नेपाली गीतको विगतलाई हेर्दा २०३०–४० को दशक अत्यन्तै ऊर्जाशील देखिन्छ। त्यतिखेर लेखिएका गीतहरूले नेपाली गीति फाँटलाई उचाइमा पुर्याएका छन्। त्यसो त त्यो समयभन्दा अघि पनि गीत नलेखिएका होइनन्। रत्नशम्शेर थापा, किरण खरेल, चेतन कार्की, नगेन्द्र थापा, भैरवनाथ रिमाल कदम लगायतका गीतकारले नेपाली सुगम गीतको आधार निर्माण गरे।
पहिलाको दाँजोमा २०३०–४० पछिको समयमा सञ्चार माध्यमका कारण गीतका श्रोतामा स्वभावतः बढोत्तरि हुन पुग्यो। गीत लेखेर अनि सङ्गीतबद्ध भएर गाउँदैमा गीतका श्रोता बढ्ने होइनन्, लोकप्रियता हासिल गर्न शब्द, लय र आवाजको संयुक्त ‘संयोजन’ हुन अपरिहार्य छ। यस अर्थमा त्यो समयका धेरै गीत अत्यन्तै सुन्दर र मन्त्रमुग्ध सिर्जिएका छन्। यो आलेखमा केही लोकप्रिय गीतकार र तिनका सिर्जनामाथि छोटकरीमा उल्लेख गर्ने कोसिस गरिएको छ।
नारायणकुमार आचार्य
‘हजार चोटि जन्मुँला हजार दुःख सहुँला
तिमीलाई पाउन, तिमीलाई रिझाउन।’

सङ्गीतकार दीपक जंगमको ‘कम्पोजिसन’मा तत्कालीन समयमा नेपाली गायनक्षेत्रमा चम्किएकी तारा थापाले गाएको यो गीतका रचनाकार नारायणकुमार आचार्य हुन्। गीतका शब्द पढ्दा/सुन्दा प्रेमको वेगले अन्तिम साँधसम्मै छुन खोजेको महसुस हुन्छ। प्रेमिल मन कतिसम्म प्रेममा डुब्न सक्छ मात्र होइन, आफ्नो मन परेको वस्तु (प्रेमी) लाई हासिल गर्न एउटी प्रेमिका कुन हदसम्म समर्पित हुन सक्छिन् भन्ने भाव गीतमा आउँछ। गीतको तल्लो चरणमा गएर प्रेमिका आफ्नो प्रेमलाई अझ बलियो बनाउँछिन्, ‘तिमी मेरो विश्वास, म तिम्रो धड्कन...।’
वीरेन्द्र पाठक
‘मलाई यही जीवन बधाई
शुभकामना अरू चाहिन्न
यही यात्रा छ प्यारो मलाई
कसैको साथ चाहिन्न...।’
गणेश परियारको लय तथा गायिका अरूणा लामाको स्वरमा गाइएको यो गीतको रचना वीरेन्द्र पाठकले गरेका हुन्। त्यतिबेला रेडियोबाट असाध्यै बज्नेमध्येको यो गीतको भाव प्रेममा धोखा खाएपछिको अभिव्यक्ति हो। जीवनको गोरेटो आफैंले बनाउनुपर्छ, अरूले बनाइदिएको गोरेटोमा हिँड्ने होइन भन्ने सार हो यो गीतको। तथापि, यही गीतमा गीतकारले आफ्नो एक्लोपनको सङ्केत गर्दै दुखेसो पनि व्यक्त गर्छन्, ‘टुक्रिएको ऐनाभित्र कसको अड्छ छाया ! ...अस्ताएको घामभित्र कति हुन्छ राप?’
भूषण खरेल
‘म रोए पनि तिमी हाँसिदिनू
यो झरी जाने जिन्दगीदेखि पन्छिदिनू।’
त्याग नै प्रेमको गहना हो भन्ने भित्री आशय बोकेका शब्दले परिपूर्ण यी हरफका रचनाकार हुन् भूषण खरेल। अरूण थापाको आवाजमा रहेको यो गीतमा जीवनका दुई पाटा हाँस्नु र रुनुलाई छर्लङ्ग्याइएको छ।
स्वभावतः खुसी हुनेको भागमा हाँसो–मुस्कान हुन्छ भने दुःखी हुनेको भागमा आँसु। यस अर्थमा, गीतकार/गायक आफ्नो भागमा आँसु राखेर प्रेमखातिर आफ्नो खुसीलाई तिलाञ्जली दिन्छन्। आफ्नो वियोगान्त प्रेमलाई अमर राख्न यतिसम्म भन्छन्- ‘म त यस्तै नै भएँ, त्यसै सस्तो नै भएँ, तिमी मूल्यवान् बनिदिनू !’
