाे टुप्पाबाट सूर्यरश्मिकाे सुटुक्क आगमन भयाे। जाँड धाेकेका जँड्याहा लर्खराउँदै पुलिसलाई देखेपछि भागाभाग भए जस्तै पाविलकाे थाप्लाबाट उम्रिएका सुकुमार सूर्यप्रसाद देखेपछि भुईकुहिराका मुस्लाहरु अलप हुन थाले। उज्यालाेमा बल्ल ९ बजेपछि लिङ्जाेकाे सफेद स्निग्ध अनुहार जगमगाउन थाल्याे। हाम्राे यात्रादलमा केही साथी पुरुबाट र केही साथी लिङ्जाेबाट थपिएका थिए।

मर्कुस तामाङ, राजु तामाङहरू पुरुबाट नै थिए जाे हाम्रा पथप्रदर्शक पनि थिए। वीरबहादुर तामाङ, प्रकाश तामाङहरू लिङ्जाेबाट थपिए जसले हामीलाई यात्राभर साथ, आँट र विश्वासकाे भरथेग गर्नेछन्।

बेस्करी मस्किंदै थियाे घामकाे चहकमा लिङ्जाे। थाप्लाेमा हिउँकाे फेटा गुथेकाे पाविल, हाँखर्क र सेराेफेराेकाे हिमानी प्रतिबिम्ब। रगरगती हिंडिरहेका थिए वन लैजान बाटै छेकेर कुदिरहेका भेडा बाख्राका बकुद्र हुल। करिव ९ बजे हामी लिङ्जाे छाेडेर उचालियाैं। अब केही दिनका लागि मानववस्ती विहीन क्षेत्रतर्फ उचालिंदै थियाैं। गाेठहरू, चाैंरीहरू तथा भेडाबाख्राहरू र तिनलाई ख्याल गर्ने फाट्टफुट्ट गाेठालाहरू मात्र भेटिन्थे।

उचालिँदै जाँदा एउटा अनाैठाे गुफा भेटियाे। त्यस गुफालाई कामधेनु गुफा र कसैले कामधेन गुफा पनि भनेकाे सुनियाे। त्यस गुफामा गाईकाे एउटा पाइलाकाे आकृति पनि थियाे। कसैले याे महादेवकाे बसाहाकाे पाइला पनि भनें। त्यससँग जाेडिएका केही किस्सा पनि थिए।

हामीले पहिलाे पटक नुमसिग खर्क भेट्याैं। माेटाघाटा र सिधा बलिया ३०/४० चाैरीका बथान थिए। त्यहाँ भेटिएका सज्जनले केही छुर्पी काेसेली दिनुभयाे। चाैरीकाे स्वादिलाे दुधपान गराउनुभयाे र हाम्राे यात्राकाे सफलताका लागि कामना पनि गर्नुभयाे। बेलुका मध्यसाँझमा हामी सिन्दुरखर्कका रित्ता गाेठतिर पुग्याैं।

रिमरिम अध्याँराेमा पनि साथीहरू काेही पानी लिन कुवातिर, काेही दाउरा भाँच्न वन वनेलीतिर र काेही चुलाे तताउन लागे। आज अलिअलि  टेलिफाेन टावर माेवाइलमा देखिएकाले हामीले आउँदाे ७ दिनकाे अपडेट हेर्याैं। पानीकाे सम्भावना देखिएन। बदली हुने सम्भावना पनि थिएन। थाकेकाे शरीरभित्रकाे मन चङ्गा भइरह्याे। १० बजेतिर अआआफ्ना सुत्ने थैलाभित्र छिरेर धुर्न लाग्याैं।

भाेलि त हिमाल छेक्ने बादल हामीबाट हारेर पर हुनेछ। एकसिर्काे खुशी यसै पलाइदियाे। अनुहारबाट पाँजिएर फैलियाे। भुई कुहिराे पनि नआइदिए कति रमाइलाे हुँदाेहाे बिहानकाे हिमाल! मन कल्पँदै थियाे।

