३१ चैत्र २०८१ आइतबार
image/svg+xml ७:९ पूर्वाह्न
कला/संस्कृति

गुराँस फुल्यो, काफल र ऐंसेलु पाक्यो

निबन्ध

गुराँस फुल्यो, काफल र ऐंसेलु पाक्यो। वसन्त यामसँगै पहाडी तरेलीहरूमा गुराँस फुलेको दृश्य निकै आकर्षक लाग्छ। हरियो जंगलमा राता फूलहरूको सौन्दर्य आफैंमा मनमोहक लाग्नु स्वाभाविक हो।

यो याम नै यस्तो हो कि जहाँ बोटबनस्पतिमा नवजीवनको पालुवाले जीवनको रङ भर्छ। त्यसपछि पात पलाउने, कोपिला लाग्ने, फल फल्ने, फूल फुल्ने प्राकृतिक क्रमको निरन्तरता प्रारम्भ हुन थाल्छ। यो क्रमको सिलसिला भंग हुनु हुँदैन।

तथापि हिजाआज पर्यावरणीय असन्तुलनले मौसम प्रतिकूल हुँदै जाँदा प्रकृतिको नियमित क्रम भंग हुन थालेको छ। फलतः गुराँस फुल्ने मौसममा पनि फेरबदल हुँदा गुराँस हेर्न आएकाहरू हिस्स पर्नुपर्ने अवस्था सिर्जित हुँदैछ।

यी पंक्तिकारले यस्तो दुखद् अनुभव गर्नुपर्दा नमीठो लाग्छ। किनभने गुराँसको सौन्दर्य फागुन–चैतमा फक्रिनुपर्छ तर समयको भेलले कहिले माघतिरै फुलिसक्दा परम्पराको निर्वाह हुँदैन। कुनै साल त फूल फुल्न नसकेर कति सास्ती भोग्दै गुराँसका भव्य बोटहरू धुरुधुरु रोइरहेको महसुस पनि मैले गरेको छु।

यति हुँदाहुँदै पनि यो साल पहाडी र हिमाली यात्राका क्रममा मैले गुराँस फुलेको हेर्ने अवसर पाएँ। प्रकृतिको प्रतिकूल अवस्थामा पनि फुल्नुपर्ने याममा फुल्न पाएर गुराँसका वृक्ष सायद खुशी थिए। त्यसैले बूढो वृक्ष, चट्टानको पाटो र अन्य विरुवाका लतालहराले बेरिँदै पनि फुल्नुपर्ने आफ्नो दायित्व पूरा गर्न पाएकामा ती गुराँसका झाङहरू हर्षित देखिन्थे।

अर्को कुरा तिनै गुराँसका हाँगामा तुर्लुङ्ग झुण्डिएर फुलिरहेका सुनाखरीको सुन्दर स्वरूप पदयात्रीका निम्ति अर्को मन रमाउने दृश्य बन्थ्यो। यससँगै अग्ला सिमलका बोट जोसँग हरियालीले भरिएको पातको भरिलोपन छैन तर त्यसमा रातो रङको प्राकृतिक सिर्जना बोकर सिमलको सौन्दर्य मुस्कुराइरहेका दृश्य कम सुन्दर लाग्दैनथ्यो।

यी दृश्य–दर्शनका सुन्दर पलहरूमा आँखा डुलाउँदै, पाइला हिँडाउँदै अगाडि बढ्दा अरू धेरै प्रकृति–रमणका छटाहरू देखापर्छन्। पर भित्तामा माथिदेखि अविरल झरिरहेको झरनाको वेग वास्तवमा गतिशील जीवनको प्रतीक पनि हो। कर्मशील जीवनको प्रतिविम्ब पनि हो।

बनका भीरपाखा र बाटोका कान्लातिर ऐंसेलु पहेंलपुर पाकेका दृश्य। हिँडेर थाकेको आँतले यस्तो रसिलो फलको स्वाद खोज्नु स्वाभाविक हो। त्यसमाथि बोटमै फलेको ताजा खानेकुरा खान पाउनु ठूलै तृप्तिदायक कुरा हो।

काफल र ऐंसेलु देख्दा मुख मिठ्याइनु स्वाभाविक हो। जस्तो कि निबुवा काटेको देख्नासाथ मुख रसाइहाल्छ। घुटुक्क थुक निलिन्छ। थाहै नपाइ यौटा पृथक् स्वादको सुखद अनुभूति गरिन्छ।

म यात्रामै थिएँ। मेरो गाउँको साप्सुधापको उकालो बाटो उक्लिँदै थिएँ। त्यहाँका बाटोमाथि र बाटो तलतिर ऐंसेलु पाकेर बटुवालाई घुटुक्क थुक निल्न बाध्य पारिरहेको थियो। त्यसभन्दा माथि रूपाकोटको जंगलमा कतै गुराँसको सौन्दर्य मुस्कान पस्किदै थियो। कहीँ काफल पाकेर बोटै कलेजी रङमा अनुवाद गरिरहेको थियो। जन्तेढुंगाको बनमारा र तितेपाती घारीलाई लात हान्दै काफल र ऐंसेलुका बोटबुट्यानले फल फलाएर पैदलयात्रीलाई एकछिन बाटैमा रोक्थ्यो।

सूर्यको पहिलो किरणले पहाडका अपठ्यारा भीरहरू सुनौला पार्न थालेको थियो। म बिहानको सुस्केरासँगै उकालो लाग्दै थिएँ। आकाश खुला थियो, हावा शीतल। चराहरूको चिरबिरको संगीतले वातावरणलाई संगीतमय बनाइरहेको थियो।

