३ चैत्र २०८१ आइतबार
image/svg+xml १:३३ पूर्वाह्न
कला/संस्कृति

भोक महात्म्य

निबन्ध

जनस्वास्थ्यविद् डा. नरनाथ पाण्डे भन्छन्– ‘भोक लाग्नु प्राकृतिक प्रक्रिया हो। भोकको तात्पर्य शरीरले खाना माग गर्नु हो। मानिस स्वस्थ रहेको सूचक पनि हो भोक। ग्रेह्रिन हार्माेन हाम्रो आमाशयमा उत्पादन भएर त्यसले हामीलाई भोक लगाउँछ।’

के तपाईंलाई थाहा छ-भोक लाग्दा पेट बाउँडिन्छ। आन्द्रा बटारिएजस्तो हुन्छ। जब म कहिलेकाहीं समयमै खानेकुरा खान पाउँदिनँ वा खाने मेसो मिल्दैन, त्यो बेला मैले यस्तो भोगेको छु। सायद सबैको भोक लाग्दाको भोगाइ यस्तै पो हुन्छ होला? कि तपाईंको फरक छ? अनि बढी भोक लाग्नु पनि ननिको हुन्छ नि। यसले हाम्रो स्वास्थ्य बिगार्न सक्छ। निश्चित समयमा भोक लाग्नु त राम्र्रो कुरा हो नि फेरि।

शब्दकोशले भोकको पूरै अर्थ लाउन सकेको छैन। सायद म सामान्य अल्पबुझाइको मान्छे भएर पो यस्तो लागेको हो कि? त्यहाँ त अथ्र्याइएको छ- ‘आहाराको आवश्यकताको अनुभव’, ‘कुनै चिज भोग्ने उत्कट अभिलाशा, इच्छा’। यो पछिल्लो अर्थ चाहिँ अलिक विहङ्गम छ कि भन्ने लाग्छ।

नयाँ सोचाइ आउँछ मान्छेमा। नयाँ कुरा सिक्ने चाहना हुन्छ। नयाँ मान्यता स्थापित गराउने रहर जाग्छ। दुनियाँलाई आफ्नो विचारले जित्न मन लाग्छ। आफ्नो अनुशरण अरूले गरिदिऊन् जस्तो लाग्छ। अनुयायी धेरै बनाउन मन लाग्छ। समर्थकको भिड जमाउन मन लाग्छ। तपाईंलाई लाग्छ कि लाग्दैन्? यी सबै कुरा हाम्रा मनका भोक हुन्। को बन्न चाहन्छ र अहिलेको कलियुगमा सुदामा? सबैलाई धनी हुन मन छ। को बन्न चाहन्छ र सानो? अनि अरूको अधिनमा बस्न मन कसलाई हुन्छ र ? बरु आफू सबैलाई कजाएर बाँच्न चाहन्छ मान्छे। मान्छे स्वतन्त्र जीवनयापन गर्न चाहन्छ, नकि अरूको दबाबमा। यी सबै चाहना मान्छेमा आउने भोक हुन्।

विषम परिस्थिति नआउन मान्छेले अथक प्रयास र मिहिनेत गर्छ। यसका पछाडि त्यही भोकले काम गरिरहेको हुन्छ। तपाईं मान्नुस् नमान्नुस्, मर्जी हजुरकै। मलाई चाहिँ के लाग्छ भने दुनियाँमा जे जति नवीन वैज्ञानिक आविष्कारहरू भए ती सबै भोककै परिणाम हुन्। मानिसको चेतनामा नयाँ कुरा सिक्ने, प्रयोग र परीक्षण गर्ने भोक जागेको थिएन भने आज मान्छेको जीवन अत्यन्त कष्टकर हुन्थ्यो होला।

