संवत्सरको व्यापक वैज्ञानिक अध्ययनका माध्यमबाट नै संहिता ज्योतिषको मूल आधार बुझिन्छ। वैदिक साहित्यमा संवत्सरलाई सूर्य र सूर्यलाई सम्पूर्ण जीव जगत् वा सृष्टिको मूल तत्त्व मानिएको छ। यसैले संवत्सरमा नै संहिता शाखाको आत्मा बसेको छ। पृथ्वीले सूर्यलाई गर्ने एक सम्पूर्ण परिक्रमाको समय नै वर्ष हो।
संवत्सर वर्षभित्र घटित हुने विभिन्न सङ्क्रान्ति र केही खास विन्दुका आधारमा वर्षभरि शासन चलाउनका लागि दश अधिकारीहरू निश्चय गरिन्छ। हरेक मनुष्यलाई प्रायः यो वर्ष कस्तो रहन्छ? कृषकलाई पानी कति पर्छ? सुकाल हुन्छ वा दुःकाल ? अन्न सस्तो हुन्छ कि महँगो? इत्यादि जान्ने धेरै उत्कण्ठा रहन्छ।
यी कुराहरूको भावी शुभाशुभ जान्न प्राचीन आचार्यहरूले ज्योतिष– फलादेशका अनेकौं ग्रन्थहरूको निर्माण गरेका छन्। त्यसमध्ये बृहत् संहितालगायत अनेक प्राचीन संहिता ग्रन्थहरूका संस्कृत श्लोकहरूको साररूप सङ्ग्रह गरेर भर्खरै सुरु भएको नयाँ वर्ष २०८२ मा विभिन्न प्रकारका ग्रह नक्षत्रहरूसँग सम्बन्धित प्रभावको कारण पृथ्वीमा सामाजिक दृष्टिकोणले के कस्तो प्रभाव पर्नसक्ला भनेर सङ्क्षिप्तमा वर्षफल प्रस्तुत गर्दैछु।
६० वर्षमा पूरा हुने पाँच–पाँच वर्षका बाह्र युगमध्ये दुई वर्षअघिबाट सुरु भएको देवताहरूका चिकित्सक वैद्य भनेर चिनिने अश्विनीकुमारद्वारा शासित यस एघारौं युगको सिद्धार्थी संवत्सर यो युगको तेस्रो संवत्सर हो र यस युगका पाँचै सम्वत्सरमा यस सिद्धार्थीलाई सबैभन्दा शुभ भनिएको छ। १२ युगहरूमा पहिलो चार युग (विष्णु, गुरु, इन्द्र, अग्नि) उत्तम मानिन्छन्। बिचका चार (त्वष्टा, अहिर्बुध्न्य पितर, विश्वेदेव) मध्यम तथा पछिका चार (सोम, इन्द्राग्नि, अश्विनीकुमार र भग) अधम मानिन्छन्।
शुभ फलको तात्पर्य राम्रो फसल, भयमुक्त वा युद्धमुक्त वातावरण बुझ्नुपर्छ। अहिले चलिरहेको अश्विनीकुमारको एघारौं युगमा पिंगल, कालयुक्त, सिद्धार्थी वा सिद्धार्थ, रौद्र र दुर्मति यी पाँच संवत्सर हुन्। गएको वर्षको कालयुक्त नामक वत्सर अनेक दोषहरूले युक्त रहेको मानिन्थ्यो भने यस वर्ष परेको सिद्धार्थीमा गुण, लोककल्याण र समृद्धि हुन्छ भनिएको छ। ‘यत्कालयुक्तं तदनेकदोषं सिद्धार्थसंज्ञे बहवो गुणाश्च।’
वक्ष्यमाण फल न्यूनाधिक मात्रामा युगको पाँच संवत्सरमा लागु हुन्छ। सिद्धार्थ संवत्सर फल सिद्धार्थ वत्सरमा राम्रो वर्षा, राम्रो उब्जाउ, शासनको स्थिरता बनिरहन्छ।
संवत्सरका दश अधिकारी
संवत्सरको भित्र घटित हुनेवाला विभिन्न सङ्क्रान्ति र केही खास विन्दुका आधारमा वर्षभरि शासन चलाउनका लागि दश अधिकारीहरूको निश्चय गरिएको छ।