पाखाहरू हरियालीले ढाकिएका थिए। कतै रुखका हाँगामा लटरम्म फलेका जंगली फलहरू देखिन्थे– गाढा कलेजी रङका काफल, पहेँलपुर ऐंसेलु।

हेर्दै खाउँखाउँ लाग्ने। देख्दै मुख रसाउने। मुख मिठ्याउँदै खान हात बढाउँदा पहेलपुर ऐंसेलु सजिलै टिपेर खान कहाँ सक्नु र काँडाले हात चिथोरिहाल्ने। लुगा च्यातेर धागो निकाल्ने। कति हैरान ऐंसेलुले आफू सुरक्षित हुन कति सुरक्षाकर्मीहरू तैनाथ गरिराखेको होला? काँडाका कारण सजिलै टिपेर खान कहाँ सक्नु र!

प्रकृतिको यी सुन्दर संरचना। काफल, ऐंसेलु र गुराँसका जीवनवय। हेर्छु आँखाभरि खुशीले। देख्छु मनभरि हर्षले। साक्षात् सौन्दर्यका रङहरू मात्र होइनन् यी। यी हुन खासमा चराचुरुङ्गीका मौसमी खाना। मानिसका पनि खाना।

मेरो यात्राको उद्देश्य कुनै दूरदराजको डाँडा पुग्नु मात्र थिएन; यो त मेरो बाल्यकालका सम्झनाहरूको खोजी पनि थियो। हिउँदभरि पात झरेका रुखहरूलाई हेर्दा मन सन्त्रस्त हुन्थ्यो तर वसन्त लागेपछि ती सुकेका हाँगाहरूमा हरियाली फर्किन थाल्थ्यो।

त्यही हरियालीसँगै काफल र ऐंसेलु फल्न, फुल्न थालेका हुन्थे। ती देख्दा बाल्यकालका ती मीठा दिनहरू स्मृतिमा ज्यान भर्न आउँथे। विगततिर मलाई फर्काउन थाल्थे।

सानै छँदा ‘काफल पाक्यो भने मन रमाउँछ’ भनेको याद आउँछ। साँच्चै, गाउँको उकालीओराली हिँड्दा काफल टिप्ने रहर छुट्टै हुन्थ्यो। साथीहरूसँग रुख चढेर पाकेका काफल संकलन गर्दा हात कालै हुन्थ्यो। ती साना दानाहरू ओंठले छोएर जिब्रोलाई म्वाइँ खाँदा मुखभरि गुलियो र अलिकति अमिलो स्वाद फैलिन्थ्यो अनि मनको आत्मा आनन्दले भरिन्थ्यो।

म त्यही अनुभूति गर्न चाहन्थेँ। घाम चर्किँदै गयो। समय घर्किदै थियो। म त्यही भीरछेउ आइपुगेँ जहाँ ऐंसेलु पाकेका थिए। यसो हात लम्क्याएर ऐंसेलु टिप्न खोजें। पहिलो प्रयासमै काँडाको प्रहार खान पुगें। दोस्रो प्रयासमा काँडाले घोचेर हातमा रगतै निकालिदियो। तैपनि मैले चोट सहेर ऐंसेलुको मीठो स्वाद सम्झें।

कापलको बोटमा लटरम्म फलेका काफल हत्केलाले हल्लाउँदा सानासाना राता दाना टुप्लुक्क खसे। एउटा मुखमा हालें– उही पुरानो स्वाद! चिसो, गुलियो र थोरै अमिलो। मलाई लाग्यो, समयले कति फड्को मारिसकेको छ। तर यी स्वादहरू कहिल्यै परिवर्तन हुँदैनन्।

थोरै पर गएर ऐंसेलुको झाडी देखेँ। पहेँलपुर ऐंसेलुहरू देख्दा झन् मन प्रफुल्ल भयो। बाल्यकालमा भनेको सम्झिँन्छु– ‘ऐंसेलु त अमृत हो, यसले शरीरलाई बल दिन्छ।’

म हाँस्दै भन्थेँ, ‘मलाई त यसको अमिलो, गुलियो स्वाद चाहिएको हो, बल त आफैं आउँछ! आखिर यो खाएर पेट भरिने होइन क्यारे।’

तथापि म हाम्फालेर टिप्न जान्थें। आज त्यही सम्झना बोकेर, शहरको व्यस्त जीवन बिर्सेर, पहाडी भीरमा म त्यही स्वाद खोज्दै थिएँ।

एकैछिन त्यही भीरमुनि बसें। तल खोला बगिरहेको थियो। मुहानको पानीको सुसाइ भित्रभित्रैबाट आइरहेको थियो। वरपरको जंगलमा कोइलीले विरह भाका गाइरहेकी थिई।

आकाशतिर हेरेँ। नीलो आकाशमा सेता बादलहरू दौडिरहेका थिए।

मैले मभित्र एक किसिमको मिठास भित्रिएको महसुस गरेँ। जस्तो कि समय रोकिएको होस्, जीवनको सबै थकान मेटिएको होस् अनि आँखामा तृप्तिदायक सौन्दर्यले उल्लास थपिदिएको होस्।

‘काफल पाक्यो, ऐसेलु पाक्यो, मनै रमायो!’ मैले आफूलाई मनभित्र पसेर सुनेँ। साँच्चै, जीवनको सबैभन्दा सरल सुख यस्तै त हो, हैन र?  

प्रकाशित: २५ चैत्र २०८१ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App