‘अब के गर्ने?’ प्रश्न गम्भीर बनेर देखापर्यो। आजसम्म यस विषयमा सोचिएनछ। यो दिन पनि आउँछ भन्ने कहिल्यै ख्यालै गरिएनछ। महको रसमा माहुरी भुले जस्तै भुलिएछ। कुनै दिन कसैले मह काढेर लान्छ र रित्तै हुइन्छ भनेर थाहा नपाएको माहुरी भइएछ। यस्तै होला भनेर तयारी गरिएन। पूर्वसूचना नै नदिएर एक्कासि आक्रमण गरेजस्तो भयो। सम्हालिने अवसर नै नदिएर लडाएजस्तो भयो।
नसोचे पनि आउने कुरो आएरै छाड्दो रहेछ। हुने हुनामी टारेर टर्दो रहेनछ। यो कसैको वशमा हुने रहेनछ।
नचाहेको र नसोचेको परिस्थिति अचानक आइपर्यो। रणभुल्लमा परेँ। बाक्लो कुहिरोभित्र हराएको काग भएँ। घना जङ्गलको बिचमा एक्लै परेँ। हिंस्रक जनावरहरूबाट एक्लै घेरिँदा जस्तो हुन्छ, त्यस्तै भएँ। उम्किने ठाउँ भएन। आफूलाई जोगाउन असमर्थ भएँ। कसैले अक्कर भिरको डिलबाट अनायासै घचेटिदिए जस्तो भयो। झर्दै गर्दा सोच्नै नसकिने स्तरको कहाली लाग्यो।
कतै सपना पो हो कि भनेर आफैलाई चिमोटेँ। दुख्यो। होइन रहेछ। विपना नै रहेछ। सपना भइदिए कति रमाइलो हुन्थ्यो। जतिसुकै ठुलो सङ्कट परे पनि बिउँझिँदा फुमन्तर हुन्थ्यो।
क्यै सिप नलागेपछि हिजोलाई सम्झेर पीडा कम गर्ने कोसिस गरेँ। कार्यालय प्रमुख भन्दै थिएँ, ‘उहाँले लगभग चार दशक इमानदारीपूर्वक देश र जनताको सेवा गर्नुभयो। व्यक्तिगत स्वार्थ कहिल्यै हेर्नुभएन। यसैले उहाँको सम्मानमा यो बिदाइ समारोह आयोजना गरिएको हो। उहाँ जस्तो सेवक पाउनु यो देश र जनताका लागि खुसीको कुरो हो। उहाँको अवकाशप्राप्त जीवन सुखी रहोस्। हामी सबैको यही कामना छ।’
सबैले उनको बिदाइमा ताली पड्काए।
वर्तमानमा फर्कें। हिजोबाट आजमा बिउँझिएँ। वरपर हेरेँ। बलेसीमा कुटो सिउरिएको रहेछ। एकछिन गम खाएँ। त्यसपछि त्यही कुटो बोकेर बारीतिर लागेँ।
प्रकाशित: ११ फाल्गुन २०८१ १०:३९ आइतबार