नेपाली साहित्यमा भीरको प्रसङ्ग
“तिमी तारे भीर, म त लहरा,
तिमीमै लहराउँछु तिमी सहारा।”
पहिलोचोटि पवित्र सुब्बाको यो गीत सुन्दा यसले मलाई निकै छोएको थियो र अझै पनि मलाई मनपर्ने गीतहरूको सूचीमा छ यो गीत। किनकि म पहाडमा जन्मेर मधेसमा हुर्केको बहुल भोगाइ भएको व्यक्ति हुँ। त्यसैल मलाई मधेसको समथर मात्रै होइन, पहाडका भीर, पाखा र पखेरा पनि उत्तिकै मन पर्छ।
मैले आजसम्म पढेका भीरसँग नाम जोडिएका साहित्यिक कृतिहरूमा राजन मुकारुङको ‘दमिनी भीर’ उपन्यास निकै मन परेको कृति हो भने सामान्य भाषामा लेखिएको भए पनि गोमा पराजुलीको ‘भीरको बाटो हिँडेपछि’ संस्मरणले मनलाई भित्रैदेखि छोएको थियो।
अलिक जटिल प्रवृत्तिको रङवादी कवि धमेन्द्रविक्रम नेम्वाङको ‘भीरै भीरको रङ’ कवितासङ्ग्रह भने अलिक सकसले पढेको हुँ। तर हालै मात्र प्रकाशित उपेन्द्र त्रिपाठीको ‘अक्करे भीरको बाटो हिँडेपछि’ कवितासङ्ग्रह (२०८०) ले भने मनलाई तरङ्गित बनाएको हो। कवितालाई जटिल बाटोबाट मात्र हिँडाउनुपर्छ भन्ने छैन भन्ने पुष्टि यो कविताकृतिले गरेको छ।
भीरबाट सुरु भएको नेपाली जीवन
पहिला पहिला समथर भागमा औलोको प्रकोप थियो। त्यस्तै बाघ, हात्ती, गैँडा लगायतका जङ्गली जनावरको डर पनि उत्तिकै थियो। त्यसैले अधिकांश नेपाली भीर वा पाखामा बस्थे। यसर्थ नेपालीको सुरुको जीवन भीरबाट आरम्भ भएको हो भन्न मलाई कत्ति पनि सङ्कोच लाग्दैन। म भीरमै जन्मेको हुँ, तर यतिबेला म भीरमा छैन, बरु पीरमा चाहिँ क.छु कि?

भीरमा पहिरो जाने डर भए पनि बाढीले बगाउने डर हुँदैन। भीरकाे पीर अनेक होलान् तर पनि भीरमा बसेको जीवन सुन्दर छ, प्राकृतिक छ। तर अचेल भीर छोडेर समथर अनि गाउँ छोडेर सहर पस्नेको लहर लामो छ।
नेपाल पहाडै पहाडले बनेको मुलुक हो भन्ने कुरा भूगोलमा मात्र सीमित हुने त होइन भन्ने पीर छ। तर पनि नेपाल पहाड हो र पहाड भनेको भीर त हो, अनि भीरमा बारेमा किन नलेख्नु त?
‘अक्करे भीरको बाटो हिँडेपछि’मा प्रबिम्बित जीवनको भीर
जीवनको आधा शतक पार गरिसकेका चितवने कवि उपेन्द्र त्रिपाठीको पहिलो साहित्यिक सन्तान हो,‘अक्करे भीरको बाटो हिँडेपछि’ कवितासङ्ग्रह (२०८१)। जीवनमा प्राप्ति कम गुमाइ मात्र झेल्नु परेपछि जन्मिएको हो, उनको यो कविताकृति। यसमा जीवनका दुःख, अभाव, पीडा र अप्राप्तिका चाङहरू छन्।
यति मात्र होइन, देशमा हुने गरेका विसङ्गति, बेथिति र भेदभावविरुद्ध तिखो स्वर पनि मुखरित छन्। निकै छोटा, छोटा र मझौला खालका ५७ फुटकर कविता समेटिएको यो कृति समकालीन नेपाली जीवनको प्रतिबिम्ब हो। म यहाँ ती कवितामध्ये केही प्रतिनिधि कविताका केही पङ्क्ति सापटी लिएर त्यसमा जीवनको भीर कसरी उतारिएको छ भन्ने पुष्टि गर्न लाग्दैछु।
कवि त्रिपाठीले प्रवीणता प्रमाणपत्र तहमा वनविज्ञान विषय लिएर पढेका हुन्। आफ्नो पढाइको सम्मान र देशको अवस्थाको चित्रण गर्दै उनी देशको बिग्रँदो वातावरणप्रति ‘माटो’ कवितामा चिन्ता व्यक्त गर्छन्।
त्यति मात्र होइन, माटो नै नरहे हाम्रो जीवन कुन भीरबाट कसरी खस्ला भन्ने चिन्ता यसरी मुखरित गर्छन्:
“हैन हो, भन्नोस् त महाशय!