चिसाे सिरेटाे मुटुमा चस्स घाेच्ने गरेर बगिरह्याे। आकाशतिर बादलका घेरा डम्म लागिरह्याे र हिमाल छेकेर बस्न खाेजिरहेका जब्बर बादल उडाउने गरेर हावा नचलेपछि भाेलि हामीलाई रमाइलाेसँग गिज्जाइरहने हिमाल छेकिने छैन। भुईकुहिराेकाे तुँवालाेले पनि हामीलाई बाधा गर्ने छैन। खुला धर्ती पर्दारहित हिमाल देख्नेछाैं।

मात्रै चाैरी हामीबिच हुनेछैन किनकि चाैरीहरू हिउँ पर्न थालेपछि वनकाे तल्लाे भेगतर्फ झरिसकेका छन्। जसलाई हामीले छाेडेर आइसकेका छाैं।  उनीहरू बसाइँ सरेकाे गाेठमा आज हाम्राे बास परेकाे छ। त्यसैले अब हाम्राे साथी भुईकुहिराे र बादल मात्रै हुनेछन्। चाैरीहरू त बेसीतिर झरिसकेका छन्।

यात्राकाे चाैथाे दिन हामी ४६०० मिटरकाे हार्ची पास कटेर कालाेदहतिर झरिसकेका थियाैं हार्ची पासमा मस्त हिउँ खेल्न पाइयाे। हिउँका छरपष्ट रासहरू कुल्चँदै, चिप्लँदै हाम्राे यात्रा कालाे दह (रुद्र दह)काे छेउमै बास बस्न पायाैं। दिव्य र अलाैकिक साैन्दर्यकाे अप्रतीम नमुना कालाे दह (रुद्र दह)। गणेश हिमाल छातीमा राखेर मस्किरहेकाे दृष्य आँखैमा ठुङ मार्न आइपुग्थ्याे। हिमाल दहभित्र हाे कि डाँडापारि उभ्भिरहेकाे हाे छुट्याउन मुस्किल नै थियाे। राताम्मे फूलेका अनेक प्रकृतिका वनफूल र रङ्गीबिरङ्गी बाेटबिरुवा देख्दा बाटाभर गलैंचा बिच्छ्याएजस्ताे देखिन्थ्याे।

साँझ आआफ्नाे टेन्टभित्र पसेर  चिसाे छल्न सुत्ने थैलामा आफूलाई लुकायाैं। भाेलिपल्ट त्यहाँबाट तल झरेर नेत्रावती नदीकाे पाखै पाखा गणेश हिमालका छाया पछ्याउन थाल्याैं। अब हाम्राे यात्रा गणेश हिमाल बेसक्याम्पतिर थियाे। बेलुका असाध्य रमाइलाे निङ्गालाकाे प्राकृतिक काेठाभित्र टेन्ट टाँगेर रात्रि विश्राम गर्ने तयारी भयाे। घना वन र त्यसमा पनि निगालाकाे रमाइला झ्याँग प्रशस्त थिए। निगालाका घना वनभित्र कतै मृगका बगाल र कतै काठे भालु त कतै बँदेलहरू कुदिरहेका देखिन्थे।

हामीले यात्रामा आएका आफ्नै दलभित्रका सदस्यबाहेक अरू मान्छेकाे अनुहार नदेखेकाे पाँचाैं दिन भइसकेकाे थियाे। यात्रा गणेश हिमालकाे बेसक्याम्प लक्षित भएर उकालिँदै थियाैं।

दुःख र उल्झनहरू खबर गरेर आउने भए कस्ताे हुँदाे हाे? हजुरआमा भन्नुहुन्थ्याे "आपद्-विपद् बाजा बजाएर आउँदैन।"

हाे रहेछ। हलुवामा बालुवा मिसिएपछि खान मन लाग्दाे रहेनछ। प्रत्येक गाँसमा डर र सन्त्रास मिसिएर आउने रहेछ।

