२० पुस २०८२ आइतबार
image/svg+xml
कला/संस्कृति

डर

निबन्ध

क्याप्शन

डरैडरको गोरेटोमा जिन्दगी हिँड्ने रहेछ। कहिलेकाहीं डर शासक हामी शासित जस्तो लाग्छ। डररूपी शासकले हामीलाई अनेक अवतार वरण गरेर सधैं शासन गरिरहन्छ। डर रोग, गरिबी, शिक्षा, खानपान, इज्जत, परिवार, सम्बन्धजस्ता अनेक आवरणमा अवतरण गर्छ र हामीमाथि निर्मम शासन जमाउँछ।

रोगको डर, मृत्युको डर, भुतको डर, चोरको डर, हार्नुको डर, श्रीमतीको डर, असफलताको डर, अस्वीकृतिको डर, असुरक्षाको डर, उचाइको डर, भविष्यको डर, समाजले के भन्छ भन्ने डर। कुकुर, बिराला, किरा, भ्यागुतालाई मान्छेले पाल्छ। यी जन्तुलाई प्रेमिल वातावरण दिने बेलासम्म डरको पारो अलि न्यून भएको महसुस हुन्छ। प्रेमिल वातावरण सधैँ रहँदैन। प्रेमिल वातावरणको अभाव हुनासाथ यी सबै एकअर्काका शत्रु बन्छन्। डरको पारो उच्च भइहाल्छ। त्यसपछि त सर्पलाई देखेर मान्छे डराउँछ, मान्छेलाई देखेर सर्प डराउँछ। कुकुर मान्छे देख्दा तर्सेर भाग्छ, मान्छे कुकुर देख्नासाथ डराउन थाल्छ। यस्तै छ डरको सन्तुलन !

त्यति सजिलै बुझ्न सकिने चिज रहेनछ डर। मेरो सानैदेखिको एउटा कमजोरी– डराउनुपर्ने कुरामा नडराउने, नडराउनुपर्ने कुरामा डराउने। पुरानो काठको भर्‍याङ चढेर गाउँले घरको माथिल्लो तला (आँटी)मा जानुपथ्र्यो। आँटीमा काठको अप्ठ्यारो भर्‍याङ चढेर जानुपथ्यो, धान, मकै, घिउ, चिनी, प्याज, लसुन, आलु, पाकेका काँक्रा–फर्सी, डोका–थुन्से, मौरीको घारलगायत सबै सामान राखिन्थ्यो। तल्लो तलामा आगोमा खाना पकाउने हुनाले आँटी ध्वाँसे हुन्थ्यो। हजुरआमाले आँटीमा डरलाग्दी आँटीबुढी बस्छे, जानुहुँदैन भन्नुहुन्थ्यो। आँटीमा एक्लै जाँदा मलाई सधैँ आँटीबुढीको डर लाग्यो। त्यतिबेला मनमा बसेकी आँटीबुढी आजसम्म पनि निस्केकी छैन। आजसमेत घरको आँटीमा जाँदा झल्यास्स आँटीबुढीको याद आउँछ, डरले आङ सिरिङ्ङ हुन्छ।

यतिबेला मनमा अनेक प्रवृत्तिका डरका स्मृति आइरहेका छन्। पोखरामा एक साथीको डरको प्रवृत्ति देख्दा म चकित हुन्थेँ। ऊ सर्प देख्नासाथ हातले नै समात्न जान्थ्यो। तर, भित्तामा कहीं माकुरा हिँडेको देख्यो भने डरले कोठामा नै छिर्दैनथ्यो। अर्को एक साथीको डरको प्रकृति भिन्न थियो। ऊ गाउँमा रुख चढ्न माहिर थियो।