शास्त्रसम्मत मानिने दृग्गणका पञ्चाङ्गहरूमा उल्लेख भएअनुसार चैतशुक्ल प्रतिपदाको दिन भएको आकाशीय ग्रह परिषद्को चुनावमा राजा सूर्य, मन्त्री सूर्य, सस्येश (कृषि उपज) बुध, मेघेश (वर्षा कारक) सूर्य, धान्येश (खाद्य र आपूर्ति मन्त्री) चन्द्रमा, रसेश (रसबाट बन्ने सबै पदार्थ) शुक्र, निरसेश (सबै खनिज, धातु, पेट्रोल आदि) बुध, फलेश (फल, तरकारी, फूल, उद्यान, उपवन) को शनि, धनेश (अर्थमन्त्री) मंगल र दुर्गेश (रक्षामन्त्री) मा शनि निर्वाचित भएका बुझिन्छन्। यी दश अधिकारी आकाशीय मन्त्रीपरिषद्को उच्च अधिकारप्राप्त मन्त्री बुझ्न सकिन्छ र यिनको कार्यकाल एक वर्षसम्म हुन्छ।
अधिकारीहरूको फल
अथराज सूर्य भएको फल– सूर्य राजा हुँदाको वर्षमा कृषि उपज तथा अन्य उत्पादन कम हुन्छ। समयानुसार वर्षा नहुनाले राम्रो उब्जाउलाई हानी हुन्छ। तस्कर, चोर, पाखण्डी, अपराध र लुटेराहरूको प्रभाव बढ्छ। रोगको प्रसार, अग्नि काण्ड, अस्त्रशस्त्रको खुला प्रयोग, शासक र शासक दलमा मतभेद हुन्छ। जंगलमा आगो लाग्ने सम्भावना, शिशिरमा पनि कम जाडो, वर्षमा गर्मी पनि धेरै हुन्छ। जंगली जनावर वा घिस्रिने खालका किरा बस्तीमा प्रवेश हुन्छन्।
सदाचारी मान्छेलाई कष्ट, पशुहरूको हानी आदि फल हुन्छ। यवनेश्वरले सूर्य वर्षेश हुँदा नेत्र रोग, कुनै संक्रामक रोग, अग्निसम्बन्धी उत्पात र विष वा रसायन भएको कुरा अतिरिक्त भनेका छन्। समास संहितामा स्वयं आचार्य वराहले यस वर्षमा चोरी डकैती, राहजनी, ठगी आदिको वृद्धि हुनसक्ने पनि मानेका छन्।
मन्त्री सूर्यको फल– निरयण मेष (वैशाख) सङ्क्रान्तिको समयको ज्योतिषीय बारेश मन्त्री हुन्छ। अथमन्त्रिफलम्– यस वर्ष सूर्य मन्त्री भएको मानिन्छ, जसको प्रभाव राजपक्ष र तस्करहरूबाट जनतामा भय, अपराधीहरूको गतिविधिमा वृद्धि, धनधान्यको धेरै आयात, रस पदार्थ अर्थात् सक्खर, चिनीको बजारमा तेजी आउँछ।
मेघेश सूर्यको फल– यसपछि वर्षमा जब सूर्य मिथुन राशिमा गोचर गर्दै जुन समय आद्र्रा नक्षत्रमा प्रवेश गर्छ, त्यस समयको बाराधिप मेघेश मानिन्छ। वर्षमा हुनेवाला मनसुनी वर्षाको स्थिति, व्यापकता र प्रभावको आँकलन गर्नमा यो अधिकारी महत्त्वपूर्ण भूमिका राख्ने हुन्छ। साथै यस समयको लग्नकुण्डली बनाएर पनि वर्षाको विचार गरिन्छ। यस आद्र्रा प्रवेश लग्नको विचार अगाडि यथावसर गरिन्छ। सूर्य मेघेश छ भने कम वर्षा हुन्छ। यसैले अन्नको उत्पत्ति पनि कम रहन्छ। जनतामा खलबली, भय, ढोंगी र पाखण्डीपन बढ्छ।
सस्येश बुधको फल– निरयण कर्कट सङ्क्रान्तिको समयको बारेश सस्येश पदमा अधिष्ठित हुन्छ। संस्कृत शब्द ‘सस्य’को अर्थ कृषि उपज वा पैदावार छ तर वृक्ष, लता, गुल्म, घाँस, चारा तथा आधुनिक परिप्रेक्ष्यमा सबै प्रकारको उत्पादन पनि यसको अधिकारको क्षेत्रमा आउँछ। संहिता ग्रन्थमा यसलाई प्रथम सस्येश पनि भनिन्छ। बुध सस्येश हुँदा धेरै वर्षा, सुख र समृद्धिको माहोल, शान्तिपूर्ण सामाजिक स्थिति रहन्छ। बुद्धिजीवीहरूद्वारा शासकदलको प्रशंसा हुन्छ।
दुर्गेश शनिको फल– पूर्ववत् सिंह सङ्क्रान्तिको समयको बारेश नै दुर्गेश वा रक्षा मन्त्री हुन्छ। देशको आन्तरिक र बाह्य सुरक्षाको उत्तरदायित्व यसै ग्रहले हेर्छ। शनि दुर्गेश हुँदा सर्वत्र हडकम्प मच्याउँछ। मान्छेमा आपसी वैरभाव बढ्छ। उब्जाउको स्थिति पनि राम्रो हुँदैन।
