२६ असार २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

परराष्ट्र नीतिमाथि विहङ्गम दृष्टि

पुस्तक

बजारमा केही समयअगाडि पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ आत्मकथा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक समारोहबीच विमोचन भयो। पुस्तक कसरी प्राप्त गर्ने होला भनेर तत्काल बजारमा उपलब्ध छ कि छैन होला भनी सञ्जालमार्फत सोधेँ तर जवाफ आएन। पछि थुप्रै डटकममा उपलब्ध भएको थाहा पाएँ र एक प्रति अर्डर गरिहालेँ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा लामो समय प्रथम महिलाको भूमिका निर्वाह गर्नुभएकाले नेपालको राज्य सञ्चालन प्रणालीलाई नजिकबाट नियाल्नुभएको र कतिपय अवस्थामा प्रत्यक्ष संलग्न समेत हुनुभएको मात्र नभएर नेपालको इतिहासमा दोस्रो महिला परराष्ट्रमन्त्रीको भूमिकासमेत निर्वाह गरिसक्नुभएकाले मेरो रुचिको विषय र नेपालको परराष्ट्र मामिलामा संलग्न पात्रद्वारा लिखित भएकाले पुस्तकमा पक्कै पनि नेपालको परराष्ट्र सम्बन्ध तथा विदेश नीतिबारे उल्लेख गर्नुहुने नै छ भन्ने निश्चयका साथ पुस्तक किनेको थिएँ।

समग्र पुस्तकलाई दश वटा खण्डमा विभाजन गरिएको रहेछ। मलाई विशेष चाख लागेको र पुस्तकमा अपेक्षा गरेको विषयलाई उहाँले खण्ड पाँचमा नेपालको परराष्ट्र नीतिअन्तर्गत राख्नुभएको रहेछ। पुस्तक पल्टाउँदै गर्दा र नेपालमा २००७ सालको परिर्वतन र त्यसपछिका हरेक प्रजातान्त्रिक परिर्वतनमा कोइराला परिवारको योगदान र विरासत बोकेको परिवार भएकाले पनि आद्योपान्त पढेँ।

पुस्तकमा कोइराला परिवारको पुस्ता हालको सिन्धुलीको दुम्जाबाट बसाइ सरेर विराटनगर गएको र विशेषतः कृष्णप्रसाद कोइरालामा रहेको राजनीतिक, शैक्षिक तथा सामाजिक चेतनाले सो समयमा पनि कोइराला परिवार आर्दश परिवारका रूपमा रहेको एवं नारी शिक्षा तथा महिलाको भूमिकालाई समेत यथोचित स्थान र महत्त्व दिएको देखिन्छ।

राजनीतिक आन्दोलनमा कोइराला परिवारभित्रका महिला नेतृहरूको अहम् भूमिका रहेको कुरा पुस्तकमा पाइन्छ। पुस्तक नेपालको दोस्रो जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र लेखक स्वयंबारे मात्र सीमित नभएर पूरै परिवारको सङ्घर्ष, मुलुकमा प्रजातन्त्र ल्याउन निर्वाह गरेको भूमिका, बिपीको राष्ट्रियता अनि प्रजातन्त्र तथा समाजवादमा गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको विषयमा समेत विस्तृत विश्लेषण गर्नुभएको छ।

तेह्र÷चौध वर्षको कलिलो उमेरमा आमालाई गुमाउनुपर्दाको पीडा तथा बुबाले पूरै जीवन राजनीतिमा समर्पण गरेकाले बुबाको माया तथा लाडप्यारबाट समेत बञ्चित हुनु पक्कै पनि एउटी बालिकाका लागि कष्टकर थियो, सहजै अनुमान लगाउन सकिन्छ। एकपटक बिपीसँग रिसाएर सानो बुबा गुन्टा बोकेर भुटानतर्फ लाग्नुभएको र भुटानमा रहँदा ‘भुटान कांग्रेस’ नामक दल खोल्नुभएको भन्ने कुरा उल्लेख भएकाले यसबारेमा थप जान्ने कौतूहल थियो।

भुटानमा ‘भुटान कांग्रेस’ नामको दल छ कि छैन वा थियो थिएन भन्ने कुरा पुस्तकमा उल्लेख नहुँदा अभाव भहसुस भयो। नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा कोइराला परिवार पूरै नै जेल परेको र २०१९ सालको मध्यतिर आमासँगै आठनौ वर्षको उमेरमै जेलमा बसेको अनुभव पनि लेखक स्वयंले भोग्नुपरेको रहेछ।

कोइराला परिवारले राणा र चार राजा क्रमशः त्रिभुवन, महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्रसँग प्रजातन्त्रका लागि सङ्घर्ष गर्नुपरेको थियो। विशेष गरी पछिल्ला तीन राजासँग बढी सङ्घर्ष गर्नुपरेको र प्रजातन्त्र खतरामा परेको कुरालाई जोड दिँदै पछिल्लो २०६२/६३ को आन्दोलनपश्चात् राजासँगको सङ्घर्ष सकिएको सन्दर्भ पुस्तकमा उल्लेख छ।

