२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

आमाको अनुहारमा सन्तान सपना

पुस्तक

पुस्तकप्रति मेरो अगाध पे्रम र सम्मान छ। सकेसम्म म पुस्तकहरू (मूलतः आफ्नो अध्ययन क्षेत्र जस्तैः द्वन्द्व, शान्ति, प्राकृतिक स्रोत विवाद, मानवीय सुरक्षा, सार्वजनिक नीति आदि तथा विशेष व्यक्तिका जीवनी वा बायोग्राफी र भूगोलसम्बन्धी) किन्ने, संकलन गर्ने र भ्याएसम्म पढ्ने गर्छु। यसै सन्दर्भमा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र ताराहरू’ पुस्तक प्राप्त भयो।

ईश्वर पोखरेलबारे मैले अलि बढी जानकारी चाहिँ २०४२ सालमा दोलखाको सदरमुकाम चरिकोटमा उहाँ पक्राउ परेपछि पाएको हुँ। त्यतिबेला म पक्लीहवा क्याम्पसबाट भरखरै कृषिमा प्रविणता तह पूरा गरी सघन पहाडी क्षेत्र विकास परियोजनाको चरिकोट कृषि शाखामा काम गर्न गएको थिएँ। म उहाँले लेखेको यो पुस्तक पढ्न आतुर थिएँ।

‘आमा, सपना र ताराहरू’ पुस्तकले १९७० सालदेखि २०५६ सालसम्मका विभिन्न सन्दर्भ प्रस्तुत गरेको छ। १९७० सालमा भोजपुरको गोगने गाउँ (हालको टेम्बे मैलुङ गाउपालिका)मा पण्डित जिमुवाल नरनाथ न्यौपानेका तीन श्रीमतीमध्येकी माहिली श्रीमतीको कोखबाट रामकुमारीको जन्म भएको रहेछ।

आजभन्दा झन्डै एक सय वर्ष पहिला सामन्ती पुरुषप्रधान समाजमा महिलाहरूले निकै कठिन जीवन भोगे होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ। विद्रोही नारी योगमाया न्यौपानेले किन त्यस्ता जटिल क्रियाकलाप गरेकी रहिछन् भनेर बुझ्न पनि उनीभन्दा पछिल्लो पुस्ताकी रामकुमारीको संघर्षपूर्ण जीवन छिचोलेर पढ्न आवश्यक रहेछ।

यो पुस्तकमा लेखकले रामकुमारीले भोगेका कठिनाइ, गरेका संघर्ष, देखाएको साहस, भविष्यप्रतिको आशा, परिवारप्रतिको दायित्व र उहाँको परिवारले भोगेको जर्जर आर्थिक अवस्थाको सरस चित्रण गर्नुभएको छ। पुस्तकमा आफूलाई जोडेर आमाहरूले आफ्ना छोराछोरीका लागि कतिसम्म दुःख गर्न सक्छन् भन्ने कुरा सरल र सहज भाषामा देखाउनुभएको छ। यो पुस्तक पढ्दा विभिन्न सन्दर्भले मेरा आँखामा आसु आयो, भावविह्वल भएँ।

पुस्तक जिम्मेवार छोराले आफ्नो भविष्य निर्माणका लागि अकल्पनीय त्याग गरेकी आमाबारे लेखेको संघर्षको गाथा मात्र होइन, त्यति बेलाको भोजपुर–ओखलढुंगा क्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक अवस्था, सामाजिक सम्बन्ध, रीतिरिवाज, चालचलन, भौतिक सुविधा र समग्र समाजलाई बुझ्न सहयोग गर्ने सशक्त दस्ताबेज पनि हो।

११ वर्षको कलिलो उमेरमा रामकुमारीको ओखलढुंगाको मांखा झगरेका १४ वर्षका शिवराज पोखरेलसँग विवाह भएको रहेछ। उहाँको सम्पन मध्यम वर्गीय परिवारकै केटासँग विवाह भएको भए पनि उहाँहरूको घरको आर्थिक अवस्था बिग्रँदै गएछ, जसलाई लेखकले ‘पीडादायी घरायसी अवस्था’ भन्ने शीर्षक अन्तर्गत त्यतिबेला भोगेको कठिनाइको विस्तृत चर्चा गर्नुभएको छ।