धनेश मंगलको फल– कन्या सङ्क्रान्तिको समय वर्तमान बारको स्वामी धनेश वा वित्तमन्त्री बन्छ। अर्थसम्पदा, राजकोष, सरकारी आम्दानीको स्रोत र खर्चको तालमेल पनि यसैको अधीनमा हुन्छ। मंगल धनेश हुँदा माघमा न्यानो घाम लाग्नाले र तब वर्षा नहुनाले गहुँ आदि भुसबाट उत्पन्न हुने अन्नको कमी हुन्छ। सारा देशमा अस्थिरताको अवस्था रहन्छ र शासन पनि जनविरोधी तरिकाको हुन्छ।
रसेश शुक्रको फल– तुलार्कप्रवेशका क्षणको बारेश रसेश हुन्छ। रसबाट बन्नेवाला सबै पदार्थ जस्तै सक्खर, चिनी, मदिरा, आसव, औषधी, पेयजल आदिको अधिश यही ग्रह हुन्छ। शुक्र रसेश भएको वर्ष राम्रो वर्षाको कारण मान्छेमा सन्तोष, सुख, सुभिक्ष रहन्छ र शासन राम्रो तरिकाले चल्छ।
धान्येश चन्द्रमाको फल– धनु संक्रमको समयको बारेश नै धान्येश हो। वर्षमा यो खाद्य र आपूर्ति मन्त्रीको हैसियत राख्छ। पूर्वोक्त सस्येश जहाँ सर्वविध उत्पादनलाई नियन्त्रित गर्छ, त्यहीं त्यो ग्रह खाद्यान्नको स्थिति, यसको उपलब्धता र बजार भाउ आदिको पनि अधिपति हो। चन्द्रमा धान्येश हुँदा श्रेष्ठ वर्षा, धरणीमा जलको राम्रो स्थिति, उब्जाउको राम्रो उत्पत्ति तथा मान्छेमा उत्साह रहन्छ।
नीरसेश बुधको फल– यथापूर्व मकरार्कप्रवेशको समयको वाराधिप नीरसेश हुन्छ। सबै खनिज, धातु, अयस्क, पेट्रोल आदिमा यसको आधिपत्य हुन्छ। जुन वर्ष बुध नीरसेश हुन्छ, त्यो वर्ष रंगीन र फेसनको कपडा, शंख, चन्दन, सुन आदि पदार्थ महँगो हुन्छ।
फलेश शनिको फल– मीन सङ्क्रान्तिको समयको बारेश नै फलेश हुन्छ। फल, तरकारी, फूल, उद्यान, उपवन आदिमा यसको अधिकार हुन्छ। शनि फलेश हुँदा मान्छेमा आपसी कलह, जंगली बोटबिरुवा र फूलको अधिकता, दुष्टहरूबाट सामान्य जनलाई भय, सहरहरूमा जनसङ्ख्याको भारी दबाब रहन्छ। राजा र मन्त्रीको फलको अनुभूति सम्पूर्ण वर्षभरि हुन्छ। यी दुई वर्षको मुख्य अधिपति हुन्छन्। यसका साथ अन्य अधिकारीहरूको सम्बन्ध पनि धेरै महत्त्वपूर्ण हुन्छ।
सूर्य राजा हुँदा वर्षको समय वाहन घोडा मानिन्छ– वर्षको घोडा समय वाहन हुँदा राजनैतिक मतभेद, सत्ता परिवर्तन, कम वर्षा, भूकम्प आदि प्राकृतिक प्रकोपहरूको भय तथा बजारहरूमा महँगी बढ्न सक्ने मानिन्छ।
संवत्सरको मर्मस्थान स्तम्भ र आर्षमानको विचार गर्दा अन्तिमका तीन महिनाहरूमा राजनीतिक संघर्ष, उपद्रव, दुर्घटनालगायत अशान्तिको सम्भावना देखिन्छ। अरू पनि धेरै प्रकारका प्रभावहरू जस्तै यस वर्ष नेपालबाट देखिने भदौ खग्रास र फागुनको ग्रस्तोदित गरी दुई चन्द्र ग्रहण, विभिन्न समयमा हुने ग्रहहरूको उदयास्त, कछुवा चक्र, सूर्यको आद्र्रा प्रवेश, रोहिणी वास, जगल्लग्न, संवत्सर प्रवेश लग्नको विस्तृत फल, वृहस्पतिको महावर्ष फल, सबै महिनाहरूको सङ्क्रान्ति फल र विशेषगरी शनि, वृहस्पति, मङ्गललगायत ग्रहहरूको विभिन्न प्रकारको संयोग तथा दृष्टिहरूको पनि विशेष अध्ययन गर्नुपर्ने हुन्छ।
प्रकाशित: ६ वैशाख २०८२ ०५:३२ शनिबार