धेरै दुखिया भएर बाँच्न यत्न गरिरहेका हुन्थ्यौं होला हामी। सृष्टिको सबैभन्दा चलाख दिमाग कसको? मान्छेको, सहजै उत्तर छ। त्यही भएर मान्छे भीमकाय हात्तीलाई नियन्त्रणमा लिन सफल छ। हिंस्रक जंगली जनावरलाई कज्याउन सक्छ मान्छे। मान्छे हर मौसममा बाँच्न सक्छ। त्यही भएर मान्छे विश्व परिक्रमा गर्न सक्छ। यसै भएर मान्छे चन्द्रलोकमा बस्ती बसाउन उद्यत छ। समुद्रमा खेती गर्न थालिसक्यो मान्छे। चमत्कारमय विभिन्न यन्त्र उपकरणबाट मान्छे आफैं चकित हुने आविष्कारहरू गर्न सक्षम छ। विश्व निमेषभरमै ध्वस्त बनाउने सामथ्र्यका हतियारको आविष्कार गरिसक्यो मान्छेले।

यी सबै मान्छेको जिज्ञासु मस्तिष्कको भोकको परिणाम हो। ज्ञानी प्राणी मान्छे कहिलेकाहीं के के जाग्छ मनमा भोक र पो ! केही गरौं भन्ने हुटहुटी मान्छेलाई केले निम्त्याउँछ ? नयाँ कुरा सिक्न जगाउँछ केले मान्छेलाई ? ज्ञानको भोकले केही सिकौं भन्ने भाव जागृत हुन्छ।  

यी यावत् कुराले निष्कर्षमा पुग्न सजिलै सकिन्छ, भोक थिएन भने यी सबै कुरा हुने थिएनन्। दुःखका कारण हुने अभाव र गरिबीबाट त्राण पाउन मान्छे जहिल्यै उद्दत हुन्छ। तीसँग जुध्न सदैव तत्पर हुन्छ। आवश्यकताले सधैं पछ्याइरहन्छ मान्छेलाई। भाग्न सक्दैन् तीबाट टाढा। बरु आवश्यकता पूरा गर्ने प्रयासमा लागिपर्छ र आवश्यकताको भोक मेटाउँछ। भोक जाग्यो भने प्राप्तिको अभिलाषा जाग्छ अनि प्राप्त गर्न हमेसा प्रयास गर्छ मान्छेले। त्यसैले भोक लाग्नुपर्छ। बेलुनको स्वभाव थाहा छ हजुरलाई ? त्यसले हावा भरेर फुलाएपछि उचाइ खोज्छ। फुलेको बेलुनजस्तै हो भोक।

कुनै चिज प्राप्तिको जति भोक लाग्छ, हामीलाई मेहनत गर्ने यत्न गर्न मन लाग्छ। अरू कुराको पर्वाह हुँदैन। लक्ष्यमा पुग्न पहिलो पाइला बढाउनै पर्छ। पहिलो पाइला नबढी लक्ष्य हासिल हुँदैन। अतृप्त इच्छा र मनमा उब्जेका चाहनाहरूको पहिलो कारण यही भोक हो। भोक भएन भने उद्देश्य प्राप्ति हुँदैन।

मान्छे तीनबीस काटिसक्दा पनि लोभ गर्न छोड्दैन धनसम्पत्तिको। मान्छे मर्दा सँगै लाने कुरा त होइन नि धनसम्पत्ति। तर किन यस्तो हुन्छ ? यसको प्रमुख कारण हो आफू धर्ती छाडेर परलोकगमन हुँदा पनि सन्तानले दुःख नपाऊन्, परिवारले सहज जीवन जिउन सकून्। यही आफ्नाको सुखिन भवतुको कामनाको भोकले मान्छे बुढेसकालमा पनि लोभ गर्न छोड्दैन। दुःख गर्छ घिस्रिएर भए पनि।

यसैगरी जिन्दगीको लयमा दुःख बेसाउँछ मान्छे। आफ्नाको खुसी र भविष्यको निम्ति बिर्सन्छ आफैंलाई। उज्यालो भुइँमा खस्न पाएको हुन्न, सूर्य नारायणलाई अघ्र्य दिन पाएको हुन्न, निन्द्राको कुनै मतलब हुन्न। कुद्छ यन्त्रवत् मान्छे। आखिर के हो यो सब ? त्यही भोक। आफ्ना लागि अलिकति अनि आफ्नाका लागि अलिक धेरै। श्रम र सिप बेच्न अभ्यस्त हुन्छ मान्छे।  

