सुदूरपश्चिमको ‘सुदूर’ शब्द सुदूरपश्चिमेलीहरूका लागि प्राणजत्तिकै प्यारो भइसकेको छ। पञ्चायतकालमा प्रशासनिक क्षेत्र विभाजन र नामकरणका सन्दर्भमा काठमाडौं केन्द्रित पूर्वीय प्रशासकहरूले कर्णालीपारिलाई सुदूरपश्चिम न्वारान गरिदिए। सङ्घीय गणतन्त्र कालमा आफ्नो प्रदेशको नाम आफैं राख्ने मौका पाउँदा पनि ‘सुदूरपश्चिम प्रदेश’ नै राखियो। सात प्रदेशमध्ये विवादरहित सर्वसम्मत नामकरण भएको प्रदेशमध्ये एक सुदूरपश्चिम हो। त्यसैले अब उनीहरू ‘सुदूर’ शब्दलाई पुग्न कठिन भएको, टाढाको स्थान भन्ने अर्थसँग भन्दा पनि आफ्नो पहिचानसँग जोडेर बोध गर्छन् र भन्छन्– ‘सुन्दर सुदूरपश्चिम’।
इलामेली लेखक तारानाथ शर्माले चित्रण गरेजस्तो घनघस्याको विकटताको नाम मात्र होइन सुदूरपश्चिम, वास्तवमा यो धार्मिक, प्राकृतिक र सांस्कृतिक सौन्दर्यको राजधानी हो। त्यसमा पनि नयाँ मुलुक भनिने चार जिल्लाका समथर भूमि र पहाडलाई जोड्ने चुरेक्षेत्र आफैंमा धर्म, संस्कृति र प्रकृतिको सङ्गम स्थल हो।

कञ्चनपुरको एउटा कार्यक्रममा गएको अवसरमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक वासु वस्ती सरले ‘मौकामा घुम्ने अवसर पनि छाड्न हुँदैन है साथीहरू हो’ भन्दै हामीलाई महेन्द्रनगरबाट पूर्वतिर दैजीबजार र त्यहाँबाट करिब १३ किलोमिटरजति उत्तर चुरे पहाड लिएर जानुभयो। ‘वासु सरले त हामीलाई बाँदर पुर्खा सम्झेर जङ्गलतिर पो लिएर आउनुभयो त,’ शिक्षा विकास तथा मानव स्रोत केन्द्रका निर्देशक गौरीशङ्कर पाण्डे सरले मजाक गर्नुभयो। एकै छिनमा हाम्रा दुईवटा स्कारपियो जिप जङ्गलबिचमा अवस्थित सुन्दर तालको किनारमा अडिए। ‘हो रहेछ, हाम्रो पुर्खाकै थलो आइपुगिएछ किनभने हाम्रो सभ्यता यस्तै नदी र तालको किनारबाट नै सुरु भएको हो।’
सामाजिक विषय विज्ञ दामोदर न्यौपाने सरले हाँस्दै भन्नुभयो। हामी वेदकोट ताल आइपुगेका थियौं।
गाडीबाट झर्नेबित्तिकै सेता राजहाँसको एउटा बथानले हाम्रो स्वागत गर्यो। ती भर्खर ५८० मिटर लम्बाइ र २६० मिटर चौडाइ भएको नदीको कञ्चन जलमा सयर गएर बाहिर आउँदै रहेछन्। हाँसका सेता प्वाँखजस्तै सफा थियो त्यहाँको परिवेश, कञ्चन जलजस्तै शान्त थियो वातावरण। हामीलाई तालको किनारमा लगेर स्थानीय दाह्री बाबाले त्यसको धार्मिक पुराकथा सुनाउन थाले। तालहरूको सहर कास्कीमा जन्मिएका विष्णु आचार्य सर क्यामेरामा भिडियो दृश्य कैद गरिरहनुभएको थियो।
