मलाई एकान्तवास मन पर्छ। सुन्दरताले भरिएको प्राकृतिक सौन्दर्यपान गर्न मन पर्छ। स्वच्छन्द र निर्बाध रूपमा आकाशमा उड्ने पन्छीझैं परक्षितिजसम्म उड्न मन पर्छ। मलाई कृत्रिमताको रत्तिभर रुचि छैन। चाहे मान्छेका व्यवहार हुन् या प्रयोग गर्ने सामग्री नै किन नहून्, कृत्रिमता मेरो रुचिको विषय अलिकति पनि होइन। रातमा आकाशतिर फर्केर हेर्छु, चम्किरहेका पिलपिल ताराले मनलाई उदात्त आनन्दित गराउँछन्। फूलको बगैंचातिर पस्छु, रङ्गीबिरङ्गी फूलहरूको सौन्दर्यले मनै पुलकित हुन्छ। यस्तै हुँदो रहेछ जिन्दगी। अनि रमाउने तरिका पनि आआफ्नै।
कुनै बेला त्यस्तो दिन पनि आए जिन्दगीमा, जे देख्यो राम्रो त्यही हुन मन लाग्ने। जे नसक्ने कुरा छ त्यही गर्न मन लाग्ने। अनि जे गर्न हुँदैन, त्यही गरिहालूँ लाग्ने। पुतली उडेको देख्दा पुतली बनेर उड्न मन लाग्थ्यो। गाइने किरा उडेको देख्दा त्यस्तै उड्न पाए भनेजस्तो लाग्थ्यो।
त्यस्तै कागजको फिरफिरे बनाएर उडाइन्थ्यो र कल्पना गथ्र्याे मनले उड्न। अरू त के र, मनमा धेरै थरी भावनाको जुलुस आएर आन्दोलित पार्थे उतिबेला। समय पनि कति छिटो बग्दो रहेछ, ती दिन अब कतै स्मृतिमा मात्र थन्किए। अहिले पनि कहिलेकाहीं हृदयमा तैरिएका ती भावना उत्ताल भावले तरङ्गित हुन्छन्।
सानोमा मलाई कुनै पनि कुराले सहजै प्रभावित पारिदिन्थ्यो। अहिले पनि झन्डै उस्तै अवस्था छ। म अलिक रुन्चे थिएँ कि क्या हो। अरूको सानो दुःख देख्दा पनि दुःखी भइहाल्थेँ। तनाव हुन्थ्यो मनमा। बेचैनीले मुटु नै लखडाउन थाल्थ्यो। चिलले कुखुराको चल्लो टिप्दा म चिल लखेट्न खोज्थेँ। तर मेरो वशको कुरा थिएन त्यो। लगिहाल्थ्यो। स्यालको बिगबिगी थियो उतिबेला गाउँमा। म नाथे स्याल कराएको सुनेर पनि डराउँथेँ। साच्चै डरपोक थिएँ म। डरले मनमुटुमै बास गरेको थियो उतिबेला। कतै झगडा परेको देख्दा म परैबाट भाग्थेँ। एकचोटि केही आवाराका कारण गाउँ नै आतङ्कित बनेको थियो।
उतिबेला सबै मिलेर त्यो अराजकता र दादागिरी विरुद्ध जुध्न भनेर दाउरा र लाठी बोकेर अघि बढेका थिए। मैले पनि दाउराको चिर्पटो बोकेर लुरुलुरु त्यो समूहसँग जाइलाग्न हिँडेँ। तर विडम्बना एउटाले गतिलो चड्कन लगाएपछि त्यो दाउराको चिर्कटो त्यहीं छोडेर भागे। आखिर त्यही चिर्कटोको सहारामा उसले हाम्रा धेरै दाजुलाई आक्रमण गर्यो। म यति रोएँ कि कुरै नगरौं।
