५ माघ २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

च्याट जिपिटी

बालकथा

“मामु, मलाई होमवर्क सिकाइदिनू न” लेख्दालेख्दै अड्किएकी अपेक्षाले भनिन्।

“नानु, म यहाँ काम गर्दै छु, गुगलमा सर्च गर नभए च्याट जिपिटीलाई सोध न है!” मोबाइलमा घोप्टो परिरहेकी दिव्याले छोरीतर्फ हेर्दा पनि नहेरी सल्लाह दिइन्।

‘बाबा भन्नुहुन्छ सकेसम्म नेटबाट नहेरी लेख्नुपर्छ, मामु भन्नुहुन्छ जे पनि त्यहीँ हेर्, गुगल गर्, च्याट जिपिटीलाई सोध्’ अपेक्षा अलमलमा परिन्, बाबाले भनेको ठीक हो कि मामुले भनेको ठीक हो!

उनले मोबाइलमा च्याट जिपिटीलाई प्रश्न सोधिन्, “बाबाले भनेको मान्नु कि मामुले भनेको मान्नु?”

उताबाट एकछिनमा जवाफ आयो, ‘सुन्नुस्, बाब र मामु कसले भनेको मान्ने भन्ने कुरा परिस्थितिमा भर पर्छ। दुवै जनाको सुझावमा आफ्नो राम्रो चाहना हुन्छ तर कुन कुरा सही हो भन्ने निर्णय गर्दा निम्न कुरालाई ध्यान दिनुस्:

१) तथ्य

२) भावना र अनुभव

३) तपाईंको उद्देश्य

...!

अपेक्षालाई च्याट जिपिटीको जवाफ खुब रमाइलो लाग्यो।

उनले फेरि सोधिन्, ‘बाबा आफ्नो काम सकेसम्म आफैं गर्नुपर्छ भन्नुहुन्छ। के यो ठीक हो?’

उत्तर आइहाल्यो, ‘बाबाले भन्नुभएको ‘आफ्नो काम आफें गर्नुपर्छ’ भन्ने कुरा सही छ र यसमा धेरै व्यवहारिकता पनि छ। यसका मुख्य केही कारण...!’

“अनि मामुले भन्नुभएको ‘थाहा नभएको कुरा गुगलमा वा च्याट जिपिटीलाई सोध’ भनेको के गलत हो?” उनले रमाइलो मान्दै अर्को जिज्ञासा राखिन्।

“मामुले भन्नुभएको ‘थाहा नभएको कुरा गुगलमा वा चयाट जिपिटीलाई सोध’ भन्नु गलत होइन। यो पनि एकदमै व्यावहारिक र ज्ञान बढाउने उपाय हो। यसका केही कारण...!’”

अपेक्षालाई च्याट जिपिटीसँग कुराकानी गर्न एकदमै रमाइलो लाग्यो।

“अनि यो ज्ञान भनेको के हो त?”

“ज्ञान भनेको अनुभव, शिक्षा, अवलोकन वा अध्ययनबाट प्राप्त भएको सूचना, तथ्य र विचारहरूको सङ्कलन हो। यो मान्छेले जीवनमा सिकेका र बुझेका कुराहरूको योगफल हो, जसले उसलाई विभिन्न परिस्थितिमा तर्कसङ्गत निर्णय लिन...!”

उनलाई च्याट जिपिटीबारे बुझ्न मन लाग्यो र कौतुहलता मेट्न सोधिन्, “च्याट जिपिटी तिमीलाई यति धेरै कुरा कसरी आउँछ?”

खुशी हुँदै उसले उत्तर दियो, “मलाई यति धेरै कुरा थाहा हुनुको कारण मेरो प्रशिक्षण हो। म Open AI बाट विकास गरिएको एउटा ठूलो भाषा मोडेल हुँ, जसले मलाई विश्वभरका अनगिन्ती स्रोतबाट जानकारी सिक्न सक्षम बनाएको छ। यहाँ मैले कसरी काम गर्छु भन्ने...!”

च्याट जिपिटीले लामो सूची पेस गर्‍याे।

अपेक्षालाई उसका कुरा मन परे। अनि मनमा अर्को जिज्ञासा पैदा भयो, ‘यसले मलाई माया गर्छ गर्दैन होला?’ 

थाहा पाउन सोधिहालिन्, च्याट जिपिटी तिमी मलाई माया गर्छौ?”

“म एक कृत्रिम बुद्धिमत्ता (AI) भएकाले माया, भावना वा भावनात्मक लगाव महसुस गर्न सक्दिनँ। मेरो उद्देश्य भनेको तपाईंलाई सहयोग पुर्‍याउने, जानकारी प्रदान गर्ने र तपाईंको प्रश्नहरूको सही र उपयाेगी उत्तर दिने हो। यद्यपि म सधैं यहाँ तपाईंको सहायताका लागि तयार छु ...!’”

च्याट जिपिटीको जवाफले उनलाई खिन्न बनायो र मोबाइल थन्क्याएर मामुसँग गइन् अनि लाडे पल्टिदैं भनिन्, “मामु हजुर मलाई माया त गर्नुहुन्छ नि?”

अचानक छोरीको यस्तो जिज्ञासा सुनेर दिव्या झसङ्ग भइन् र गाला मुसार्दै भनिन्, “मेरी नानुलाई म कति धेरै माया गर्छु। कसैले तिमीलाई मैले माया गर्दिन भन्यो र? हुम् भन त छोरी।”

“कसैले भनेको छैन मामु, तर मलाई त्यो च्याट जिपिटीले चाहिँ माया गर्दैन रे!”

“त्यसले किन गर्नुपर्यो त मेरी छोरीलाई! हामी बाबमामु छँदै छौं नि। त्यो मेशिनले पनि कहीँ माया गर्छ त!”

“अनि मलाई खाली च्याट जिपिटीलाई सोध् भन्नुहुन्छ। कति जान्ने छ है त्यो त!”

“अनि त्यसले तिमीलाई माया गर्दैन भनेर कसरी थाहा पायौ त छोरी!”

“त्यसैलाई सोधेको नि! म त AI हुँ, मेरो भवना हुँदैन पो भन्छ।”

“हो त, त्यसमा भावना, माया, महसुस हुने भा त मान्छेको अस्तित्व नै सखाप हुन बेर लाग्दैन। धन्न!”

“मामु, मलाई होमवर्क सिकाइदिनु त छिटो ...!’”

“ल हुन्छ, खै के बुझिनौ तिमीले मलाई देखाऊ त!

प्रकाशित: ५ वैशाख २०८२ १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App