भोकका प्रकार पनि धेरै हुँदा रहेछन्।

शारीरिक भोकको पनि चर्चा गरौं न। मान्छे स्वभावैले विपरीत लिङ्गप्रति आकर्षित किन हुन्छ? कामवासना किन छाउँछ मान्छेको मनमा? रतिरागका लागि सदैव तत्पर किन हुन्छ मान्छे? प्रेममा सुवास किन छर्छ मान्छे? अझ अहिले त समलिङ्गी सम्बन्धका कुरा पनि नयाँ भएन।

हो यी सबैका पछाडि सदैव एउटै कारण हुन्छ– मानिसमा हुने प्राकृतिक भोक। जैविक भोक। भोक कहाँ हुँदो रहेनछ र? जहाँ पनि भोक। भोकको  माहात्म्य अपरम्पार।  

मानिसलाई ठुलो बन्न मन लाग्छ। उमेर होइन, उमेर त पल, सेकेन्ड, मिनेट र घण्टामा रूपान्तरित हुँदै बढी हाल्छ। ठुलोको उपमा भनेको पद प्रतिष्ठा, मानसम्मानको कुरा गरेँ मैले। मानिसमा सबैले आफूलाई मानिदिऊन् भन्ने भाव आउनु अस्वाभाविक होइन। इज्जत बढोस्, नाउँ र कीर्ति रहोस् भन्ने रहर नगर्ने को होला? टन्न पैसा कमाऊँ, आलिसान बंगलामा सानसँग बसौं, महँगा र सुविधासम्पन्न गाडी चढौंको भाव कसको मनमा नपलाउला ? पद प्रतिष्ठाको भोकले कसको हृदयमा बास नगरेको होला?

अझ कसैलाई राजनीतिको भोक जागृत भएको पनि हुनसक्छ। दलको नेता बनूँ, चुनाव लडूँ। जनप्रतिनिधि बनूँ। मन्त्री बनेर झन्डावाल गाडी हल्लाउँदै गाउँबस्तीका सोझासिधा जनताको घर दैलोमा हुँकार गर्दै कुदूँ। अनि हाम्रो जस्तो देशमा धेरै नेतालाई लाग्छ, पद र प्रतिष्ठाको दुरूपयोग गरूँ, आफ्ना आसेपासेको राम्रो बन्दोबस्त गरिदिऊँ। नातावाद, फरियावाद र परिवारवादलाई प्रशय दिऊँ। उनीहरूको पक्षपोषण गरूँ। कमाऊँ। ऐयासी र मोजमजामा जिन्दगी जिऊँ। यो वर्तमान राजनीतिको विकृत भोक प्रवृत्तिमै परिणत भएको छ। दुःख लाग्छ, घृणा जाग्छ हामीलाई ! यस्तो भोक जगाएर काम गर्नेहरूसँग। भ्रष्टाचार गरेर मालामाल बनूँ। देश र जनता भाँडमा जाऊन्। यस्तो छ तिनको मनमा जागृत भोक।

कसैको भोक यस्तो पनि हुनसक्छ– जनताको सेवालाई पहिलो प्राथमिकता राखेर काम गरूँ। यो कमै राजनीतिज्ञको मनमा पैदा हुने भोक हो। सुख र समृद्ध जीवन जिउने मन सबैमा हुन्छ। सन्तुष्टिको ओछ्यानमा निदाउने रहर कसको हुन्न र?

भोकबारे धेरै मस्तिष्क मन्थन गर्न सकिन्छ।  

हामीमा असल मित्र बनाउने हुटहुटी हुनसक्छ। जो सुख दुःखमा निकट बनेर रहोस्। एकापसमा अन्तरङ्ग कुराकानी गरोस्। साथसहयोग आदानप्रदान त सामान्य कुरा। तिमी र म यस्तो असल मित्र बनूँ– तिम्रो सुखमा म रमाऊँ। दुःखमा दुःखी बनूँ। यो पनि असल मित्रताको भोक हो। आदर्शवादी भोक। सर्वे भवन्तु सुखिनःमा गएर ठोकिन्छ।

यायावर भएर यात्रा गर्ने रहर कसलाई नहोला। आज त यातायातको उपलब्धताले यात्रा सुगम छ नि। नयाँ ठाउँको आस्वादन गरूँ भन्ने भोकले मान्छेलाई यात्रामा डो¥याउँछ।  

भोकको पुराण भनिसाध्य भए पो !