सानोमा हामीले काममा पिराउँछौं भनेर होला, हजुरआमाले ‘हरिसिद्धि आउँछ र साना केटाकेटी लिएर जान्छ। यो सिजन नै उसको हो। त्यसैले झ्यालढोका थुनेर बस’ भनेर हामीलाई कोठाभित्र कैद गर्नुहुन्थ्यो र काममा निस्कनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो– ‘हरिसिद्धि त सानोभन्दा सानो प्वालबाट भुसुनोजस्तो बनेर छिर्छ र भित्र पसेपछि बडेमान भएर केटाकेटी लिएर जान्छ।
’त्यतिबेला हामी झ्यालढोका भित्रबाट थुनेर, झ्यालढोकामा भएका ससाना छिद्रहरूलाई पनि कपडाका टालाले टालेर बन्द गर्ने गथ्र्यौं। त्यसको हाउगुजी अहिले पनि उत्तिकै छ। झनै वनमान्छे आउँछ भनेर उहाँले भनिदिँदा डरले थरर हुन्थें। यति डरपोक थिएँ म। काँतर, डरपोक के के भन्न मिल्छ सबै थिएँ।
समय आफ्नै क्रममा चिप्लिँदै गयो। म पनि समयसँगै बग्दै गएँ। चिनारु अग्रजहरू धेरैले माया गर्थे मलाई। सबैको प्यारो थिएँ म। झन् त्यहाँमाथि मास्टरको छोरा। बाको पनि गाउँमा लोकप्रियता थियो। म पढ्ने स्कुल निमावि (उतिखेर निमाविमा कक्षा सातसम्म पढाइ हुन्थ्यो।) पढाइमा अब्बलै थिएँ। सातमा पनि दोस्रो स्थान हासिल गरेँ।
अब अर्काे विद्यालयमा सर्नुपर्ने भो। हाइस्कुल थियो, घरदेखि तीन किलोमिटर जतिको दुरीमा। यसपछि केही साथीसँग सम्बन्धको क्रमभङ्गता भोग्न बाध्य भइयो। अपायक पर्ने साथीहरू पायक पर्ने स्कुलमा भर्ना भए। मनमा नयाँ विद्यालयप्रतिको कौतूहल, नयाँ साथीभाइसँगको भेटघाट र परिचयका लागि आतुर जागृत मन बोकेर म आठ कक्षामा भर्ना गरिएँ।
समस्याहरूसँग जुध्नु जीवनको रमाइलो हो। उतिबेला खास के नै समस्या थिए र? अलिक पैसाको अभाव थियो। खाजा खान हजुरबुबाले दिएको केही रूपैयाँबाट म बचत गर्थें र बनेपासम्म गएर भित्तो नाचेको (चलचित्र) हेर्थें। म सबैसँग समान सम्बन्ध राख्थेँ। कोही नजिक कोही टाढा भएनन्। साथीहरू कसैसँग नराम्रो भएको वा गरेको थाहा छैन।
बस्न पनि हामी पछिल्लो रोहमा रहेको बेन्चमा बस्थ्यौं। हल्ला चाहिँ हुँदैनथ्यो। तर कतिपय सरहरूको आवाज सानो भएकाले श्रवणमा व्यवधान आउँथ्यो। कान कम सुन्थेँ म। त्यसैले सरहरूले माया गरेर अघिल्लो रोहको बेन्चमा राखिदिनुहुन्थ्यो। म सरल नै थिएँ उतिबेला पनि। हाम्रो सेरोफेरो भनेकै विद्यालय र घर थियो। सिनेमा हेर्न हप्ता पन्ध्र दिनमा एक दिन गइन्थ्यो। गलत लत केही थिएन। कलेज जीवन ठिकै बित्यो भनौं।
समय क्रममा जिम्मेवारीका थिल्थिले पहाडहरू एकैपटक आइलागेपछि के हालत हुन्छ, अनुमान सबैले गर्न सक्नुहुन्छ। तैपनि हात थापिएन कसैसँग। साथ खोजिएन समस्यामा अरूको। जुधियो जसरी तसरी। चल्यो, चल्दैछ। अझै पनि चलाउनुपर्छ। जिन्दगीका अभिलाषाहरू पूरा हुन्छन् सबै, त्यो म भन्दिनँ र मान्दिन पनि। तर हरसम्भव पूरा गर्ने तर्फको प्रयास जारी राख्नुपर्छ भन्नेचाहिँ मेरो मान्यता हो।
