१ चैत्र २०८१ शुक्रबार
image/svg+xml १९:४९ अपराह्न
कला/संस्कृति

इलाम साहित्य महोत्सव आजदेखि

साहित्य महोत्सवबारे जानकारी गराउँदै आयोजक। तस्बिर: भीम/नागरिक

चौथो इलाम साहित्य महोत्सव शुक्रबार (आज) सुरु हुँदैछ। साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले आयोजित महोत्सव शनिबारसम्म चल्ने छ।  

सदरमुकामको सिटीहलमा आयोजना गरिएको महोत्सवमा नेपालसहित भारतका सिक्किम, सिलिगुडी, दार्जिलिङ र बंगलादेशका साहित्यकार, लेखक तथा कलाकर्मी भेला हुँदै छन्। इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजले आयोजना गर्ने महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, अध्यात्म, पर्यटन, वातावरण, प्रविधिलगायत करिब डेढ दर्जन विषयमा बहस हुने छ।  

आयोजक प्रतिष्ठान अध्यक्ष प्रकाश थाम्सुहाङले डेढ सयभन्दा बढी आगन्तुक महोत्सवमा भेला हुने जानकारी दिए। तीन वर्षयता सञ्चालन गरिएका महोत्सवले पनि जिल्लाको साहित्य क्षेत्रका गतिविधि जगाइराख्न सहयोग गरेकाले यसलाई निरन्तरता दिइएको उनको भनाइ छ।

अहिले बिहान साढे ९ बजे ठूलो टुँडिखेलबाट प्रभातफेरी सुरु भइ सिटी हलसम्म पुगेपछि कार्यक्रम सुरु हुने आयोजक इलाम साहित्य समाजका अध्यक्ष सुरेन्द्र राईले बताए। उनका अनुसार कार्यक्रमको अन्तिम तालिका आउन बाँकी छ। ‘सुरुमा सार्वजनिक गरिएको तालिका परिमार्जित भएको छ,’ उनले भने, ‘कार्यक्रम सुरु हुने बेलासम्म नयाँ र अन्तिम तालिका आउनेछ।’

इलाम नगरका मेयर केदार थापाले ग्रामीण अर्थतन्त्र उकास्न पनि साहित्य महोत्सवले सघाउने बताए। ‘दर्जनौं विषयमा बहस, छलफल र कला प्रदर्शनीबाट इलाममा साहित्यको वातावरण सिर्जना गर्नु, समीक्षाको थलो इलामलाई बनाउनु आफैँमा गौरवको काम हो,’ उनले भने, ‘देश र विदेशका विद्वान् व्यक्तित्वको सहभागिता हुने भएकाले महोत्सव आफैँमा ओजपूर्ण हुने आशा छ।’

प्रकाशित: १ चैत्र २०८१ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App