भनिएको छ, १२ वटा बालबच्चा जन्माई हुर्काउने बेलामा गरिबी, विपन्नता, अभाव र निराशा बढ्दै गएको र यही बेला श्रीमान्लाई उपचार खर्चकै अभावले २०१८ सालमै गुमाउनुपरेको पीडा पुस्तकमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ– ‘बाको गम्भीर अवस्था आमाका लागि असाध्यै ठुलो पीडा बनेको थियो। अहिले विचार गर्दा लाग्छ, बा दम, क्षयरोग र मधुमेह आदिले नराम्ररी पीडित हुनुभएको थियो। एक किसिमले हल न चलको स्थिति थियो बाको। गम्भीर अवस्था झेल्दै गरेका पतिलाई कति पटक त आमाले उपचारका लागि रुम्जाटार र ओखलढुङ्गासमेत आफैंले बोकेर पुर्‍याउनुभएको थियो। बिरामी बालाई बोक्न सजिलोका लागि उहाँले डोको काटेर मिलाउनुभएको कहिलेकाहीं देखेको छु।’

यो पुस्तकको भूमिका लेख्ने सिलसिलामा गणतन्त्र नेपालका पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी लेख्नुहुन्छ– ‘कमजोर आर्थिक अवस्थाका कारण आमाले बुबाको यथोचित उपचार गर्न नसक्नुभएको कहालीलाग्दो अवस्थाको वर्णन, पिताको निधनपछि ठुलो बज्रपात सहेरै चरम आर्थिक अभावबिच पनि विधवा आमाले अटुट मातृवात्सल्यसहित आफ्ना सन्तानको पालन पोषण गर्दै हुर्काउँदा, बढाउँदा र पढाउँदा बेहोर्नुपरेका भुक्तमान तथा आफू नाबालक छँदा र अलि बुझ्ने भइसकेपछि समेत गरेका संघर्षपूर्ण जीवनका अनगिन्त पीडा र व्यथा किताब पढ्दै जाँदा जोकोही पनि अनेकौं पटक भावविह्वल हुन्छ।’ यी उद्धरणले किताबको सार बोलेका छन्।

आमाले आफ्ना छोराहरूसँग गरेको कुराकानी पनि त्यस्तै मर्मस्पर्शी छ। एउटा प्रसङ्गमा कान्छा छोरासँग उहाँ भन्नुहुन्छ, ‘झ्यालखानामा परेपछि निस्कन नसकेको जस्तो भो बाबु।’ जेठा छोरालाई दायित्व बोध गराउन भन्नुहुन्छ, ‘ल बाबु, दाजु भने पनि, बाबु भने पनि तैं होस्। यो कान्छोलाई तैंले नै जिम्मा लिनुपर्छ। पढाउने, बढाउने काम तैंले नै गर्नुपर्छ। मैले यसलाई तेरो जिम्मा लगाएँ।’

कान्छा छोरालाई पढ्नका लागि जनकपुरमा जेठा छोराकहाँ पुर्‍याएपछिको प्रसङ्ग हो यो। त्यही बेला कान्छा छोरालाई दाजुकहाँ छाडेर गाउँ फर्कन लाग्दा छोरो आफ्नै पछि लागी फर्कन खोजेपछि उसले नभेटोस् भनेर छिटो छिटो हिँड्दै भन्नुहुन्छ, ‘फर्की बाबु, म आइहाल्छु नि, तेरै लागि हो।’

पछि कान्छा छोरासँगको भेटमा आफू त्यो बेला रुँदै घर पुगेको कुरा भन्नुभएछ। कान्छा छोराको पढाइका लागि पाँच दिन हिँडेर खोटाङबाट जनकपुर पुग्नेदेखि ठुलो छोरालाई दायित्व सम्झाउने काम सबै नै आफ्ना सन्तानप्रति जिम्मेवारीसहितको प्रतिबद्धता हो।