अनायास हाम्राे समूहकी एक सदस्य हठात् बिरामी परिन्। हिंड्न नसक्ने भइन् तर पनि उनकाे उमेद थियाे कि म गणेश हिमाल बेस क्याम्प पुगेरै फर्कन्छु। साहस त उनीमा थियाे तर शरीरले त्यसाे भन्दैनथ्याे। निरन्तर गल्नुकाे परिणाम शरीरभर देखिन्थ्याे। साथीहरूले उकालाेमा केही समय त बाेकेर पनि उक्लिए तर उनकाे समस्य झन् झन् खराब बन्न थालेपछि यात्रा राेक्नुकाे कुनै विकल्प रहेन। मानव वस्तीबाट छिटाे हिंड्दा पनि  हाम्राे शिविर ४ दिन टाढा थियाे। न टेलिफाेन लाग्थ्याे, न माेटर चल्थ्याे। न बाेक्ने मानिसहरू नै पाइन्थ्याे। सबै सदस्यमा एकप्रकारकाे उदासी र छट्पटी मात्र लाग्न थाल्याे।

हिजाेसम्म उल्लास जिज्ञासा र उमङ्ग टल्किरहने अनुहारमा निराशा, असफलता र उदासी मात्रै देखिन्थ्याे। कस्ताे विचित्रता? कस्ताे बिडम्वना? एकैछिनमा सारा खुसीहरू ओइलाए। त्यसैले हामी फर्कियाैं। फर्किंदा पनि समयमै अस्पताल पुर्याउनुपर्ने अवस्था थियाे। यसाे अनुहार हेर्दा सबै गलित र सबै नीला ओठमा ओइलाए जस्ता भए। पहिलाे कुरा लक्ष्य पूरा भएन। दाेस्राे कुरा अब के हुन्छ हाेला भन्ने अतेशले सबैलाई त्रस्त बनाएकै थियाे।

हाम्रा टिम लिडर वन अधिकृत विष्णुप्रसाद आचार्यले भन्नुभाे, "नवीन सर, तपाईं केही साथीलाई लिएर छिटाे फर्कनुस्। जहाँ टेलिफाेन लाग्छ त्यहाँ पुगेर हेलिकप्टर मगाउनुपर्ने भाे। म विरामी लगायत यहाँका सदस्यहरू लिएर बस्छु। तपाईले टेलिफाेन लाग्ने ठाउँसम्म पुगेर उद्दारकाे व्यवस्था गर्नुहाेस्। "

भाेलिपल्ट बिहानै ४ बजे बास बसेकाे ओढारबाट मिलन तिमल्सिना लगायत हामी छिटाे हिंड्ने भनिएका चार जना खाजासामल बाेकेर कहिले उक्लँदै र कहिले ओर्लदै आआफ्ना सुत्ने थैला बाेकेर फर्कियाैं। सबैका हातहातमा माेबाइल थिए र टावर कहाँ गएपछि टिप्छ र कसलाई कसरी सम्पर्क गर्न सकिन्छ भनेर तयारी अवस्थामा थिए। मैले स्वत: सम्पर्क हुने गरेर प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र गृह सचिव गाेकर्णमणि दुवाडीकाे फाेन तन्दुरुस्त थिए।

चाैध घण्टा हिंडेर हिन्दुङ् नजिकै एक डाँडामा पुगेपछि पिलिक्क टावर देखियाे। मुस्किलले दुवैलाई सम्पर्क गरेपछि आफ्नाे दायित्व पूरा भएकाे महसुस भयाे। त्यही दिन सेनाकाे हेलिकप्टर आए पनि बाक्लाे कुहिराे फैलिइसकेकाे भएर बस्न सकेन। भाेलिपल्ट बल्ल समयमै उडान भर्न सकेकाे थियाे। उद्दार भइसकेकाले सन्ताेकले हिन्दुङमा प्रेमिल आतिथ्यसहित ढुक्ककाे गणेश हिमालकाे पैतालामा चुम्मा गर्न गएका हामी छेउमै पुगेर फर्कनुपर्ने बाध्यता आइलाग्याे।

रात बितायाैं। बिहान उठेर हेर्दा दुवै गाेलीगाँठा पुरिने गरेर राेटीका पाप्रा जस्ता भएका थिए। उचाल्नै गाह्राे।

जीवनमा यात्रा धेरै गरिए। रमाइलाेमा प्रारम्भ गरेर नमिठाे अनुभूति दिनभर सँगाले पनि अन्त्यमा सन्ताेकले घर फर्किने मेसाे जुराउँदै थिएँ। 

प्रकाशित: १९ वैशाख २०८२ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App