३ चैत्र २०८१ आइतबार
image/svg+xml १:२३ पूर्वाह्न
कला/संस्कृति

‘हामी र हाम्रो मुक्तकसंग्रह’काे लाेकार्पण

‘हामी र हाम्रो कृति समाज’ ले ‘हामी र हाम्राे मुक्तकसंग्रह’ काे लाेकार्पण गरेकाे छ। ‘हामी र हाम्रो कृति समाज’ का संस्थापक अध्यक्ष मदन नेपालकाे अध्यक्षता र नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईकाे प्रमुख आतिथ्यमा मुक्तकसंग्रहकाे लाेकार्पण गरिएकाे हाे।

हामी र हाम्रो कृति समाजले प्रकाशन गरेकाे २०औं कृति ‘हामी र हाम्राे मुक्तकसंग्रह’ मा १११ स्रष्टाका १३३२ मुक्तक संग्रहीत छन्।

दुई खण्डमा प्रस्तुत गरिएको कार्यक्रममा पहिलो खण्डमा पुस्तकको लोकार्पण भएको थियो भने दोस्रो खण्डमा अग्रज ९ मुक्तकारले मुक्तक वाचन गरेका थिए।

कार्यक्रमको दोस्रो खण्डकाे अध्यक्षता वरिष्ठ साहित्यकार उषा शेरचनले गरेकी थिइन्।अग्रजलाई सम्मान हाम्रो अभियान शृङ्खलाअन्तर्गत हामी र हाम्रो कृति समाजले एउटै मञ्चमा वरिष्ठ ९ अग्रज साहित्यकारलाई प्रस्तुत गरेको थियो।

उक्त वाचन कार्यक्रममा अग्रज साहित्यकारहरु उषा शेरचन, ज्ञानुवाकर पौडेल, रामकाजी कोने, राधेश्याम लेकाली, यादव भट्टराई, रमेश पौडेल, प्रकाश बस्नेत गफाडी, सुवासचन्द्र ढुंगेल, डा. गोपाल पौड्याल मण्डनेलाई मञ्चमा प्रस्तुत गरिएको थियो।

पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष नम्रता उप्रेती, सुधा बाँस्कोटा र मन्दा पौडेलले मञ्चमामा आसीन सम्पूर्ण अतिथिलाई फूलमाला अर्पिएका थिए।

हामी र हाम्रा कृति समाजका सदस्य नवराज नवशिलाले सञ्चालन गरेकाे कार्यक्रममा प्रमुखअतिथि भुपाल राईले हामी र हाम्रो कृति समाजले अहिलेसम्म गरेका कार्यबारे धन्यवाद प्रकट गरेका थिए।

उनले हामी र हाम्रो कृति समाजले आफ्नो स्थापनाको छोटो अवधिमा नै नेपाली साहित्यको जगेर्ना गर्ने र प्रतिभाहरूको उजागर गर्ने सराहनीय कार्य गरेको भन्दै हामी र हाम्रो कृति समाजको प्रशंसा गरेका थिए।

उनले हामी र हाम्रो कृति समाज मोफसलमा रहेका स्रष्टाहरूको समेत अभिभावक भएर कृति प्रकाशन गरिरहेकोमा आफू गौरवबाेध भएको बताए।

कार्यक्रममा सुभद्रा अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् भने हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेतीले कार्यक्रमबारे जानकारी दिएका थिए।

कार्यक्रममा हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले शुभकामना मन्तव्य राख्दै हामी र हाम्रो कृति समाजले गरेको कार्य निकै प्रशंसनीय रहेको बताए।

संस्थाका अध्यक्ष मदन नेपालले स्रष्टाहरूसितकाे सहकार्यबाट एतिहासिक कार्यक्रम गर्न सफल भएकाे बताए। हामी र हाम्रो कृति समाजले साधारण सदस्यहरूबाट सदस्यता शुल्क बापत उठाएको रकमले यो कार्यक्रम गर्न सम्भव भएको र सम्पूर्ण स्रष्टालाई धन्यवाद ज्ञापन गरेका थिए। 

प्रकाशित: १८ फाल्गुन २०८१ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App