बाँसको टुप्पामा पुगेर घाँस झाथ्र्यो। खल्लुको रुखको टुप्पामा पुगेर दाना टिप्थ्यो। तर, उसलाई लिफ्ट चढ्न निकै डर लाग्थ्यो। साँघुरा गल्लीमा हिँड्नै मान्दैनथ्यो डराएर। उसको डर उकुसमुकुस वा साँघुरो ठाउँमा थियो। अर्को एक साथीको डरको प्रकृति फेरि भिन्नै थियो। ऊ कुनै एक राजनीतिक दलको साहसी कार्यकर्ता थियो। ऊ मान्छेसँग कहिल्यै डराएन। लडभिडमा पनि सधैँ अगाडि सर्ने। कतिपटक त ऊ अन्य राजनीतिक दलको कार्यक्रम बिथोल्न हजारौं मान्छेबिच गएर दुःसाहसपूर्ण बबन्डर समेत मच्याएको थियो। ऊसँग म कैयौं रात सँगै सुतेको छु। रमाइलो कुरा, ऊ बत्ती निभाएर अँध्यारोमा सुत्न भने निकै डराउँथ्यो। म बत्ती ननिभाई सुत्नै नसक्ने, ऊ बत्ती निभाएर सुत्नै नसक्ने। दिउँसो अजिब साहस भएको मान्छे राति किन यसरी डराउँछ भन्ने कुरा मैले अहिले पनि बुझ्न सकेको छैन।

सन् २००४ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता अस्ट्रियाकी नारीवादी लेखिका अल्फ्रिडे जेलनिक पुरस्कार सम्मान कार्यक्रममा सहभागी भइनन्। उनी भिडबाट निकै हडबडाउँथिन्। वास्तवमा उनी सामाजिक डरको सिकार थिइन्। उनी लेखनमा सिद्धहस्त थिइन्, तर अरूको अगाडि बोल्न भनेपछि डरको भुत तत्कालै सवार हुन्थ्यो।

भन्नेजस्तो व्यवहार हुँदैन। सिकाउन सजिलो हुन्छ, व्यवहारमा सोही कुरा परिपालन गर्न कठिन हुन्छ। २०७२ वैशाख २९ गते पुनः ठुलो भूकम्प गयो। त्यतिबेला भूगर्वविद्ले भूकम्पबाट कसरी बच्ने भनेर प्रशिक्षण दिइरहेका रहेछन्। भूकम्प आउनासाथ पाँचौं तलाबाट हाम फाल्दा उनै विद्वान् प्रशिक्षकको मृत्यु भएको समाचार हामीले पढेका थियौं। डरले मान्छेको विद्वता, नियम सबै खारेज गरिदिँदो रहेछ।

एक कैदीको कथा हामी सबैले सुनेकै छौं। भोलि ठिक १२ बजे विष खुवाएर मारिँदैछ भनेपछि रातभरि बेचैन भएको कैदीलाई ठिक त्यही समयमा एक गिलास पानी दिइयो। उसले त्यो पानी पियो र मर्‍यो। परीक्षणमा शरीरभरि विष फैलिएको पाइयो। यसले वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ भन्ने उखान चरितार्थ गर्छ। डरका यस्ता अजिबका दृष्टान्त अनेक छन्।

मलाई गाडीको लामो यात्रा गर्नु छ भने दुई दिन अगाडिदेखि नै मुखमा अमिलो पानी आउन थाल्छ, रिँगटा लागेजस्तो हुन्छ। आज नै गाडी चढ्नु त छैन, फेरि आजैदेखि किन गाडी लाउँछ ? डरले मस्तिस्क र शरीरमा अजिब प्रभाव पार्दो रहेछ। खाना नरुच्ने, टोलाउने, टाउको दुख्ने, शरीर काम्ने, मुटु हल्लेजस्तो हुने, बर्बराउने, हतास हुने, छिटो रिस उठ्ने जस्ता समस्या देखियो भने उसमा कुनै कुराको डर छ भन्ने अनुमान लगाउन सकिने रहेछ।

 वैज्ञानिक तथ्यले यस सम्बन्धमा के भन्छ, थाहा छैन तर अनुभवले यस्तै बताउँछ। डराएको मान्छेले तिललाई पहाड र पहाडलाई तिल बनाउन थाल्छ। हरेक काम जति अप्ठ्यारो छ भन्ने अनुमान गरिन्छ, यथार्थमा अनुमानित अप्ठ्यारोभन्दा काम सजिलो नै हुन्छ। परीक्षा दिनुभन्दा पहिला हामी जति डराउँछौं, परीक्षा सुरु भएपछि त्यति डर लाग्दैन। किनभने हामीले कामलाई व्यवहारमै प्रयोग गर्न थालिसकेका हुन्छौं। डररूपी शासक हाम्रो घरमा निमन्त्रणापछि आउँछ कि बिनानिम्तो आउँछ? डर जीवनफूल फुलाउन आउँछ कि जीवनफूल चुँड्न आउँछ? डरको स्थायी बसोबास कहाँ हो र कुन बाटो हुँदै आइपुग्छ ? डररूपी शासक हाम्रो मनभित्र छिर्ने ढोका कुन हो, आँखा, मुख, नाक, कान वा छाला ? हामीलाई थाहा छैन डर कसरी आउँछ, कुन बाटो भएर आउँछ तर हाम्रो मनमा डरको सवार भइ नै रहन्छ।

