संगीत भनेको के हो? भनेर कसैलाई सोध्यो भने उसले एक वाक्यमा जवाफ दिन्छ–गायन, वादन र नृत्यको सामूहिक रूप। सटिक जवाफ त्यही हो-गाउने, बजाउने र नाच्ने कलाको सम्मिश्रण नै संगीत हो। त्यसो भए संगीतकारलाई चाहिँ के भनिएला-जसले संगीत सिर्जना गर्छ वा बजाउँछ अथवा वाद्ययन्त्र बजाएर आफ्नो स्वरमा गाउन सक्छ, यस्तैयस्तै।
संगीत कर्ममा मन, वचन र कर्मले दत्तचित्त हुँदा पनि केही यस्ता मानिस छन्, उनीहरू अर्को पेसामा पनि उत्तिकै पोख्त छन्। संगीतकारका लागि समर्पण, क्षमता र सांगीतिक अनुरागीसँगको सुमधुर सम्बन्ध स्थापित गर्ने क्रममा भंग हुँदा सांगीतिक हतियारमा खिया लाग्न सक्छ।
नेपाली संगीतमा हिमालझैं उभिएका थोरै संगीतकार छन्। विदेशी संगीतको अतिक्रमणमा पहाडझैं उभिएर नेपाली संगीत संयोजन गर्ने संगीतकारहरूको खोजी हुन जरुरी छ। इतिहास हेर्ने हो भने कोलकाता गएर गीत रेकर्ड गरी नेपालमा प्रसारमा ल्याउने गरिन्थ्यो। त्यतिबेला नेपाली संगीतकारहरू औंलामा गन्न सकिने थिए। यस्ता संगीतकारमा नातिकाजी वा अम्बर गुरुङको नाम आउँछ। अझ यो विषयमा संगीतका अध्येताहरूले बढी बताउन सक्छन्।
आफ्नै पहिचान खोजिरहेको नेपाली संगीतको वास्तविक पहिचान दिलाउन तन, मन र जीवन अर्पण गरेका संगीतकारहरूले आफ्नो पहिचानलाई अनन्तकालसम्म जोगाउन सक्छन्। नेपाली संगीतको वास्तविक धुन वा लय र त्यसको मिठास कस्तो हुन्छ भन्ने कुराको वास्तविक पहिचान पनि यस्तै संगीतकारले दिने गर्छन्। कतिपय संगीतकारले आफूलाई वास्तविक पहिचानबाट टाढा राख्ने गर्छन्। नेपाली गीतसंगीतको क्षेत्रमा कति योगदानको छ भन्ने कुरा त त्यस्ता सिर्जनाहरू आफैं बोलिरहेका हुन्छन्।
संगीतले मात्रै जीवन धान्न सक्ने अवस्था निकै कमजोर रहेका बेला यसलाई वैकल्पिक पेसा बनाउने वा सोखका रूपमा प्रयोग गर्ने नेपाली संगीतबजारको एउटा विशेषता नै हो। नेपालमा हेर्ने हो भने प्रज्ञाप्रतिष्ठानमा जसले जागिर खायो, ऊ प्राज्ञको फुली भिरेर निस्क्यो भनेझैं रेडियो नेपालमा जागिरे हुनेजति गीतकार, संगीतकार मात्रै हुने। तर पछिल्लो ३० वर्ष यता यो भाष्य तोडिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा क्रियाशील रहेका सिर्जनशील व्यक्तिहरू गीत संगीतमा छन्।
यस्तै, सुरक्षा अंगमा कार्यरत रहेका कतिपय गीतकार, संगीतकारहरू बेलाबखत चर्चामा आउने र गुमनाम हुने गरेका छन्। यस्तै लामो समयदेखि गुमनाम भइरहेका संगीतकार हुन्-गैरे सुरेश। ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ’ गजल ६० को दशकको अन्तिम र ७० को दशकको सुरुमा धेरै बज्नेमध्येको एक थियो।
यो गजल नेपाली तन्नेरीमाझ लोकप्रिय थियो। त्यतिबेला उनी भन्ने गर्थे- मेरो सांगीतिक चिनारी नै ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ’ भन्ने गीत बन्यो। सुरक्षाकर्मीको जागिर, गीतको शब्द र संगीत सबैको मेल राम्रो भयो। मेरा लागि यो एउटा ठुलो अवसर भयो।
२०६२ साल जतिबेला देशमा सशस्त्र युद्ध चलिरहेको थियो। सशस्त्र युद्धमा सशस्त्र प्रहरीका तत्कालीन प्रहरी निरीक्षक सुरेश गैरे पर्वतमा आफ्नो देशले दिएको जिम्मेवारी पूरा गर्न कार्यरत थिए। सशस्त्र संघर्षमा बम, गोला, बारुदसँग लुकामारी खेल्नु त्यसबेलाको उनको दैनिकी थियो। ती दिनको सम्झनामा यो चर्चित गजलको सिर्जना भएको उनको भनाइ छ।
त्यतिबेला उनी आफ्नो बर्दी र संगीतलाई एकसाथ अघि बढाउन खोजिरहेका थिए। बम–बारुदलाई संगीतको मिठासमा लगेर जिन्दगीबाट बारुद बिर्साउने मनोरम माध्यम बनाए। अहिले द्वन्द्वको अवसान भइसक्यो।