अरू मान्छेका जस्तै सपना पाल्ने रहर मेरो नभएको होइन। हर सपना पूरा हुने शाश्वत सत्य विषय पनि होइन। ढाकर बोक्नेका सपना अहिले खाए भरे के खाऊँ होला। अनि अलिक सम्पन्न मान्छेका सपना आलिसान बंगला, मोटरगाडी, देशविदेशको सयर वा अझै उत्पात त्यो भन्दा माथि होला। तर मेरो हकमा सामान्य जीवनयापनभन्दा पर केही सपना छैन।
केही कुरा पाउनुपर्छ भन्ने हत्ते हाल्ने स्वभाव यो जिन्दगी नाइँ। असमञ्जसमा पर्ने बानी पनि छैन। बेइलमी र बेखर्ची हुनु नपरोस् बस् यति भए जिन्दगीको यात्रा नाप्न सकिन्छ। हाइफाई मेरो कुनै रहर होइन। त्यस्तो कहिल्यै नि पलाएन मनमा रहर पनि। आममान्छे जसरी बाँचेका छन्, त्यतिको जीवन बाँच्न पाए पुग्यो। आखिर लोभ लालसा पनि किन यो धरामा सधैं रहने होइन क्यार !
जीवन उति साह्रो परसम्म फैलिएको छैन। जीवनको गोरेटो वास्तवमै साँघुरो छ। जीवन सधैं सुखका रंगले भरिएर रंगीन हुँदैन। त्यहाँ दुःखका बाछिटाहरू पनि लाग्छन्। जीवन मायावी न्यानोमा मात्र रहँदैन, त्यहाँ चिसा सिरेटाहरू पनि चल्छन्। हामीले चाहेका कतिपय कुरा निष्पादित पनि बन्छन्। सदैव मुस्कुराऊँ भन्छु बिहानीको झुल्के घामजस्तै ! तर अभावका ठिहीहरूले कठ्याङ्ग्रिन्छन् जीवनका पलहरू।
अभावका पहाडहरूमा थिचिन्छन्, र त उन्मुक्त हुन सक्दैन जीवन। नियालेर हेर्छु– सोचेझैं जिन्दगी देख्दिनँ। खोजेझैं पाउँदिनँ। कल्पना र यथार्थमा धेरै फराकिलो अन्तर। जिन्दगीको असलियत एक भइदिन्छ। व्यवहार अर्कोतिर गइदिन्छ। समुन्द्रमा आउने उत्ताल छालहरूले बालुवाको थुप्रो जम्मा पारेर घर बनाइदिन्छ। अनि अर्को बेगवान् छाल आएर त्यो बालुवाको घर भत्काइदिन्छ। यस्तै रहेछ जिन्दगी।
आशावादी भाव र निराशाको भुल्कोमा अल्झिँदोरहेछ जिन्दगी। तर पनि आशावादी हुनुपर्छ, सकारात्मक सोच राख्नुपर्छ भन्छु। व्यवहारमा भने लागु गर्न मुस्किल पर्दोरहेछ। बादलको सिरानीमा अँध्यारोले गुटमुटिएर आइदिँदोरहेछ निराशाको तुवाँलो लिएर।
मान्छे भोलिका निम्ति बाँच्छन् तर मलाई भोलिको चिन्ता लाग्दैन। म त्यो अनिश्चित चिन्ता बोकेर हिँड्न चाहन्नँ। त्यसले मेरो भलो पनि गर्दैन। खुइखुई छटपटीमा उमेर घटाउने क्षण अहिलेदेखि किन सम्झनु ? पीडाको झरीले रुझेर किन जीवन जिउनु ? मेरो चाहिँ दुःख, पीडालाई ओझेलमा पारेर जिन्दगी जिउने यत्न छ। आरोह–अवरोहहरू छिचोलेर जिउनुमा मजा लाग्छ मलाई। यस्तै कुरा फनफनी घुम्छ मेरो मथिङ्गलमा।