हामीले थाहा पायौं– नदीकिनारमा आराध्यदेव शिवको मन्दिर छ, जहाँ प्राचीन कालमा कामधेनु गाईले दुध चढाउने गरेको मिथकीय सन्दर्भ, पाण्डवहरूले स्वर्ग प्रस्थान गर्ने क्रममा वेदधुनी जगाएकाले यहाँको नाम वेदकोट रहन भएको जनश्रुति, वरिपरि अग्ला रुखहरूले पहरा दिइरहेको तालमा रुखको पात नखस्ने दैवीशक्ति रहेको जनविश्वास, वैजनाथ बाबाले तपस्या गरेको स्थल हो वेदकोट ताल।

स्थानीय सरकारले यस क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा काम गरिरहेको प्रमाण ताल वरपरका भौतिक निर्माणले दिइरहेको थियो। तालको वरिपरि घुम्न मिल्ने बाटो निर्माण गरिएको छ।
हाम्रो समूह सैनिक परेडको तालमा परिक्रमा गर्न थाल्यो। त्यसमा ७० वर्ष उमेरकी हाम्री जापानी दिदी जुन्को फुनाकी पनि रमाउँदै ३५ बर्से जोस निकालेर रमाइलो मानी हिँडिरहनुभएको थियो। तालको एकछेउमा त्रिशूलहरू गाडिएको एउटा रुख देखाउँदै वासु सरले भन्नुभयो, ‘परबाट त्रिशूल हानेर वर माग्ने ठाउँ हो है योचाहिँ।’
त्यसभन्दा अलि अघि गएपछि प्राकृतिक रूपमा नै तातो पानी आउने धारासँग पनि हाम्रो जम्काभेट भयो। ‘शिवरात्रीमा विशेष मेला लाग्ने यस ठाउँमा वनभोज, विवाह, व्रतबन्ध आदि कार्य पनि हुने गरेका छन्,’ गाडी चालक राजु भाइले पनि हाम्रो उत्सुकतालाई मेटाउने प्रयास गरिरहेका थिए।
गाडीमा चढ्ने बेलामा वसन्तराज ढकाल सरले भन्नुभयो, ‘नेपालीलाई जस्तो हतार कसैलाई हुँदैन। यहाँ आएर पनि ६० फिट अग्लो भ्यु टावरमा चढ्न पाइएन।’ जवाफमा कञ्जनपुरका जाइका प्रतिनिधि तथा पूर्व जिशिअ भीम साउद सरले भन्नुभयो, ‘यहाँबाट कञ्जनपुरको समथर फाँट राम्रोसँग देख्न पाइन्छ।’
तर हामीलाई अर्को पर्यटकीय स्थल लिङ्गा पुग्नु थियो।
वेदकोट तालबाट करिब १५ मिनेटको मोटर यात्रापछि चुरेक्षेत्रको गगुनखोलाको किनारमा पुग्दा बढो रोमाञ्चक दृश्यले हामी स्तब्ध भयौं। खालापारि चुरे पहाडको अग्लो पहरामा लिङ्ग आकारका थुप्रै ढिस्का थिए। ‘ओहो ! अहिले त पहिरोले बिगारेछ नि, पहिले त कति राम्रो थियो।’
वासु सर यसअघि पनि आएकाले हामीलाई नयाँ स्वाद चखाउने काम उहाँले नै गरिरहनुभएको थियो। पहिराले केही क्षति गरेको भए पनि लिङ्गाकारका ढिस्काहरू सुन्दर देखिएका थिए। हामीले खोलावारिबाटै फोटा खिच्यौं। वारिपट्टि लिङ्गेश्वर महादेवको मन्दिर र केटाकेटी पार्क बनाइएका रहेछन्। साँझ परिसकेको हुनाले हामी बाटबाटै तिनको दृश्यपान गरी फर्कियौं।
फर्किंदै गर्दा मैले भनेँ, ‘यस क्षेत्रमा नामका पछि आकार थप्ने चलन रहेछ, जस्तै: फाँट शब्दलाई फाँटा (शुक्लाफाँटा), लिङ्ग शब्दलाई लिङ्गा बनाइएको रहेछ।’ तत्कालै गौरी सरले टिप्पणी गर्नुभयो, ‘तपाईंको नेपाली भाषा र साहित्यको अध्ययनले त्यस्तो थाहा पाएछ। हो क्यारे।’
प्रकाशित: १७ फाल्गुन २०८१ ०९:५२ शनिबार