माटो मरेपछि के खान्छ मान्छे?
माटो मरेपछि काँ जान्छ मान्छे?”
(पृ. ७१)
कविलाई नेपाल र नेपालीको गरिबीप्रति पनि चिन्ता छ। उनी ‘थाल’ कवितामा जीवनको निरीहताबारे चित्रण गर्छन्। त्यसो त थाल भनेको भाँडो मात्र होइन, त्यो जीवन धान्ने साधन पनि हो। यदि थाल रित्तो भयो भने जीवन चल्दैन, अनि जीवन भीर नबनेर के बन्छ त? यस्तो अवस्थाको चित्रण कवितामा यसरी गरिएको छ:
“यी थालहरू मेरो निरीहताका चिनारी हुन्
यी थालहरू मेरो जीवनका कहानी हुन्
यी थालहरू मेरो संघर्षका निसानी हुन्।”
(पृ. ६९)
कविले ‘विडम्बना’ शीर्षकको कवितामा देशमा निष्ठाको राजनीति गर्नेहरू पलायन भएको कुरा गरेका छन्। यहाँ राजनीतिको नाम ठगी, दलाली र झुटको खेती गर्ने मात्र उँभो लाग्ने गरेकाले देशको हालत बिग्रँदै गएको निष्कर्ष कविले यसरी निकालेका छन्:
“सोचेथेँ सबैको मुखमा माम हुनेछ
सबैको हातमा काम हुनेछ
सबैको राज्यमा नाम हुनेछ।
तर विडम्बना,
अहिले म बेल्चा बोक्दैछु
विदेशमा।”
(पृ. ६३)
कविले ‘वृद्ध बाको कथा’ शीर्षकको कवितामा बुढ्यौलीतिर लागेपछि जीवन अझ भीरमय बन्ने कुरा गरेका छन्। अझ त्यसमा पनि दुःखसुखमा साथ दिने जीवनसाथी गुमाएपछि जीवन अक्करे भीरभन्दा बढी केही नहुने कुरालाई कविले यसरी वाणी दिएका छन्:
“तिमी थियौ त दिन अर्कै थ्यो
तिमी थियौ त रात अर्कै थ्यो
तिमी छैनौ त दिन अर्कै भो
तिमी छैनौ त रात अर्कै भो।”
(पृ. २३)
यसरी हेर्दा कवि उपेन्द्र त्रिपाठीको यो ‘अक्करे भीरको बाटो हिँडेपछि’ कवितासङ्ग्रह कतै उनी आफैँले हिँडेको बाटोको चित्रण त होइन भन्ने भान पाठकका मनमा पर्न सक्छ।
त्यति मात्र नभएर कसैले यस्तै बाटो हिँडेका रहेछन् भने कविले मेरो कुरा कसरी थाहा पायो ? भन्ने पनि होलान्। जेहोस्, भीरमय जीवन बाँचिरहेकाहरूको कथा बनेर आएको यो कृति हेर्दा सरल जस्तो देखिए पनि जीवनको भोगाइ दार्शनिक पाराले उतारिएको कविताकृति बनेको छ। त्यसैले कवितामायो अक्करे भीरको यात्रालाई सलाम गर्छु म।
उपेन्द्रजी, अबको जीवन मधेसको समथर बनोस्!
कविजी, नेपालको हालत सधैँ यस्तै खराब त कहाँ रहला र? पक्कै पनि देशले एक दिन काँचुली फेर्ला नि। कविहरुले सोच्ने भनेकै यस्तै त हो नि? किन यसरी निरास हुनु छ र?
“दोस्त!
सुन, यो घडी एउटा मनको बात बोल्छु
कि, यो देश न त तिम्रो हुन सक्यो
न त यो देश कहिल्यै मेरो हुन सक्यो।”
(साउने झरी बीच मधेसी साथीको नाम एक चिठी, पृ. ६)
हो, कुनै दिन त हाम्रो देश पनि पक्कै विश्वले चिन्ने र अवलम्बन गर्ने बन्ला नि? यहाँ के छैन र? प्रकृतिले दिएको सुन्दरताको हामीले प्रयोग पो गर्न जानेनौँ त। यदि प्रकृतिले दिएको वरदानको उपयोग गर्न सकियो भने हाम्रो जीवन पनि पहाडको अक्करे भीर होइन, मधेसको समथर कसो नबन्ला र? यही शुभेच्छा छ मेरो।
प्रकाशित: ७ फाल्गुन २०८१ १३:३८ बुधबार