१० चैत्र २०८१ आइतबार
image/svg+xml
कला/संस्कृति

कलाकार सपुत ‘परालको आगो’ मा अनुबन्धित

कथाकार गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथामा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’ मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्।

फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई फिल्ममा अनुबन्ध गरेका हुन्। मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिइसकेको छ। ‘परालको आगो’ मैनालीको कथासंग्रह ‘नासो’मा सङ्गृहीत छ।

निर्माता पोखरेलकाे अनुसार फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन् प्रकाश। यसअघि प्रमुख कलाकारका रूपमा जितु नेपाल र सुहाना थापा अनुबन्धित छन्। निर्माता पोखरेलले चामे, गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितु र प्रकाशको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्नेचाहिं अहिले सस्पेन्समा नै राखेको बताए।

फिल्ममा सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य-स्वरुपराज आचार्यको संगीत हुनेछ। फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन्।

निर्माता पोखेलका अनुसार फिल्मको प्रदर्शन २०८२ मा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए।

निर्माता पोखरेलले यसपटक फरक किसिमले लोकेसन, प्रस्तुतीकरण र पटकथा प्रस्तुत गर्न लागेको बताए। फिल्ममा निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने छ। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौंथलीको झैंझगडा प्रस्तुत गरिएको छ।

निर्माता पोखरेलले यसअघि फिल्महरू ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन्।  

प्रकाशित: २९ फाल्गुन २०८१ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App