खाडलमाडी गाउँको एउटा सानो तामाङ बस्तीमा थिए जुम्ल्याहा दिदीबहिनी मनमाया र म्हेन्दोमाया। ११ कक्षामा अध्ययनरत यी दिदीबहिनीका दिनहरू सरलताले भरिएका थिए। जुम्ल्याहा भएरै होला एउटै आत्मा दुई शरीरमा बाँडिएको जस्तो थियो। दुवैको अनुहार, शारीरिक बनोट, चालढाल र हाउभाउ यति मेल खान्थ्यो कि क्याम्पसमा मात्र होइन आफ्नै घरमा समेत बाबुआमा कहिलेकाहीं झुक्किन्थे। कक्षामा सँगै पढ्ने अमरको प्रेममा म्हेन्दोमाया अल्झिसकेकी थिई। हरेक रात निदरीले छोप्नुअघि उसले अमरसँग बिताएका मिठा क्षणहरू मनमायालाई सुनाउँथी। मनमाया पनि ती कथाहरूलाई उत्तिकै चाख लिएर सुन्थी। मानौँ ती क्षणहरू आफ्नै हुन्।
तर म्हेन्दोमायाको मनमा एउटा अव्यक्त त्रास थियो। उनी तामाङ थिई र अमर क्षेत्री। जातको जञ्जालले प्रेमलाई अँगाल्न नपाउने समाजले कठोर नियम बनाएको थियो।समाजको कठोर दृष्टि र परिवारको आशङ्काले उनीहरूले आफ्नो प्रेम रहस्यकाे पर्दामा राख्ने वाचा गरे तर प्रेम त सुवासित फूल जस्तै हो। यसको सुगन्धलाई कुनै पर्खालले कैद गर्न सक्दैन। उनीहरूको प्रेम पनि यति मौलायो कि अन्ततः घरकालाई थाहा भयो।
एक अर्काका लागि बनेका दुई हृदय जबर्जस्ती टाढा पारिए। म्हेन्दोमायालाई क्याम्पस जान रोक लगाइयो। तर प्रेमको बाटो बन्द गरिदिएको ठान्नेहरू कहाँ जान्दथे प्रेम त मनका भावनाहरूमा उभिएको अमर सेतु हो भन्ने कुरा। उनीहरू मनमायालाई सन्देशवाहक बनाएर चिठी आदानप्रदान गरिरहे। ती पत्रहरूमा अमरसँग बिताएका क्षणहरू, सपनाहरूको संसार अनि भविष्यको अधुरोपन पोखिएको हुन्थ्यो। बिस्तारै समयसँगै चिठीका अक्षरहरूमा टाढिन लागेको प्रेमको आभास हुन थाल्यो। अमर टाढिंदै गएको अनुभूति भयो म्हेन्दोमायालाई।
अन्ततः न प्रेमको विछोड सहन सक्ने साहस थियो न डरको भार सहेर बस्न सक्ने। म्हेन्दोमायाको मनले निर्णय गर्यो भागेर जाने। उनीहरूले योजना बुने फाल्गुन शुक्ल पञ्चमीको मध्यरात तल बर्द खोलाको किनारमा भेट्ने। तर नियतिको खेल अनौठो भयो। त्यो रात आउन एक हप्ता बाँकी हुँदा नै मनमाया अकस्मात् हराइन्। सात गाउँ खोज्दा पनि उनको कुनै पत्तो लागेन। मनमाया हराएको दिनदेखि म्हेन्दोमाया र अमरको सम्पर्क पनि टुट्यो। केही महिनामै म्हेन्दोमायाका बाबुआमाले उनलाई अर्को केटासँग विवाह गरिदिए। नियतिको अनौठो खेलले प्रेमको फूल फक्रिन नपाउँदै ओइलायो।
पाँच वर्ष बितिसकेछ म्हेन्दोमाया आफ्नो बुढासँग काठमाडौं आएको। एक दिन समयले फेरि एकपटक अनपेक्षित मोड लियो। इन्द्रचोकको भीडभाडमा महेन्दोमाया आफ्ना पाइला मिलाउँदै थिई। सहसा उनको नजर अतीतको कुनै बिर्सिएको पात्रसँग ठोक्कियो - अमर! एकक्षण हावाले समयलाई पन्छाइदिए जस्तो लाग्यो। विगतको तीव्र सुस्केरासँगै उनको ओठबाट अनायासै निस्कियो, ‘अमर!’
अमर आवाज सुनेर फर्क्यो। भेटको सुरुवातमै म्हेन्दोमायाले मनमा दबिएका सबै भावना पोखिदिई। मनमाया अचानक हराएको कुरा, अमरसँग सम्पर्क टुटेको पीडा, नियतिले जबर्जस्ती अर्को सम्बन्धमा बाँधिएको कथा। महेन्दोमायाको कुरा सुन्नासाथ अमर एकाएक शिथिल जस्तो भयो। मानाैं ऊ एकपलका लागि सास रोकिएझैं भयो। उनको मस्तिष्कले पाँच वर्षअघि फाल्गुन शुक्ल पञ्चमीको अँध्यारो रातमा भएको कुरा झल्झली सम्झ्यो।
‘तिमी, मनमाया होइनौ?’ अमरका ओठमा हल्का कम्पन आयो।
महेन्दोमायाले मुन्टो हल्लाउँदै भनिन्, ‘ल अझै झुक्किरहनुभएको छ है!’
सम्झनाहरूको आँधीभित्र अमर हरायो। नियतिको क्रूर खेल उसले बल्ल बुझ्यो। त्यो रातको भूल अनि ५ वर्षसम्म भ्रममा बाँचेको कथा। सबै अर्थहीन लाग्न थाल्यो।
प्रकाशित: ६ वैशाख २०८२ १२:२० शनिबार