नि हाव/नमस्ते
चाव साङ हाव/शुभ प्रभात
च्यायो च्यायो/हरेस नखाउ, जारी राख
०००
नि छोङ नाली ?/तिमी कहाँबाट आएको ?
नि न ?/तिमी नि?
छोङ हुपेई/हुपेई (प्रान्त)बाट।
नेपाल ओइरिएका चिनियाँ पर्यटकबिच यस्तै संवाद मनग्य सुनिन्छ यतिबेला ठाउँठाउँमा। अन्नपूर्ण पदमार्गको क्रममा हुपेई प्रान्तबाहेक सिचुआन, सानसी, सानतोङ हेइनानलगायतका प्रान्तबाट आएका सयौं संख्याका चिनियाँ पर्यटक भेटिए।
चिनियाँ आपसमा हार्दिकतासाथ खुलेर कुराकानी गर्छन्। सकारात्मक पक्ष लाग्छ चिनियाँ नागरिकको यो शैली। कहिल्यै देखभेट नभएको अपरिचित व्यक्तिसँग पनि कत्ति नहिचकिचाई बातचितमा साटिन्छन्। मानौं लामो समयदेखि बिछोडिएको आत्मीय साथीसँग अकस्मात पुनर्मिलन भएको हो।
विश्वकै सर्वाधिकार जनसंख्या (नेपालको भन्दा झन्डै ४६ गुना बढी/एक खर्ब ४१ करोड) भएको चिनियाँ नागरिकबारे बताउन पक्कै सजिलो छैन।
चिनियाँजति फोटो खिच्नमा सौखिन अरू पर्यटक भेटेको छैन मैले। अनेक मुद्रा र भावभङ्गीमा खिचिएका तस्बिरबाट प्रभावित हुन सक्छन्। कामप्रति सदैव लगनशील र जागरुक। अरूलाई प्रभाव पार्न पनि सिपालु हुन्छन् चिनियाँ नागरिक। सायद यिनै गुणका कारण आज संसारभर जति नै प्रतिकूल ठाउँ–परिवेश किन नहोस्, उत्तिकै उन्नति–प्रगति गर्न सकेका छन् चिनियाँले।
प्रायः पुराना पुस्ताका चिनियाँ पर्यटक अंग्रेजी बोल्न र बुझ्न मेसो नपाए तापनि नयाँ पुस्ताका केही युवावर्ग दक्ष भएर निस्केका छन्। अंग्रेजी भाषा सिक्नकै लागि भनेर विदेशी मुलुक पुगेका छन् कतिपय चिनियाँ युवा। अंग्रेजी भाषाप्रति चिनियाँ सरकारले दिइरहेको जोडबल। साथै यसप्रति विद्यार्थीद्वारा देखाइएको मोह, उत्साह अनि जिज्ञासाका कारण अंग्रेजी जान्ने युवाहरूको संख्यामा तीव्रता आएको छ दिन प्रतिदिन।

यतिबेला नेपालमा चिनियाँ पर्यटकको चहलपहल र बाहुल्य ह्वात्तै बढेको छ। अन्नपूर्ण र सगरमाथा आधारशिविर पदमार्गमा ९९ प्रतिशत त चिनियाँ पर्यटकले भरिएका छन्। नेपाली र अरू देशका पर्यटक मिलाएर बल्लतल्ल एक प्रतिशत पुग्ला। यो जाडोको प्रतिकूल याममा पनि चिनियाँ पर्यटकको प्रचुरताको कारण शयन कक्ष भरिभराउ छन् कतिपय ठाउँका होटल।
पदयात्राबाहेक चिनियाँ पर्यटकको रोजाइका स्थान हुन्– काठमाडौं, पोखरा, नगरकोट, चितवन र लुम्बिनी। हिजोआज गन्तव्यहरूमा पनि बाक्लो उपस्थिति छ चिनियाँ पर्यटकको। नेपालका अन्य पर्यटकीय थलो चकमन्न छाएको छ। तर उल्लिखित पर्यटकीय थलो भने चिनियाँमय बनेका छन्।
चीनका विभिन्न प्रान्त (जम्मा २३ प्रान्त)बाट चिनियाँ पर्यटक नेपालमा ओइरिनुको प्रमुख कारण हो– चिनियाँको वसन्त चाड ‘छुन्चे’। यही चाडमा फेरिन्छ चिनियाँको नयाँ वर्ष। यस वर्ष माघ १६ (जनवरी २९) को दिन नयाँ वर्ष सुरु भयो चिनियाँको।
उत्सवमा उमंगित हुँदै १५ दिन अर्थात् माघ ३० सम्म मनाउँछन्। तर यसको बिदा एक महिना अगाडिबाट सुरु भएर एक महिनापछिसम्म दिइन्छ। जुन अवधिमा मेसो मिलाएर बिदा लिन्छन् कामदार/ कर्मचारीहरू। यही बिदाले दिलाएको अवसर सदुपयोग गर्ने क्रममा यता पनि ओइरिएका हुन् चिनियाँहरू।
