‘अभिव्यक्तिमा लालित्य, समाज रूपान्तरणमा साहित्य’ मूल नाराकाे साथ स्थापना भएकाे खोटाङकाे ‘दिप्रुङ चुइचुम्मा प्राज्ञ समाज’ ले खुला राष्ट्रव्यापी कविता प्रतियाेगिता तथा स्रष्टा सम्मान कार्यक्रम गरेर पहिलाे कार्यक्रम गर्दै छ।
खुला राष्ट्रव्यापी कविता प्रतियाेगिता अन्तर्गत वाचन छनाेटका लागि कवि र कविता छनाेट भइसकेकाे संस्थाकाे सचिव आस्था काेपिलाले बताइन्।
उनकाे अनुसार ६७ कविमध्ये वाचनका लागि कविहरू : अनिल सुवेदी, भलादमी भाेला, कात्यायन, प्रदिप रूचाल, अनाम उपेक्षित, शुभचन्द्र राई, उद्धव देवकाेटा, संयाेग बस्याल, सुन्दर शिरीष, भरत थापा, विराज वाग्ले, समी पाेखरेल, रूपक जमरा, भूमिराज मरूभूमि र किशन पाैडेल छनाेटमा परेका छन्।

भाषा, साहित्य, कला संस्कृितको सिर्जना खोजअनुसन्धान नवप्रवर्द्धनको माध्यमबाट समाज रूपान्तरण गर्ने लक्ष्यले स्थापना भएको दिप्रुङ चुइचुम्मा प्राज्ञ समाजको स्थापना भएकाे सचिव काेपिलाले बताइन्।
दिप्रुङ चुइचुम्मा प्राज्ञ समाजका आस्था काेपिलाले समाज परिवर्तनका लागि भौतिक विकासले मात्र सम्भव नहुने बताइन्। ‘समाज परिवर्तन गर्न बौद्धिक विकास पनि चाहिन्छ। दिप्रुङ चुइचुम्मा प्राज्ञ समाज दिप्रुङको भौतिक विकाससँगै हरव्यक्तिको बौद्धिक विकास चाहन्छ। यसैको सिलसिलामा दिप्रुङको माटोले जन्माएका हर क्षेत्रको विशिष्ट ८ व्यक्तिलाई एकपल्ट आफ्नो माटोमा टेकाउँदै देशभरिका विज्ञ / प्राज्ञ व्यक्तिको साथमा देशैभरिका कविहरूलाई एकै थलोमा भेटाउदै छौं।’
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सभा हलमा आउँदो चैत्र २९ र ३० गते हुने कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी, वरिष्ठ गायक बच्चु कैलाश, साहित्यकार नगेन्द्रराज रेग्मी, साहित्यकार विष्णु आभूषण लगायतको सहभागिता रहने भएको छ।
कार्यक्रममा मोबाइल र कम्प्युटरको स्किनमा देखिएका कवि नवराज पराजुलीकाे प्रस्तुति पनि रहेकाे छ। सेतो धर्ती, करोडौं कस्तुरी जस्ता लाेकप्रिय उपन्यासका उपन्यासकार प्राज्ञ अमर न्यौपाने र प्रा. कवि कृष्ण ज्ञवालीकाे पनि कार्यक्रममा उपस्थित रहने भएकाे छ।
प्रकाशित: २५ चैत्र २०८१ ११:०९ सोमबार