प्रथम महिला, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्मन परिवारकी बुहारी, दुई सन्तानको आमा भएर वहाँले कुनै ‍औसत नेपाली महिलाले प्राप्त गर्ने भन्दा धेरै भूमिका र अवसर जीवनमा प्राप्त गर्नु भयो भलै वहाँको जीवनमा कष्ट र दुखका पहाडहरू नआएका पनि होइनन्। उहाँलाई राजनीतिमा सक्रिय भएपछि महिलाको हिम्मत र आँटलाई डटेर सामना गर्न र कुनै पुरुष भन्दा महिला कमजोर हुदैनन् भन्ने सन्देश पनि धेरै प्रकारले पुस्तकमा व्यक्त गर्नुभएको छ।

उहाँको अर्को उदाहरणीय कार्य समाजसेवा पनि रहेछ। सुरुमा सुष्मा कोइराला मेमोरियल ट्रस्ट स्थापना गरेर विभिन्न जिल्लामा महिला सशक्तीकरण तथा जनचेतना कार्यक्रमसहित विविध गतिविधिहरू सञ्चालन गर्नुभएको रहेछ। दिवंगत आफ्नै बुबालाई उहाँले सानोबुबा भनी सम्बोधन गर्नुहुन्थ्यो। उहाँका नाममा ‘गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एन्ड डेभलपमेन्ट’को स्थापना समेत गर्नुभएको थियो।

पुस्तकमा मेरा लागि सबैभन्दा महत्त्वपूर्ण भाग खण्ड पाँच अर्थात् नेपालको परराष्ट्र नीति नै थियो। उक्त भागमा नेपालको विदेश नीतिका ऐतिहासिक र महत्त्वपूर्ण कुरालाई आफ्नै शैलीमा विश्लेषण र व्याख्या गरिएको छ। बिपीको परराष्ट्र नीतिसम्बन्धमा दुई विशाल छिमेकी मुलुकले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना नगर्दै नेपालले अर्थात् बिपी कोइरालाले इजरायलसँग दौत्य सम्बन्ध कायम गर्ने निर्णय लिँदै स्वतन्त्र राष्ट्रका रूपमा नेपाललाई चिनाउनुभएको प्रसङ्ग उल्लेख छ।

उक्त खण्डमा सानोबुबाको समाजवादी नेता, छिमेकी मुलुक तथा अन्य मुलुकसँगको सम्बन्धबारे सङ्क्षिप्त व्याख्या गरिएको छ। सरकारपिच्छे फरक नीति बन्नु, वर्षैपिच्छे मन्त्री परिवर्तन र नयाँ मन्त्री आउनासाथ काम गर्ने नयाँ शैली अपनाउनुले परराष्ट्र नीति संस्थागत हुन नसकेको सवाल उठान भएको छ।

उहाँ स्वयं उपप्रधान तथा परराष्ट्रमन्त्री हुँदा संयोगले मैले पनि परराष्ट्र मन्त्रालय प्रवेश गरिसकेको थिएँ। उहाँको परराष्ट्रमन्त्रीको कार्यकालका महत्त्वपूर्ण उपलब्धि एवं कूटनीतिक भ्रमणहरूको समेत यस खण्डमा सविस्तार व्याख्या गर्नुभएको छ।

उहाँले आफ्नो कार्यकालमा ५१ प्रतिशत परराष्ट्र मन्त्रालयभित्रकै करियर डिप्लोमेटलाई राजदूत बनाउन प्रोत्साहित गरी उनीहरूलाई उचित जिम्मेवारी दिएको र विदेशमा राजदूत भएर जाँदा राजनीतिभन्दा पनि देश विकासका लागि लगानी ल्याउने, दुई पक्षीय सम्बन्धलाई सुदृढ बनाउनेलगायतका काममा प्राथमिकता दिएको कुराको चर्चा छ।

हाम्रोमा राजदूत पदलाई एकदमै ठुलो बनाइयो। अन्य मुलुकमा यसलाई नियमित प्रकिया र सामान्य कूटनीतिक कर्मचारीको नियुक्तिका रूपमा लिइन्छ। यदाकदा विशेष परिस्थिति र सम्बन्धका कारण प्रधानमन्त्री भइसकेका मानिसलाई समेत परराष्ट्रमन्त्रीको जिम्मेवारीमा पठाइयो भने समाचार बन्छ।

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री भइसकेका केभिन रुड अमेरिकाका लागि राजदूत हुनुभयो। यसप्रकारको उचाइ प्राप्त गरेका व्यक्ति अपवादका रूपमा नियुक्ति हुने भयो भने समाचार बन्न सक्छ। नेपालमा पनि मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेपछि अमेरिकाका लागि राजदूत भएर जानुभएको थियो।