सुवासचन्द्र ढुङ्गेल
‘जति चोट दिन्छौ देऊ मायालु
मुटुभित्र साँचेर राख्नेछु
जति आँसु दिन्छौ देऊ मायालु
दुई आँखाबाट झार्ने छु।’
प्रेममा के हुँदैन? सब थोक हुन्छ। भनिन्छ-युद्ध र प्रेममा जे पनि जायज हुन्छ। प्रेम हुनु फेरि त्यही प्रेममा घृणा पलाउनु स्वाभाविक प्रक्रिया हो। तर, फरक के छ भने प्रेमभित्रको घृणामै पनि कतै न कतै प्रेम नै छिपेको हुन्छ।
सुवासचन्द्र ढुङ्गेलद्वारा रचित यो गीतमा भक्तराज आचार्यले यतिसम्म न्याय गरेका छन् कि मानौं सुवासचन्द्रको नितान्त व्यक्तिगत भोगाइ हो यो। कसैले वास्तविक रूपमै सुवासचन्द्रको अनुहार नियाल्ने हो भने उनको त्यो गम्भीरतामा यी शब्दको दृष्टिगोचर हुन्छ। आफ्नो प्रेममा भएको विश्वासघातप्रति उनी कुनै गुनासो गर्दैनन्, हाँसीहाँसी भन्छन्– ‘ठिकै छ मायालु, म तिम्रो नजरमा दोषी भएर बाँच्नेछु।’
रवि प्राञ्जल
‘सबै बेहोसी नसा पिएर
बिना पिएरै बेहोस छु म
अरू निर्दोषी माया भुलेर
बिना भुलेरै दोषी छु म।’
गल्ती जीवनमा सबैको हुन्छ। अस्तित्वमै नदेखिएका ईश्वरले पनि गल्ती गरेका छन्/गर्छन् भनेर आस्तिकहरूको मान्यता छ। गीतकार रवि प्राञ्जलले पनि गल्ती गरे होलान्, कतिपय स्विकारे पनि होलान्। तर, गर्दै नगरेको गल्तीको पनि आक्षेप लागेको छ उनलाई, त्यो पनि प्रेम–प्रसङ्गमा। नखाएको विष कसलाई स्वीकार्य हुन्छ? निर्दोषिताको जतिसुकै वकालत गरे पनि गुनासो सुनिदिनुपर्नेले सुनिदिएनन्। कति सहनु? सहनुको पनि त सीमा हुन्छ। भित्रभित्रै गुम्सिन लागेपछि सार्वजनिक रूपमै उनी आफूभित्रको छटपटीलाई गीतको माध्यमबाट अभिव्यक्त गर्छन्- ‘सपना फुटेर आँसु बनेछ, त्यो आँसु फेरि व्यथा बनेछ।’
त्रिविक्रम पाण्डे
‘फैलियो माया दुबोसरि कहिल्यै घटेन
कहाँ राखूँ तिम्रो याद दिलमा अटेन।’
मान्छे मंगलग्रहबाट झर्दैनन्। यही पृथ्वीलोकमै जन्मन्छन्। जति नाम कमाउनु छ, जति लोकप्रियता हासिल गर्नु छ, यही धरतीमै गरिने सत्कर्मले त्यसको पुष्टि गर्छ। राजेशपायल राईलाई जुन गीतले ‘ब्रेक’ दियो, त्यसलाई त्रिविक्रम पाण्डेले लेखेका हुन्।
त्यसो त, शिलाबहादुर मोक्तानले सङ्गीतबद्ध गरेको यो गीत ‘फिमेल भर्सन’मा कुन्ती सुन्दास (मोक्तान) को आवाजमा समेत रेकर्डिङ भएको छ। दुवैको स्वरमा सजिएको यो गीत उत्तिकै लोकप्रिय छ। प्रेमसम्बन्धमा यस्तो मान्यता स्थापित गरिएको छ कि एकपटक मुटुमा बसिसकेपछि प्रेमले त्यहाँबाट उन्मुक्ति नै पाउँदैन। तर, त्रिविक्रम त त्यो मान्यताको सिमानालाई समेत नाघेर त्यही मुटुबाट प्रेमको फैलावटको परिकल्पना गर्छन्।
प्रेम त्यस्तो विषय हो, जसलाई परिभाषामा सीमित राख्न सकिन्न। सामान्यतः अरूले भन्दा कवि–गीतकारले प्रेमको मर्मलाई विशेष अर्थमा बुझेका हुन्छन्। प्रेमलाई विभिन्न रूपमा प्रस्ट्याइएको देखिन्छ। नेपाली गीति फाँटमा उल्लिखित गीतकार/गीतहरूका अतिरिक्त अन्य गीत पनि अनगिन्ती छन्, स्थानाभावका कारण यो आलेखलाई यतिमै पूर्णविराम।
प्रकाशित: १० फाल्गुन २०८१ १०:२८ शनिबार