मसँग अरूलाई घृणा गर्ने भावको कालो बादलको लप्का किमार्थ छैन। अरूको थिचोमिचो सहन गर्न सक्दिनँ र अरूलाई पनि त्यो व्यवहार प्रदर्शन गर्दिनँ। न त षड्यन्त्रका ताडनाहरू नै बाट्न जान्दछु। म जस्तो छु, त्यस्तै देखिन मन पराउँछु। मेरो निकट कोही र पराइ कोही छैन। निर्बाध र निस्फिक्री छु।
उति साह्रो कुनै कुराको अतृप्त भोक पनि छैन। स्वार्थको काउसो दल्ने स्वभाव पनि छैन। तिम्रा लागि मेरो मुखमुद्रा अस्वाभाविक होला वा लाग्ला, म नसुहाउँला तिम्रो नजरमा। तिम्रो भलाइका लागि मैले अरूलाई आतंकित पारेर तिम्रो चाह पूरा गर्न चाहिँ म सक्दिनँ। म विवेकमा बाँच्ने मान्छे। तिमीले मेरो विवेक थिचेर कहाँ हुन्थ्यो र ? म त सक्कली आँखाले हेर्ने र सक्कली मनको भाव अभिव्यक्त गर्न रुचाउने मान्छे। तिमीले चाहँदैमा नक्कली कसरी हुनु।
बोझिलो वर्तमानमा पनि म सहज बाँच्न सक्ने मान्छे। तिम्रा हर सबालको प्रतिवाद नगरी पनि बाँच्न सक्छु। तिम्रो विद्रूप व्यवहारविरुद्ध नलागे पनि चल्न सक्छु। म कुत्सित मनसाय बनाउन्न कहिल्यै, मनोमानी भाव र सोच राख्दिनँ। सपना पनि सीमित छन्। चाहना पनि थोरै छन्।
पारस्परिक सहयोग र सद्भावको चाह जहिल्यै राख्छु। ढाँट, बेइमानीबाट कोषौं दूर रहने बानी, छल गर्न नमान्ने मनको मान्छे हुँ। मानवीय मूल्यलाई मनदेखि व्यवहारमा उतार्ने बानी भएको मान्छे हुँ। कसरी बुझ्ने त्यसबारे तिमीलाई छुट छ। मौनता साँधेर बसिदिन्छु। तिमी मनमा मप्रति जे जति विकार उत्पन्न गर, यसले मलाई होइन, तिमीलाई नै हानी गर्छ। तिमी केबाट दीक्षित र प्रशिक्षित छौ, त्यो मलाई थाहा भएन।
तिम्रो सावधानी र सचेतना तिमीले नै बुझ्नुपर्छ। मैले यसबारे केही भनिनँ। सङ्कुचनको दलदलमा भासिनुभन्दा उदारताको मैदानमा उत्रिनुको मजा देखेँ। लोकले गाओस् सकारात्मक धुनमा गीत लयात्मकता र गयात्मकता मिलाउँदै हाम्रो। यही हो मेरो चाह। हृदयलाई आकाशजस्तै सफेद र फराकिलो पारेर अरूप्रति व्यवहार गरौं न। सुखको घामले चुमोस् जिन्दगी। मनको न्यानो मझेरीभरि फुलून् सुखका फूल। इमानदार एकलव्य भए पनि केही हुन्न। चुक्नु भएन। बेइमान बन्नुभएन। फूलझैं निर्भय भएर मुस्कुराउँदाको मज्जै बेग्लै। यसरी नै पो जिन्दगी जिउनुको असली मजा हुन्छ। मित्र, आखिर बाँच्ने एउटा जिन्दगी न हो!
प्रकाशित: २३ चैत्र २०८१ ११:५८ शनिबार