नेपालको मध्यपहाडी भागमा एउटा ज्यामिरे भन्ने गाउँ थियो। उक्त गाउँ दुर्गम क्षेत्रमा थियो। सहरबाट बिहानै हिंड्दा पनि बेलुकी मात्र पुगिन्थ्यो। गाडी चल्दैनथ्यो। त्यहाँ पढेलेखेका मानिसहरू थोरै थिए। गाउँमा एउटा स्वास्थ्य चौकी पनि थियो। उक्त स्वास्थ्य चौकीमा एक अहेव र कार्यालय सहयोगीको दरबन्दी थियो।
अहेवमा विनोद शर्मा थिए भने कार्यालय सहयोगीमा अर्जुन थिए। विनोद प्रायः सहरतिरै बस्दथे, कहिलेकाहीँ मात्र स्वास्थ्य चौकी आउँथे। त्यसैले उनलाई कमैले मात्र चिन्दथे। अर्जुन स्वास्थ्यचौकीमै बस्दथे। उनले स्वास्थ्यसम्बन्धी केही तालिम पनि लिएका थिए। उनी स्वास्थ्यचौकीमा जचाउन आउने बिरामीहरूलाई ज्वरो नाप्ने र औषधि दिने, झाडापखाला लगायतका औषधि आफैं दिन्थे र सलाइन पानी चढाउनेसम्मको क्षमता राख्दथे।
गाउँघरमा एकदमै घुलमिल थियो। गाउँमा उनलाई नचिन्ने कोही थिएनन्। गाईभैंसी बियाए पनि बिगौती खान बोलाउँथे। पूजापाठ, न्वारान, पास्नी आदिमा पनि उनलाई कसैले छुटाउँदैनथे।
गाउँमा उनलाई डाक्टर साहेब नै भनेर बोलाउँथे। उनलाई पनि गाउँमा कस्को गाई ब्याउने छ , भैंसी ब्याउने छ अनि कसको कति बाख्रा छन् भन्नेदेखि कसको खेतबारी कहाँ छ, सबै थाहा थियो। बिहेमा जन्ती जानेदेखि मर्दा मलामीमा पनि साथै हुन्थे।
एकदिन गाउँमा स्वास्थ्य शिविर बस्ने भयो। सहरबाट ठूलाठूला विशेषज्ञ डाक्टरहरू आउने भए। गाउँभरि अर्जुनले नै खबर पुर्याए। डाक्टरहरूलाई खानेबस्ने व्यवस्था अर्जुनले नै मिलाए। भोलिपल्ट ८ बजेदेखि नै शिविर सुरु भयो। गाउँलेहरू जचाउन आए। एकजना बूढीआमा पनि जचाउन आइन्। उनलाई टोकन दिइयो। पालो आएपछि उनी ५ नं. कोठामा गइन् र मेचमा बसिन्। जब डाक्टरले जाँच्न लागेका थिए, उनी त्यहाँबाट उठिन् र भनिन् - मलाई त हाम्रै डाक्टरसाहेबले जाँच्नुपर्छ।
प्रकाशित: २८ फाल्गुन २०८१ ११:५२ बुधबार