नेपाली पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको इतिहास त्यति पुरानो छैन। त्यति लामो पनि छैन, यसको उकाली ओराली पनि।
सन् २००२ मा नेपालस्थित चिनियाँ दूतावासले केही व्यक्तिगत चिनजानका र केही आफ्नै प्रयासबाट चिनियाँ नागरिक नेपाल भित्रिए। यो नै चिनियाँको पहिलो आगमन थियो पर्यटकका रूपमा।
सन् २००३ मा बाहिरी मुलुक घुम्न जान पाउने खुला नीति चिनियाँ सरकारबाट अवलम्बन भयो। यसपछि मात्र नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा बढोत्तरी भएको हो। सुरुवाती दिनमा चिनियाँ पर्यटक भिœयाउन अरनिको ट्राभल, पोखरा ट्राभल, काठमाडौं–ल्हासा ट्राभल, सूर्य ट्राभल, फेवा ट्राभल, साथी ट्राभल, शिव ट्रेकलगायतले महत्त्वपूर्ण भूमिका खेल्यो।
सन् २००५ देखि सन् २०१५ को महाभूकम्प अगाडिसम्म अत्यधिक चिनियाँ पर्यटक भित्रिएको तथ्यांकले देखाउँछ।

आय आर्जनको हिसाबले सन् २००३ देखि सन् २००८ सम्मको समयावधि सर्वाधिक फलदायी रह्यो चिनियाँ पथप्रदर्शक (गाइड)का लागि। जतिबेला एक पथप्रदर्शकले ५०÷६० जनासम्म चिनियाँ पर्यटक सम्हाल्थे। पारिश्रमिकबाहेक प्रतिदिन प्रतिव्यक्ति कम्तीमा सात डलर बक्सिस बापत पाउँथे। कुनै दिन त योभन्दा बढी अतिरिक्त कमाइ हुन्थ्यो– थान्का, रुद्राक्ष खरिद गराइदिए बापत प्राप्त हुने सयकडा दस्तुर (कमिसन)बाट।
हुन त अहिले पनि यसप्रति खासै लगाव/आकर्षण घटेको छैन चिनियाँ पर्यटकको। तर अहिले चिनियाँ नै व्यापारी भएर निस्के चिनियाँको आवश्यकता पूर्ति गर्न। सन् २०१९ को अन्तिम महिनाबाट कोरनाको कारण सुक्दै गयो चिनियाँ पर्यटक व्यवसाय र पर्यटकको संख्या कोरोना निराकरण भइसकेपछि सन् २०२३ को मार्च १५ सम्म शून्यमा झ¥यो।
तर २०२३ मार्च १६ देखि चिनियाँ पर्यटक पुनः आउन थाले नेपालमा तर त्यसपछि हालसम्मको चिनियाँ पर्यटकको बजार सर्वाधिक खस्केको दुरावस्थामा छ। कतिसम्म भने पहिला आठ दिनको प्याकेजमा तीन सय डलर बुझेका त्यही पुराना चिनियाँ पथप्रदर्शकले अहिले त्यही अवधिको प्याकेज चलाउँदा बिनापारिश्रमिक २० हजार रूपैयाँमा पाउँछन्। त्यो पनि महिनामा मुस्किलले एक वटा मात्र।
पथप्रदर्शकको कुरा मात्र होइन। चिनियाँ पर्यटक चलाउने कम्पनीहरूको फाइदा पनि हिउँदमा खोलाको पानी घटे जसरी घटेको छ। कुनै कुनै चिनियाँ पर्यटकबाट त १०/१५ डलर नाफा जोगाउन पनि मुस्किल छ।
चिनियाँ पर्यटन बजार बर्खाको बाटो बिग्रेजसरी आजको नाजुक अवस्थामा त्यत्तिकै आइपुगेको भने होइन। यसका एक होइन, अनेक कारण छन्। पहिलो कारण हो, नेपाली कम्पनीहरूबिच अस्वस्थ प्रतिस्पर्धा हुनु। त्यसमाथि चिनियाँ एजेन्ट र समूह नाइकेको संख्या बेहिसाब बढ्नु दोस्रो कारण हो।
प्रायः पहिलोपटक नेपाल घुम्न आएका समूहबाट कुनै न कुनै एक चिनियाँ नाइके बन्नु। जसले अर्को पटक नेपाल आउँदा आफैंले नेतृत्व र पथप्रदर्शकको दुवै काम गर्नु। चिनियाँको अनियमितता र अवैधतामाथि सम्बन्धित निकाय चुपचाप बस्नु। अर्थात् नियन्त्रण नहुनु तेस्रो प्रमुख कारण मान्न सकिन्छ।
प्रकाशित: १७ फाल्गुन २०८१ १०:०९ शनिबार





