४ चैत्र २०८१ सोमबार
image/svg+xml ७:५३ पूर्वाह्न
कला

वत्सगोपाल वैद्यको कलासाधना

व्यक्तित्व

कला समय सापेक्ष रूपमा अभिव्यक्त हुन्छ। त्यसको महत्ता, सौन्दर्य र शास्वतता भने समय निरपेक्ष रहन्छ। कला, मात्र कलाका लागि रहन्न, कलाले मानव अनुभूतिमा पार्ने प्रभावबाट नै कला जीवनका लागि हो भन्ने महसुस गर्न सकिन्छ। कला जगत्मा यसबारे सधैं बहस हुँदै आएको छ।

सिर्जना भनेकै अनुभूतिको कलात्मक प्रकटीकरण हो। सिर्जनाको विषय सामान्यभन्दा सामान्य जेसुकै पनि हुनसक्छ। विषयलाई ठुलो वा सानो बनाउने निर्णय कलाकारमै रहन्छ। कसैलाई महान् लाग्ने विषय कसैका लागि सानो र अर्थहीन पनि लाग्छ। कतै अर्थहीन मानिएको वस्तुबाट पनि स्रष्टाले जीवनका लागि प्रेरणादायी हुने शाश्वतताको विन्दु पहिल्याउँछ।

नेपाली कला जगत् विविधतायुक्त छ। आधुनिक नेपाली कलामा विविधता रहनुकै कारण यस क्षेत्रमा नेपालको चिनारीका साथै प्रतिष्ठामा पनि अभिवृद्धि हुँदै आएको छ। आधुनिक कलाका अनेक धार वा आयामहरू विकसित हुँदैछन्। सामान्य चित्रकलादेखि लिएर अत्याधुनिक मूर्त वा अमूर्त कला स्रष्टाहरूले आआफ्ना शैली र शिल्पीको अभ्यास गरिरहेका छन्, साधना गरिरहेका छन्।

यस्तै साधना गरिरहेका एक अग्रज कलाकार हुन्, वत्सगोपाल वैद्य। वैद्यले आफ्नो साधनालाई विगत आधा शताब्दी अगाडिदेखि नै निरन्तरता दिँदै आएका छन्। कला शैली र प्रस्तुतिका हिसाबले वैद्यले आफ्नो छुट्टै पहिचान बनाएका छन्। आधुनिक नेपाली कला जगत्मा उनी एक अग्रज र प्रतिष्ठित कलाकार हुन्।

वत्सगोपाल वैद्यको जन्म २००३ सालमा ललितपुर जिल्लाको पाटन, सौगलटोलमा भयो। उनी पिता कृष्णगोपाल वैद्य तथा माता पूर्णमाया वैद्यका सुपुत्र हुन्। वत्सगोपालले पिताजीसँग घरमै प्रारम्भिक शिक्षा प्राप्त गरे। सानैदेखि चित्रकलामा तीव्र अभिरुचि भएका कारण स्कुलको पठनपाठनतिर भन्दा चित्र कोर्नमा यिनको ध्यान गयो। सानै उमेरमा पिताजीको देहावशान भएको हुँदा परिवारमा परेको आर्थिक असहजताले आफ्नो पढाइमा निरन्तरता रहन नसकेको तितो संस्मरण वत्सगोपालसँग छ, ‘म आठ वर्षको हुँदा बुबाको मृत्यु भएकाले हाम्रो परिवार ठुलो संकटमा पर्‍यो। आमदानीको स्रोत नहुँदा खानलाउन धौधौ थियो।’

वत्सगोपालका बुबा वैद्यको काम गर्थे। वत्सगोपाल बुबालाई सघाउँथे। बुबा छँदै स्कुलमा पढ्न जान थालेका वत्सगोपालले फिस तिर्न नसकेर स्कुल नै छोड्नुपरेको थियो तर उनलाई घरमा पढ्न भने बुबाले प्रेरित गरिरहे। उनको रुचि चित्रकलातर्फ त्यसबेलै जाग्न थालेको थियो, ‘पाठशाला नपठाए पनि बुबाले मलाई घरमै पढाउन भने छोड्नुभएन। उहाँ सधैं मलाई अमरकोश घोक्न लगाउनुहुन्थ्यो। कण्ठ भइसकेपछि पनि बारम्बार त्यही पढिरहनुपर्दा मलाई  दिक्क लाग्थ्यो। त्यसैले बुबा घरमा नहुँदा म अमरकोश थन्क्याइदिन्थे र चित्र बनाएर बस्थेँ। म फूल, चरा र जनावरको चित्र खुब राम्रो बनाउथेँ।’

आर्थिक अभावबाट मुक्ति पाउन वत्सगोपालले औषधी वितरणको काम पनि गरे। उनी सात कक्षामा पढ्दा नै प्रौढहरूलाई पढाउने गर्थे। आफूले भोगेका अनेक अप्ठ्यारा स्थितिहरूले बाल्यकालमै वत्सगोपाललाई ठुलो शिक्षा प्रदान गरे।

