‘उहाँ त मदन पुरस्कार बिजेता।’ अघिल्तिरका ठूलै लेखक देखाएर सम्मान बोले।
पुस्तक राम्रै चलेको थियो। जातीय मुद्धा मजाले उठाइएको थियो। थिचोमिचो खेपेकाहरूले वाहीवाही गरे। धेरै पटक राष्ट्रिय पुरस्कार हात पारेकै थिए। जब पुस्तक बिक्यो उनको अस्तित्व बिक्यो। उनी महान् लेखक कहलिए। जसले पनि साहित्यिक कार्यक्रममा आमन्त्रण गरिहाल्थे। उनी आफूलाई स्वघोषित विद्वान मान्थे। जता पनि टुप्लुक्क पुगिहाल्थे र फुक्थे श्वासले भ्याएसम्म।
समय बित्दै जाँदा तीनका उठबस विदेशी कुटनीति नियोगसँग हुन थाल्यो। जबर्जस्ती कतैका एजेण्डा राजनीति पार्टीमार्फत कतै लाद्न भ्याए। लैङ्गिक समानताभन्दा पनि हाम्रो संस्कार र संस्कृतिको दोषारोपण बढी नै गरे। धार्मिक दर्शनको कमजोर नशाहरू छामीछामी मजाले मिशनरी रक्तसञ्चार नगरेका पनि होइनन्। अनुहार देख्नेबित्तिक्कै उनले चिनी हाले। उक्त लेखकका विगत सम्झेर विश्वास झस्किए।
सम्मानले थपे, ‘किन सोचमग्न विश्वासजी, उहाँ संसारले मानेको लेखक हुनुहुन्छ।’
विश्वासले तिक्तता पोख्दै भने, ‘उताको पैसा लिएर उतैको मिसन चलाउने वरिष्ठभन्दा सामान्य लेखक नै पदकका असली हकदार हुन्छन्।’
- बालकृष्ण गजुरेल
प्रकाशित: ११ फाल्गुन २०८१ १३:३१ आइतबार