३ चैत्र २०८१ आइतबार
image/svg+xml २०:८ अपराह्न
कला

घाइते समय

कविता

आज

घाइतेको शयन कक्ष

अनगिन्ती सपना बुन्दै र तुन्दै

खटपटीमै बित्यो।

उन्मुक्त स्वरमा

स्वतन्त्रता बोलेको बेला

उसलाई अचानक गोली लाग्यो

ऊ ढल्यो

प्राणाहुति हुन सकेन उसको

ऊ सख्त घाइते भयो।

अस्पतालको आकस्मिक कक्षमा

उसको पीडित आत्मा

निरीह प्राणी जस्तो

छटपटिएरै बित्यो

जीवन-मरणको संघारमा

आफ्ना सपना

छिन्नभिन्न भएको देख्यो

वियोगान्त कथा जस्तै

उसको जिन्दगी

दुःखै दुःखमा डुबेको देख्यो।

यो समय

बाजहरूले लखेटेको

गिद्धहरूले ठुँगेको

गोमनहरूले डसेको

जर्जर बर्बर

गुज्रिएको विश्वासको संकट जस्तो

ऊ कुन भुमरीमा फस्यो?

उसले सोच्यो

के मुक्ति सम्भव छ?

सम्भव हुनुपर्ने नै हो

उसको घायल आत्माले

न्यायको लडाइँ जित्न

अर्काे योद्धालाई

उसले क्रान्तिमा समर्पित हुन

उत्प्रेरित ग¥यो सुख प्राप्तिका नाममा

उसले सबै दुःख भुल्यो

दुःखान्तको सपना देखी

उसले स्वतन्त्रता बोल्यो

जब ऊ गोली लागेर ढल्यो

तब उसको निरन्तरतामा

अर्काे योद्धाले मुठ्ठी उचालेर

क्रान्तिमा जीवन समर्पण गर्‍यो।

सडकभरि रगत पोताएर

स्वतन्त्रताकै खातिर

ज्यानको बाजी थाप्नेहरू हो

रगतको मूल्य कसले तिर्ने?

स्वनन्त्रता चाहने बहादुर मान्छेहरू

हामी कतिन्जेल दुःखले रोइरहनुपर्ने हो?

हामी कतिन्जेल पीडाले भौँतारिरहनुपर्ने हो?

थाहा छैन

घाइते योद्धा

कतिन्जेल अस्पतालमै छटपटाउनुपर्ने हो?  

समयको नमिठो चोट बोकेर

उज्यालोको पर्खाइमा

घाइते समयसँग

पौँठेजोरी खेल्नुपर्ने भो।

प्रकाशित: १२ फाल्गुन २०८१ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App