म नयाँ स्थापना भएको दूतावास सञ्चालन गर्न सन् २०१० मा कुवेत गएको थिएँ। यो मेरो पहिलो नियोग सरुवा र नयाँ नियोग स्थापना गर्ने चुनौतीको जिम्मेवारी थियो। हामी कुवेत जाँदा त्यहाँ नेपालीको संख्या करिब ४० हजार हाराहारी थियो भने दूतावास खुलेका कारण पनि केही वर्षमा नै यो संख्या अप्रत्याशित रूपमा वृद्वि भएको थियो।

सुजाता कोइराला परराष्ट्रमन्त्री भएको समयमा स्थापना भएको नेपाली राजदूतावासको औपचारिक उद्घाटन परराष्ट्रमन्त्रीका हैसियतमा उहाँले १८ जनवरी २०१८ मा गर्नुभएको थियो। उहाँको कुवेत औपचारिक भ्रमणमा नेपाल र कुवेतबिच परराष्ट्रमन्त्रीस्तरीय संरचनाको सुरुवात भयो र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिनुभयो। त्यसपछि नयाँ कूटनीतिक नियोगलाई काम गर्न पनि धेरै सजिलो भयो।

उच्चस्तरीय भम्रणले द्विपक्षीय सम्बन्धमा गति प्रदान गर्छ। नेपाली राजदूत पनि पेसेवर कूटनीतिज्ञ भएकाले भ्रमण फलदायी भयो। भ्रमणको दौरान कुवैतका सामाजिक मामिला तथा श्रम मन्त्रालयका प्रतिनिधिसँगको भेटघाटमा नेपालले सर्वप्रथम दुई पक्षीय श्रम सम्झौताका लागि उहाँले प्रस्ताव गर्नुभएको थियो।

उक्त भ्रमणमा कुवेत सरकारले नेपालका दुई वटा आयोजनामा लगानी गर्ने प्रतिबद्वता जनाएको थियो। एउटा उक्त समयमा नेपालमा लोड सेडिङको समस्या रहेकाले नेपाल सरकारको मागबमोजिम पश्चिम नेपालको अछाममा रहेको बुढीगंगा जलविद्युत् आयोजना र दक्षिणतर्फको यातायात व्यवस्था सुदृढ गर्न सीतापाइला धार्के सडकको निर्माणबारे पनि दुई देशबीच सहमति भएको थियो। यी भ्रमणका महत्त्वपूर्ण उपलब्धि थिए।

भ्रमणका अवसरमा कुवेत र नेपालबीच सिधा हवाई सुरु गर्न अनुरोध गरिएको थियो। सोहीबमोजिम केही वर्षपछि मात्र कुवेती विमानसेवा अलजजिराले कुवेत–काठमाडौं सिधा उडान सुरुवात गर्‍यो। यसले धेरै नेपालीलाई सहज भएको छ। उक्त भ्रमणकै दौरान नेपाल र कुवेतको परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने र संयुक्त आयोगको व्यवस्था गरिएको सम्झौतामा हस्ताक्षर समेत भएको थियो।

भ्रमणलाई अत्यधिक उपलब्धिमूलक बनाउन दूतावास र हामी तीन सदस्यीय कूटनीतिक कर्मचारी दिनरात नभनी खटिएका थियौं। यस भ्रमणलगत्तै कुवेत स्थापनाको ५० वर्ष र स्वतन्त्रता दिवसका अवसरमा नेपालका राष्ट्रपतिको पनि भ्रमण गराउन सफल भएका थियौं। तर लेखकको महत्त्वपूर्ण उपलब्धिलाई समावेश भएको नपाउँदा पुस्तक पढिसकेपछि आफू पनि इतिहासको साक्षी भएकाले यो अपूर्णता नलेखिरहन मनले मानेन।

२५८ पृष्ठको पुस्तकको पछिल्लो खण्डमा पार्टी भित्रैका विभिन्न पाटा, शक्ति सङघर्ष र सरकार सञ्चालनमा आफ्नै पार्टीबाट भएका असहयोगलगायतका सानोबुबाका विविध पक्षलाई उल्लेख गर्नुभएको छ।

यसका अतिरिक्त २०६२/६३ को आन्दोलनको पृष्ठभूमि र त्यसपछिका राजनीतिक परिवर्तनहरूलाई समेत समावेश गर्नुका साथै खण्ड दशमा गिरिजाबाबुको महाप्रस्थान र तत्पश्चातका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडिया कभरेज एवम् विश्व नेताहरूबाट प्राप्त समवेदना तथा प्रतिक्रियाहरूलाई सविस्तार गरी पुस्तकलाई विट मार्नुभएको छ। लेखकले आफै आत्मकथाबारे उल्लेख गरेझैं आफू बाल्यकाल, युवा अवस्था, वयस्कमा रमाउन नपाएको अनि पछिल्लो समय क्यान्सरका कारण आफ्नै स्वास्थ्यसँगको सङ्घर्षको कथा उल्लेख गर्नुभएको छ।

प्रकाशित: ३० चैत्र २०८१ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App