विश्व यति साँघुरो भयो कि अहिले निमेषभरमै सबै ठाउँमा के भइरहेछ भन्ने थाहा पाउन महाभारत छैन। युद्धका विभीषिकाबाट आक्रान्त छ विश्व। विश्वयुद्ध होला भन्ने डर र भयले मान्छेको मन आतङ्कित छ। यसको प्रमुख कारक तत्त्व शक्तिशाली देशहरूको राजनीतिक नेतृत्वमा आएको शक्तिको दम्भ देखाउने भोकले गर्दा हो। छिमेकीलाई दुःख दिने, अनुचित हस्तक्षेप गर्ने उनीहरूको मनमा जागृत भोक साँच्चै मानवजातिकै संकटको कारक तŒव हुनसक्छ।

जति गन्थन गरे पनि, जति मन्थन गरे पनि, जति पण्डित्याइँ छाँटे पनि सकिँदैन भोक चर्चा !

चित्रकारलाई लाग्छ, अझै राम्रो ढंगले कुचीले क्यानभास सजाऊँ, ताकि मोनालिसा पनि उसको चित्रअगाडि फिका होस्। कलाकारहरूलाई लाग्छ, अझै जीवन्त अभिनय गरौं, ओस्कार जितूँ। साहित्यकारलाई लाग्दो हो, अन्तर्राष्ट्रिय स्तरको कृति लेखूँ र प्रकाशित गरेर चर्चामा आऊँ। साहित्यको नोबेल पुरस्कारमा कृति मनोनित होस्।

अझै सो पुरस्कार जितूँ। यस्तो धमाकेदार गीत गाऊँ कि दुनियाँले वाउ ! भनोस्, गायकको हृदयदेखिको चाह। ऊ चाहन्छ मानिसहरू उसको स्वरमा स्वर मिलाउन्। विज्ञान क्षेत्रमा लाग्नेहरूलाई नलाग्ने कुरै भएन कि उसको आविष्कारले दुनियाँ चकित परोस्। यी सबैका पछाडि के छ त ? यी कुरा गर्ने हुटहुटीले पैदा गर्ने भोकले मानिसको मनमा कल्पना आउँछ। अनि प्राप्तिका लागि लालसा पालेर मान्छे मैदानमा उत्रिन्छ।

यी त केही प्रतिनिधिमूलक क्षेत्रको कुरा भयो। दुनियाँमा भोक यति शक्तिशाली रहेछ। हरक्षेत्र, हरपेसा, हर व्यक्तिमा भोक जागृत हुने रहेछ नि।

कति खतरनाक छ भोक। भोकको कुनै भाषा हुँदैन। यो अनुभूति हो। अनुभूतिलाई यथार्थमा रूपान्तरण गर्न भोक जागृत हुन्छ। भोक जागृत भएपछि मान्छे यथार्थमा आउँछ। त्यसैले भोक मान्छेको प्रगतिको प्रेरक तत्त्व हो।

भोकको महात्म्य लेखेर सम्भव देखिएन। भोकको अन्तरङ्गलाई योभन्दा बढी भन्नु जरुरी ठानिनँ। मानव चेतनालाई जागृत गराउन भोकले ठुलो क्षमता राख्ने रहेछन्। वास्तवै भोकको बखान गरेर सकिएन !

समयको रफ्तारमा मान्छेलाई सँगै दौडाउने यत्न गर्ने– भोक। निराशालाई आशामा बदल्ने शक्ति भएको– भोक। नदीका उत्ताल छाल र त्यहाँ उत्पन्न हुने तरंग जस्तो जिन्दगी तरंगित बनाउने गजब छैन त भोक! भोकको ज्वालाले मन पोलेपछि, हुरीको वेग जसरी भोकले मान्छेको शरीर हानेपछि छटपटिन्छ मान्छे भोकतृप्तिका लागि। अजिब छैन त भोक। सायद भोक र मान्छेबिच यही भएर अन्तरङ्ग सम्बन्ध भएको होला। 

प्रकाशित: १७ फाल्गुन २०८१ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App