यो पुस्तक पढेपछि थाहा हुन्छ, लेखकको अहिलेको सफल जीवनको आदर्श, जग र मूल्यमान्यता आमा रामकुमारी नै हुनु हुँदोरहेछ। पितृसत्तात्मक समाजले सिर्जना गरेका संरचनागत अवरोधहरूसँग जुधेर, दीर्घरोगी पतिलाई डोकोमा बोकेर अर्को गाउँसम्म पुर्‍याउने, आफ्नै अगाडि आफन्त गुमाएको पीडा भोग्ने, पाँच दिन हिँडी पहाडबाट सानो छोरालाई मधेस पुर्‍याउने, रुम्जाटारका मानिसले उहाँलाई माया गरेर अन्न–पैसा उठाएर सहयोग गरेको घटना पुस्तकमा छन्।

त्यस्तै रामुकमारी सानै छँदा आमाको मृत्यु र सौतेनी आमाको छुद्र व्यवहार, ११ वर्षकै कलिलो उमेरमा विवाह र नयाँ घरको बुहार्तन, लगातार जन्मिएका १२ सन्तान र तिनीहरूको लालनपालन, दीर्घरोगी पतिको उपचारमा अर्थ अभावबारे पढ्दा पाठक भावविह्वल हुन्छन्।

पाठक हाँस्ने प्रसङ्ग पनि थुप्रै छन्। कान्छो छोरा भेट्न भद्रपुरबाट जहाजमा एक्लै काठमाडौं आई आफूलाई लिन छोरो समयमा नआएपछि साध्दै खोज्दै बाहिरिने गेटमा आइपुगेको प्रसङ्ग रमाइलो छ। त्यही छोरो गाडी चलाएर लिन आएपछि ‘तँ त गाडी चलाउने भैछस्, कहिले किनिस्? गाडी आफ्नै हो कि कसको कान्छा ?’ भनेर उहाँले सोधेको सन्दर्भ निकै रमाइलो लाग्छ।

जनकपुरको धुले स्कुल, जानकी स्कुल, सरस्वती हाई स्कुल, ओखलढुंगाको मांखा स्कुल तथा जनकपुरको आरआर क्याम्पसको भोगाइ, भारतले वाणिज्य सन्धिमा किचलो झिकी हेपाहा प्रवृत्ति देखाउँदा गरेको विरोधका कारण बाल्यकालमै तीन दिन गिरफ्तारी, यदुकुवा हाई स्कुलका विद्यार्थी कामेश्वर र कुशेश्वरको हत्याको विरोध गर्दा गिरफ्तारीजस्ता विद्रोही गतिविधिबाट लेखकको अन्यायविरोधी चेत बालककालबाटै तीक्ष्ण रहेको देखिन्छ।

समग्रमा यो पुस्तकबाट लामो कालखण्डको राजनीति, समाज, लैंगिक सम्बन्ध, गरिबी र यसले समाजमा सिर्जना गर्ने असहायपन, युवा–विद्यार्थीका संघर्ष, शिक्षाको अवस्थाजस्ता दर्जनौं सवालमा यथेष्ट जानकारी दिन्छ। पुस्तकमा केही ठाउँमा अस्पष्टता देखिन्छन्।

 उदाहरणका लागि उच्च सामाजिक हैसियत भएका मांखाका मौजावाल पोखरेलहरू शासन सत्तासँग सम्बन्ध–सम्पर्क टुटेपछि उनीहरूको सान सीमित हुन पुगेको भन्नेसम्म उल्लेख भए पनि मेघनाथका छोरा शिवराज आर्थिक रूपमा त्यति कमजोर कसरी हुन पुग्यो भन्ने प्रष्ट छैन। यसले पाठकको मनमा अपूर्णता महसुस हुन्छ।

त्यसैगरी दिदीहरूको नामबिच तालमेल नभएका कारण पाठक अलमलिने अवस्था आउँछ। पुस्तकको शीर्षकमै पनि किन तीन शब्द राखिएको होला जस्तो महसुस हुन्छ। ‘आमा’ मात्र भन्दा पनि ठिकै नै हुन्थ्यो भन्ने पाठकको मनमा लाग्छ।

लेखकले एकातर्फ हाम्रो कोही सहारा भएन भन्ने कुरा उल्लेख गर्नुभएको छ भने अर्कातर्फ रुम्जाटारका मानिसले थुप्रै खाद्यान्न उठाएर पठाएको र एकजना आमैले त पैसा नै दिएको उल्लेख छ। आशा छ, अर्को संस्करणमा यी सवालहरूको उचित सम्बोधन हुने छ। 

प्रकाशित: ६ वैशाख २०८२ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App