२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/संस्कृति

जीवन दुख्छ आफैंभित्र हजारौं यी पीडासँगै!

गीत

१) गीत

नकोर सलाई यहाँ दिल जलिसकेको छ

चितामाथि सपना आफै बलिसकेको छ

डर लाग्दैन अचेल देखेर निष्पट्ट रातहरू

भर लाग्दैन अचेल फूल भरेका हातहरू

नदेखाउ रातो घाम दिन ढलिसकेको छ

नकोर सलाई यहाँ दिल जलिसकेको छ

फाट्नु त रहेछ जीवन किन सिउनु पर्यो र?

डराईडराई फेरि त्यो  किन पिउनुपर्यो र?

नभन नपिउनु मलाई बानी परिसकेको छ

नकोर सलाई यहाँ दिल जलिसकेको छ।

२) गीत

जीवन शब्दमा उस्तै नि, कथा सबको फरक हुन्छ

पीडा शब्दमा उस्तै भए नि, दुखाइ सबको फरक हुन्छ

हाँस्छन् कोही सुखमा कोही दुस्खमा पनि

रुन्छन् कोही दुखमा कोही खुसीमा पनि

हँसाइ शब्दमा उस्तै भए नि खुसीको सीमा फरक हुन्छ

रुवाइ शब्दमा उस्तै भए नि भोगाइको मात्रा फरक हुन्छ

जीवन गन्तव्य हिंड्नु छ फेरि जसरी पनि,

सबै यी छाडेर जीवन चल्छ यसरी पनि

हिंडाइ शब्दमा उस्तै भए नि, गन्तव्य सबको फरक हुन्छ

थकाइ शब्दमा उस्तै भए नि, बिसाउने ठाउँ फरक हुन्छ।

३) गीत

हरिणीको चाल तिम्रो, छालझैं कपाल तिम्रो

कपासझैं मन तिम्रो, वसन्तझैं यौवन तिम्रो

सक्तिनँ म सक्तिनँ सम्हाल्न आफूलाई,

जल्छ त्यसै यो मन नकोरी सलाई

कोइलीको आवाज तिम्रो, इन्द्रेनीको लवज तिम्रो

चन्द्रमाको ताज तिम्रो, तलाउको राज तिम्रो

सक्तिनँ म सक्तिनँ सम्हाल्न आफूलाई,

जल्छ त्यसै  यो मन नकोरी सलाई

लोलाएको नजर तिम्रो, उन्मत्त त्यो अधर तिम्रो

केशराशिको लहर तिम्रो, जताततै छ असर तिम्रो

सक्तिनँ म सक्तिनँ सम्हाल्न आफूलाई,

जल्छ त्यसै यो मन नकोरी सलाई।

४) गीत

मन तोड्ने धेरै हुन्छन् जोड्ने यहाँ कोही थ्यो कि,

जीवन झारले घेरिएछ गोड्ने यहाँ कोही थ्यो कि

जीवन दुख्छ आफैभित्र हजारौं यी पीडासँगै

सिरानीमा आँसु खस्छ साथी हुँ नि तिम्रो भन्दै

आँसु झार्ने धेरै हुन्छन् पुछ्ने यहाँ कोही थ्यो कि

कहानी यो भन्ने  थिएँ  बुझ्ने यहाँ कोही थ्यो कि

गुनासो त छैन फेरि भत्की हरदिन बाँच्नु छ नि

यो मन एक पुरातत्त्व यसलाई साँची राख्नु छ नि

मन भाँच्ने धेरै हुन्छन् जोड्ने यहाँ कोही थ्यो कि

जीवन झारले घेरिएछ गोड्ने यहाँ कोही थ्यो कि।

५) गीत

किन दुख्थ्यो र यो मन, तिमी टेकेर हिँड मलाई

बालुवाको अक्षर न हूँ म, फेरि मेटेर हिँड मलाई

सहेकै छु लाखौं पीडा देखाउनु छैन यो मलाई

त्यो साङ्ग्रिलाको सपना भेटाउनु छैन मलाई

किन दुख्थ्यो र यो मन, तिमी टेकेर हिँड मलाई

हरपल रेटिएकै त छु नि, फेरि रेटेर हिँड मलाई

बाटै त  हूँ म फेरि हरपल टेकिनु मेरो कर्म

जे फाल्छन् मान्छे ममाथि सहनु मेरो धर्म

किन दुख्थ्यो र यो मन, तिमी टेकेर हिँड मलाई

तिम्रै अघि लडेको छु,बस् देखेर हिँड मलाई।

(मेरो गीत मेरो प्रतिविम्ब गीतसङ्ग्रहमा संगृहीत।)

प्रकाशित: २३ फाल्गुन २०८१ १३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App