उनी भन्छन्, ‘धैर्य र लगनभन्दा ठुलो कुरा जीवनमा केही हुँदो रहेनछ। कला साहित्यमा त यिनको झन् ठुलो महत्त्व छ। वास्तवमा जीवनलाई सफल पार्ने कुरा सिर्जना नै हुन्।’

चित्रकलामा यिनको राम्रो दखल थियो। उनले पाटन हाई स्कुलबाट प्रवेशिका उत्तीर्ण गरी केही समय पाटन कलेजमा पनि अध्ययन गरे। यसै क्रममा २०२३ सालमा भारतीय छात्रवृत्ति प्राप्त गरी जेजे स्कूल अफ आर्टस, मुम्बईमा चित्रकलाका औपचारिक अध्ययन गर्ने अवसर प्राप्त गरे र त्यहाँबाट २०२७ सालमा चित्रकलामा स्नातक उपाधि प्राप्त गरे।

औपचारिक अध्ययन सकेर फर्केपछि उनले २०२७ सालमै आफ्नो पहिलो चित्रकला प्रदर्शनी गरे। त्यसयता उनका कला प्रदर्शनी विभिन्न समयमा हुँदै आएका छन्। उनले नेपाल र विदेशमा गरी कैयौंपटक कला प्रदर्शनी गरिसकेका छन्। २०२७ सालको राष्ट्रिय कला प्रदर्शनीमा यिनले प्रथम पुरस्कार प्राप्त गरेका थिए। यिनले बंगलादेशमा भएको प्रथम एसियन आर्टस वाइन्नाले चित्रकला प्रदर्शनीमा २०३८ सालमा स्वर्ण पदक प्राप्त गरेका थिए।

 अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा नेपाली कलाकारले प्राप्त गरेको यो पुरस्कार प्रथम पटक थियो। वैद्य नेपाली पोस्टर कला प्रदर्शनीमा २०३१ मा पनि उत्कृष्ट कलाकार घोषित भएका थिए। उनले गोरखा दक्षिण बाहु, अरनिको ललितकला राष्ट्रिय सम्मान लगायत अन्य पुरस्कार एवं सम्मान प्राप्त गरेका छन्। चित्रकला सिर्जनामा वैद्यको साधना एवं एकाग्रता निरन्तर छ। काठमाडौंको माइतीघर चौरास्तामा निर्मित मण्डलाको प्रारूप वैद्यले नै तयार गरेका हुन्।

२०२८ सालमा स्थापित स्किव समूहका चारजना कलाकारमध्ये वत्सगोपाल एक हुन्। जेजे स्कुल अफ आर्टसबाट स्नातकोपाधि प्राप्त गरी नेपाल फर्किएका युवा कलाकारहरू शशी शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्यद्वारा आधुनिक कलामा समर्पित भएर सक्रिय रहने गरिएको सामूहिक प्रणकै परिणाम स्किवको स्थापना भएको थियो। नभन्दै यी चारैजना स्रष्टाले आफूलाई आधुनिक कला सिर्जनामा उत्कृष्टतातर्फको यात्रालाई जारी राख्दै आए। त्यसयता वत्सगोपालको सिर्जन–सक्रियताले अन्य स्रष्टाका झैं प्रौढता प्राप्त गरिसकेको छ।

वत्सगोपालले आफ्नो कलामा मूलतः तान्त्रिक विश्वासलाई आरोपण गर्दै आए। यस क्रममा हिन्दु आस्था र विश्वासका देवता गणेशका बहुआयामिक चित्रकला शृंखलासाथ आधुनिक नेपाली कला जगत्मा उनले आफ्नो वैशिष्ट्य प्रस्तुत गरेका छन्। यसमै उनको निरन्तरता रहेको पाइन्छ।

गणेश शृंखलाका अतिरिक्त दशावतार शृंखला पनि वत्सगोपालका साधनाको सुन्दर प्राप्ति हो। उनका अन्य चित्रहरू पनि सांस्कृतिक एवं धार्मिक विश्वासमा आधारित पाइन्छन्। सिर्जनामार्फत मानिसको सांस्कृतिक चेतलाई सघन विश्वासमा परिणत गराएर शान्तिको आत्मानुभूति गराउनु वैद्यको कलाकारिताको अन्तर्य रहेको बुझ्न सकिन्छ।

वत्सगोपालको कला साधनाको प्रमुख अवधारणा धार्मिक रहेको पाइन्छ। चित्रकलामा सनातन हिन्दु विश्वास एवं आस्थालाई पुनः परिभाषित गर्दै सांस्कृतिक चैतन्यको पुनर्जागरण गराउनु वैद्यको कला दर्शन रहेको प्रतीत हुन्छ।