मुलुक नयाँ खाले सामाजिक द्वन्द्वमा प्रवेश गरिसकेको छ। तर उनी अहिले यी सबै परिस्थितिलाई आफ्नो वशमा राख्न सकेका छैनन् अर्थात् गुमनाम छन्। यसबारे उनी कसैलाई केही बताउन चाहँदैनन्। कुनै बेला अनौपचारिक कुराकानीमा भन्ने गर्थे- म २०५४ मा काठमाडौं नआएको भए भारतीय सेनाको लाहुरे हुन्थेँ वा अरू केही। लेक्चरर बन्न उनी काठमाडौं आएका थिए। लेक्चरर बन्ने मौका नपाउँदै सशस्त्र प्रहरी बलतर्फ लागे। भारतीय सेनाको लाहुरे नभए पनि आफ्नै मुलुकको सीमा रक्षक सशस्त्र प्रहरी बलमा भर्ना भएकोमा उनी गर्व गर्छन्।
उनले संगीत भरेका गीत÷गजलले बजारको दायरा फराकिलो बनाउँदै गए। खासगरी ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ले बजारको दायरालाई फराकिलो बनायो। फरक उमेर समूह र वर्गका श्रोताका लागि लोकप्रिय रहेका यी गीतमा संगीत दिएपछि गैरे सुरेशलाई बन्दुकमा संगीत उनिएर क्षितिजमाथि फैलिन्छ। त्यसको स्वादले बारुद पनि आफ्नो परिभाषा बदलिएर रंगमञ्चमा मनोरञ्जनका लागि तमतयार भएको आभास दिन्छ। के संगीत उनको जीवनको भुलभुलैया थियो वा मनोरञ्जन।
अझ यसरी भन्न सकिन्छ, आफ्नो बर्दीधारी पेसाले संगीतलाई सर्लक्कै निल्यो। कहिलेकाहीं उनले आफूमाथिका हाकिमहरूको गीतमा संगीत भरेर समेत संगीतकर्म बचाएको अनूभूत गरिरहेका छन्। जब हृदयले मधुर स्वरलाई छुन खोज्छ, त्यतिबेला मानिस आफूलाई एकाग्र बनाउँछन्। संसारलाई जितेको अनुभूत गर्छन्।
सुमधुर आवाज, संगीतको ताल र शब्दले श्रोता र दर्शकको मन जितेको कुनै अत्तोपत्तो हुँदैन। जतिबेला थाहा पाउँछन्, आफ्नै संगीत हो होइन भन्नेमा अलमल पर्छन् अर्थात् आफैंले भरेको संगीतले यति धेरै प्रशंसा पाउला भन्ने सोचेका हुँदैनन्। गायकलाई प्रशंसाको भारी बोकाउने संगीतकार प्रायः गुमनाम हुन्छ। तर उनीहरू संगीतको क्षेत्रमा पर्दा पछाडिका नायक हुन्।
कृष्णहरि बरालले लेखेको गजल ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ,’मा संगीत संयोजन गरेपछि अन्य गीतमा संगीत भर्नका लागि उनलाई दौडधुप गर्नुपरेन। उनले कुनै बेला यही पंक्तिकारसँग भनेका थिए-संयोग कस्तो पर्यो भने दश मिनेटमा भरेको संगीत मेरा लागि वरदान भयो। यसो भनेको करिब डेढदशक पुग्न लाग्यो। उनले आफ्नो पुरानो सांगीतिक गरिमालाई कायम राख्दै संगीतमा हातेमालो गर्नुको साटो पुरानै ब्याचमा रमाउनुबाहेक अरू सक्रियता वर्तमानमा देखाएको देखिँदैन। सुरक्षा अंगमा जोसका साथ भर्ना भएका सुरेशले त्यतिबेला जोखिम मोलेर गजलको संगीत भरेका थिए। अहिले त्यो जोसलाई होसमा ल्याउन सकिरहेका छैनन्।
हुन त केही वर्षदेखि सशस्त्र प्रहरीको वार्षिक उत्सवमा बजाइने केही गीतहरूमा उनकै संगीत रहेको भेटिन्छ। संगठनभित्र संगीतकार भएका नाताले माथिल्लो तहका अधिकृतहरूले सोखका रूपमा रचेका शब्दमा संगीत भर्नु उनको दायित्व, कर्तव्य र मजबुरी हुनसक्छ।
शब्दरचनामा आफूले संगीत भरिदिँदा हामिकको नजिक हुन सकिन्छ कि भन्ने भ्रम पनि कहींकतै मनमा गढेको हुनुपर्छ वा सशस्त्र प्रहरीका विभिन्न जिम्मेवारीले उनलाई संगीतभन्दा टाढा राखेको हुनुपर्छ। उनका सिर्जनाले नै उनलाई चिनाइरहेका छन् तर दशकअघिको संगीतमा दशकपछि चिनिएकै छु भन्नुचाहिँ ‘बाजेको पालामा घिउ खाएको अहिले हातमा बासना आइरहेको छ’ भन्नुजस्तै हो।
प्रकाशित: २ चैत्र २०८१ १०:३३ शनिबार