२० चैत्र २०८१ बुधबार
image/svg+xml १९:४७ अपराह्न
कला/संस्कृति

भरिया

लघुकथा

गिलास फुट्ला जस्तै गरेर टेबलमा थेचार्‍याे र एउटा अदुवाको टुक्रा मुखमा राख्यो। त्यसपछि थोरै मुख बिगारेर जिब्रो ट्वाक्क पार्‍याे र उसले भन्यो, ‘लेखेर राख्नु है आजको?’ 

सुनमायाले भनी, ‘थुप्रो हुन आट्यो है बाँकी।’

‘दिन्छु के दिन्छु।’ उसले आश्वासन दियो।

‘तिम्रो माया लागेर आउँछ, तिमी जान्नेबुझ्ने भएर पनि किन यसरी रक्सी खान्छौ?’ भाउजूको माया लाग्दैन? रक्सी पिउन छोड दाइ।’ सुनमायाले सम्झाउन खोजी।

‘आफैं बेच्दछे, अझ भन्छे। हामीले नपिए कसलाई बेच्ने हो र?’ उसले जिस्कने पाराले भन्यो।

‘आफ्नै दाइ जस्तो लागेर भनेको नि।’ सुनमाया पनि भावनामा बगेजस्तै भई।

बाहिर हुँकिएको कार हेर्दै उसले भन्यो ‘देश र जनताका लागि लडेको हुँ म पनि, धेरै नसम्झाऊ।’ आफ्नो विगतमा अझै गर्व थियो उसमा।

सुनमायाले भनी, ‘सबै साथै हिंडेका साथी भन्छौ। उनीहरू कहाँ पुगे। तिमी यतै गल्लीमा भौतारिँदै छौ।’

उसको आफ्नै दिनचर्या सम्झेर ऊ आफैंलाई दिक्क लाग्दथ्यो। खास गरेर ऊ बेलामा रक्सी छुन पनि नछुने मान्छे अहिले रक्सीको कुलतमा फस्न पुगेको थियो।

‘मैले के गर्ने त अब? त्यतिबेला त उनीहरू पनि म जस्तै थिए।’ उसले कम्मरमा बाँधेको नाम्लो हातमा लिंदै भारी बोक्न तयारी अवस्थामा बस्यो।  

प्रकाशित: १० चैत्र २०८१ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App