हिन्दु दर्शन र यसको सनातन परम्परामा विद्यमान पारलौकिक विश्वासको जग सर्वाधिक गहिरो छ। यो धर्म सर्वप्राचीन जनविश्वासको निरन्तरतामा विस्तारित हुँदै आएको छ। विश्वासमाथिको जिज्ञासाको समाधान पनि विश्वासमै टिकिरहेको छ। यस्तो आम जनधारणामा आधारित धार्मिक मर्मलाई आधुनिक चित्रकलाको प्रारूपमा प्रतिबिम्बित गर्नु नै कलाकार वैद्यको नवीन दृष्टिकोण र नेपाली कला जगत्को प्राप्ति हो भन्न सकिन्छ।

आधुनिक नेपाली कलालाई नयाँ आयाम प्रदान गर्न स्किव–७१ समूहले ठुलो योगदान पुर्‍याउँदै आएको छ। वत्सगोपालका तान्त्रिक आकारयुक्त चित्रकलाले आधुनिक नेपाली चित्रकला जगत्मा छुट्टै महत्त्व राखेको कुरा कलासमीक्षक मुकेश मल्लले उल्लेख गरेका छन्, ‘उनी र उनका समकालीन चित्रकारबाट नेपाली आधुनिक चित्रकलाको ठोस धरातल सिर्जना भएको छ। अझ नेपालीपनलाई ज्यादा उजिल्याउने उनका तान्त्रिक आकारयुक्त चित्रकलाले त नेपाली चित्रकला इतिहासमा विशेष ठाउँ ओगट्छ।’

वत्सगोपालका तान्त्रिक शैलीयुक्त गणेश शृंखलाका चित्रमा धार्मिक, आध्यात्मिक भाव गुञ्जन मात्र पाइने नभई तिनमा मानिसका प्रवृत्ति र संस्कारको प्रतिबिम्ब पनि पाउन सकिने कुरा कला समीक्षक एवं कलाकार ज्ञानेन्द्र विवशले बताएका छन्, ‘वत्सगोपालका कलाकृति आफ्नै अस्तित्वमा जीवन्त छन्। मिठा स्वर र गुञ्जन झङ्कृत गर्न सतत क्रियाशील छन्। उनी तान्त्रिक शैली संयोजनमा काम गर्ने कलाकारमध्ये गणेश शृंखलामा नै बढी केन्द्रित छन्। गणेशका विभिन्न स्वरूपबाट अत्यन्त प्रभावित कलाकार आफ्नो कलामार्फत आध्यात्मिक भावना मात्र प्रसार गर्नुहुन्न। मानव मनका प्रवृत्ति र संस्कारजन्य परिवेशलाई पनि आत्मसात गर्नुहुन्छ। पौराणिक तथ्यलाई मात्र उहाँ शिरोपर गर्नु हुन्न, आन्तरिक मनोवेग, आधुनिक कलाप्रवृत्तिलाई पनि समेट्नुहुन्छ।’

वत्सगोपालका चित्रमा अन्तरनिहित कलाकारिता, रंगरेखाहरूको प्रयोगावेग, भाव, संरचनात्मक वा शिल्पीगत परिपक्वता सन्तोषजनक रूपमा अनुभूत गर्न सकिने कलासमीक्षकहरूको मूल्याङ्कनबाट बुझ्न सकिन्छ। २०४६ सालतिर भएको स्किव–७१ समूहको १९ औं कलाप्रदर्शनीको समीक्षा गर्ने क्रममा कलाकार मनुजबाबु मिश्रले वैद्य आफ्नो कलायात्रामा बेजोड रहेको बताएका छन्, ‘आफ्नो कलायात्रामा वत्सगोपाल वैद्य बेजोड छन्। उनले आफ्नो बाटो पहिल्याइसकेका छन् र यो यात्रालाई उनी ‘तान्त्रिक’ भन्न रुचाउँछन्। ग्राफिक्स, पानी रङ, तेल जुन माध्यमको प्रयोग गरे पनि उनको अभिव्यक्ति र प्रयोगविधिले निश्चित रूप कायम गरिसकेको छ।’

सनातन हिन्दु जगत्मा कुनै पनि धार्मिक अनुष्ठान एवं कर्ममा सर्वप्रथम पूजा आराधना गरिने श्रीगणेशलाई मुख्य विषयवस्तु बनाएर वैद्यले अनेकौं चित्रकलाको रचना गरेका छन्। शृंखलाबद्ध रूपमा गणेशका चित्रकला किन त? वैद्य भन्छन्, ‘नेपाल परम्परागत सांस्कृतिक सम्पदाका दृष्टिले सर्वाधिक सम्पन्न मुलुकमध्ये एक हो। यहाँको सांस्कृतिक वैभव र सौन्दर्यले संसारलाई नै आकर्षित गरिरहेको छ। सनातन धर्मसंस्कृतिमा असङ्ख्य देवदेवीको पूजाअर्चना गरिन्छ। तीमध्ये ‘गणेश’को विशेष महत्त्व पाइन्छ। गणेशको आकृतिले मलाई सधैं लोभ्याउँदै आएको छ। गणेशको स्वरूप नै चाखलाग्दो छ।’

प्रकाशित: १० फाल्गुन २०८१ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App