प्लेटो भन्छन्– ‘अन्धकारसँग डराउने बालकलाई सजिलै क्षमा दिन सकिन्छ तर वास्तविक जीवनको त्रास त्यो हो जो उज्यालोसँग डराउँछ।’

नेल्सन मन्डेला भन्छन्– ‘साहस भनेको डरको अनुपस्थिति होइन, डरमाथिको विजय हो। जसले डरको महसुस गर्दैन, त्यो मानिस बहादुर होइन, जसले डरलाई जित्छ, त्यो बहादुर हो।’

हाम्रो मनमा प्रश्न उठ्छ– डर हानिकारक छ कि फाइदाजनक ? के हामी डराउनु नै हुँदैन त ? डराएर जितिने ठाउँ अनेक छन्। साहसी छु, डराउँदिन भन्दै हामी अनैतिक काम गर्न अगाडि सर्नु वाञ्छनीय हुँदैन। बलात्कार, चोरी, ठगी जस्ता कुकर्म गर्न मान्छे डराउनैपर्छ।

 यस्ता कर्ममा साहस देखाउन थाल्यो भने त्यही साहसीपनले उसको जिन्दगी बरबाद पारिदिन्छ। मधुमेयका बिरामीलाई जेरी खान मन लाग्यो भन्दैमा नडराइकन पेटभरि जेरी खान मिल्छ त ? शरीरलाई शुभ नहुने खाना खान डराएकै राम्रो। डरले मान्छेलाई अनैतिक, अपराधी, ठग बन्नबाट जोगाउँछ। त्यसैले उचित ठाउँमा डराउनु नै पर्छ।

यो गन्थनको निष्कर्ष हो– सदुपयोग गर्‍यौं भने डर अमृत बन्छ, दुरूपयोग गरे विष। ठिक बाटो भएर पदार्पण गर्‍यो भने डर सद्गन्तव्यमा पुग्छ, गलत मार्गमार्फत आएको छ भने डरले सबैलाई दुर्घटनामा पुर्‍याउँछ। डर बहुरङ्गी हुन्छ। समय, परिस्थिति, चरित्र, स्थान र मनस्थितिअनुरूप डरले आफ्नो रङ बदल्छ। रङ बुझेर डरलाई दाउन जान्नुपर्छ। परिस्थितिअनुरूप डरलाई स्वीकार्न पनि जान्नुपर्छ, डरलाई तर्साउन पनि जान्नुपर्छ।

डरबाट बच्न यसलाई प्रतिरोध नगरी स्विकारेर तर्कसंगत विश्लेषण गर्दै उपयोग गर्नुपर्छ। मनमनै गीताको वचन पनि महसुस गर्नुपर्छ– जे भयो राम्रै भयो, जे हुँदै छ राम्रै हुँदै छ र जे हुनेछ राम्रै हुनेछ। हामीमा उत्पन्न हुने सबैभन्दा ठुलो डर आखिर मृत्यु नै हो। परिस्थितिअनुरूप मृत्युलाई समेत स्वीकार गर्ने मन पालौं त, अन्य सहायक डरको मात्रा आफै कम भएर जान्छ। कुनै पनि कुरालाई अति गम्भीर रूपले नसोचौं, बरु त्यसरी सोच्ने समयमा काम गरौं। कर्मसँगै डर कम भएर जान्छ। राम्रोसँग र सावधानीपूर्वक गरिएका कामले आफैंलाई डरमुक्त बनाउँछन्। महान् प्रयासहरूमा हार पनि गर्विलो हुन्छ। त्यसैले हार्नदेखि नडराऔं। कैयौं डरका घर भत्काउन एउटै साहसिक पाइला पनि पर्याप्त हुन्छ।  

प्रकाशित: १६ चैत्र २०८१ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App