२० चैत्र २०८१ बुधबार
image/svg+xml १५:५० अपराह्न
कला/संस्कृति

मिसन पत्रकारितामै जीवन

<br>

मेरे सीने में नहीं तो तेरे सिने में सही,

हो कहीँ भी आग, लेकिन आग जलनी चाहिए

कवि दुष्यन्त कुमारको गजल सापटी लिएर उनले २०७६ साल मंसिरतिर मिसन पत्रकारिताको महत्त्व राखेर एउटा लेख लेखेका थिए। आफूले सञ्चालन गर्दै आएको नेपाली कांग्रेसनिकट पुनर्जागरण साप्ताहिक पत्रिका बन्द भएपछि नेकपा एमालेनिकटको दृष्टि साप्ताहिक पत्रिकामा ‘मिसन पत्रकारितालाई फर्केर हेर्दा’ शीर्षकमा एउटा लेख लेखेका थिए। उनी अर्थात् वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत, जसले मिसन पत्रकारिता गर्दागर्दै जीवन बिताए।

राष्ट्रिय समाचार समिति (रासस) र प्रेस काउन्सिल नेपाल (२०६१ देखि २०६३ सालसम्म) का पूर्वअध्यक्ष, उही पुराना पत्रकार बस्नेतको ७९ वर्षको उमेरमा शनिबार निधन भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका कटुन्जेनिवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो त्यही उनको निधन भएको हो।

स्वर्गीय पत्रकार बस्नेत पत्रकार मात्रै होइनन्, उनी नेता पनि थिए नेपाली कांग्रेसका। सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनले ३० वर्ष लामो निर्दलीय तथा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र संसदीय प्रजातन्त्रको पुनर्स्थापनामा उनी संघर्षरत थिए। त्यसपछि २०४७ सालमा कांग्रेस, वाममोर्चा र राजाको संयुक्त प्रयासबाट जुन संविधान बन्यो, त्यसले प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यताका सम्पूर्ण सर्तको पालना गर्ने ग्यारेन्टी गरेकाले मिसन पत्रकारिताको औचित्य स्वतः समाप्त हुन पुगेको उनको विश्लेषण थियो। यही विश्लेषणसहित २०३८ सालदेखि सञ्चालन गर्दै आएको पुनर्जागरण साप्ताहिक पत्रिका बन्द गरे उनले २०७६ सालमा। आफू संस्थापक प्रकाशक अनि सम्पादक रहेको पत्रिका बन्द गरे पनि उनले मिसन पत्रकारितालाई छोडेनन्। त्यही कारण त्यही सालमा उनले लेखेका थिए दृष्टि साप्ताहिक पत्रिकामा ‘मिसन पत्रकारितालाई फर्केर हेर्दा’ शीर्षकमा लामो लेख।

खासमा भन्ने हो भने माथवरसिंह बस्नेत नेपाली मिसन पत्रकारिताका एक अगुवा हुन्, बस्नेतसँगै लामो समय पुनर्जागरण पत्रिकामै रहेर काम गरेका सहयात्री भक्तपुरका पुराना पत्रकार रत्न कोजू। बस्नेतको निधनले नेपाली मिसन पत्रकारिताको एउटा धरहरा ढलेको उनको विश्लेषण छ।

गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिय रहेका उनी गणेशमान सिंह स्मृति वाटिकाका समेत अध्यक्ष थिए। बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिएका थिए। मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन काराबासको सजाय दिइएको थियो।

२०३६ सालको जनमतसंग्रह अगाडि उनी जेलमा थिए। उनलाई राजकाज मुद्दामा आजीवन काराबास अर्थात् २० वर्षको जेल सजाय सुनाइएको थियो। जनमत संग्रहभन्दा २० दिनअघि आममाफी पाएर उनी जेलबाट छुटे। कृष्णप्रसाद पहिलोपटक प्रधानमन्त्री हुँदा बस्नेत प्रेस सल्लाहकार बनेका थिए। बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन्। बस्नेतको शनिबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

प्रकाशित: १० चैत्र २०८१ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App